भूकम्प र नाकाबन्दी छिचोल्दै ४८२ अर्ब राजश्व संकलन, लक्ष्य भन्दा ७ अर्ब बढी
काठमाडौं, ४ असार । सरकारले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्य भन्दा ७ अर्ब बढी राजश्व संकलन गरेको छ । गत आवमा सरकारले कुल ४७५ अर्ब राजश्व संकलन लक्ष्य निर्धारण गरेको थियो । तर सरकारले लक्ष्य भन्दा सात अर्ब बढी अर्थात ४८२ अर्ब १७ करोड राजश्व संकलन गर्न सफल भएको हो । मंगलबार अर्थमन्त्रालयमा राजश्वको विवरण सुनाउँदै अर्थमन्त्री बिष्णु पौडेलले भने–‘भूकम्प र नाका बन्दीलाई छिचोल्दै लक्ष्य भन्दा ७ अर्ब बढी राजश्व संकलन भएको छ, इच्छाशक्ति भयो भने काम गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको छ ।’ भूकम्प तथा नाका बन्दीपछि राजश्व संकलनको नयाँ योजना बनाएको थियो । सोही योजना अनुसार अघि बढ्दा राजश्व संकलन लक्ष्य पुरा भएको अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले बताए ।‘हामीले भूकम्प र नाका बन्दीका समयमा आपतकालिन राजश्व संकलन योजना बनाएका थियौं, त्यसमा निष्क्रिय कोषहरुको रकम समेत ट्रयाक गर्ने भन्ने थियो ।’ उनले निष्क्रिय कोषबाट ट्रयाक गरिएको राजश्व सम्बन्धीत निकायले मागेका बेला सरकारले उपलब्ध गराउने जानकारी पनि दिए । बिषय परिस्थितिमा संकलन गरिएको सो राजश्व लक्ष्यको तुलनामा १०२ प्रतिशत हो । पुँजीगत खर्च न्युन भएको तथा आपुर्ति व्यवस्थामा समेत राजश्व संकलन लक्ष्य भन्दा बढी हुनुलाईअर्थमन्त्री पौडेलले ठुलो सफलताको संज्ञा दिएका थिए । सो अवधीमा सरकारले ४२२ अर्ब १६ करोड कर राजश्व र ६० अर्ब गैर कर राजश्व संकलन गरेको हो । कर राजश्वको वृद्धिदर १९ प्रतिशत रहेको छ भने गैर कर राजश्वको वृद्धिदर २० प्रतिशत कायम भएको छ । ३१ प्रतिशत आयकर संकलन बढेको भने भ्याटको संकलन १५ प्रतिशतले बढेको छ । अन्तःशुल्कको वृद्धि दर पनि २३ प्रतिशत कायम भएको छ । सरकारले नेपाल दुर सञ्चार प्राधिकरणको ग्रामिण दुर सञ्चार विकास कोषको १० अर्ब रुपैंयाँ राजश्वमा तानेको थियो । मुलुकको कुल गार्हस्थ उत्पादनमा राजश्वको हिस्सा २१ दशमलब ४ प्रतिशत पुगेर इतिहासको रेकर्ड तोडिएको छ । बजेट कार्यान्वयनको योजना छः अर्थमन्त्री कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले सरकारसँग बजेट कार्यान्वयनको ठोस योजना रहेको दावी गरे । उनले भने–‘असार मसान्तको दिनमा सदन समक्ष बजेट कार्यान्वयनको योजना पेश गर्ने योजना थियो, त्यस्तो अवसर जुटेन, तैपनि ठुक्क हुनुहोस हामीले बजेटको कार्यान्वयन कसरी गर्ने भनेर ठोस योजना बनाएका छौं ।’ मन्त्री पौडेले आफुले ल्याएको बजेटको कार्यान्वयन मुलुकको भविष्यसँग जोडिएको दावी गरे । उनले सरकारको बहिर्गमनको दिनगन्ती नगर्न सुझाव दिँदै भने सदनले गर्ने निर्णयको सरकारले सम्मान गर्ने स्पष्ट पारे । आफुले बिकास बजेट खर्च गर्ने योजना समेत बनाईसकेको र केहि दिनभित्रै सार्वजनिक गर्ने उनले बताएका थिए ।
भूकम्प र नाकाबन्दीपछि घरजग्गाको कारोबार बढ्यो
चितवन, ४ साउन । भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको रोजाइँको रुपमा चितवनलाई लिएपछि यहाँको जग्गाको कारोबार बढेको छ । भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो । तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन । स्वदेशको कमाई र विदेशबाट भित्रिएको विप्रेषण थन्क्याउनेस्थल चितवनको जग्गा हुन पुगेको छ । जिल्ला मालपोत कार्यालयका अनुसार आव २०७२/७३ मा ४२ हजार थान लिखित रजिस्ट्रेसन भएको छ । उक्त सङ्ख्या अघिल्लो आवमा २८ हजार थान मात्रै थियो । गत आवमा रजिस्ट्रेसन शुल्क, धितो बैंकिङ र पुँजीगत लाभकर गरी रु एकअर्ब १७ करोड ८ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवमा रु ५५ करोड ८४ लाख ६९ हजार मात्रै राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीका अनुसार गत आवमा रजिस्ट्रेसन शुल्कबापत रु ९६ करोड ५५ लाख ९४ हजार सङ्कलन भएको छ भने अघिल्लो आवमा सो शीर्षकमा रु ४४ करोड ८० लाख ९२ हजार सङ्कलन भएको थियो । धितो बैंकिङमा रु सात करोड १७ लाख १७ हजार राजस्व सङ्कलन भएको छ भने अघिल्लो आवमा रु पाँच करोड ४४ लाख ३३ हजार सङ्कलन भएको थियो । पुँजीगत लाभकरतर्फ रु १३ करोड ३५ लाख ७८ हजार तथा अघिल्लो आवमा रु पाँच करोड ५९ लाख ४२ हजार राजस्व सङ्कलन भएको थियो । सरकारी दररेटसँगै लिखत सङ्ख्या बढेककाले राजस्व बढेको कार्यालय प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए । “देशभरको सुरक्षित बासस्थानको रुपमा चितवनलाई लिएकै कारण घरजग्गा खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो,” उनले भने । घरजग्गाको मागसँगै मूल्यमा समेत दोब्बर वृद्धि भएको छ । अहिले सहरको महँगो जग्गा छोडेर ग्रामीण क्षेत्रमा सस्तो जग्गा किन्ने क्रम बढेको बताइएको छ । रासस
एनएमबि बैंकको ‘एक घर एक खाता’ योजना शुरु
काठमाडौं, ४ साउन । एनएमबि बैंकले एक घर एक खाता योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने यस योजनाको उद्देश्य रहेको छ । “आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” अभियानलाई नै निरन्तरता दिदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको हो । यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।
बजारमा दिनदिनै नयाँ रेकर्ड, परिसूचक १८०० विन्दुमा, कारोबार रकम २ अर्ब नाघ्यो
काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको छ । दिउँसो बजार खुल्ना साथ बढेर १८१३ अंकमा पुगेको परिसूचक १८०० अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन १३९ कम्पनीको २९ लाख २ हजार कित्ता सेयर करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको करिब ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकको करिब ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४० अंकले बढेको छ । बैंकिङ् र होटल समूहको परिसूचक बराबर ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः १५ र ८ अंकले वृद्धि भएको छ । इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह क्रमशः २४०, १७ र ९ अंकले घटेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।
सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव
काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् – “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनले दिए। “अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उनले भने । सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराए । पूर्णखोपयुक्त घोषणा गरिने अभियान सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए । व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पु¥याउन मन्त्रालयले प्राथमिकता दिएको बताए । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ । हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ । यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । रासस
काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण
बनेपा, ४ साउन । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित ९कडा कुपोषण० भएका बालबालिका ९८ जना रहेका छन् । विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैर सरकारी संस्था नेपाली प्राविधिक समूह (एनट्याग) का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिए । “अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उनले भने । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिए । सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो । उनका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ । शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ । जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा। अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाए। “भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उनले भने । रासस
अब पाँच सयको मूल्यमा ७५० एमएल स्प्राइटको आनन्द
काठमाडौं,४ साउन । कोकाकोला नेपालले स्प्राइटमा नयाँ प्रबद्र्धन सार्वजनिक गरेको छ । यसको पछिल्लो प्रबद्र्धन अन्तर्गत, उपभोक्ताहरुले कागतीको स्वाद भएको पेय, स्प्राइट, ७५० एमएल प्याकको आनन्द ५०० एमएलको मूल्य मा नै नेउठाउन सक्नेछन् । यो ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना अहिलेदेखि स्टक रहेसम्मका लागि लागू हुनेछ । यो नेपाल भरीका मूख्य शहरहरुमा सार्वजनिक गरिसकिएको छ, र परम्परागत तथा आधुनिक व्यापारिक मूख्य आउटलेटहरुमा उपलब्ध रहेको छ । कम्पनीले कोकाकोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको छ । यो प्रबद्र्धन, उपभोक्ताहरुसँग आबद्ध हुन र कोका(कोला नेपालको पेय पदार्थहरुको पोर्टफोलियोबाट केहि उच्च स्वाद तथा ताजा पेय पदार्थहरुका साथमा रमाइलो गर्न तिनीहरुलाई थपअवसरहरु र कारण दिनका लागि कम्पनीको वृहत रणनीति अन्तर्गतको भाग हो ।
टाटा मोटरको नयाँ बस बजारमा, मञ्जुश्री यातायातले मात्र लियो २२ वटा बस
काठमाडौं, ४ साउन । टाटा मोर्टस्को लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ बस च्यासिस टाटा एल.पी.ओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो वस डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ । १८० हर्ष पावर भएको यस वाईड बडी च्यासिस नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ एवम् ४५ रिक्लाइनिङ सिट क्षमताको छ । १८० हर्ष पावर र ६७५ एनएम टर्कको इञ्जिन भएको र आधुनिक प्रविधि प्रयोग भएकोले यो गाडी अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले चल्ने कम्पनीको प्रमुख सञ्चालन अधिकृत राजेश श्रेष्ठले बताए । यस गाडीमा ३ बर्षवा ३ लाख किलोमिटर सम्मको वारेन्टी रहेको उनले बनाए । बसमा १४इन्चको डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी६०० गियर बक्स र ४१/७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ । टाटा मोटर्स्को नयाँ बस पहिलो पटक मन्जुश्री यातायात सेवा समितिले ५ वटा किनेको छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालनको लागि यो बस खरिद गरिएको समितिका कार्यवहाक अध्यक्ष अनिल चालिसेले बताए । सन् २००१ मा स्थापित मन्जुश्री यातायात सेवा समितिले काठमाडौ दिल्ली र काठमाडौ बनारसमा आवतजावत गर्ने यात्रुहरुको लागि आरामदायी र सुबिधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आईरहेको छ । मन्जुश्री यातायात सेवा समितिले २२ वटा टाटा बसहरु किनीसकेको छ । २६ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको सेवा संजाल भएको कम्पनी हो । टाटा मोर्टस् लिमिटेड भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी हो, जसले सन २०१५/१६ मा २,७ खर्ब ५,५ खर्ब ६१ करोडको कारोबार गरेको छ ।