उपत्यकाको सडक विस्तार ५५ प्रतिशत सकियो, ३६८ मुद्धा अदालतमा, तीन मन्त्रीको अवरोध
काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकाको सडक विस्तार ५५ प्रतिशत सम्पन्न भएको छ । मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काएर ६७५ किलोमिटर सडक विस्तार गर्ने योजना बनेको थियो । सोमध्ये हालसम्म ३५१ दशमलब ५ किलोमिटर सडक विस्तार सम्पन्न भएको शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले बताए । उनका अनुसार १३५ दशमलब ७५ किलोमिटरमा चिन्ह लगाउने काम सम्पन्न भएको छ । करिब २०० किलोमिटर सडकमा भने चिन्ह लगाउने काम नै बाँकी रहेको छ । विस्तारका क्रममा रहेका सडकमध्ये त्रिपुरेश्वर कालीमाटीदेखि कलंकीको क्षेत्रमा भने अत्याधिक समस्या रहेको छ । त्यस बाहेक बौद्धदेखि जोरपाटीको सडक विस्तारमा पनि स्थानियले ठुलै अवरोध गरिरहेका छन् । सडक निर्माण रोक्न ३६८ मुद्धा ? काठमाडौं जिल्लामा मात्रै सडक निर्माणको कामलाई रोक्न माग गर्दै अदालतमा ३६८ मुद्धा परेका छन् । बाटोसँग सम्बन्धीत मुद्धमा मात्रै ३२५ वटा छन् । तीमध्ये २१५ फैसला भए जसमा ११७ वटा मुद्धा प्राधिकरणले जितेको छ । ९१ वटा मुद्धा भने प्राधिकरणले हारेको छ । ४० वटा मुद्धामा अन्तरिम आदेश जारी भएको छ । अहिले काम हुन नसकेका ठुला बाटोहरुमा अदालतको अन्तरिम आदेशले भूमिका खेलेको काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । प्राधिकरणका विरुद्ध दायर गरिएका १५३ वटा मुद्धा अझै तामेलीमै रहेको पनि उनले बताए । कहाँ कहाँ सम्पन्न भयो सडक विस्तार ? तिवारीका अनुसार तिनकुने–माइतीघर, जयनेपाल–भाटभटेनी, जयनेपाल–कमलपोखरी, कमलपोखरी–रातोपुल, पुरानो बानेश्वर–शंखमुल, रत्नपार्क–बानेश्वर हुँदै सिनामंगल, भाटभटेनी–चावहिल–मित्रपार्क, सानोठिमी–मगरगाउँ, लैनचौर–बालाजु–बाइपास, नक्साल–मित्रपार्क– सितलनिवास, लैनचौर–बुढानिलकण्ठ, सितल निवास–डिल्लीबजार हुँदै सिंहदरबारसम्मको बाटो निर्माण सम्पन्न भैसकको छ । त्यस्तै, जडिबुटी–पेप्सिकोला हुँदै मनोहरा पुलसम्मको बाटो पनि सम्पन्न भैसकेको छ । तीन मन्त्री बाटो विस्तारको विपक्षमा ? माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठ, काँग्रेस केन्द्रिय सदस्य तथा पुर्व कानुन मन्त्री नरहरी आचार्य र वर्तमान उद्योग मन्त्री नविन्द्रराज जोशीले बाटो विस्तारमा अवरोध गरेको तिवारीले बताए ।
भारतीय नोट प्रतिबन्धको असर व्यापारीदेखि सर्वसाधारणसम्म
नेपालगन्ज, २५ कात्तिक । भारत सरकारले गत मङ्गलबार रातिदेखि चलन चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् । विशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध बनेका छन् । भारु ५०० र एक हजारका भारत पुगेका पर्यटक, व्यापारी र उपचार गराउने नेपाली पनि अलमलमा परेका छन् । नेपाल राष्ट्र बैंक नेपालगन्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले नेपाली नागरिकसँग रहेको भारु ५०० र एक हजारको नोट सटही गर्न आवश्यक पहल भइरहे पनि सरकार र केन्द्रीय कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए । भारत सरकारको एक्कासि आएको यो निर्णयले यहाँका व्यापारी, उद्योगपति तथा सर्वसाधारण नागरिकमा पनि चिन्ता छाएको उद्योग वाािणज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । रासस
स्वावलम्बन लघुवित्तले ५३ प्रतिशत लाभांश दिने, पूँजी ४१ करोड रुपैयाँ पुग्ने
काठमाडौं, २५ कात्तिक । स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाइै ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ दशमलब ६८४२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय बैंकको कात्तिक २४ गते बसेको २५८औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३१ करोड १९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ४१ करोड ८० लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार ५७० रुपैयाँमा किनबेच भइरहेको छ ।
मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थालाई हकप्रद शेयर जारी गर्न स्वीकृति
काठमाडौं, २५ कात्तिक । मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाको हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले मञ्जुश्रीलाई एक बराबर १ सय ७५ प्रतिशत तथा नमस्ते वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । मञ्जुश्रीले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, नमस्ते वित्तीय संस्थाले पनि जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सफल व्यवसायी डोनाल्ड ट्रम्पले बनाए नयाँ इतिहास, राजनीतिमा प्रबेश गरेको एक वर्षमा बने अमेरिकाको राष्टपति
वासिङटन, २४ कात्तिक । सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका खर्बपति डोनाल्ट ट्रम्प एक वर्षमा अेमेरिकाको राष्ट्रपति पदमा चुनिएका छन् । उनी सन् २०१६ नोभेम्वर ९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट निर्वाचित भएका छन् । राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततःउनी अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल सफल भएका छन् । अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिन्निनु थाल्नुभएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए । उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो । राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भए र सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उउले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे । व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । ट्रम्पले जीवनभर र मादक पदार्थमा हात पनि नलाएको बताइन्छ । तर उनले पैसा कमाउन सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन थाले । उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउने (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन नगरेको बताइएको छ । तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका छन् । एजेन्सीहरू
नेपाली कांग्रेस एक चीन नीतिकाे पक्षमा रहेकाे स्पष्टाेक्ति, सुजाता कोईरालाले भनिन् वीपीकाे पालादेखि एउटै नीति हाे
काठमाडौं २४ कात्तिक । नेतृ सुजाता कोईरालाले एक चीन नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएकी छन् । नेपाल र चीन बीचको सम्बन्ध तथा नेपाली कांग्रेसको धारणाबारे बिज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य उनले नेपालले संधै ताईवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिंदै आएको र एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति रहेको बताएकी हुन् । ‘नेपालले सधै एक चीन नीतिको स्पष्टता र दृढतापूर्वक अवलम्वन गर्दै आएको छ, नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिदै आएको छ’ उनले भनिन् ‘ एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति हो ।’ आफू पार्टीको अन्तराष्ट्रिय बिभाग प्रमुख हुँदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत एक चीन नीतिलाई अघि बढाएको उनको भनाई छ । ‘म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत यो नीतिलाइ स्पष्ट रुपमा अघि वढाएको छु’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ‘आगामी दिनमा नेपाल र चीनवीच अझ बढी सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसंगको सम्बन्धलाई निरन्तरता दिने नेपाली कांग्रसको स्पष्ट नीति रहेको छ ।’ चीनसंग नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको र दुई देशबीच २ हजार वर्ष अघिदेखि परम्परागत सम्वन्ध रहिआएको भन्दै योबीचमा नेपाल र चीनवीच सधै सुमधुर सम्वन्ध रहिआएको उनको भनाई छ । चीनलाई राष्ट्रसंघमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेलेको भूमिका उल्लेख गर्दै वी.पी. कोइरालादेखि गिरिजाप्रसाद कोईरालाको पाला सम्म नेपाल र चीनबीच हार्दिकतापूर्ण सम्बन्ध रहिआएको बताईएको छ । भारत भ्रमणाकाे क्रममा पाटी सभापति शेरबहादुर देउवाले एक चीन विराेधी समूहकाे बैठकमा भाग लिएकाे विषयमा सम्बाेधन गरेपछि चीन सरकारले नेपाल सरकारलार्इ पत्र लेखि अापत्ति जनाएपछि काँग्रेसकाे याे भनार्इ अाएकाे हाे ।
कतार एयरवेजद्धारा नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान
काठमाडौं, २४ कात्तिक । कतार एयरवेजले नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान गरेको छ । मंगलबार साँझ नेपालका लागि कतारका एम्बेस्डर मोहम्मद अल–हइल, कतार एयरवेजका कन्ट्री म्यानेज जयप्रकाश नाइर, एयरपोर्ट म्यानेजर देवेन्द्रनाथ मल्लीकले कतार एयरवेजको उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई विभिन्न विधामा ५ जनालाई ट्रपी हस्तान्तरण गरी सम्मान गरेका छन् । कम्पनीको प्लाटिनम अवार्ड ओशो वल्ड ट्राभल नेपालले पाएको छ । त्यस्तै, गोल्ड अवार्ड रेइन्बो ट्राभल्स एण्ड टूर्सले, सिल्भर अवार्ड यति ट्राभल्सले र ब्रुगुडी अगार्ड सुमेघ टुर्स एण्ड ट्राफल्स कम्पनीले प्राप्त गरेको छ । त्यस्तै कम्पनीले विजनेश क्लासको टिकट बढी बिक्री गर्ने यति ट्राभल्सलाई र उल्लेख्य मात्रामा टिकट बिक्री गर्ने विभिन्न टुर एण्ड ट्राभल्स कम्पनीलाई कदरपत्रले सम्मान गरेको छ ।
आस्वा प्रणालीको निर्देशिका बोर्डबाट स्वीकृत, आगामी माघबाट लागू हुने
काठमाडौं, २४ कात्तिक । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि एप्लिकेशन सपोर्टेड बाइ बल्केड अमाउन्ट (एएसबिए) प्रणाली लागू गर्न लागिएको छ । सो खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली लामो समय (७० दिनसम्म) लाग्ने गरेको, झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको हुनाले उक्त आस्वा प्रणाली लागु गर्न लागिएको बोर्डले जनाएको छ । साथै, धितोपत्रको सूचिकरण गर्न समेत लामो समय लाग्ने गरेको जस्ता समस्याहरु लगानीकर्ताहरुले भोगिरहनु परेको स्थितिलाई दृष्टिगत गरी यस समस्यालाई निराकरण गर्ने क्रममा सार्वजनिक निष्काशनमा एएसबिए लागू गर्न लागिएको हो। एएसबिए प्रणालीको सम्बन्धमा आवश्यक निर्देशिका बनाउन बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ तथा नेपाल मर्चेन्ट बैकर्स संघका प्रतिनिधि सहितको समितिले भारत र बंगलादेशको अभ्यास तथा नेपालको वित्तीय प्रणालीको व्यवहारिक पक्ष समेतलाई मध्यनजर गर्दै पेश गरेको “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” बोर्डले स्वीकृत गरेको र यस व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने योजना रहेको छ । सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्ने र हाल धितोपत्र बाँडफाँडका लागि करिव ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनभित्र गर्न सम्भव बनाउने उद्देश्यले लागू गर्न लागेको हो । यस प्रणालीमा हाललाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी न्यूनतम चुक्ता पुँजी कायम भएको, कम्तीमा २० जिल्लामा शाखा कार्यालय भई सबै शाखामा एबिबिएस बैंकिङ्ग सुविधा उपलब्ध भएको, काठमाडौं उपत्यका भित्र कम्तीमा चार शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन भई सूचीकृत भएको लगायतका मापदण्ड पूरा गरेका “क” र “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोर्डबाट अनुमति लिई सार्वजनिक निष्काशनको दरखास्त संकलनको काम गर्न सक्ने छ । साथै, यसको सफल कार्यन्वयन पश्चात् “ग” वर्गका वित्तीय संस्थाहरुले समेत उक्त कार्य गर्न सक्ने व्यवस्था गर्न सकिने छ । उक्त प्रणाली अन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्न सक्ने, धितोपत्र बाँडफाँट भएपश्चात् धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था रहेको छ । यो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने, नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने, निष्काशित धितोपत्रको सूचिकरण समेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्ने बोर्डको विश्वास छ । लगानीकर्ताहरुले बैंक मार्फत आवेदन गर्दा हरेक लगानीकर्ताको पहिचान (केवाइसि)मा सहयोग पुग्ने र वित्तीय क्षेत्रमा पारदर्शिता अभिबृद्धि हुने, वित्तीय बजारमा अर्वाैं रकम बिना प्रतिफल होल्ड भई बस्ने अवस्थाको अन्त्य हुने, छदमभेषी लगानीकर्ताहरु न्यूनिकरण भई बास्तविक लगानीकर्ताहरु लाभान्वित हुने बोर्डले जनाएको छ । हाल आइपिओदेखि लिष्टिङ् गर्न सम्म लाग्ने गरेको करीव ६ महिनाको समयावधिलाई २ महिनाभित्र गर्ने क्रममा यो पहिलो पाइलाको रुपमा रहेको छ । उक्त प्रणालीले धितोपत्रको सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ ।