विकासन्युज

मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ । मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना-२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ । निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौं उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् । निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै शुरु भएको छैन । मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पुर्याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पुर्याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए । रासस

द्वन्द्वपीडित किसानलाई अनुदान दिइने, प्रतिकिसान ४० हजार रुपैयाँ अनुदान

रोल्पा । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम शुरु भएको छ । हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान ४० हजार रुपैयाँका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । किसान छनोटका लागि आह्वान गरिएको सूचनामा रोल्पाका ६० जना द्वन्द्वपीडित किसानले निवेदन दिएकामा ती निवेदनमाथि स्थलगत अनुगमन गरी २२ जना मात्र छनोट गरिने जानकारी दिँदै छनोटका विभिन्न १० आधार तय गरिएको र सोही आधारमा जिल्ला कृषि विकास समितिले छनोट गर्ने उनले बताए । कम्तीमा दुई रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने किसान छनोट गरी अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । रासस

सार्क कार्यक्रम समितिको बैठक शुरु, बैठकमा आगामी वर्षको बजेटको विषयमा छलफल हुने

काठमाडौं, १९ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार शुरु भएको छ । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गरेको हो । सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र। विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुनेछ । रासस

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा फागुन २७ गते

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले फागुन २७ गतेको लागि १५औँ वार्षिक साधारणसभा बोलाएको छ । माघ १८ गते सम्पन्न कम्पनीको १६५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१२ बाणिज्य बैंकको नाफा तीन अर्ब ११ करोडले बढ्यो, ६ महिनामा कमाए ८ अर्ब ७० करोड

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोडले वृद्धि भएको छ । पुस मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेका १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोड ४१ लाखले वृद्धि भएको हो । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा जम्मा ५ अर्ब ५९ करोड ८ लाख नाफा कमाउन सफल यी बैंकहरुले चालु आवको सोही अवधीमा भने ८ अर्ब ७० करोड ४९ लाख नाफा कमाउन सफल भएका हुन् । पुस मसन्तसम्मको वित्तिय विवरण प्रकाशित गरेका १२ बैंक मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै नाफा कमाएको छ भने सबै भन्दा थोरै सेञ्चुरी बैंकको नाफा छ । धेरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा प्रभु बैंक छ भने तेश्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । थोरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा मेगा बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस मसान्तसम्म्मा एक अर्ब ६४ करोड नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले एक अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । गत आवको ६ महिनामा ४० करोड ५ लाख नाफा कमाएको प्रभु बैंकले चालु आवको सोही अवधीमा एक अर्ब ११ करोड नाफा कमाएको छ । बैंकको नाफामा राइट ब्याकको हिस्सा ठुलो रहेको देखिन्छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ९१ करोड ७७ लाख नाफा कमाएको छ । गत आवमा बैंकले ७६ करोड २७ लाख नाफा कमाएको थियो । सेञ्चरी कमर्सियल बैंकले २२ करोड ३९ लाख नाफा कमाएको छ । जबकी बैंकले गत आवको सोही अवधीमा पनि जम्मा १६ करोड ६ लाख नाफा कमाएको थियो । सानिमा बैंकले आफ्नो नाफा ४० करोड ८० लाखबाट बढाएर ६६ करोड २५ लाख पुर्याउन सफल भएको छ । नेपाल बंगलादेश बैंकले आफ्नो नाफा ३६ करोड ८५ लाखबाट वृद्धि गरेर ५४ करोड ६ लाख पुर्याएको छ । मेगा बैंकले पुस मसान्तसम्ममा ३७ करोेड ९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा २२ करोड ३५ लाख नाफा कमाउन सकेको थियो । | प्राइम कमर्सियल बैंकले ६ महिनामा ५५ करोड ९७ लाख कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४६ करोड ९२ लाख नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले ७४ करोड ९४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ४८ करोड ७४ लाख मात्रै नाफा गरेको थियो । एनआइसी एसिया बैंकले ७२ करोड १४ लाख नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा ५० करोड २० लाख नाफा कमाएको थियो । सिटिजन्स बैंकले ६० करोड ७६ लाख नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा जम्मा ४१ करोड ८४ लाख नाफा कमाएको थियो । बैंक अफ काठमाण्डु लुम्बिनीले ६ महिनामा ६० करोड १४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ३२ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

दैनिक २० किलो सुन आपूर्ति सम्बन्धि निर्णय कार्यान्वयनमा आएन, विवाहको सिजनमा बजारमा सुनको हाहाकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुनको कोटा बढाउने निर्णय गरेपनि बजारमा सुनको अभाव हटेको छैन । राष्ट्र बैंकले सुन बढाउने मौखिक प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा नल्याएकोले सुनको अभाव कायम रहेको सुन व्यवसायी बताउछन् । ‘उहाँहरुले सुनको कोटा बढाउछु भनेर मुखले मात्र भन्नु भएको हो । हामीले कुनै लिखित प्रतिबद्धता पाएका छैनौ’, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले विकासन्युजसँग भने, ‘उहाँहरु एकरदुई दिनमा बढाइदिन्छौं भन्नुहुन्छ । यो निर्णय कार्यन्यवन हुँदासम्म हाम्रो सिजन अफ हुने आशंका छ ।’ नेपाल राष्ट्र बैंकले भने सुनको कोटा बढाउने निर्णय छिटै कार्यान्यवन गर्ने बताएको छ । दुईर तीन दिनमा सुनको कोटा बढाउने बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले आइतबार सुनको आपूर्ति कोटा पाँच किलो बढाउने निर्णय गरेका थियौं । अब दुईर तीन दिनमा सुनको दैनिक २० किलो सुन आपूर्ति हुन्छ ।’ यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई दैनिक १५ किलो सुन आयात गर्ने मात्र अनुमति दिएको थियो । विवाहको सिजनमा सुनको माग अत्याधिक बढेर कालोबजारी बढेपछि नेपाल राष्ट्र बैंकले नियमित कोटामध्ये पाँच किलो बृद्धि गरेको हो । महासंघको तथ्यांक अनुसार मुलुकभर २३ हजार वटा सुन पसलहरू छन् । दैनिक १५ किलो सुनले बजारको माग पुरा गर्न नसकेको उनले बताए । यो वर्ष माघ र फागुनमा बिहेको लगन बढिभएकाले सुनको माग अत्याधिक भएको शाक्यले बताए । सुनको माग ४५ किलो भन्दा बढी नाघेको उनले जानकारी दिए । उनका अनुसार सुनको माग अनुसार आपूर्ति नहुँदा कालोबजारीले प्रशय पाएको छ । उनले भने,-बिहेमा सुन अत्यवाश्यक हुँदा गरगहनाका लागि उपभोक्ता पर्खेर बस्ने अवस्था हुँदैन । दुई तीन हजार रुपैयाँ बढि तिरेर पनि व्यवसायीले काम चलाएको अवस्था छ । अत्याधिक मागमा सुनको सहज आपूर्ति नभएपछि केहि सुनपसलहरु बन्द भएका छन् । शाक्यका अनुसार रुपन्देही र घोराहीमा सुन पसलहरु ठप्प छन् । उनले भने, ‘यस्तो अभावमा पनि सुनको आपूर्ति नभएपछि व्यवसायी पसल बन्द गर्न बाध्य छन् ।’ तस्करी नियन्त्रणको प्रभाव गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा विहारिएको ३३ किलो सुन पक्राउ परेको थियो । तस्करीको सुन नियन्त्रणमा पर्न थालेपछि बजारमा सुनको अभाव देखापरेको छ । सिजनमा दैनिक ४५ किलो भन्दा बढी माग रहेको सुन बजार औपचारिक च्यानलबाट मात्र धान्न मुश्किल रहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘सुनको आपूर्ति निकै अपुग छ । अभाव बढेपछि अपराध बढ्नु स्वाभाविक हो ।’ ,उनले भने, ‘जहासम्म सरकारले तस्करी नियन्त्रण गरिरहेको छ । तस्करी नियन्त्रणसँगै सहज आपूर्ति पनि गर्नु जरुरी छ ।’ काँचो सुनमा प्रतिबन्ध सरकारले तस्करी नियन्त्रणका लागि साउन १ गतेदेखि विदेशबाट ५० ग्राम सुन ल्याउन काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको थियो । यसले गर्दापनि सुनको अभाव बढेको शाक्यले बताए । उनले भने, ‘पहिला विदेशबाट फर्कनेहरुले ल्याउने गरेका सुनका कारण पनि केहि माग धानेको थियो । तर काचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि सुनको अभाव बढेको हो ।’

बैंक अफ काठमाण्डु लुम्बिनीको नाफा ६० करोड, प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३७ पैसा

काठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनीको नाफा ६० करोड १४ लाख पुगेको छ । बैंकले चालु आवको ६ महिनामा सो नाफा कमाएको हो ।गत आवको सोही अवधीमा बैंकले जम्मा ३२ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बैंक अफ काठमाण्डु लुम्बिनीले २ अर्ब ६६ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ३५ करोड ब्याज खर्च गरेको छ । बैंकले ६ करोड राइट ब्याकबाट नाफा कमाएको हो । बैंकले पुस मसान्तसम्ममा ७० अर्ब निक्षेप संकलन गरेर ६२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले खराब कर्जालाई ३ दशमबल ९३ प्रतिशतबाट घटाएर एक दशमलब ५१ प्रतिशतमा सिमित गराएको छ । बैंकको प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३७ पैसा छ भने प्रति सेयर नेटवर्थ १४८ रुपैंयाँ ५७ पैसा रहेको छ ।

यी हुन् नेपालका उत्कृष्ट १० होटलः द्वारिकाज होटल पहिलो, सोल्टी क्राउन प्लाजा १०अाैं

काठमाडाैं । विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ुट्रिप एडभाइजरुले नेपालका उत्कृष्ट १० होटल घोषणा गरेको छ। सन् २०१७ का लागि ट्राभलर्स च्वाइसु घोषणा गर्दा पोखरा, काठमाडाैं र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन् । हालै सार्वजनिक गरिएको घोषणामा पोखराका २, काठमाडौंका ७ र नगरकोटको १ होटल उत्कृष्ट १० भित्र परेका छन्। होटलमा बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहको आधारमा ट्रिप एडभाइजरले बर्सेनि उत्कृष्ट होटल घोषणा गर्दै आएको छ। साइटका अनुसार यसपटक काठमाडौंको द्वारिकाज होटल पहिलो नम्बरमा परेको छ। त्यस्तै काठमाडौंकै होटल टिबेट इन्टरनेसनल दोस्रो, होटल साम्बला तेस्रो नम्बरमा परेका छन्। पोखरामा सञ्चालित अतिथि रिसोर्ट एन्ड स्पा चौथो र पोखरा ग्रान्ड पाँचौ नम्बरमा परेका छन्। त्यस्तै काठमाडौंकै पार्क भिलेज रिसोर्ट छैठौं र हायात रिजेन्सी सातौं नम्बरमा परेका छन्। नगरकोटको क्लब हिमालयन रिसोर्ट आठ नम्बरमा परेको छ। काठमाडौंकै होटल शंकर नवौं र सोल्टी क्राउन प्लाजा दसौं नम्बरमा परेका छन्। पोहोर पोखरा र काठमाडौं बाहेक चितवनका होटल समेत उत्कृष्ट १० को सूचीमा परेका थिए। यसपटक चितवनका कुनै पनि होटल उत्कृष्ट १० भित्र परेका छैनन्। उत्कृष्टको सूचीमा परेका होटल १. द्वारिकाज होटल, काठमाडौं २. होटल टिबेट इन्टरनेसनल, काठमाडौं ३. होटल साम्बला, काठमाडौं ४. अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा ५. पोखरा ग्रान्ड, पोखरा ६. पार्क भिलेज होटल एन्ड रिसोर्ट, काठमाडौं ७. हायात रिजेन्सी, काठमाडौं ८. क्लब हिमालयन रिसोर्ट, नगरकोट ९. होटल शंकर, काठमाडौं १०. सोल्टी क्राउन प्लाजा, काठमाडौं