विकासन्युज

प्रति व्यक्ति ४५ सय भारु साटिदिने भारतीय प्रस्ताव

काठमाडौं । भारतले नेपालीसँग रहेको ४५ सय भारतीय रुपैंयाँ साटिदिने प्रस्ताव अघि सारेको छ । नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाल आएको भारतीय रिजर्भ बैंक(आरबिआई)को टोलीले नेपाल राष्ट्र बैंकलाई सो प्रस्ताव राखेको हो । आरबिआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्वको टोलीले भारु सटहीबारे नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको छ । नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकले बैधानिक ढंगले बोक्न पाउने २५ हजार भारु नै साट्नुपर्ने अडान राखेको केन्द्रिय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी नेतृत्वमा विभागिय प्रमुख ढुंगानासहितको नेपाली टोलीले भारत पुगेर भारु सटहीको पहल गरेको थियो। पन्तकै नेतृत्वमा आरबिआइको टोलीले नेपाल आएर भारु सटहीबारे प्रारम्भिक छलफल गरेर भारत सरकारलाई प्रतिवेदन समेत बुझाएको थियो । नेपालको बैंकिङ प्रणालीमा ३ करोड ७४ लाख भारु मात्रै रहेको छ ।

नेप्से परिसूचक ४७ अंकले बढ्यो, एक अर्ब ७६ करोडको सेयर कारोबार

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन नेप्से परिसूचक ४७ दशमलब ७९ अंकले उकालो लागेर १५३३ दशमलब ८३ अंकमा पुगेको छ । कारोबार शुरु भएको करिब ३ घण्टाको अवधिमा परिसूचक ६० अंकले बढेर १५४६ अंकमा पुगेको थियो । तर बन्द हुँदा भने परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । भारी अंकले बढेको बजारमा कारोबार रकम पनि सुधार आएको छ । एकै दिनको बजारमा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४३ कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको एकै दिन १९ करोड २८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ९ करोड र नेशनल हाइड्रो पावर कम्पनीको ८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यी दुई संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३७६ र १५५ रुपैयाँ रहेको छ । कुल १४३ कम्पनीको कारोबार भएको बजारमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ भने बाँकी तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको क्रमशः ३.६, १.९८ र १.९५ अंकले सेयर मूल्यमा गिरावट आएको छ । आइतबार कारोबार भएका सात समूह परिसूचक:

एक हजार पशु चौपायाको निःशुल्क उपचार

लहान । सिरहाको लहान नगरपालिका-१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब एक हजारभन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ । वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा गत बिहीबारदेखि शनिबारसम्म सञ्चालित उक्त शिविरमा गाईभैँसी, बाख्रालगायत करिब एक हजारभन्दा बढी पशु चौपायाको निःशुल्क उपचार गरिएको कृषक समूह महासङ्घका रामसेवक रामले जानकारी दिए । शिविरमा पशु चौपायामा लाग्ने पिपिआर, नाम्ले, जुका, एचएसबीक्युलगायत रोगविरुद्धको खोप लगाउनाको साथै गाई, भैैंसी, बाख्रालगायतमा हुने बाँझोपनको समस्याको समेत उपचार गरिएको रामले बताए । शिविरका क्रममा सरकारले ल्याएको पशु बिमा कार्यक्रमबारे समेत कृषकलाई जानकारी दिइएको थियो । रासस

चीनको ‘ओबिओर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छः मन्त्री डा महत

काठमाडौं। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहेका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आइतबार आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् । उनले भने – “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्को संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।” परराष्ट्रमन्त्री डा महतले छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पुर्याउनका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास व्यक्त गरेका परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताए । सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने बताउँदै उनले चीनलाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउन आग्रह गरेका छन् । मन्त्री डा महतले भने – “नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन ।” नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा लगानीका लागि उनले चीन सरकारसँग आग्रह पनि गरेका छन् । मन्त्री डा। महतले हामीसँग प्रचुर मात्रामा जल, प्राकृतिक सम्पदा, जडीबुटी, वनस्पति तथा विश्वप्रसिद्ध आकर्षक हिमाल पहाड भए पनि पूर्वाधारको कमीका कारण यो सम्पत्तिबाट हामी लाभान्वित हुन सकेका छैनौँ भने अर्कातर्फ बर्सेनि हाम्रो श्रम बजार बाहिरिएको छ भने । एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा पुर्याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दै उनले सदियौँअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल–चीन सम्बन्ध हाल पनि सुमधुर रहेको र नेपाल एक चीन नीतिप्रति अडिग रहिआएको प्रतिबद्धता व्यक्त गरेका छन् । सो सेन्टरमा विभिन्न वक्ताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गरेका थिए । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री डा महतसँग आजै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओले भेटवार्ता गरेका जनसम्पर्क तथा प्रेस संयोजक पाठकले बताए । रासस

अपडेटः नेप्से परिसूचक ६० अंकले उकालो, एक अर्ब माथीको सेयर कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ । कारोबार शुरु भएको करिब तीन घन्टामा नेप्से परिसूचक ६० अंकले बढेर १५४६ दशमलब ४८ अंकमा पुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भएको छ । सो अवधिसम्म एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १४१ कम्पनीको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भइसकेका छन् । कारोबार भएका सात वटै समूहको परिसूचक उकालो चढेका छन् । बीमाको मात्रै ३०८ अंकले उकालो लागेको छ भने हाइड्रो समूहको परिसूचक पनि १५५ अंकले उक्लि सकेको छ । सो अवधिसम्म ४ वटा कम्पनीको बाहेक अन्य कम्पनीको सेयर मूल्यमा वृद्धि भएका छ ।

औषधि उद्योगमा ५० अर्ब लगानी, २० हजार जनशक्तिलाई रोजगारी

काठमाडौं । नेपालमा औषधि उद्योगमा ५० अर्ब रुपैयाँ लगानी भएको छ । ५१ ओटा उद्योगबाट उत्पादन भएको औषधिले नेपाली बजारको ४५ प्रतिशत हिस्सा ओगटेको छ । अन्य नपुग औषधि भने नेपालले विदेशी कम्पनीबाट लिने गरेको छ । औषधीमा देशलाई आत्मनिर्भर बनाउन सकिने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । अहिलेसम्म प्राय सबै रोगका औषधि उत्पादन भएपनि आवश्यता परिपूर्ति भने हुन नसकेको उनले बताए । हाल नेपाली बजारमा १ सय ८० भारतीय उद्योगका औषधिहरू खपत भइरहेको छ ।नेपाल विभिन्न ७२ थरीका औषधिमा आत्मनिर्भर भइसकेको छ । स्वदेशी औषधि उद्योगले मात्रै २० हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘केही वर्ष अघिसम्म सामान्य प्रकृतिका औषधिका लागि विदेशमा भर पर्ने अवस्था थियो, तर अबका केही वर्ष भित्र आवश्यक सबै प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा संघले बताएको छ । अहिले नेपालमा अन्तरराष्ट्रिय मापदण्डका औषधीहरू उत्पादन हुन्छन् । डब्लूएचओ जीएमपी (विश्व स्वास्थ्य सङ्गठन गूड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्राप्त औषधी उत्पादन गर्ने उद्योगको संख्या ३८ पुगेको छ । तर, यो मापदण्डअनुरूप नै सबै उद्योगले उत्पादन गरिरहेको संघले जानकारी दिएको छ । स्वदेशमा उत्पादित औषधिले राम्रो उत्पादन भइरहेको छ । स्वदेशी उत्पादन कुनै बहुराष्ट्रिय कम्पनीका उत्पादनभन्दा कम नभएको सम्बन्धित उत्पादकहरूको दाबी छ । गुणस्तरीय भएकै कारण नेपाली उत्पादनको खपत बढिरहेको नेपाल औषधि उत्पादक संघका बताएको छ । औषधिमा आत्मनिर्भर हुँदै गए पनि विदेशी औषधिको आयात निरुत्साहित गर्न सके मात्र स्वदेशी उद्योग फस्टाउने मौका पाउने सम्बन्ध क्षेत्रका विज्ञहरूको भनाइ छ । व्यवसायीहरू अत्यावश्यक भए मात्र विदेशी औषधि उद्योग दर्ता गर्न दिनुपर्ने अन्यथा यस्ता उद्योगलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् । ‘सरकारले स्वदेशी औषधि उद्योगलाई नयाँ–नयाँ औषधि (न्युमोलिक्युल) उत्पादनमा विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ । यसले गुणस्तरीय औषधीको उत्पादनमा सघाउने उनीहरूको भनाइ छ । औषधि व्यवस्था विभागमा दर्ता भई नियमनको दायरामा लगभग १७ हजार औषधि दर्ता, २१ हजार औषधि विक्रेता तथा वितरक, १ सय २४ स्वदेशी औषधि उत्पादक र ३ सय विदेशी उत्पादक छन् । देशभर रहेका यी औषधि उत्पादक तथा वितरक नियमनको कामका लागि विभागमा १ सय १५ जनाको मात्रै दरबन्दी छ । औषधि र औषधिमूलक वस्तुको दुरुपयोग नियन्त्रण, औषधीको प्रयोग तथा प्रभावकारितासम्बन्धी सही सूचना प्रवाह गर्न विभागलाई स्रोत साधनले सम्पन्न गराउनुपर्ने आवश्यकता छ ।

शुभलक्ष्मी सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा राजाराम खड्का, बैकिङ छाडेर उद्यमीको बाटोमा

काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा जाने निर्णय गरे’ खड्काले विकासन्युजसँग भने । ‘अन्ततः पूर्णकालिन जागिरको रुपमा मैले बैकिङ छाडेँ र सिमेन्ट क्षेत्रमा कार्यकारी प्रमुखको भूमिका सहित उद्यमीको काम थालेको छु’ उनले फेसबुक पेजमा लेखेका छन् । उनले २० वर्ष पहिला नबिल बैंकबाट जागिर शुरु गरेका थिए । पछि एभरेष्ट, एनआईसी एशिया, सनराईज हुँदै इन्टरनेशनल डेभपलमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी थोरै समय सो बैंकमा डेपुटी जनरल म्यानेजरको भूमिकामा थिए । एनसीसी बैंकबाट दुई महिना अघि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरिसकेको छ ।

बाहिरी चक्रपथको लागत ८ बर्षमा ११७ दशमलब २४ प्रतिशतले वृद्धि

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडक आयोजनाको लागत पछिल्लो ८ बर्षमा १७७ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ । २०६५ सालमा तयार भएको लागत अनुमान ८ बर्षपछि ११७ दशमलब २४ प्रतिशतले वृद्धि भएको हो । २०६५ सालमा चोभार-सतुंगल खण्डको ६.६१८ किलोमिटर निर्माणका लागि २ अर्ब ९ करोड लागत अनुमान गरिएको थियो । ८ बर्षपछि अर्थात २०७३ सालमा आइपुग्दा यसको लागत बढेर ६ अर्ब ३० करोड पुगेको छ । ‘८ बर्ष अघि २ अर्ब ९० करोडमा पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार–सतुंगल खण्डको निर्माण हुने आँकलन थियो तर अहिले बढेर ६ अर्ब ३० करोड पुगेको छ’, आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । यो आयोजनाको लागत बर्षेनी औषतमा १४.६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । सो खण्डमा अनुमानित ७ हजार कित्ता जमिन पर्छ । तीमध्ये ९६ जनाले मात्रै असहमति जाहेर गरेका छन् । बाँकी सबै स्थानियबाट आयोजना निर्माणका लागि सहमति प्राप्त भैसकेको छ । कानुनतः ५१ प्रतिशत स्थानियको स्विकृति प्राप्त भएपछि काम अघि बढाउन पाइन्छ । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । आयोजनाले केहि दिन भित्रै पाइलट प्रोजेक्टका रुपमा अघि सारेको चोभार–सतुंगल खण्डमा जग्गा कारोबार तथा घर निर्माणमा रोक लगाउने तयारी गरिरहेको छ । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।