१३ देशमा राजदूत नियुक्तिको हुँदै, राजनीतिक भागबण्डको टुंगो लागेपछि नाम सिफारिश
काठमाडौं । सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ । सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो । माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ । ‘अब चाँडै राजदूतहरूको नियुक्ति हुन्छ, यो साता निर्णय हुनेछ,’ परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । लगत्तै शुक्रबार परराष्ट्रमन्त्री महत बेल्जियम र लक्जेम्वर्ग भ्रमणमा जाने तय भएको छ । गत १९ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता भारतमा दीपकुमार उपाध्याय र चीनमा लीलामणि पौड्याल राजदूत नियुक्त भएका छन् । कांग्रेस ६, माओवादी ४, राप्रपा ३ राजनीतिक स्रोतका अनुसार कांग्रेस कोटाबाट ६, माओवादीबाट चार र राप्रपाबाट तीनजना राजदूत हुनेछन् । माओवादीले केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका चारजनालाई नै निरन्तरता दिने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रबाट अघिल्लो सरकारका पालामा डा। महेन्द्रबहादुर सिंह ९कतार०, लक्की शेर्पा ९अस्ट्रेलिया०, युवनाथ लम्साल ९डेनमार्क०, पदम सुन्दास ९बहराइन० सिफारिस गरिएका थिए । यसपटक पनि यी देश दोहोरिन सक्ने सम्भावना रहेको बुझिएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले चाँडै राजदूत नियुक्तिका लागि प्रधानमन्त्री आफैँले अग्रसरता देखाइरहेको जानकारी दिए । ‘मलाई व्यक्तिबारे विस्तृतमा जानकारी छैन, तर प्रधानमन्त्रीले अग्रसरता देखाइरहनुभएको छ, सायद यसै साता टुंगिएला,’ अधिकारीले नयाँ पत्रिकासँग भने । कांग्रेसमा नेतापिच्छे नाम सिफारिस कांग्रेस कोटामा जापान, दक्षिण कोरिया, श्रीलंका, इजरायल, साउदी अरब पर्ने लगभग निश्चित भएको छ । यसबाहेक कांग्रेसको कोटामा थप दुई देशका लागि राजदूत हुनेछन् । यसपटक कांग्रेसबाट डा। जगदीशचन्द्र पोखरेल, डा। दिनेश भट्टराई, डा। विश्वम्भर प्याकुरेल, दिव्यमणि राजभण्डारीको नाम तय भएको छ । पोखरेल र भट्टराई क्रमशः कांग्रेस नेता रामचन्द्र पौडेल र डा। शशांक कोइरालाको सिफारिसमा परेको स्रोतले बतायो । सभापति देउवाको कोटाबाट राजभण्डारी र अर्थशास्त्री डा। प्याकुरेलको नाम तय भएको छ । बाँकी दुईजनाको अझै तय हुन बाँकी छ । यीमध्ये उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको कोटाबाट एकजना सिफारिस गर्ने सभापति देउवाको तयारी छ । खाली रहेकामध्ये ओमन र बहराइनमा राजदूत पठाउने निर्णय तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले गरेको थियो । त्यहाँ पहिलोपटक राजदूत जाँदै छन् । राप्रपाको कोटाबाट नेता निरञ्जन थापा, प्रतिभा राणा र खगेन्द्र बस्नेत राजदूत हुने लगभग तय भएको पार्टी स्रोतले बतायो । यसैबीच, स्पेन वा पोर्चुगलमध्ये एउटा देशमा दूतावास राख्नेबारे छलफल भए पनि टुंगिन बाँकी रहेको परराष्ट्र स्रोतले बताएको छ । माओवादीले पोर्चुगल र कांग्रेसले स्पेनमा दूतावास खोल्नुपर्ने धारणा राख्दै आएका छन् । राजदूत नियुक्त हुने देश श्रीलंका जापान इजरायल साउदी अरब कतार अस्ट्रेलिया डेनमार्क बहराइन म्यानमार बंगलादेश दक्षिण कोरिया युएई ओमन नयाँ पत्रिका दैनिकबाट ।
दुई सिफ्टको सरकारी सेवा निष्किृय, सेवाग्राहीलाई भने सास्ती उस्तै
काठमाडौं । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए । उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल थालिएको बताए । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले १ पुस ०७१ देखि यस्तो सेवा सुरु गरेको थियो । जनताको अत्यधिक भीड लाग्ने कार्यालयबाट सेवा सञ्चालन सुरु गरिएको थियो । वर्तमान सरकारले सो निर्णयलाई खारेजीकै अवस्थामा पुर्याएको छ । कोइराला सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सक्रियतामा प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको थियो । यो सेवाको सुरुवात गर्दा तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डित विभिन्न सरकारी कार्यालयमा आफैँ पुगी कर्मचारीको अनुगमन गरेका थिए । कार्यालयमा बिहान ६ बजेदेखि १२ बजेसम्म एउटा सिफ्ट र १२ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टबाट सेवाहरू प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात कार्यालय, राहदानी विभाग, विद्युत् र खानेपानीलगायत कार्यालयमा यो सेवा लागू गरिएको थियो । यी निकायमा अहिले पनि घन्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनविद् काशीराज दाहालको संयोजकत्वमा रहेको प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको पहिलो प्रतिवेदनमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने निकायको पहिचान गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराई दुई सिफ्टमा सेवा प्रदान गर्ने निर्णय गरिएको थियो । बिहान ६ बजेदेखि नै काममा व्यस्त रहे पनि सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै विशेष व्यवस्था गर्न नसकेकाले उत्प्रेरित हुन नसकेकाले सेवा सञ्चालनमा कठिनाइ आएको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयकी सूचना अधिकारी गोमादेवी चेम्जोङले सम्बन्धित सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गर्दा सेवा सञ्चालनमा विभिन्न समस्या देखिएको बताइन् । कर्मचारी अभाव, प्रोत्साहनको व्यवस्था नभएको, सेवाग्राही नै बिहान ६ बजे नआउने गरेको र सरकारी सेवा प्रदान गर्दाका सहयोगी निकाय सेवामैत्री हुन नसकेकोलगायतका समस्या आएकाले चेम्जोङको भनाइ छ । सामान्य प्रशासनको मूल्यांकन सेवाका सबल पक्ष १) बढी सेवाग्राही भएको कार्यालय जस्तै– यातायात व्यवस्था कार्यालयको लाइसेन्स वितरण, वैदेशिक रोजगार विभागको भिसा नवीकरण, राहदानी विभागअन्तर्गतको राहदानी वितरण आदिमा दुई सिफ्टको सेवा अत्यन्त प्रभावकारी भएको २) विशेषगरी दिउँसोको समयमा कार्यालय वा अन्य काममा व्यस्त हुनेले बिहान तथा साँझ सेवा लिन पाउँदा सरल र सहज सेवामा पहुँच पुगेको महसुस गरेको ३) बिहानदेखि कार्यालय सञ्चालन हुँदा दिउँसोको समयमा केही मात्रामा भए पनि सेवाग्राहीको भीड कम भएको सेवाका दुर्बल पक्ष १) कर्मचारीलाई काम पुग्ने गरी बिहान पर्याप्त सेवाग्राही नआएको २) बैंक काउन्टर नखोली सेवा सञ्चालन गर्न समस्या भएको, साँझ राजस्व जम्मा गर्न बैंक काउन्टर नखुलेको ३) पूर्णरूपमा सिफ्टिङ प्रणाली लागू गर्न कर्मचारी अपुग भएको ४) प्रोत्साहन भत्ताको व्यवस्था नभएको ५) कर्मचारीको परिवहनमा कठिनाइ भएको ६) महिला कर्मचारीलाई समस्या भएको तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भन्छन्– प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने र बढी भीड लाग्ने कार्यालयबाट जनताले समयमा सेवा पाउन नसकेको देखेर दुई सिफ्टमा सेवा दिने गरी कार्यक्रम ल्याएको हँु । यो त्यतिखेर अत्यावश्यक थियो । कार्यक्रम आएपछि जनता निकै खुसी पनि भएका थिए । तर, अहिले यो कार्यक्रम निष्क्रिय छ भनेको सुन्दा दुःख लाग्नु स्वाभाविक हो । कार्यक्रमलाई अहिलेको आवश्यकताअनुसार केही परिमार्जन गर्न सकिन्थ्यो । तर, निष्क्रिय नै राखिएकाले जनताले फेरि सहज सेवा पाउन छोडेका छन् । अतः यो कार्यक्रमलाई परिमार्जन गरी पुनः लागू गर्न ढिलाइ गर्नु हुँदैन । नयाँ पत्रिका दैनिकबाट ।
पशुपतिको जग्गामा मनपरी, विकास कोषबाट व्यक्ति र संस्थालाई भन्दै जग्गा दुरुपयोग
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाँउदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्तिलार्ई जग्गा सुम्पने प्रस्ताव पशुपति क्षेत्र विकास कोषको कार्यसम्पादन समितिमा पुगिसकेको छ । दीर्घकालिन महत्वका निर्णय परिषद्मा पेश गर्नुपर्नेमा परिषद् छल्दै कार्यसम्पादन समितिबाटै निर्णय गराउने तयारी कोषको छ । नागरिक दैनिकबाट ।
निगमद्वारा बार्षिक एउटा वाइडवडी जहाज थप गर्ने योजना सार्वजनिक, नयाँ जहाजलाई पाइलट अभाव हुने
काठमाडौं। नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तिमा एउटा वाइडबढी जहाज थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ। निगमले नयाँ किन्न लागेको विमानका वारेमा फगत हल्ला फिँजाएर नेपालको ध्वजावाहक क्यारियरका लागि गलत प्रचार गरिएको निगमले जनाएको छ। फ्रान्सेली कम्पनी एयरबसको वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तिमा एउटा विमान थप्दै जाने योजना लिएको सुनाए। निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार ४०० कर्मचारी ढुक्क रहेको बताउँदै उनले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाए। निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ। उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ। वाइडबडी नेपाल भित्रिएपछि निगमको व्यावसायिक योजनाअनुसार दमाम, सिओल, सिड्नी, टोकियोजस्ता नयाँ गन्तव्यमा उडान गर्नेछ। नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिए। कंसाकारले निगमको पहिलो काम जहाज थप गर्ने र दोस्रो व्यबस्थापन सुधार रहने बताए। ‘एक खर्बको नेपाली हवाई क्षेत्रको व्यापारमा निगमको बल्ल ६ देखि सात अर्ब पुगेको छ’ उनले भने ‘अब हामी त्यसलाई बढाउन उद्दत भएर लागिरहेका छौं।’ ‘९० अर्ब भन्दा धेरै विदेशी कम्पनीले लैजाने अनि हामी एउटा विमान खरिद गर्दा पैसा खायो र त्यो गर्यो भनेर कराउँछौं, नेपालीको सबै पैसा जति उसले लान्छ। सानोतिनो कुरामा झमेला सृजना नगरी जहाज थप गर्नुपर्छ र नेपालको पर्यटन क्षेत्रलाई बढावा दिइनुपर्छ’ उनले भने। वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार चारसय कर्मचारी ढुक्क रहेको बताउँदै उनले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाए। ‘राम्रो सामान सस्तो मूल्यमा पाएका छौँ, विमान आएपछि जापान, कोरिया र लण्डनजस्ता व्यावसायिक दृष्टिले राम्रा मार्गमा उडान गरिने जनाउँदै निगमले आगामी छ महिनादेखि एक वर्षभित्रमा नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली मुलुकले राखेको कालो सूचीबाट माथि उठाउने अठोट गरेको छ’, उनले भने। दुई सय ८० सिट क्षमताको उक्त विमानमा १६ वटा सिट विजनेस क्लास रहने जनाइएको छ। निगमले आफूसँग भएका ७५७ बोइङलाई भने विस्तारै विस्थापन गर्ने प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। मुलुकमा रहेका ३८ वटा संस्थानमध्ये निगम अझै पनि केही अग्रपङ्क्तिको सूचीमै रहेको दाबी गरेको छ। निगमले खरिद गर्ने नयाँ जहाजकालागि पाइलटको भने अभाव हुने भएको छ। हाल निगमसँग ७४ जना पाइलट रहेको र दुईवटा वाइड बडिका लागि एकसय २० जना पाइलट चाहिने भन्दै कोहि पनि पाइलटले अन्य कम्पनीसँग जाहाज चलाउनका लागि जानुनपर्ने कंसाकारले बताए। निगमले पाइलटको मनोवल बढाउनका लागि ३० प्रतिशत अलाउन्सेस समेत दिने भएको छ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स गाभिने, के अर्को लुम्बिनी बैंक जन्मन सक्ला ?
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिने भएको छ । एक आपसमा गाभ्ने र गाभिने विषयमा सोमबार भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सुशीलराज पराजुली र लुम्बिनी फाईनान्सका अध्यक्ष चिन्तामणी भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै संस्था मर्ज पश्चात् चुक्ता पूँजी २ अर्व ३७ करोड, निक्षेप १७ अर्ब, कर्जा १५ अर्व तथा शाखा संख्या ४९ पुग्ने बैंकले जनाएको छ । मर्ज पश्चात बन्ने बिकास बैंकको नाम लुम्बिनी बिकास बैंक लिमिटेड राख्ने सहमति भएको छ । तर नेपाल राष्ट्र बैंकले यसमा सहमति नदिन सक्छ ।किनकी हाल सिद्धार्थ बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच नामको विषयमा भएको विवाद राष्ट्र बैंकको लागि पनि टाउको दुखाईको विषय भएको छ । यसअघि ‘लुम्बिनी बैंक’ बैंक अफ काठमाण्डूमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको छ । मर्जपछि अध्यक्षमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुशिलराज पराजुली रहनु हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको हालका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल नै रहने र नायब प्रमुख कार्यकारी अधिकृतमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्गका हालका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी रहने सहमति भएको छ । साथै नेपाल राष्ट्र बैंक बाट जारी बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को बिनियम ८ मा भएको ब्यवस्था बमोजिम डीडीए सम्पन्न गरी सोहि बमोजिम शेयर आदान प्रदान अनुपात कायम गर्ने सहमति भएको छ ।
भूकम्प पीडितसँग घुस माग्दा नुवाकोटमा सरकारी इन्जिनियर पक्राउ
नुवाकोट। भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित प्रहरीले आज पक्राउ गरेको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन् । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग रु दुई हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । तिवारीको निर्माणाधीन घर निजी आवास अनुदान कार्यविधिअनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले रु पाँच हजार घुस मागेका तर तिवारीले रु दुई हजारमात्र दिएको बताइएको छ । गाउँमा निर्माण हुने अधिकांश घर मापदण्डअनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीसँग पनि रकम मागेको गाउँलेको दाबी छ । “सरकारले दोस्रो किस्ता रकम दिने भनेपछि इन्जिनियरलाई पैसा दिएको हो,” तिवारीले भने– “दोस्रो किस्ताको रकम आउँछ भने रु दुई पाँच हजार खर्च भए पनि होस् ।” बेलकोटकै रामशरण ओलीले घर निर्माणका क्रममा जग खन्ने बेलादेखि इन्जिनियर श्रीवास्तवसँग सल्लाह गरेर अघि बढाइएको भए पनि अन्तिमपटक मापदण्ड नपुगेको बताएर आफूसँग पनि रु पाँच हजार घुस मागेको दाबी गरे । टोलभरि निर्माण भइरहेका घरधनीसँग जनही रु पाँच हजारका दरले रकम मागेपछि सोमबार बिहान गाउँपुगेका इन्जिनियर श्रीवास्तवलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका श्रीवास्तवलाई कारबाहीको माग गर्दै बेलकोट गाविसका एक सयभन्दा बढी स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिप्रका, नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले पक्राउ परेका इन्जिनियर करार सेवामा रहेका र सरकारी कर्मचारीमाथिको अनुसन्धान प्रक्रिया प्रहरीमार्फत नभई सहरी तथा भवन निर्माण कार्यालयको सल्लाहअनुसार अघि बढ्ने बताए । रासस
भिबोर सोसाइटी बैंकको गरुडा शाखा कार्यालय रुपान्तरण
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरेको छ । माघ २४ गतेबाट डेभलपमेन्ट बैंकको ४५औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यसअघि सो ठाउँबाठ सीमित बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।
यामाहा स्कुटर टेस्ट राइड गर्दा आईफोन ७ जित्ने मौका
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ । यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना भाग्यशालीले आईफोन ७ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । एमएडब्लुले यो योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडि, सनग्लास, पफ्र्युम र ब्याग उपहार दिने घोषणा गरेको छ । ‘यामाहासँग विभिन्नखाले बाइक र स्कुटरहरु छन् । स्कुटरप्रेमीहरुका लागि हामीसँग फेसिनो, रेजेडआर र रेजी छन्,’ एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दिपक रौनियारले भने ‘यामाहा स्कुटरहरु नेपालमा धेरै रुचाइएका छन् । वास्तवममा यामाहा स्कुटरहरु प्रिमियम स्कुटरमा गनिन्छन् ।’ यामाहाले बिक्री गर्दै आएको फेसिनो, रे जेडआर र रेजीलाई प्रिमियम स्कुटरको छवि बनाउन सफल छन् । एक सय १३ सीसी एअर कुल्ड इन्जिनजडित फेसिनो निकै सुन्दर स्कुटर हो जसमा ब्लुकोर टेक्नोलोजी रहेको छ । यसले गर्दा नै यसले ६६ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । रेट्रो स्टाइल र क्वालिटी बिल्ट–अप र ट्युबलेस टायर यसका विशेषताहरु हुन् । त्यसैगरी, यामाहा रे जेडआर रेजीको अपडेटेड भर्सन हो । यसको हेडलाइट, ब्लिंकर, र फ्रन्ट फेन्डर रिडिजाइन गरिएको छ भने एनालग मिटर कन्सोललाई स्टाइलिस बनाइएको छ । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीले जनाएको छ ।