विकासन्युज

गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गर्दै, चैत ३० गते बुक क्लोज

काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारणकोलागि ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी चैत ३० गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २९ करोड ६६ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४६५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

१८ वर्षमा प्रसारण लाइन र सबस्टेशन निर्माणमा सवा ५ अर्ब खर्चिने

काठमाडौं । सरकारले अबको १८ वर्षमा करिब सवा ५ खर्ब (५ अर्ब १५ करोड अमेरिकी डलर) रुपैयाँ खर्चिने गरी ६६ ओटा विद्युत् प्रसारण लाइन परियोजना अघि बढाएको छ । सो रकममध्ये आधा रकम प्रसारण लाइन निर्माणका लागि र आधा भने सबस्टेशन निर्माणमा लाग्ने बताइएको छ । ती परियोजनामध्ये ४७ आयोजना निर्माणाधीन छन् भने १९ ओटा निर्माण गर्नका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । निर्माणाधीन ४७ मध्ये केही नेपाल सरकारको लगानीमा निर्माणाधिन छन् भने केहीमा विकास साझेदार निकायको लगानी रहेको छ । त्यसअन्तर्गत १९ ओटा आयोजना सरकारको मात्रै लगानी निर्माण भइरहेका छन् । त्यस्तै ७ ओटामा एशियाली विकास बैंक (एडीबी) र ५ ओटामा विश्व बैंकको लगानी रहेको छ । २ ओटामा जर्मन रयूरोपेली इन्भेष्टमेण्ट बैंकको लगानी रहेको छ । यसैगरी ६ ओटा नेपाल र भारत सरकारको सयुक्त लगानीमा निर्माण भइरहेका छन् । सरकारले चार ओटा प्रसारण लाइन सिमेण्ट उद्योगलाई लक्षित गरेर निर्माण गरिरहेको छ । त्यसैबीच ढल्केवर-मुजफ्फरपुर ४०० केभी (नेपाल खण्ड) प्रसारण लाइनसँगै आन्तरिक तथा औद्योगिक प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । हेटौंडा-कुलेखानी-स्युचाटार १३२ केभी दोस्रो, बुटबल-कोहलपुर १३२ केभी, भुलभुले-मध्यमस्र्याङ्दी १३२ केभी, मिर्चैया-कटारी १३२ केभी, हेटौंडा-कमाने १३२ र ३३ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको ऊर्जा मन्त्रालय जानकारी दिएको छ । नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन गुरु योजनाअनुसार सन् २०३५ सम्ममा ६ ओटा करिडोरबाट ११ क्रशबोर्डर प्रसारण लाइन बनाउने सरकारको योजना रहेको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । त्यसमध्ये एक ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइन निर्माण भइसकेको छ । यो प्रसारण लाइन हुँदै अहिले भारतबाट नेपालमा १४५ मेगावाट विद्युत् आयात गरिरहेको छ ।

७० प्रतिशत मत ल्याएर चुनाव जित्छु–शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् उद्यमी शेखर गोल्छाले । हाल एशोसिएट उपाध्यक्ष रहेका गोल्छाको लागि महासंघको टप नेतृत्वमा पुग्ने यो अन्तिम खुड्किलो हो । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने छन् । नेपालका पुरानो र ठूलो व्यवसायिक घराना गोल्छा हाउसबाट प्रतिनिधित्व गर्ने भएकोले पनि उनको उम्मेदवारी बढी चासो र महत्वको बनेको छ । के छन् त शेखर गोल्छाको चुनावी अजेण्डा, तयारी, रणनीति र गतिविधि ? प्रस्तुत छ गोल्छासँग सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस ।   चुनावमा भोट माग्दा के के एजेण्डा राख्नुभएको छ ? चेम्बर आन्दोलनमा मैले दुई दशकभन्दा बढी समय दिएको छु र महासंघको कार्यसमिति सदस्य तथा उपाध्यक्ष गरी १० वर्ष काम गरेको छु । म महासंघको नेतृत्व गर्न सक्षम छु र मैले नेतृत्वको लागि उम्मेदवारी दिएको छु । म बरिष्ठ उपाध्यक्षमा उठेको छु । चुनाव जितेपछि पहिलो तीन वर्ष अध्यक्ष भवानी राणालाई सघाउँछु । उहाँको भिजन, मिसनलाई सफल बनाउन मद्दत गर्छु । संशोधिन विधानको मर्म पनि यहि हो । त्यसबाहेक मेरा केही सपना छन् । उद्योग वाणिज्य महासंघलाई थिङ ट्याङको रुपमा विकास गर्न चाहान्छु । यसको सचिवालय चुस्त दुरुस्त बनाउन चाहान्छु । सचिवालयलाई जिम्मेवार र पारदर्शी बनाउन चाहान्छु । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको लागि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गरी अलि बढी कार्यक्रम ल्याउन प्रयास गर्ने छु । त्यस्तै, मैले अहिले काम गरिरहेका श्रम ऐन, सामाजिक सुरक्षा ऐन अन्तिम चरणमा पुगेको छ, त्यसलाई संसदबाट पास गराउनेतर्फ काम गर्नेछु । भोट माग्ने क्रममा भोटरहरुले तपाई समक्ष कस्ता माग राखे ? महासंघका सदस्यहरुले कस्तो सेवाको अपेक्षा राखेका छन् ? महासंघमा १०४ जिल्ला नगर उद्योग वाणिज्य संघ सदस्य छन् । ९९ वस्तुगत संघ सदस्य भएका छन् । ८०० भन्दा बढी एसोसिएट सदस्यहरु छन् । सदस्यता बढ्ने क्रम तीब्र रुपमा बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघको हाइट धेरै बढीसकेको छ । महासंघका सबै सदस्यहरु कुनै न कुनै रुपमा महासंघका गतिविधिमा सहभागी हुन चाहान्छन्, जोडिन चाहान्छन् । चुनावी अभियानको क्रममा म ५० जिल्लामा भ्रमण गरेँ । जिल्ला उद्योग वाणिज्य संघका साथीहरुको कुरा सुनेँ । ७० प्रतिशत समस्या समान छन् । ती समस्या समाधान गर्न हामी सबै लाग्ने हो । मैले केमा जोड दिएको छु भने समस्या समाधान गर्नुमात्र महासंघको काम होइन, नयाँ अवसरको खोजी गर्नुपर्छ, जसले अझ बढी उद्योग र व्यापार फस्टाओस, अझ बढि समृद्धि छाओस । ५० वटा जिल्ला भ्रमण गर्दा क–कसलाई के–के कमिटमेन्ट गर्नुभयो ? जिल्लाहरुमा मुख्य तीन प्रकारका समस्या छन् । पहिलो, स्थानीय समस्या छन्, जस्तै कही सडकको कमी छ, कही पुल छैन, कही सीमानाका समस्या छन् । दोस्रो, नीतिगत समस्या जस्तै, थ्रेसहोल्डको समस्या, मिसम्याचको समस्या, करका दरको समस्या । उनीहरु चाहान्छन् कि यस्तो समस्या केन्द्रले उठाईदियोस् । तेस्रो, सम्बन्धको समस्या छ जस्तै, ओडीओपी, ओभीओपी, महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबीच मिलेर गरिएका अन्य कार्यक्रम । ती समस्याहरु समाधान गर्ने मेरो प्रतिवद्धता हो । मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ? तपाईले चुनाव जित्नुहुन्छ ? म ढुक्क छु, चुनाव जित्छु । मत मेरो पक्षमा छ । ७० प्रतिशत मत पाएर चुनाव जित्छु । जित्नुभयो भने हार्ने टिमप्रति कस्तो व्यवहार गर्नुहुन्छ ? उनीहरुलाई पनि टिममा सामेल गरेर महासंघलाई अगाडि बढाउने छु । हार्नुभयो भने ? किशोर प्रधानजीलाई सबैभन्दा पहिला म माला लगाईदिन्छु, बधाई दिन्छु र उहाँलाई सहयोग गर्ने विश्वास दिएर बाहिरिने छु । तपाईको प्रतिस्पर्धी किशोर प्रधानको कमजोरी के हो ? किशोर दाईलाई मैले चिनेको २५ वर्ष भईसक्यो । उहाँले चेम्बर मुभमेन्टलाई, महासंघलाई धेरै योगदान दिनुभएको छ । तर अहिले महासंघको नेतृत्व लिनको लागि उहाँ भन्दा म बढी सक्षम छु । यसपटक निर्वाचित हुनु भनेको आगामी ६ वर्ष महासंघको नेतृत्व गर्ने जिम्मेवारी तपाईले पाउनु हो । ६ वर्षमा महासंघमा के के परिवर्तन ल्याउनुहुन्छ ? आगामी १० वर्षमा देशले पुरै काचुली फेर्नेछ । महासंघले फेर्ने होइन, देशविकासको महत्वपूर्ण आधार बनेको छ । संविधान बनेको छ, चुनाव हुँदैछ, देशमा राजनीतिक स्थायीत्व हुँदैछ र आर्थिक विकासका अजेण्डाले प्राथमिकता पाउँदैछ । आर्थिक विकासको अभियानमा महासंघ धेरै भन्दा धेरै मानिसलाई सहभागी गराउन चाहान्छ । नीजि क्षेत्रको क्षमता विकासका लागि देश विदेशबाट लिन सक्नेसम्मको सहयोगलाई लिएर जिल्ला जिल्लामा पुर्याउने काम गर्नेछु । ठूला साना सबै उद्योगलाई म एउटै तराजुमा राखेर हेर्नेछु  । त्यसको लागि सचिवालय बलियो बनाउनुपर्छ । महासंघको हेरेक चुनावमा हरेक उम्मेदवारको नारा बन्दै आएको छ ‘सचिवालय सुधार’ । अहिले पनि तपाई महासंघको पावरफुल उपाध्यक्ष हुनुहुन्छ तर सचिवालयको कार्यकारी प्रमुख पद विगत एक वर्षदेखि खाली छ । महासंघको सचिवालयले पूर्व अध्यक्षहरुलाई चिठ्ठी पनि पुर्याउँदैन भन्ने कुरा बारम्बार आएको छ । तपाईले गर्न चाहेको सुधार के हो ? मेरो स्पेशलाईजेशन पिपुल म्यानेजमेन्टमा हो, सिस्टम म्यानेजमेन्टमा हो । म यस्तो अर्गनाईजेशनबाट आएको व्यक्ति हुँ जसले १६ हजार मानिसलाई रोजगारी दिएको छ । नेपालमा पहिलोपटक उद्योग खोल्ने अर्गनाईजेशनबाट आएको छु । प्रोफेशनल म्यानेजमेन्ट कसरी गर्नुपर्छ मलाई राम्रो ज्ञान छ । महासंघमा पनि प्रोफेशनल म्यानेजमेन्ट जरुरी छ । प्रोफेसनल डिजी आवश्यक छ, त्यहाँका कर्मचारीको क्षमता विकास गर्नुछ । त्यसपछि सचिवालयको कार्यसम्पादन क्षमतामा सुधार आउनेछ । आईटीको प्रयोग गरेर कम्यूनिकेशन सिस्टममा सुधार जरुरी छ । जिल्लाको समस्याहरुको बारेमा लगबुक मेन्टेन गरेर समाधान गर्दै जानुपर्छ । हरेक प्रोसेस पारदर्शी बनाउँदै जानुपर्छ । तपाईले महासंघको सचिवालयको मात्र सुधारको कुरा गर्नुभयो । केही जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ कार्यलय विहिन/अस्तव्यस्त छन्, उनीहरुको क्षमता विकासबारे तपाईको योजना के छन् ? तपाईको भनाई ठिक छ । धेरै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सचिवालय राम्रो र व्यवस्थित छ । केही कमजोर छन् । बस्तुगत संघहरुको पनि क्षमता विकास जरुरी छ । त्यसतफै पक्कै पनि हामी केही काम गर्छौ । सचिवालयमा राख्ने भनिएको थिङक ट्याङकले के काम गर्छ ? सचिवालयमा विज्ञ समूह बनाउँछौ । त्यो समूहले हरेक साता वा १५/१५ दिनमा हरेक आर्थिक गतिविधिलाई सुक्ष्म अध्ययन गरी त्यसबाट पर्ने असरबारे रिपोर्ट दिन्छ । त्यो रिपोर्टको आधारमा हामी सरकारलाई सुझाव दिन्छौं । सबैलाई थाहा छ कि नेपालमा उद्योग नखुल्नु, रोजगारी सिर्जना नहुनु, आन्तरिक उत्पादन कम हुनु, आयात बढ्नु, निर्यात नबढ्नु अर्थतन्त्रको मुख्य समस्या हुन् । अर्थविद्हरुले भनिरहेका छन् कि उद्योग चाहियो जसले रोजगारी पनि बढाउँछ, निर्यात पनि बढाउँछ । औद्योगिकरणको विषयलाई तपाईले चुनावी नारा किन बनाउनु भएन ? कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान घट्दै गएको छ । पहिला १४ प्रतिशत थियो, अहिले ५ प्रतिशत मात्र छ । यसमा २/३ वटा कारण छन् । जब सरकार राजश्वमुखी बन्छ, नीजि क्षेत्र व्यापार तिर जान्छ । जब सरकारले रोजगारी सिर्जन गर्ने, उत्पादन बढाउने नीति लिन्छ तब उद्योग पनि खुल्न थाल्छन् । तर राजनीतिक अवस्थामा सरकार पनि राजश्वमुखी भयो, देश व्यापार तिर गयो, रोजगारीको लागि मानिस विदेश जान बाध्य भए । आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन । एक त उद्योगको लागि बजार सानो छ । दोस्रो, बिजुली थिएन, उद्योग मैत्री ऐन कानुन भएन । पूर्वाधार कमी थियो । पछिल्लो समय विद्युत आपूर्तिमा सुधार भएको छ, ऐन कानुनमा सुधार आएको छ, सरकारले पूर्वाधार निर्माणमा बजेट बढाएको छ । अब उद्योगको लागि अनुकूल वातावरण बन्दैछ । महासंघको नेतृत्वले यसतर्फ महत्वपूर्ण भूमिका खेल्नुपर्छ । राजनीतिक नेतृत्व वा प्रशासनिक संयन्त्रले जहिले पनि आलोचना गर्दै आएको छ कि निजी क्षेत्रमा स्वच्छ व्यवसाय गर्ने संस्कारको विकास हुन सकेन । स्वच्छ व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न महासंघले किन काम गरिरहेको छैन र स्वच्छ व्यवसायकि वातावरण निर्माण गर्ने एजेण्डा महासंघको चुनावमा किन उठ्दैन ? मुल्य अभिवृद्धि कर लागु भएपछि नेपालमा कर प्रणालीमा धेरै सुधार आएको छ र फेयर विजनेशको वातावरण बन्दै गएको छ । मलाई लाग्छ, ९० प्रतिशत बिजनेश ट्याक्सको परिधिमा छ, पारदर्शी छ । खुला बजार बढी नाफा लिन प्रयास गर्नु गलत होइन । अब विधानको बारेमा कुरा गरौं । महासंघले पूर्वअध्यक्षहरुको असन्तुष्टिका बीच विधान संशोधन गर्यो । अहिले पनि पूव अध्यक्षहरु विधान संशोधन गर्नु गल्ती थियो, भूल भयो भनेर सार्वजनिक रुपमा बोलिरहनु भएको छ । पूर्वअध्यक्षहरुले गलत व्याख्या गरिरहेका हुन् कि तपाईहरुले महासंघलाई गतल बाटोमा लग्दै हुनुहुन्छ ? विधान संशोधनले महासंघ अझ सुधार हुँदैछ । वरिष्ठ उपाध्यक्षले तीन वर्षसम्म आफूलाई ग्रुम गर्न पाउँछ, विभिन्न क्षेत्रलाई नजिकबाट हेर्न पाउँछ । वरिष्ठ उपाध्यक्षले अध्यक्षता लिनको लागि राजनीति गर्नु आवश्यक पर्दैन । जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ । बरिष्ठ उपाध्यक्ष भएको तीन वर्षपछि विधानअनुसार अध्यक्ष भईहाल्छ । उसले सहि तरिकाले काम गर्न पाउँछ । यो कुनै नौलो प्रयोग पनि होइन । फिक्की, सीआईआई, सीएनआईमा पनि छ । त्यसकारण विधान संशोधन संस्थाको लागि एकदमै राम्रो निर्णय हो । ‘जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ’ भन्ने भनाई त वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाको व्यवहारले गलत सावित गरिसक्यो नि । तपाईलाई भन्दा बढी चुनाव उहाँलाई लागेको देखिन्छ ? मलाई त्यस्तो लाग्दैन । आफूपछिको नेतृत्वमा बेटर मान्छे आवस भन्ने चाहाना सबैलाई हुन्छ । मलाई लाग्छ उहाँ त्यही भूमिकामा हुनुहुन्छ । विधान संशोधनको महत्वपूर्ण भाव के थियो भने अध्यक्ष पदमा चुनाव धेरै महँगो, जटिल भयो, चुनावमा ग्रुपिजम भयो, निर्वाचनपछि पराजित समूहले महासंघलाई सहयोग गरेन । तर विधान संशोधनपछि वरिष्ठ उपाध्यक्षको निर्वाचन अध्यक्षको भन्दा महँगो, पेचिलो, ग्रुपिजम देखियो नि ? म यसमा दुईवटा कुरा भन्छु । एउटा चुनाव नीतिगत रुपमा गलत काम होइन, प्रजातान्त्रिक अभ्यास हो र यसले संस्थालाई बलियो नै बनाउँछ । चुनाव जितेपति अहंकार गर्नु, हारेपछि प्रतिशोध लिन समस्याको जड हो । यो मनस्थितिबाट हामी बाहिर जानुपर्छ । हुनसक्छ चुनाव पहिला अध्यक्षको जस्तै अहिले वरिष्ठ उपाध्यक्ष पदको लागि हुन्छ । तर तीन वर्षपछि कुलिङ टाइम हुन्छ । त्यसपछि सबैको अध्यक्ष बन्न सक्छ । अर्कोकुरो पहिला पहिला भन्दा अहिलेको चुनाव महँगो छैन, कम खर्च भएको छ । विगतका चुनावमा अध्यक्षको उम्मेदवार गाडी लिएर भोट माग्न जिल्ला भ्रमणमा जान्थे, तपाई हेलिकप्टर लिएर भोट माग्न जानुभयो, कसरी भयो सस्तो चुनाव ? यो सरकारी चुनाव होइन । करको दुरुपयोग गरेर, राज्यको ढुकुटी खर्च गरेर हेलिकप्टर उडाएको पनि होइन । महासंघको चुनाव निजी क्षेत्रको चुनाव हो, उद्योग व्यवसायीको चुनाव हो । सरकारी निकायको चुनाव भन्दा महासंघको चुनाव अलि खर्चिलो हुन्छ । मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ? मैले कर तिरेको ह्वाइट मनि खर्च गरेको हुँ । मैले कर तिरेर कमाएको पैसा साथीहरुको सुख दुःखमा खर्च गर्छु भने त्यो कसरी गलत हुन सक्छ ? मैले गलत गरे भन्ने मलाई लाग्दैन । म फेरी पनि महासंघको काममा आवश्यक पर्दा हेलिकप्टर चार्टर गर्छ । उद्यमी व्यापारीहरुले घरमै हेलिप्याड राख्नु, निजी हेलिकप्टर तथा प्लेन राख्नु, आफ्नो कामको सिलसिलामा निजी प्लेनमा यात्रा गर्नु नयाँ कुरा होइन, विश्वभर देखिएकै विषय हो । तर महासंघमा अध्यक्षको लागि भन्दा उपाध्यक्षको लागि चुनाव महँगो भयो कि भन्ने मेरो प्रश्न ? चुनावको क्रममा ५० वटा जिल्ला घुम्दा मैले एक पटक पनि वालेट निकालिन । डिजेलको लागि मैले पैसा तिरेँ हेलिकम्पटरको पैसा मैले तिरेँ । होटलमा बस्न, खान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको खर्च सबै जिल्लाका साथीहरुले गरे । जिल्लाका साथीहरु सक्षम छन्, मैले खर्च गर्नु परेन । यो उद्योगी व्यापारीको चुनाव हो । अलिकति खर्च पक्कै पनि हुन्छ । बुटवलमा भव्य ठूलो कार्यक्रम भयो । ६० जिल्लाबाट साथीहरु आए । मैले एक पैसा खर्च गर्नु परेन । हेटौडामा, जनकपुरमा, विराटनगरमा, नेपालगञ्जमा धेरै ठूला कार्यक्रम भए, मैले र राजधानीबाट गएका मेरा साथीहरुले एक पैसा पनि खर्च गर्नुपरेन, सबै जिल्लाका साथीहरुले खर्च गरे । तर पैसा तिरेर भोट किनेकोसम्म आरोप लाग्छ । त्यो सबै गलत हो । तपाईले उठाउनुभयो भोट किन्ने कुरा । महासंघका पूर्वअध्यक्षहरुले अनौपचारिक कुराकानीमा भन्नुहुन्छ, चुनाव जित्न अन्तिममा जिल्लाको १५ देखि १७ भोट किन्नै पर्छ । यो चुनावका भोट किनबेच हुन्छ कि हुन्न ? हुँदैन । आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन । जमाना पहिला जस्तो छैन । १०४ उद्योग वाणिज्य संघ मध्ये ९० भन्दा बढीको आफ्नै भवन छ । जिल्ला, नगर, वस्तुगत वा एसोसिएट भोट पैसाले किनिन्छ भन्ने कुरा कसैले नसोचे हुन्छ । तपाईले महासंघमा आफ्नो परिवारले तीन पुस्तादेखि योगदान गरेको बताउँदै आउनुभएको छ । चुनावमा यो कुरालाई तपाईले जोड दिएर उठाउनुको कारण के हो ? यस संस्थासँग म भावनात्मक रुपमा जोडिएको छु । महासंघ बनाउने, देशभरका निजी क्षेत्रका संस्थालाई जोडेर बलियो संस्था बनाउने सोच राख्नेमा मेरा बुवा हुलासचन्द्र गोल्छा । महासंघको विधान उहाँले नै तयार गर्नुभयो । चेम्बरको लागि उहाँले धेरै समय दिनुहुन्थ्यो । संस्था बलियो भयो भने आफ्ना समस्या यी संस्थाबाट अगाडि बढाउन सकिन्छ भन्ने कुरा उहाँले मलाई बुझाउनु भएको थियो । महासंघको कुनै पनि कार्य समितिमा हाम्रो संस्थाको प्रतिनिधि रहन्थ्यो । यो संस्थालाई निरन्तर माया गर्ने र यो संस्थालाई बलियो बनाउने हाम्रो विगतको प्रयास सम्झाउन खोजेको हुँ । ५१ वर्षदेखिको सम्बन्ध, मेरो काम र क्षमताका मूल्याङकन हुन्छ र मलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।

अर्घाखाँची सिमेन्ट अब मोइस्चर प्रुफ प्याकेजिङ्मा नेपाली बजारमा

काठमाडौं । देशकै उत्कृष्ट र गुणस्तरीय अर्घाखाँची ओपीसी सिमेन्ट अब नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सोमबार एक कार्यक्रम बीच उक्त प्याकेजिङमा सिमेन्टको सार्वजनिक गरेको हो । उक्त सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोगमा सहज हुने कम्पनीले जनाएको छ । साथै धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर नपार्ने जनाइएको छ । रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्टले हाल १,२०० मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ( ६०००० ) ओ.पी.सी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना गरेको छ । उक्त सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका हौैँ र उहाँले यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी समेत गर्नुभएको छ । विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएका छौ ।’

केल्भिनेटरले ल्यायो नयाँ वर्षे अफर, रेफ्रिजेरेटर खरिदमा क्यास ब्याक

काठमाडौं । नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी केल्भिनेटरले उपभोक्ता माझ कुलेष्ट अफर ल्याएको छ । कुलेष्ट अफर अन्तर्गत उपाभोक्ताहरुले रेफ्रिजेरेटर तथा चेष्टफ्रिजरको खरिदमा क्यास ब्याक अफर पाउने छन् । साथै, वासिङ मेसिनको खरिदमा सिजी एसपीरे आइरन र एसीमा फ्री इन्स्टलेशनको सुविधा पाउने कम्पनीले जनाएको छ । केल्भिनेटर ब्राण्डको नेपाल अधिराज्यभर आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा.लीले गर्दै आएको छ ।

नेपाली आकासमा उडे पौने ५३ लाख यात्रु, वार्षिक १५ प्रतिशतले बढ्यो आकास प्रयोग गर्ने यात्रुको संख्या

काठमाडौं । नेपाली आकास प्रयोग गरेर विदेशिने र नेपालकै विभिन्न गन्तव्यमा यात्रा गर्ने हवाई यात्रुको संख्या पौने ५३ लाख पुगेको छ । नेपाली आकासमा उड्ने हवाई यात्रुको संख्या वर्षेनी बढ्दै गइरहेको छ । सडक यातायातको तुलनामा हवाई यात्रा निकै सुरक्षित, सहज र छिटो हुने भएकोले पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले हवाई यात्रु बढेको तथ्यांकले देखाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अनुमति शाखाले जानकारी दिएको छ । यो शाखाका अनुसार अघिल्लो वर्ष जम्मा ४५ लाख ८१ हजार हवाई यात्रुले नेपाली आकास प्रयोग गरेका थिए । यो वर्ष १५ प्रतिशतले बढेर ५२ लाख ८५ हजार जना पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय हवाइ यात्रुको उडान तथा अवतरणको संख्या ३५ लाख १० हजार रहेको छ भने आन्तरिक हवाई यात्रुको संख्या १७ लाख ७५ हजार पुगेको देखिएको छ । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ । अघिल्लो २ वर्ष अर्थात सन् २०१४ र सन् २०१५ मा भूकम्प र नाकाबन्दीले नेपाली आकास प्रयोग गर्ने हवाई यात्रु तुलनात्मक रुपले कम थिए भने सन् २०१६ मा भने केही बढेको देखिएको छ । सन् २०१५ मा आन्तरिक हवाई यात्रु जम्मा १३ लाख र अन्तर्राष्ट्रिय हवाई यात्रु ३२ लाख मात्रै रहेको विमानस्थलको तथ्यांकमा उल्लेख छ । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा बुद्ध एयरको रहेको छ । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगटिरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको २८ वटा रहेको छ भने आन्तरिक वायुसेवाको संख्या १७ वटा छ । नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । आन्तरिकमा बुद्ध र अन्तर्राष्ट्रियमा निगम अगाडि सन् २०१६ मा नेपाली आकास प्रयोग गरेर सेवा दिने वायुसेवा कम्पनीमध्ये आन्तरिक वायुसेवामा बुद्ध एयर पहिलो स्थानमा छ भने अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा रहेको छ । बुद्धले बार्षिक ८ लाख यात्रुलाई सेवा दिएर पहिलो स्थानमा रहेको छ । यो वायुसेवा वर्षोदेखि पहिलो स्थानमै रहेको छ । यो वायुसेवासँग जहाज संंख्या धेरै र सिट क्षमता पनि बढी रहेको छ । वायुसेवा निगमले भने एयरवसका २ वटा नयाँ जहाज भित्र्याएपछि पहिलो स्थानमा आइपुगेको हो । दुई वर्षसम्म निगम पाँचौ स्थानमा थियो । यसले नयाँ जहाज थप गरेसँगै यात्रु उडान क्षमता पनि बढाएको छ । निगमले तीन लाख ८४ हजार यात्रुलाई उडान तथा अवतरणको सेवा दिएको छ । यो संख्या सन् २०१५ मा जम्मा दुई लाख ५३ हजारमात्रै थियो । निगमकाे जहाजकाे फाइल तस्बिर सडक यातायात अवरुद्ध हुँदा आन्तरिक उडान बढ्यो आन्तरिक उडानमा पनि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि आन्तरिक उडानको चाप बढ्दै गएको छ । यो सडक यातायातको प्रयोग गरेर जाने यात्रुले समयमा नै गन्तव्यमा पुग्न नसक्ने, यात्रुको सुरक्षामा ग्यारेन्टी नभएको र हतारमा हुने यात्रुलाई सडक यातायात भरपर्दो नभएकोले पनि आन्तरिक उडानका यात्रु बढ्न थालेको उल्लेख छ । सिम्रिक एयरले भखेरै भरतपुर नियमति उडान थालेको छ । यो वायुसेवाले यात्रु चाप बढेकै कारण यो गन्तव्यमा उडान थप गरेको हो । बुद्ध एयरले पनि दैनिक दुईवटा उडानलाई चारदेखि ६ वटासम्म बनाएको छ । यति एयरले पनि आफ्नो दैनिक उडानलाई दोब्बर बनाएर भरतपुर, भैरहवा उडान बढाएको उल्लेख छ । यो सडक अवरुद्धले भरतपुर र भैरहवाको उडानका यात्रु बढेको सम्वन्धित वायुसेवा कम्पनीको भनाइ छ । पार्किङ व्यवस्थापनमा चुनौति आन्तरिक वायुसेवाका लागि पार्किङ व्यवस्थापन त्यति ठूलो समस्या नभएपनि अन्तर्राष्ट्रिय उडानमा भने निकै समस्या रहेको ठाकुरले बताए । उनका अनुसार २८ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन । यसका लागि जम्मा ९ वटा पार्किङ वे रहेको छ । उडान धेरै हुने र वायुसेवा बढ्दा उडान व्यवस्थापन मिलाउनु नै निकै चुनौतिपूर्ण रहेको पनि ठाकुरले बताए ।

नेपाल बै‌कको १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन, वैशाख ७ गतेबाट आवेदन खुला

काठमाडाै‌ । नेपाल बैंक लिमिटेडले १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैैंकले प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित यो हकप्रद सेयर एक सय वटा सेयर बराबर २३ दशमलव ७४ ( १००ः २३.७४) कित्ता दिने भएको छ । यसको हकप्रद सेयरको आवेदन आगामी बैशाख ७ गतेबाट जेठ १० गतेसम्म दिन पाइने उल्लेख छ । बैंकले हालयको ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार २०० रुपैयाँको चुक्ता पुँजीमा २३ दशमलव ७४ प्रतिशतका दरले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्न लागेको हो । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो । यसको हकप्रद सेयरको लागि सिभिल क्यापिटल सुन्धारा र बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ । यो बैंकको हाल बजारमा प्रति कित्ता सेयरको ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

फास्टट्रयाक बनाउन नेपाली सेनाकाे विशेष संयन्त्र, सेनालार्इ व्यवस्थाकीय जिम्मा

काठमाडौं । नेपाली सेनाले फास्टट्रयाक बनाउने जिम्मा लिएको छ । सेनाले सोमबार पत्र पठाएरै फास्टट्रयाक बनाउन विशेष संयन्त्र बनाउने र व्यवस्थापकीय जिम्म लिने विषयमा सहमति दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टले बताए । उनका अनुसार सेनाले औपचारिक रुपमा यो मार्ग बनाउने जिम्म लिाएको छ । सरकारको यस अघि नै यो मार्ग निर्माण नेपाल सरकार आफै बनाउने निर्णय गरेको थियो । रक्षा मन्त्रालयले फास्टट्रयाक बनाउने व्यवस्थापनको जिम्मेवारी दिन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई औपचारी पत्र पठाएको उल्लेख छ । चैत १७ गते भौतिक मन्त्रालयले फास्टट्रयाक निर्माणको कार्य गर्ने जिम्मा नेपाली सेनालाई दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार गर्दै रक्षा मन्त्रालयले आज व्यवस्थापनको जिम्मा दिने आग्रह गरेको भट्टले जानकारी गराए । उनका अनुसार रक्षा मन्त्रालयले व्यवस्थापनको जिम्मा लिइसकेपछि त्यसका लागि फास्टट्रयाक व्यवस्थापन विशेष संयन्त्र गठन गरी त्यसको अनुगमन गर्नेछ । ७६ किमीको यो सडक बनेपछि काठमाडौं तराई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने छ ।