क्यापिटल मर्चेन्ट तथा फाइनान्सबाट ९ कराेड ४१ लाख ठगी गर्ने किरणकेशर नेपाल पक्राउ
काठमाडौँ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट ठगी गरी फरार रहेका मन्डिखाटारका किरणकेशर नेपाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले तीनवर्ष कैद र रु नौ करोड ४१ लाख ३७ हजार ७७४ जरिवाना ठहर भएकोमा उल्लेखित सजाय बेरुजु भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पानीपोखरीबाट पक्राउ गरेको हो । नेपालले २०६७ असार ३१ गते मण्डिखाटार काठमाडौँस्थित आफ्नो नामको आठ रोपनी जग्गाको अत्यधिक मूल्याङ्कन गराई धितो राखी हुँदै नभएको ‘सीता खाँडसरी चिनी मिल’ परियोजनाका लागि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा रु नौ करोड कर्जा लिई व्यावसायिक रुपले जग्गा कारोबारमा लगानी गरी दुरुपयोग गरेका थिए । फैसला कार्यान्वयनका लागि नेपाललाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि आज केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पठाइएको छ । रासस
भूकम्पले भत्किएको २२ महिनापछि सिंहदरवार एक भाग निर्माण गर्न निर्माण समिति र सल्लाहार समिति गठन, कहिले बन्ला पूर्ण सिंहदरवार ?
काठमाडौं । भूकम्पले भत्किएको २२ महिनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिहदरवारको मुल भवनको पश्चिमतिरको भाग पुननिर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको मंगलवार बसेको कार्यकारी समितिको बैठकले सिहदरवारको पश्चिमतिरको भागको यथाशिघ्र प्रवलीकरण गरि पुननिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । समितिमा पुरातत्व बिभागका प्रतिनिधी, प्राधिकरणका सहसचिव, शहरी बिकास मन्त्रालयका सहसचिव, पुरातत्वविद्हरु रोहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् । समितिले यथाशिघ्र सिहदरवारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुननिर्माणको काम अघि बढाउनेछ । उक्त समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा विभिन्न पुरातत्वविद् संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति गठन भएको छ । सल्लाहकार समितिसंग आवश्यक परामर्श र छलफल गरि पराजुली संयोजकत्वको समितिले आफ्नो अघि बढाउनेछ । ऐतिहासिक धरोहर तथा एशियाकै उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई पछिल्लो भुकम्पले क्षति पुरयाएको थियो ।
विदेशबाट फर्किएर उद्यमी बनेकालाई पुरस्कृत गरिने, पुरस्कारका लागि ३० भित्र अावेदन गर्न अह्रवान
काठमाडौं। तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई रु ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गर्ने भएको हो । मन्त्रालयले यसरी स्वदेशमा उद्यमी बनेकालाई ३० दिनभित्र श्रम तथा रोजगार मन्त्रालयको रोजगार समन्वय तथा तालिम शाखामा आवेदन हाल्न आह्वान गरेको छ । परेका आवेदनमध्येबाट उत्कृष्टलाई छान्न मन्त्रालयको रोजगार समन्वय तथा श्रम सम्बन्ध महाशाखाकी प्रमुख आभा श्रेष्ठ कर्णको संयोजकत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, घरेलु तथा साना उद्योग विभागका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि, मन्त्रालयका कानुन उपसचिव रहेको सिफारिस समिति गठन गरेको छ । विदेशमा रहँदा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यले विशेष प्रोत्साहन गर्नु जरुरी देखिएकाले सरकारले पुरस्कारका लागि आह्वान गरेको महाशाखा प्रमुख कर्णले बताए । पुरस्कृत भएकाको अनुभव र सफलताको कथाबाट विदेशमा कार्यरत अन्य नेपालीलाई स्वदेश फर्किएर कामको योजना बनाउन तथा गैरकानुनी बसाइ अन्त्य गर्नसमेत भूमिका खेल्ने उनकाे भनाइ छ । उनले भने, “विदेश जाने सोच बनाएकालाई यहीँ केही गर्न सकिने रहेछ भन्ने तथा विदेशबाट फर्किएर आएकालाई स्वदेशमै अब केही गरौँ भन्ने दोहोरो सन्देश पुरस्कारले दिनेछ ।” विदेशबाट ल्याएको रकम घर, घडेरी किनेर सक्ने अहिलेको परीपाटीलाई तोड्न र सो रकमले उद्यमी बन्न सकिन्छ भन्ने सचेतनासमेत यसले फैलाउने मन्त्रालयकाे अपेक्षा रहेकाे छ । राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सिर्जनाका आधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्था बमोजिम अहिले मन्त्रालयले पहिलोपटक पुरस्कृत गर्न लागेको हो । विशेष कार्यक्रम गरी पुरस्कृत व्यक्तित्वको सम्मान गरिनुका साथै आगामी वर्षसमेत यसलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सो सम्बन्धमा ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ समेत बनाएको छ । उद्यमी पुरस्कारका लागि छनोट गर्दा १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिने कार्यविधिमा उल्लेख छ । यसअनुसार रोजगारी सिर्जना र पुँजी लगानीको अनुपातको २० अङ्क, स्थानीय साधन, स्रोत र प्रविधिको उपयोग २०, आयात प्रतिस्थापन/निर्यातमूलक उद्योग १०, अनुसन्धानमूलक वा आविष्कृत प्रविधिको प्रयोग १०, राज्यलाई तिरेको करको योगदान १०, दुर्गम एवम् विकट क्षेत्र वा गाउँघरमा उद्योग स्थापना व्यवसाय र सञ्चालन १०, महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत वर्गलाई रोजगारी प्रदानका लागि १०, सामाजिक दायित्व बहन ५, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनका लागि ५ अङ्क तय गरिएको छ । रासस
नेशनल लाईफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि कम्पनीले एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको कम्पनी सचिव सुशेरप्रसाद खत्रीले जानकारी दिए । कम्पनीको जीवन बीमा कोष १६ अरब रुपैयाँ हाराहारीमा पुगेको छ । बीमितहरुलाई प्रतिष्पर्धात्मक एवम् आकर्षक बोनस दर प्रदान गरि रहेको यस कम्पनीले ग्राहक वर्गलाई थप सुविधा दिन नेपाल अधिराज्य भरि आफ्ना शाखा, उपशाखा र सम्पर्क कार्यालय मार्फत आधुनिक सेवा प्रदान गर्दै आएको छ । कम्पनी सचिव खत्रीका अनुसार कम्पनीले आ.व.२०७२÷०७३ मा कूल ३ अरब ८४ करोड बीमाशुल्क संकलन गरेको छ ।
फागुन २० देखि नेपाल फर्मा एक्स्पो, २ बर्षभित्रै औषधीमा आत्म निर्भर हुने घोषणा
काठमाडौं । आगामी फागुन २० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०१७ को आयोजना हुने भएको छ । नेपाल औषधी उत्पादक संघले आयोजना गर्ने एक्स्पो फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका, जर्मनी र जापानका १०८वटा स्टल रहने नेपाल औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । गुणस्तरियताबाट आत्मनिर्भरता तर्फ भन्ने नारासहित आयोजना गरिने एक्स्पोमा नेपालमा उत्पादित औषधी र त्यसको प्रबिधी प्रदर्शन गरिने अध्यक्ष घिमिरले बताए । मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले नेपाल ७७ प्रकारका औषधीमा आत्मनिर्भर रहेको बताउँदै आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर हुन सक्ने घोषणा गरे । सरकारले नेपालमै उत्पादन भएका औषधीहरुको आयातमा रोक लगाए आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर बनाउन सकिने बताएका हुन् । गत आर्थिक बर्षमा नेपालमा ३६ अर्ब २० करोडको औषधी कारोबार भएको उनले जानकारी दिएका थिए । सो मध्ये १६ अर्ब २० करोडको बजार नेपाली उत्पादनको रहेको र बाँकी २० अर्बको औषधी आयात भएको उनले बताएका थिए ।
सिद्धार्थ बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्ड अब काम नलाग्ने, नयाँ कार्ड ईएमभी चिप प्रयाेगमा ल्याउने जानकारी
काठमाडौं । तपाईसँग सिद्धार्थ बैंक डेबिट, क्रेडिट र प्रिपेड कार्ड छ ? छन् भने ती कार्ड अब काम लाग्ने छैनन् । ती कार्डकाे सट्टामा बैंकले नयाँ कार्ड ल्याउने जानकारी दिएकाे छ । सिद्धार्थ बैंकले यसअघि बिक्री वितरण गरेको डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी ईएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले अब उपरान्त ग्राहकहरुलाई ईएमभी चिप कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्रीप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि ईएमभी चिप कार्डले प्रतिस्थापन गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । ‘विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रीप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले नयाँ ईएमभी चिप कार्ड प्रविधि सञ्चालनमा ल्याएको’ मंगलबार जनाएको छ । ‘यस ईएमभी चिप कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पीओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।
अब चल्छ आईफोनमा फोरजी, टेलिकमको विशेष अनुरोधमा नयाँ सुविधा थप
काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा अब आईफोनका सबै सेरिजमा चल्ने भएको छ । यसअघि यो सेवा आईफोन ५ सेरिजका सेटमा मात्र चल्थ्यो । ‘आजदेखि आईफोन सिक्स, सिक्स प्लस, आईफोन सेभन, सेभन प्लसका सेटहरुमा पनि फोजी÷एलटीई सेवा प्रयोग गर्न सकिने भएको छ’ टेलिकमले मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘नेपाल टेलिकमले फोरजी÷एलटीई सेवा सञ्चालन आरम्भ गर्नु अगावैदेखि एप्पल कम्पनीका सबै सेरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेका थियौं’ टेलिकमले भनेको छ–‘सो कम्पनीले आगामी मार्च महिनादेखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।’ आईफोनका केही सेरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरी फोरजी चलाउन मिल्ने सुविधा दिएको जनाईएको छ ।आईफोन कम्पनीको वेवसाइट बेटा.एप्पल.कममा उपलब्ध निर्देशन अनुसार बेटा भर्सन सफ्टवेयर डाउनलोड गर्नु पर्ने टेलिकमका प्रबक्ता प्रतिमा बैद्यले जानकारी दिएकी छिन् ।
एनसेलले ल्यायो भ्यालेनटाइन अफर, अाफ्नाे प्रिय मान्छेलार्इ ५० पैसामा फाेन गर्न सकिने
काठमाडौं । एनसेलका ग्राहकहरुले आफुले छानेको एउटा विषेश नम्बरमा अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् र रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको मजा पनि लिन सक्नेछन् । यही बुधबार (माघ २६) देखि लागु हुने गरी देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी आफ्नो प्रियजनसँग अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुनेछ र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने साे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएम मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । यसका लागि ग्राहकले अंग्रेजीमा एड अर्थात एडिडि (ठूलो ए र सानो अक्षरमा डिडि) स्पेस पेयर गरिने मोबाइल नम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन् । त्यस्तै पिआरबिटि सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरुको सुचिबाट आफ्नो रोजाइको गीतलाई ५०% छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । आफ्नो साथीभाईलाई कल गर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपी गर्न सक्नेछन् । यसरी कपी गरिएको टोन यदी अफरको सुचिमा समावेश गरिएका २० वटा गीत मध्य भयो भने ग्राहकले रिङ ब्याक टोनमा ५०% छुट पाउनेछन् । ‘‘ग्राहकहरुका लागि सुलभ दरमा आफ्ना प्रियजनसँग कुरा गर्न तथा निःशुल्क एसएमएसको मजा लिन सकिने यी अफरहरु ल्याउन पाउँदा हामी हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘एउटा नम्बर पेयर गरी सुलभ शुल्कमा कुरा गर्न सकिने र ५० प्रतिशत छुटमा आफुलाई मन परेको गीत रिङ ब्याक टोन राख्न मिल्ने सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्नेमा हामी विश्वस्त छौ ।’’ यी दुवै अफरहरु १५ दिनको लागि मान्य रहनेछ ।