विकासन्युज

लगानी बोर्ड प्रवद्र्धित जलविद्युत आयोजनाप्रति सांसदहरु असन्तुष्ठ, एक हप्ता भित्र प्रगति विवरण पेश गर्न निर्देशन

काठमाडौं, १८ असोज । ठुला विकासे परियोजनाहरुको सञ्चालनका लागि गठन गरिएको लगानी बोर्डको कामप्रति सांसदहरुले असन्तुष्ठि जनाएका छन् । व्यवस्थापिका संसदको कृषि तथा उर्जा समितिको बैठकमा सांसदहरुले लगानी बोर्डको काम कारवाही प्रति तिब्र असन्तुष्ठि पोखेका हुन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको उपस्थितीमा समितिले बोर्ड मार्फत अघि बढेका जलविद्युत आयोजनाहरुको अवस्थाबारे छलफल गरेको थियो ।  छलफलमा बोर्डले हेरिरहेका ठुला जलविद्युत आयोजना रहेका जिल्लाका सांसदहरुलाई समेत आमन्त्रण गरिएको थियो । बैठकमा सांसदहरु भिम रावल, कुन्ति शाही, काशीनाथ अधिकारी, बलराम अधिकारी, लक्ष्मी प्रसाद पोखरेल, अमृत बोहरा, तारामान गुरुङ, भरत साउँद, कमल पंगेनी, दिपक खड्का, जमिन्द्रमान घले, सिता नेपाली लगायतले बोर्ड मार्फत अघि बढेका जल विद्युत आयोजनाहरुको प्रगति सन्तोषजनक नरहेको टिप्पणी गरेका थिए । उनीहरुले बोर्ड मार्फत अघि बढेका अपर कर्णाली, अरुण थ्री, पश्चिम सेती, अपर मर्स्याङदी २, तामाकोशी थ्री लगायतका जलविद्युत आयोजनाहरु विवादमुक्त हुन नसकेको र निर्माण प्रक्रिया समेत ढीलो भैरहेको बताए । समितिका सभापति गगन थापाले पश्चिम सेती परियोजनामा अलमल्याउने काम मात्रै भैइरहेको बताउँदै त्यसो हो भने नयाँ ढंगले सोच्न बोर्डलाई आग्रह गरे । उनले अपर कर्णालीमा समेत प्रवद्र्धक कम्पनीलाई पैसाको अभाव हुने बताउँदै बोर्डले कस्तो कम्पनीलाई आयोजना सुम्पिएको हो भन्दै प्रतिप्रश्न पनि गरे ।‘पश्चिम सेतीमा अलमल्याउने काम मात्रै भएको छ, हामी सन्तुष्ठ छैनौं, अपर कर्णालीमा पनि फाईनान्सको समस्या हुने निश्चित भैसकेको छ, बोर्डले के हेरेर बसिरहेको छ ।’ थापाले प्रश्न गरे । सांसद अमृत बोहराले सबै परियोजनामा सबैको चित्त बुझाउन नसकिने बताउँदै कसका कति माग पुरा गर्न सकिने हो त्यो मोडल पहिले नै तयार गर्न बोर्ड असफल रहेको बताए । एउटै प्रकृतिका भिन्न परियोजनाहरुमा भिन्नै खाले सम्झौता भैरहेको र स्थानियलाई पनि फरक ढंगले चित्त बुझाउने प्रयास गरिएको भन्दै उनले असन्तुष्ठि जनाए । सभासद लक्ष्मी प्रसाद पोखरेलले अपर कर्णालाी जलविद्युत आयोजना प्रभावित दैलेख, सुर्खेत र अछामका जनतालाई १० प्रतिशत सेयर नदिए आयोजना अघि बढ्न नदिने बताए । आयोजनाको पिडिए सम्पन्न भएको लामो समय बितिसक्दा पनि स्थानिय जनताले पाउने सेयर हिस्साबारे अझै स्पष्ट नपारिएको भन्दै उनले छलछाम गर्ने प्रयास गरिए जनताले आयोजना अघि बढ्न नदिने स्पष्ट पारे । सांसद सिता नेपालीले पनि अपर कर्णालीमा जनता असन्तुष्ठ रहेकाले तत्काल जनताको माग सम्बोधन नभए आयोजना अघि नबढ्ने बताईन् । सांसद भरत साउँदले पनि अपर कर्णालीमा स्थानिय जनताले पाउने सेयर कति हो भन्दै प्रश्न गरेका थिए । सांसद तारामान गुरुङले उर्जा समितिले अरुण थ्री आयोजनाको स्थलगत अवलोकन गर्नु पर्ने बताए । उनले प्रवद्र्धक कम्पनी र स्थानियका बिचमा आवश्यक समन्वयको अभाव देखिए त्यसले परियोजनामा रोकावट ल्याउने भन्दै लगानी बोर्डलाई सचेत गराए । अर्का सांसद कमल पंगेनीले जलविद्युतको विकासमा केन्द्रिय समन्वय समिती गठन गर्नु पर्नेमा जोड दिए । सांसद बलराम अधिकारीले आफ्नो हैसियत बिर्सेर बोर्डले ठुला आयोजनाहरु तयार पार्न थालेका आरोप लगाउँदै पहिला हैसियत बुझेर क्षमता बढाउन पनि अग्रसरता देखाउनु पर्ने धारणा राखेका थिए । कृषि तथा उर्जा समितीको बैठकले एक हप्ता भित्र बोर्ड मार्फत अघि बढेका पाँच वटै आयोजनाहरुको प्रगति विवरण एक हप्ता भित्र पेश गर्न निर्देशन दिएको छ । त्यस्तै, नयाँ जलविद्युत आयोजनाहरुको सम्झौता गर्दा नयाँ संबिधानले व्यवस्था गरे अनुसार अघि बढ्न र नाका बन्दीका अवस्थामा समेत आयोजनामा असर नपर्ने व्यवस्था सहित अघि बढ्न पनि बोर्डलाई निर्देशन दिएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले आयोजनाहरुमा राजनीतिक हस्तक्षेप बढि हुने गरेको बताउँदै सांसदहरुले सहजीकरणका लागि सहयोग गर्नु पर्ने बताएका थिए ।

मुख्यसचिव पौडेलको अत्यान्त जरुरी पत्र, सन्तती माथि सयौ अर्बको दायित्व नथपौं

लिलामणि पौडेल (पूर्व मुख्य सचिव लिलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालिन सचिव लिलाप्रकाश सिटौलालाई चैत ३ २०७१ सालमा पठाएको अत्यान्त जरुरी पत्रबाट साभार)[divider] श्री सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरवार । मिति २०७१ चैत २ गते बिहान बसेको व्यवस्थापिका संसदको विकास समिति बैठकमा काठमाडौं–तराई (मधेश) दु्रतमार्गबारे छलफल भइरहँदा अर्थ मन्त्रालयका सचिवले रु.३१७ अर्ब भन्दा बढी वर्तमान मूल्य उल्लेख भएको एकपाना कागज देखाउँदै त्यही दु्रतमार्ग निर्माण गर्ने कम्पनीको प्रक्षेपित रिक्वायरड रेभन्यू (राज्यले प्रस्तावकलाई दिनुपर्ने) हो भन्नुहुदा म एकदमै उद्देलित र स्तब्ध भएको थिए । त्यहाँ मसँग एकदमै कम सूचना वा जानकारी थियो । त्यस सभामा तपाईसँगै जानकारी माग्नु पनि शोभनीय भएन र सोझै त्यसको विरोध गर्न पनि पदीय सीमाले उपयुक्त ठानिन तर बैठक पश्चात् तपाईसँग थप केही सोधौला र आवश्यक परे तपाईलाई छुट्टै सल्लाह दिउला भनेर केही नबोली बैठकबाट उठेको केही घण्टामै सम्झौता भएको सार्वजानिक भयो । सफल भनिएको प्रस्तावक कम्पनीले १५ प्रतिशत ब्याजमा लगानी जुटाउने उल्लेख गरेको र खर्च रकम एकदमै बढाईचढाई गरी प्रस्तुत गरेको हुँदा जस्ताको तस्तै सम्झौता गर्न सकिदैन भनेर सम्झौतामा हस्ताक्षरकर्ता अधिकारीले ठिक एकदिन पहिले विकास समितिमा भनेको अभिलेखबद्ध छ भन्ने सूचना पनि मैले बैठक पश्चात मात्र पाए । केही समय पहिले न्यूनतम राजस्व प्रत्याभूति वा न्यूनतम सवारी प्रत्याभूतिमा सडक बनाउने गरी सम्झौता हुँदैछ भन्ने समाचार बाहिर आएपछि पोलिसी, बिजनेश /अपरेशनल एन्ड फोर्स मजेउरे सबै जोखिम राज्यले बेहोरेर व्यवसायीलाई नाफा मात्रै खान दिने त्यो मोडेल कम्तीमा पनि यो सडकका लागि ठीक नभएकोले त्यसो नगर्न मेरो कार्यकक्षमा बोलाएर तपाईलाई आग्रह गर्दा तपाईले भायविलीटी ग्याप फन्डिङ (भीजीएफ) जस्तै हो भन्नु भएको र मैले उदाहरण नै दिएर हामीले भनेको भीजीएफमा निर्माणका चरणमा एकपटक पुँजीगत अनुदान दिएपछि संचालन जोखिम व्यवसायीले बेहोर्ने हो तर न्यूनतम ट्राफिक ÷राजस्व प्रत्याभूतिको मोडेलमा व्यवसायीले गरेका सबै खराब कर्मको फलस्वरुप हुने दैनिक व्यापार घाटा समेत सरकारले बेहोर्नुपर्ने भएकोले दुवै एउटै होइन भनेको थिएँ । त्यसका अतिरिक्त बिहारका मुख्य मन्त्रीज्यूले सन् २०१२ मा म त्यहाँ जाँदा बिहारमा सडकमा भीजीएफमा प्रस्ताव आवहान गरेकोमा जिरो भीजीएफमा थप राजस्व बुझाउने गरी निर्माण प्रस्ताव आएको जानकारी हामीलाई दिनुभएको तपाईसँग सेयर गर्दै न्यूनतम राजस्व प्रत्याभूति गरी सडक निर्माण गर्ने पीपीपी मोडेल थाइलैण्ड, मेलेसिया, दक्षिण कोरिया जताततै असफल भएपछि हाल अपनाउन छोडिएकोले त्यस्तो असफल मोडेलमा नजान तपाईलाई सल्लाह दिएपछि विचार गरौला भनेर तपाई फर्किनु भएको स्मरण गराउँछु । हालै कम्पट्रोलर एन्ड अडिटर जनरल अफ इण्डियाले यस्तो मोडालिटी अवलम्बन गरी भारतमा सडक बनाउन नहुने सल्लाह सरकारलाई दिएको जानकारी मलाई छ । नेपालको प्रचलित कानुनमा यस्ता परियोजना प्रस्ताव विवरण मलाई जानकारी गराउनै पर्ने बाध्यात्मक व्यवस्था छैन । उजुरी नपरी मैले माग्ने पनि गरेको छैन । तथापि कतिपय सार्वजानिक चासो र खास आम नागरिकका आर्थिक जीवनमा व्यापक असर पर्ने विषयमा आयोजना सहजीकरण समितिको संयोजक, केन्द्रीय अनुगमन समितिको संयोजक र सुशासन सञ्चालन ऐन २०६४ बमोजिम सचिवलाई निर्देशन दिने र समस्या आइपरेमा समन्वय गर्ने जिम्मेवारी पूरा गर्न समय समयमा मैले तपाईको ध्यानाकर्षण गराउने वा निर्देशन दिने र समन्वय वा सहजीकरण गर्ने गरेको स्मरण गराउँछु । त्यसका अतिरिक्त मैले खरिदसँग हरेक जटील विषय आउँदा वा अरु मन्त्रालयलाई खरिद प्रक्रियाबारे द्धिविधा हुँदा तपाईको सल्लाह लिने गरेको तपाईलाई जानकारी नै छ । सार्वजानिक खरिद सम्बन्धी मैले सबै भन्दा बढी विश्वास गरेको र भर परेको एक सल्लाह लिने गरेको तपाईलाई जानकारी नै छ । सार्वजानिक खरिद सम्बन्धि मैले सबैभन्दा बढी विश्वास गरेको र भर परेको एक निजामति प्रशासक तपाई हो भन्न मलाई संकोच छैन । हालै मेरो अध्यक्षतामा अर्थ र सार्वजानिक खरिद अनुगमन कार्यालय समेत गरी पाँच पाँच मन्त्रालयका सचिव रहेको समितिको बैठकबाट शिक्षा मन्त्रालयको एउटा खरिद सम्बन्धी निर्णय गर्नु पूर्व टेलिफोनबाट तपाईको सल्लाह लिएर सोही बमोजिम निर्णय गरेको थिए । वार्षिक झण्डै ४० अर्बको वस्तु वा सेवा खरिद गर्ने निकायको प्रमुख, सम्पूर्ण सेवा अवधि एउटै मन्त्रालयमा विताएको तथा दुई वर्ष भन्दा बढी अवधि एउटै मन्त्रालयमा काम गर्ने अवसर पाएको तपाई एकमात्र सचिवबाट आफ्नो निजामती सेवाको कार्यकालको उत्तरार्धमा भावी सन्तती माथि सयौ अर्बको थप दायित्व पर्ने गरी र परियोजना अनिश्चितताको खाडलमा पार्नेगरी अगाडी बढाउने काम भयो भन्ने विश्वास गर्न पनि कठीन भएको छ । साथै यो परियोजना सम्झौताले मेरो मनमा राष्ट्र सेवकको हैसियतले मात्र होइन एक सचेत नागरिकको हैसियतले पनि केही जिज्ञासा उठेका छन् । १.सडक निर्माणमा न्यूनतम ट्राफिक ग्यारेन्टी वा रोयल्टी ग्यारेन्टी धेरै मुलुकले छोडिसकेको र भारत तथा थाइलैण्डमा त यो मोडालिटीको प्रयोग एकदमै समस्याग्रस्त भएको पाइएको छ । पूर्वाधार लगानीका क्षेत्रमा पीपीपी मोडेलको अन्तराष्ट्रिय अनुभव मिश्रित छ । टेलिकम, ऊर्जा, पोर्ट, विमानस्थल जस्ता आयोजनाको तुलनामा सडक आयोजनाको पीपीपी मोडेल सफल छैन । थाइल्यान्डमा निजी क्षेत्रले बनाउन सुरु गरेको सडक वर्षौ देखि पिलर मात्र उठाएर डेभलपरसँग भएको विवादको कारण अलपत्र छोडिएको छ । ठडिएका पिलरहरु हटाउदा सरकारले डेभलपरलाई धेरै क्षतिपूर्ति दिनु पर्ने र नबनेकै सडकको हर्जना बेहोरेर सरकार मुकदर्शक भएर बसिरहेको अवस्था रहेछ । यस दु्रत मार्गमा निजी कम्पनीले प्रक्षेपण गरको रेभन्यू को लागि आवश्यक ट्राफिक भोलुम नपुग्ने प्रष्टै छ । सडकको क्षमता पूर्ण उपयोग नभएको अवस्थामा अझ उच्च महशुल लगाने हो भने ट्राफिक भोलुम झन सपप्रेस हुने र त्यसले गर्दा यस्तो रणनीतिक महत्वको सडकले ल्याउन सक्ने सम्भावित आर्थिक गतिविधिमा संकुचन आउनेछ । अर्कोतर्फ कम ट्राफिक भोलुम भए बापत सरकारले निजी कम्पनीलाई क्षतिपूर्ति दिनु पर्नेछ । डेड वेट लस भन्ने ट्रान्सपोर्ट इकोनोमिक्स को सामान्य ज्ञानले मात्र पनि यस बारेमा ठीक धारणा बनाउन सघाउनु पर्ने हो । यस परियोजनामा ट्राफिक ग्यारेन्टी गर्दा डेड वेट लस हुने र त्यो बापत त्यही नै रकम सवारीधनीलाई छुट दिँदा राज्यले पाउने लाभ गुम्ने तथा डेभलपरलाई हर्जनाबापत त्यही रकम दिनुपर्ने हुँदा हजारौं नागरिकको गुमेको लाभ डेभलपरले हाम्रो राज्यकोषबाट एक्लै कुम्ल्याउने अवस्था आउँछ । जुन सामान्य अर्थशास्त्रको सिद्धान्त अनुसार एकदमै अनुचित छ । यो मोडलमा डेभलपरबाट सरकार र अर्थतन्त्र दुवै दोहोर मारमा पर्नेछन् । खराब काम गरे बापतको दण्ड सरकारले तिर्नुपर्छ र डेभलपरले खराब काम गरेबापतको अस्वभाविक खर्च देखाएर बसीबसी राज्यको ढुकुटी धुत्छ भन्ने जान्दा जान्दै यही मोडलमा प्रस्ताव अगाडि बढाउनु उचित ठानिन्न । डेभलपरले आयोजनाको यस पूर्वको लागत अनुमान भन्दा १०औं गुना बढी रिकायर्ड रेभन्यू प्रक्षेपण गर्नुको मुल कारणमा लगानीका अतिरिक्त ऋणको ब्याजदर १५ प्रतिशत बीमा शुल्क लगायत अस्वभाविक खर्च अनुमान गरेको प्रष्ट छ । मूल रुपमा नेपाल सरकारबाट यो आयोजना निर्माण गर्ने सम्भावना हुँदाहुँदै राष्ट्रलाई त्यति ठूलो अतिरिक्त वित्तीय भार पर्ने गरी यस्तो पीपीपी को मोडालिटी अबलम्बन गर्नु कुनै पनि दृष्टिकोणबाट औचित्यपूर्ण देखिदैन । २.एशियाली विकास बैंकको सहयोगमा सन् २००७ मा भएको अध्ययनबाट अनुमानित ६७ खर्ब लागतलाई वर्तमान मूल्यमा रुपान्तरण गर्दा रु.९५ अर्बको हाराहारीमा हुन आउने लागत अनुमान मन्त्रालयमा हुँदाहुँदै १० प्रतिशतदेखि २० प्रतिशत मात्र होइन प्रचलित मूल्यमा कन्सेसन अवधिमा ९०० प्रतिशत भन्दा बढी राज्यको दायित्व पर्नेगरी रिक्वायर रेभन्यू प्रक्षेपण गर्ने प्रस्ताव कुन कानुन, मापदण्ड र आधारमा रेस्पोन्सिभ भएको हो भन्ने प्रश्न आउँछ । एशियाली विकास बैंक र विश्व बैंक जस्ता संस्थाहरुको लागत अनुमान सरकारको भन्दा तुलनात्मक रुपले महंगो हुन्छ । तापनि ती महंगो अध्ययनबाट आउने लागत अनुमान भन्दा दशौं गुणा बढी दायित्व प्रक्षेपण गरिएको प्रस्तावलाई डीपीआर तयार गर्न किन दिइयो भन्ने प्रश्न स्वभाविक उठेको छ । ३. रु १५ अर्बको भायविलिटी ग्याप फन्डिङ समेत प्रस्तावमा छन् भन्ने कुरा सम्वद्ध अधिकारीले विकास समितिको अघिल्लो बैठकमा बताएका छन् । भीजीएफ गरी सकेपछि फेरी ट्राफिक ग्यारेन्टी दिने संसारमा कहि कतै नभएको र भविष्यमा पनि हुने सम्भावना नभएको दोहोरो सुविधा माग गरिएको अनौठो र अस्वभाविक प्रस्ताव किन र कसरी स्वीकृत गरियो भन्ने प्रश्नको उत्तर यस कार्यमा संलग्न दिनु पर्ने हुन्छ । ४.के तपाई अब बन्ने डीपीआर १०० अर्बको लागत र त्यसैको सेरोफेरोमा दायित्व नआएमा मान्य हुनेछैन र प्रस्तावकले उल्लखे गरेको प्रक्षेपित रकम र त्यसमा लेखिएका वित्तीय व्यवस्था सम्बन्धी कुनै पनि कुरा सरकारले स्वीकार गरेको छैन भनेर प्रस्तावकलाई काम सुरु गर्नु पूर्व लेखेर दिन सक्नुहोला । यदि त्यसो गर्नु हुन्न र भोलि प्रस्तावकले अहिले कै जस्तो अस्वभाविक दायित्व अनुमान गरी परियोजना प्रतिवेदन तयार गर्यो भने सरकारले त्यसलाई स्वीकार वा अस्वीकार के गर्ने ? स्वीकार गर्दाको अस्वभाविक वित्तीय दायित्व र अस्किार गर्दाको जोखिमको उत्तरदायित्व कसले लिने हो भन्ने प्रश्न पनि उठेको छ ? पीपीपीअन्तरगतको निजी कम्पनीको संलग्नताले समयमै आयोजना सम्पनन हुने कुनै प्रत्याभूति हुँदैन । बरु हाम्रो जस्तो जटिल भौगर्भिक भू बनोटमा सडक निर्माणको सिलसिलामा आइपर्ने प्राविधि चुनौति र यसले सृजना गर्ने कानुनी तथा व्यवस्थापकीय झन्झटले निजी क्षेत्रबाट निर्माण हुँदा आयोजनाको समयावधि झनै लम्बिने जोखिम बढी छ । ५.यी सबै प्रश्नलाई परियोजना बिथोल्ने भनेर वा विकास विरोधी आरोप लगाएर विषयान्तर हुने जोखिम बारे म राम्ररी जानकार र सचेत छु । मलाई जानकारी भए अनुसार प्रस्तुत मोडालिटीको विकल्पमा सोच्नु प¥यो भनेर विकास समितिमा बोल्ने विज्ञहरुले पनि यस्तो जोखिम महसुस गरेका रहेछन् । यो परियोजना चाडो ल्याउनुहोस के सहयोग गर्नुपर्छ भनेर धेरैपटक भन्ने म नै हो । तर एउटा सामान्य मान्छेले पनि प्रश्न गर्ने गरी राज्यलाई सयौ अर्बको थप दायित्व सिर्जना गरेर यति महत्वपूर्ण परियोजना अन्यौल,विवाद र थप अनिश्चितताको गतिमा पठाउने गरी काम गर्न भने भनिएको कदापि होइन । प्रचलित मूल्य रु.८१७ अर्ब भन्दा बढीको रिक्यावर रेभन्यू र १५ अर्बको भीजीएफ सहितको प्रस्ताव आउनासाथ प्स्ताव तुरुन्तै खारेज गरेर सरकार आफैले निमार्ण गर्ने मोडालिटीमा जानु पर्नेमा यो गलत बाटो मा परियोजना किन धकेलियो भन्ने चिन्ता र चासो मलाई छ । ६.यो द्रुत मार्ग ललितपुर जिल्लाको खोकना भएर बनाउँदा जमीनको मुअब्जा बापतको रकम नै अर्बौ थपिने भएकोले नदीकिनारबाट बनाउने विकल्प बारे पनि धेरै पहिले नै तपाईलाई मैले मौखिक ध्यानाकर्षण गराएको थिए । हेटौडा टनेल मार्ग र दु्रतमार्ग समानान्तर हुने गरी २२ किमी सडक दोहोरो परेको बारे विज्ञबाट उठेको जिज्ञासा र मैले तपाईलाई विभिन्न प्रसंगमा सरकारको तर्फबाट एउटै बाटो बनाउन दिएको सुझावलाई ध्यान दिई दोहोरो नपर्ने गरी काम गने व्यवस्था मिलाउनु तपाईको दायित्व हो । कुनै पनि हालतमा दुईवटा बाटो नदी वरिपरि बनाउनु घातक हुने कुराको हेक्का राख्नु भएकै छ भन्ने विश्वास लिएको छु । पीपीपी मोडालिटी को जोखिम बहन वितरणको सामान्य र न्यायोचित सिद्धान्त अनुसार पनि ग्यारेन्टी अफ बेसिक इन्भेष्टमेन्ट र ग्यारेन्टी फर एक्सेसिभ प्रोफिट अलग अलग विषय हुन् । हाल ग्यारेन्टी फर बेसिक इन्भेष्टमेन्ट को मोडालिटी को सट्टा निजी कम्पनीको एक्सेसिभ प्रोफिट ग्यारेन्टी गर्ने तर्फ परियोजना लक्षित भएकोले यस्तो परियोजना प्रस्ताव स्वीकारर्नु हुँदैन । समिति बैठकमै विज्ञहरुको राय सुन्दा फास्ट ट्रायक जस्तो रणनीतिक महत्वको आयोजनाको नीतिगत र आयोजना व्यवस्थापनसाग सम्बन्धित विषयमा समेत पर्याप्त अध्ययन र गृहकार्य नभए जस्तो लाग्यो । यदि अध्ययन र अनुसन्धान र गृहकार्य भएको छ भने विज्ञबाट उठाइएका प्श्नहरुको चित्तबुझ्दो जवाफ दिनु पर्छ । अन्यथा यस्तो राष्ट्रिय महत्वको विषय हचुवाका भरमा निर्णयमा पुग्नु बाञ्छनीय छैन । प्रस्तावकले तयार गरेको डीपीआर स्वीकारर्दा हामीले स्वतःउसैसँग कन्सेसन एग्रिमेन्ट गर्नु पर्ने हुन्छ । त्यसले गर्दा प्रस्तावकले लागतको १०औं गुणा बढीले प्रक्षेपण गरेको रिक्वायड रेभन्यू का कारण अधिक आम्दाी जति व्यवसायीको पोल्टामा र जोखिम जति सबै सरकारले बेहोर्ने गरी प्रस्तावकले उसैसँग कन्सेसन एग्रिमेन्ट गर्नु पर्ने दाबी वा दबाब दिँदा हामीले गर्ने रेस्पोन्स के हुन्छ र त्यसको कानूनी दायित्व हामी कसरी निर्वाह गर्छौ भन्ने प्रश्न आउँछ । विकास समितिको उपर्युक्त बैठक पछि प्रंस्तावक कम्पनीले सित्तैमा डीपीआए बनाइदिन लागेकोले काम अगाडि बढाएको भन्ने सञ्चार माध्यममा आएको छ । यो संस्था कुनै च्यारिटी होइन र सित्तैमा बनाइदिने पनि होइन । मैले बुझे अनुसार यदि प्रस्तावक कम्पनीसँग कन्सेसन एग्रिमेन्ट भएमा डीपीआर बनाउँदाको उसले उल्लेख गरेकै लागत परियोजनामा समावेश हुनेछ र हामी विकल्पमा जान सक्यौं (जुन धेरै गाह्रो छ) भने डीपीआर गर्दाको उसको खर्च दाबीमा एउटा डीपीआरले भेरीफाइ गरेर उसलाई भुक्तानी दिनुपर्नेछ । त्यो भेरीफिकेशमा कामको वास्तविक खर्च कति भयो वा हुन्छ भन्ने भन्दा पनि खर्च शीर्षक सान्दर्भिक छ÷छैन भन्ने आधारमा सामान्य छाँटकाँट गर्ने गरिन्छ । यस्ता प्रस्तावकहरुले आफ्नो खर्चलाई बढाइचढाई गरी दाबी गर्ने हुँदा जति धेरै काँटछाँट गर्दा पनि बजारकाचे प्रतिस्पर्धी खर्च भन्दा म्एच् को खर्च धेरै हुने अवस्था रहन्छ । म्एच् को खर्च रकम कति गुणले बढी आउला भन्ने पूर्वानुमान गर्न उसको रिक्वरड रेभिन्यू प्रस्ताव नै प्रर्याप्त छ । त्यस्तो प्रस्तावकले बनाएको डीपीआर अर्को कम्पनीलाई सडक निर्माण गर्न दिएमा अर्को कम्पनीलाई त्यो डीपीआर ग्राह्य नभएमा समय र रकम दुवै नोक्सानी हुनेछ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण यति लामो अवधि अवरुद्ध हुनुको प्रमुख कारण नै सन् २००९ मा एलएमडब्लुलाई दिएको डीपीआर गर्ने काम नै हो । यस द्रुत मार्गमा त झन् प्रतिस्पर्धाबाट प्रस्तावक छनौट गरेर कन्सेसन एग्रिमेन्ट गर्ने मनसायपत्रका आधारमा डीपीआरमा प्रवेश गरेकोले यो प्रक्रियाबाट अगाडि बढ्दा धान्नै नसक्ने असीमित दायित्व बेहोरेर एउटा कम्पनीको सबै विजनेश अपरेशन/फोर्स मजेउरे जोखिम सरकारले बेहोर्ने तर नाफा मात्र उसैको शर्तमा त्यो पनि उसैले प्रक्षेपण गरेको लायतको दशौं गुणा बढी प्रतिफल राज्यको ढुकुटीबाट दिने भन्ने नै हो । यी सबै विषय राष्ट्रको अधिकतम हित हेरेर तपाईले यो सम्झौता प्रक्रियामा व्यवसायिक राय दिनुभएकै होला भन्ने लाग्छ । म चाहन्छु मेरा माथिका उठाइएका आशंका गलत होउन् । तपाईंसँग आत्मविश्वास एवं पर्याप्त विश्लेषण वा प्रमाण छन् अथवा तपाईं राष्ट्रहितप्रति पूर्ण निष्ठावान् र आफ्नो कर्तव्यमा पूर्ण उत्तरदायी हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । तसर्थ राष्ट्रहितलाई सर्वोपरि ठानी विज्ञहरुसँग पर्याप्त सल्लाह गरी आफ्नो विवेक र व्यवसायिक कुशलता प्रयोग गरी काम गर्नुहुन तपाईंलाई सुशासन(व्यवस्थापन र सञ्चालन) ऐन २०६४ को दफा १०(२) (ख) बमोजिम निर्देशन गरेको छु । असल मनसायले गरिने असल काममा तपाईंलाई मेरो सधैं सहयोग रहनेछ । धन्यवाद । सादर अवगतार्थ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, अर्थ मन्त्रालय माननीय मन्त्रीज्यू, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय

‘यथास्थितिमा भारतीय कम्पनीलाई फास्ट ट्रयाक बनाउन नदिनु’-संसदीय समिति

काठमाडौं, १७ असोज । व्यवस्थापिका संसदको अर्थ समितीले यथास्थितीमा भारतीय कम्पनी आईएल एण्ड एफएसलाई फास्ट ट्रयाक निर्माणको अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समिती बैठकले सांसद केशब बडाल नेतृत्वको उपसमितीले तयार पारेको प्रतिवेदनको मर्म अनुसार कम्पनीले अघि सारेको प्रस्ताव अनुसार निर्माणको जिम्मेवारी नदिन निर्देशन दिएको हो । सांसद बडाल नेतृत्वको उप समितीले फास्ट ट्रयाकको निर्माण ग्लोबल टेण्डर मार्फत सरकारले आफैं गर्नु पर्ने, अथवा भारतीय कम्पनीलाई दिने हो भने नाफा घाटा कम्पनीले नै व्यहोर्ने गरि दिनु पर्ने व्यहोराको प्रतिवेदन तयार पारेको थियो । त्यसका अलवा प्रतिवेदनले भारतीय कम्पनीले प्रस्ताव गरेको निर्माण लागत अत्याधिक बढि भएको, टोल ट्याक्स बढि भएको, न्युनतम राजश्व ग्यारेन्टीको प्रबन्ध अनावश्यक रहेको निष्कर्ष समेत निकालेको थियो । उप समितीको प्रतिवेदनमाथी धारणा राख्ने अधिकांश सांसदहरुले भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिए राष्ट्रघात हुने  दावी गरेका थिए । उनीहरुले आफ्ना सन्ततिहरुलाई समेत गरिब बनाउने योजनासहित भारतीय कम्पनीले प्रस्ताव अघि सारेको बताएका थिए । प्रतिवेदन निर्माणको नेतृत्व गरेका सांसद केशब बडालले नेपाल सरकारलाई ७ खर्ब भन्दा बढि घाटा लाग्ने भन्दै फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउनु पर्ने बताए । पुर्व अर्थ मन्त्री भरतमोहन अधिकारीले पनि फास्ट ट्रयाकको निर्माण पहिलो प्राथमिकताका रुपमा सरकारले आफैं गर्नु पर्ने, त्यसो नभए सरकारले अनुदान पनि नदिने र लगानी कर्ता पनि नबने सर्तमा टोल ट्याक्स र लागत घटाएर भारतीय कम्पनीलाई दिन सकिने धारणा राखेका थिए । ‘१५ अर्ब अनुदान र तीन प्रतिशत ब्याजदरमा ७५ अर्ब ऋण दिने हो भने सरकार आफैंले बताउनु पर्छ’, अधिकारले भने । सांसद जगदिशनरसिंह केसीले पनि भारतीय कम्पनीलाई पफास्ट ट्रयाक निर्माणको जिम्मेवारी दिए सन्ततिले सराप्ने बताएका थिए । काँग्रेस सभासद उदय शमसेर राणा लगायतले राष्ट्रहित हुनेगरि निर्माण अघि बढाउन सक्ने व्यहोराको निर्देशन दिनु पर्ने धारणा रोखका थिए । केहि सांसदको यस्तो धारणा आएपछि सभापति प्रकाश ज्वालाले बडाल नेतृत्वको उपसमितीको प्रतिवेदनका निष्कर्ष सम्झाउँदै सोही अनुसार सरकारलाई निर्देशन दिईने भन्दै हस्तक्षेप गरेका थिए । ‘फास्ट ट्रयाक नबनोस भन्ने कसैले चाहेको छैन तर त्यसले हामीलाई थप गरिब नबनाओस भन्ने सबैको चिन्ताको बिषय हो, पहिलो कुरा भनेको सरकार आफैंले बनाउनु पर्छ, यदि भारतीय कम्पनीलाई नै दिने हो भने सरकार लगानी कर्ता बन्नु हुन्न र टोल ट्याक्स घटाउनु पर्छ ।’ सभापति ज्वालाले भने । उपसमितीले काठमाडौं–तराई/मधेश द्रुत मार्गको नाम समेत फेरेर काठमाडौं–निजगढ द्रुत मार्ग बनाउनु पर्ने निष्कर्ष निकालेको छ । समितीले निजगढ बिमानस्थल र फास्ट ट्रयाकको निर्माण सँगसँगै अघि बढाउनु पर्ने निष्कर्ष समेत निकालेको छ ।  समितीको निर्देशनसँगै भारतीय कम्पनी आईएल एण्ड एफएसलाई फास्ट ट्रयाक निर्माणको जिम्मेवारी दिने भौतिक योजना तथा पुर्वाधार मन्त्री बिमलेन्द्र नीधिको योजना तत्कालका लागि रोकिएको छ । अब नयाँ सरकारले गठन भएपछि फास्ट ट्रयाक निर्माण सम्बन्धी निर्णय हुनेछ ।

पाँच वर्षसम्म लाभांश दिइन्न, पहिला १० अर्बको कोष बनाइन्छ-चिरायु भण्डारी

चिरायु भण्डारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड चार वर्षको लागि नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएको छ । आफ्नो कार्यकालमा के के काम गर्ने योजना बनाउनु भएको छ ? नेपाल पुनर्बीमा कम्पनी आफैमा नयाँ हो । यसलाई संस्थागत रुपमा स्थापित गर्दै अघि बढाउनु छ । चार वर्षपछि म यो संस्थाबाट वाहिरीदा जो कोही आए पनि संस्था राम्ररी चल्न सक्ने, सिस्टमले काम गर्ने बनाउने अवस्थामा पुर्याउने छु । प्राबिधिक रुपमा पनि यसलाई सक्षम बनाउछु । व्यवसाय वृद्धि गर्नुछ । नेपाल रि भन्ने कम्पनीलाई विदेशमा पनि चिनाउनेछु । स्वदेशी मात्रै हो विदेशी कम्पनीको व्यवसाय समेत केही हदसम्म तान्ने योजना छ । चार वर्षपछि यस कम्पनीको वार्षिक कारोबार रकम कति पुर्याउनुहुन्छ ? संसारका कुनै पनि कम्पनीले शतप्रतिशत जोखिम बहन गर्न सक्दैनन् । हामीले पनि लिन सक्दैनौं । सबैले मिलेर जोखिम वहन गर्ने हो । जोखिम बाँडफाँड गर्ने हो । चार वर्षभित्रमा नेपालले गर्ने कुल पुर्नबीमाको १० देखि १५ प्रतिशतसम्मको हिस्सा यस कम्पनीले लिनेछ । त्यो भनेको करिब तीन अर्ब रुपैयाँको व्यापार हुन्छ । हामीले पनि अर्काे पुनर्बीमा कम्पनीमा बीमा गर्नेछौं । भोली चाँही हामी लिडर कम्पनीका रुपमा स्थापित हुन सक्छौं । दीर्घकालमा हामीले शत प्रतिशत जोखिम लिने अनि अन्य विदेशी कम्पनीहरुलाई जोखिम हस्तान्तरण गर्ने दिशामा जानेछौं । विदेशबाट पुर्नबीमा नेपालमा गराउन सकिन्छ ? त्यसको आधार बनिसकेको छ ? विदेशबाट पुनर्बीमा गराउन तीन वर्षको वित्तीय अवस्था पेश गर्नुपर्ने हुन्छ । पहिला हामीले तीन आर्थिक वर्ष कारोबार गरेर राम्रो आर्थिक प्रतिवेदन बनाउन सक्नुपर्यो । तीन वर्षको फाईनान्सीयल स्टासका आधारमा अन्तराष्टिय संस्थाले रेटिङ गर्छन र अनि त्यहि रेटिङका आधारमा हामीले विदेशी कम्पनीको व्यापार लिने हो । आर्थिक वर्ष २०७३÷७४ पछि हामी विदेशी बजारमा जान सक्छौं । अहिले पनि कुनै विदेशी कम्पनीले हामीलाई विश्वास गर्छ भने भने हामी व्यवसाय लिन सक्छौं । नेपाल पुर्नबीमा कम्पनीको लक्षित बजार कुन कुन देश हुन् ? पहिलो कुरा त नेपाल हो । दोश्रो दक्षिण एसिया, त्यसपछि सिंगो एसिया महादेश नै हो । युरोप र अमेरिका त अलि पछिको बजार हो । ठूला देशकै कम्पनीहरु त युरोप तिर जान सकेका छैनन भने हामी अहिले नै जाने त सम्भावना अलि छैन । नेपाली कम्पनीको पुर्नबीमा गर्न भारतीय कम्पनीहरुले समेत लिन नमानिरहेको अवस्थामा एशियाली राष्ट्रहरुले नेपालमा पुर्नबीमा गराउँछन् भनेर कसरी विश्वास गर्ने ? त्यसको आधार के ? तपाईले भनेको सहि हो कि कुनै बेला नेपालको पुर्नबीमा स्वीकार गर्न भारत, जापान, बेलायत लगायतका केही कम्पनीले मानेनन् । जतिबेला अमेरिककाको ट्वीन टावरमा आतंकबादी हमला भयो, त्यतिबेला नेपालमा पनि माओबादीको सशस्त्र आन्दोलन जारी थियो । अन्तराष्ट्रिय जगतले नेपालको बीमा बजारलाई बढी जोखिम युक्त भन्दै लिन गाह्रो मान्यो । त्यहिबेला नेपालमा आकष्मिक बीमा कोष स्थापना गरियो र सोही कम्पनीलाई अहिले पुर्नबीमा कम्पनीमा स्तरोन्नति गरियो । विदेशी कम्पनीले व्यवसाय लिन आनकानी गरेपछि मात्रै नेपाल मै पुर्नबीमा आवश्यकता महसुस गरिएको हो । नेपालको पुर्नबीमा नेपालमै पनि हुन थालेपछि विदेशीले पनि यहाँको बजारलाई विश्वास गर्ने अवस्था सिर्जना भएको छ । विदेशबाट पनि पुर्नबीमा लिन सकिन्छ भन्ने विश्वासकै आधारमा हामी अगाडि बढेका छौं । अहिले नेपालले भुटान रिसँग काम गरिहेको छ, भोली भुटान रिले हामीसँग काम गर्छ । जिआईसी इन्डिया रिसँग हामीले अहिले काम गरिरहेका छौ भोली जिआईसी इन्डियाले पनि हामीसँग काम गर्र्छ र गर्नुपर्छ । हामीले १० प्रतिशत जोखिम दियौं भने उसँग दुई प्रतिशत व्यवसाय हामीले पनि लिन सक्छौं । त्यस्तो भएन भने हामी वल्र्ड मार्केटमा जान्छौं । भारतीय वा भुटानीहरुले हामीसँग काम गर्न चाहेनन भने हामी युरोप वा अमेरिकी कम्पनीसँग काम गछौं । जसले बढी नाफा दिन्छ त्यहिसँग व्यापार गर्ने हो । धेरै कम्पनीले निश्चित प्रतिशत व्यापार नेपाल रिलाई दिए भन्ने समाचार आगामी दुई वर्षभित्र आउनेछ । वित्तीय अवस्था राम्रो भएको कम्पनीमा पुर्नबीमा गर्न अरुले पनि विश्वास गर्ने कुरा गर्नु भयो, अहिलेसम्म नेपाल पुर्नबीमा इन्स्योरन्सको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तसम्ममा हामीले करिव ८५ करोड रुपैयाँ नाफा कमाएका छौं । सेयर पूँजी पाँच अर्ब छ । गत आर्थिक वर्षको मध्यतिर पुर्नबीमा कम्पनी सञ्चालन भएकोले बीचबाट पुर्नबीमा लिन गराउन सम्भव भएन । चालु आर्थिक वर्षदेखि पुर्नबीमा शुरु भएको छ । आगामी वर्ष कारोबार, पुर्नबीमा कोष, नाफालगायतका सूचकांकमा धेरै नै सुधार हुनेछ । कुन कुन कम्पनीले पुर्नबीमा यस कम्पनीमा गर्न थालेका छन् ? नेको, प्रभु, एनबी, प्रुडेन्सियल, शिखर र नेपाल इन्स्यारेन्सले साउन १ गतेदेखि नै नेपाल पुर्नबीमा कम्पनीमा पुर्नबीमा गराएका छन् । दिएका छन् । हिमालयनले कात्तिक १ गतेदेखि र ओरियन्टलले अप्रिल १ तारिख यहाँ पुर्नबीमा गराउँछु भनेर सम्झौता गरेका छन् । एनएलजीले अर्काे आर्थिक बर्षदेखि दिन्छु भनेको छ । अरुअरु कम्पनी पनि प्रक्रियामा छन् । जस्ले यस कम्पनीमा पुर्नबीमा दिनु भएको छ, त्यसमा अहिले हामीले पाँच प्रतिशतको जोखिम मात्रै बहन गरिरहेका छौं । एउटा मोटरको बीमामध्ये पाँच प्रतिशत प्रिमियम हामीले लिएका छौं र जोखिम पनि त्यहि मात्रामा लिएका छौं । भर्खर सुरु भएको पुनर्बीमा कम्पनीमा यत्तिको विश्वास गर्नु राम्रो कुरा हो । जीवन बीमा कम्पनीले किन यस कम्पनीमा पुर्नबीमा गराएनन् ? लाईफतर्फ पनि कुरा अघि बढिरहेको छ । राष्ट्रिय बीमा संस्थान र गुराँसको कुरा अघि बढेको छ । अधिकांश जीवन बीमा कम्पनीको पुर्नवीमा जनवरीमा नविकरण हुन्छ । त्यतिबेला उहाँहरुले नेपाल पुर्नबीमा कम्पनीमा पुर्नबीमा गराउनुहुन्छ । निर्जीवनमा भन्दा जीवन बीमा कम्पनीको जोखिम हामी बढी लिदैछौं । लाईफतर्फ ४२ प्रतिशतसम्म जोखिम लिनेगरि पुर्नबीमा लिदैछौं । म्यादी बीमा छ यसमा । बीमा संस्थानको बाल उमंग भन्ने पोलिसी छ, त्यसको ५० लाखको जोखिम हामी आफैंले उठाएका छौं । यसको पुर्नबीमा हामीले पनि अन्त गरेका छैनौं । धेरै ठुलो भोल्युममा आयो भने चाँही हामी पनि अर्काे कम्पनीमा पुनबीमा गर्छाै, नत्र हामी आफैं गर्छाै । यसको अर्थ लाईफ इस्न्योरेन्समा जोखिम कम छ भन्ने हो ? यो सत्य कुरा हो । चिलीमा ८.३ रेक्टरस्केलको भूकम्प गयो, जम्मा पाँच जना मात्रै मरे । तर अरबौंको भौतिक सम्पति नष्ट भयो । यसको अर्थ लाईफामा जोखिम नै हुन्न भन्ने चाँही होइन् । इन्स्योरेन्स गर्ने भनेको अलि उच्च आय भएकाहरुले हो । उनीहरुमा लाईफलाई सुरक्षीत राख्ने धेरै पक्षबाट सर्तक भएका हुन्छन् । जस्तै सरुवा रोगहरुबाट हुने प्रकोप असर न्युन आय भएकाहरुलाई जतिपर्छ उच्च आय भएकालाई कम पर्छ । न्यून आय भएका मानिसहरुको घर भन्दा बढी आय भएका मानिसहरुको घर बढी सुरक्षीत हुन्छ । चालु आर्थिक वर्षमा कतिको व्यापार हुन्छ ? दुई अर्बको व्यापार गर्ने योजना हो । पाँच अर्ब पूँजी भएको कम्पनीले जम्मा दुई अर्बको व्यापार गर्ने ? हाम्रो बजार पनि सानै छ । ओभर क्यापिटलाईजेशनको कुरा पनि आउन सक्छ । एउटा मोटरले १० हजार तिरेर २५ लाखको बीमा गर्छ । त्यो त्रिशुलीमा खस्यो भने २५ लाख तिर्नुपर्छ । त्यसकारण पुनर्बीमामा जति धेरै क्यापिटल भयो त्यति नै राम्रो हुन्छ । क्यापिटलको तुलनामा केहि बिजनेश कम भएको पक्कै होला तर अपर्याप्त भने होइन् । हामीले त जोखिम बोक्ने हो त्यसैले पनि यस्तो भएको हो । दुई अर्ब लगानी गरेको बैंकले २० अर्बको व्यापार गरेपछि पाँच अर्बको पुनर्बीमा कम्पनीले २० अर्बको व्यापार किन गरेन भन्न मिल्दैन् । पाँच अर्बको पुनर्बीमा कम्पनीले २० खर्बको जोखिम बोकेको हुन्छ । जोखिम बोके वापत क्षमता बढाउन धेरै पूँजी लगानी गरिएको हो । संसारभर यस्तै हुन्छ । कतिबेला के प्रकोप आउँछ र जोखिम बहन गर्नुपर्छ भन्ने निश्चित छैन् । अहिले रि इन्स्योरेन्स कम्पनीहरुले ब्याकअप दिएकाले न सबैले समयमै पैसा तिर्न सकेका हुन् । यो कम्पनीमा सेयर लगानी गर्ने लागानीकर्ताले कति प्रतिशत प्रतिफल पाउँछन् ? पाँच वर्षसम्म नगद लाभांश नदिनु भनेर बीमा समितिले निर्देशन दिएको छ । पाँच वर्षसम्मको नाफा कोषमा बस्छ । पाँच वर्षपछि १० अर्बको कोष हुन्छ । त्यसपछि कम्पनीले दिने नाफा पनि उच्च हुने निश्चित छ ।

पेट्रोलियम पदार्थ लिन चीनको १० वर्षे प्रस्ताव, सरकारको प्राथमिकता भारत नै

काठमाडौं, १७ असोज । चीन सरकारले नेपाललाई पेट्रोलियम पदार्थ दिने प्रस्ताव गरेको दोस्रो दिन भारतले नेपालमाथि लगाएको नाकाबन्दी फिर्ता लिएको छ । स्रोतका अनुसार नेपालका लागि चिनिया राजदुत उ चुन्ताईसहितका दुतावासका उच्च अधिकारीले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महतलाई गत विहीबार भेटी मौखिक रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने प्रस्ताव राखेका उच्च सरकारी अधिकारीको भनाइ छ । चिनिया दुतावासका अधिकारीले चीन सरकारको तर्फवाट १० बर्षसम्म नेपालले पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने प्रश्ताव राखेको जानकारी स्रोतले दियो । नेपाल सरकारले चीनवाट पेट्रोलियम पदार्थ खरिद गर्ने हो भने दुबै देशका सरकार विच (जीटुजी) सम्झौता हुनुपर्ने र १० बर्षसम्म नियमित रुपमा पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता गर्नुपर्ने प्रश्ताव चिनिया पक्षको छ । ‘चीनवाट पेट्रोलियम पदार्थ अहिलेकै ब्यवस्था अनुसार खरिद गर्दा महंगो पर्ने भएकोले सीमा नाकामा पूर्वाधार बनाउनु पर्ने र त्यसको लागि ठूलो लगानी पर्ने भन्दै १० बर्षसम्म पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता गर्नुपर्ने चिनिया प्रश्ताव छ, पेट्रोलियम पदार्थ खरिद गर्नको लागि नेपाल आयाल नियमसँग सम्झौता गरेर नहुने भएकोले दुबै देशका सरकारबीच सम्झौता हुनुपर्ने उहाँहरुको थप प्रश्ताव पनि आएको छ,’ प्रधानमन्त्री कोइराला निकट स्रोतले भन्यो । यसरी पेट्रोलियम पदार्थ खरिद गर्दा १० बर्षको मूल्य अहिले नै तय गर्न सकिने र अहिले तय भएकै मूल्यमा १० बर्षसम्म पेट्रोलियम पदार्थ दिन सकिने प्रश्ताव चीनको रहेको स्रोतले जानकारी दियो । चीनले गरेको प्रश्ताव अहिले भारतवाट ल्याउदै गरेको मूल्यभन्दा धेरै नै बढी छ । तर उसले १० वर्षसम्म मूल्यवृद्धि नगर्ने प्रस्ताव गरेको छ । अन्तराष्ट्रिय बजारमा अहिलेको भन्दा २० प्रतिशत मूल्य घटेको अवस्थामा मात्र मूल्य घटाउन सकिने चीनको प्रस्ताव छ । ‘उहाँहरुले १० बर्षको मूल्य अहिले नै प्रश्ताव गर्नु भएको छ, अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेमा अहिले तय भएको मूल्यमा दिने र कम भएमा कम भएको अनुपातमा मूल्य घटाउने प्रश्ताव आएको छ,’ स्रोतले भन्यो । नेपालले १० वर्षसम्म चीनवाट पेट्रोलियम पदार्थ ल्याउने प्रश्ताव स्वीकार गरे तातोपानी नाका नजिक पेट्रोलियम पदार्थको डिपो बनाउने प्रक्रिया सुरु गर्ने जानकारी चिनिया पक्षले गराएको छ । अहिले नेपालवाट सवैभन्दा नजिक पर्ने चिनिया शहर ल्हासामा पेट्रोलियम पदार्थको डिपो भएपनि नेपाललाई पेट्रोलियम पदार्थ दिनको लागि सो डिपोको क्षमता विस्तार गर्नु पर्ने र त्योसँगै तातोपानी नाकाको नजिकैको चिनिया ब्यापारिक केन्द्र खासामै अर्काे डिपो बनाउने प्रश्ताव चीन सरकारको छ । तर चीनको प्रस्तावलाई नेपाल सरकारले अहिले प्राथमिकतामा नराखेको बुझिएको छ । भारतसँग सम्वन्ध सुधार र भारतबाट नै पेट्रोलिय पदार्थकोे आयातबाट नेपालको लागि दीर्घकालिन लाभ हुने सरकारी अधिकारीहरु बताउँछन् । अप्ठ्यारो अवस्थामा बढी मूल्य तिरेर चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ, तर १० वर्षको सम्झौदा गर्दा नेपालको अर्थतन्त्रको लागि त्यो धेरै महँगो सावित हुन्छ, स्रोतले भन्यो । चीनले गरेको प्रश्ताव अनुसार पेट्रोलियम पदार्थ खरिद गर्दा निकै महंगो पर्ने र १० बर्षसम्म अन्य मुलुकवाट खरिद गर्न नपाइने भन्ने शर्त स्वीकार गर्न सकिने अवस्था देखिएन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक उच्च अधिकारीले भने । ‘चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रश्ताव तत्कालको सेन्टिमेन्ट अनुसार त ठिकै लाग्न सक्छ, तर मूल्य निकै महंगो पर्ने भएकोले भविष्यमा त्यो विषय राजनीतिक मुद्दा बन्न सक्ने भएकोले सरकारले स्वीकार गर्न सक्ने अवस्था देखिएन,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने । उनका अनुसार पछिल्लो समयमा भारतसँग कुरा मिल्दै गएको र केहि दिन भित्रमै आयात निर्यात सहज हुने भएकोले सरकारले चीनको प्रश्ताव बारे औपचारिक छलफल समेत अगाडी सारिएको छैन ।

धितोपत्र बोर्डको अध्यक्षमा कार्की नियुक्त

काठमाडौं, १५ असोज । डा.रेवतबहादुर कार्की नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । डा स्वर्णीम वाग्ले, अर्थसचिव सुमन शर्मा र बोर्डको पूर्व अध्यक्ष डम्बर ढुंगेल रहेको सिफारिस समितिले डा कार्की, डा दण्डपाणी पौडेल र निरज गिरीको नाम सिफारिस गरेको थियो । डा कार्की पुँजी बजार, वित्त बजार, वृहत अर्थतन्त्रको बारेमा जानकार अर्थविद्को रुपमा परिचित छन् । बोर्डका अध्यक्ष डा. कार्की नेपाल धितोपत्र बोर्डमा सञ्चालक थिए । उनी वाणिज्य बैंकको अध्यक्ष, सेन्टर फर माईक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । कार्कीले ती संस्थाहरुबाट राजीनामा दिने भएका छन् । उनले भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए । २५ वर्ष राष्ट्र बैंकमा काम गरेका कार्की कार्यकारी निर्देशक पदबाट अवकाश भएका थिए । उनले मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक, नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक भई काम गरेका थिए । उनले अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका थिए ।

स्वाप रेसियो तलमाथि गर्न रोकौं, डिडिए यथार्थपरक बनाऊ: राष्ट्र बैंक

काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति उपयुक्त भएको निष्कर्ष निकालिएको छ । राष्ट्र बैंकको अनुसान्धान विभागले गरेको अध्ययनले मर्जर नीति उपलब्धी मुलक भएको भन्दै स्वाप रेसियोमा मोलमोलाई गर्दा लगानीकर्तालाई नोक्सान भएकोले धेरै तलमाथि गर्न नदिने र ड्यु डेलिजेन्स अडिट (डिडिए) लाई यथार्थपरक बनाउन पहल गर्नुपर्ने निष्कर्ष पनि निकालिएको छ । विभागले मर्जर पछि बनेका बैंक तथा वित्तीय संस्थाको अवस्था र प्रभाबकारिता सम्बन्धि अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । सो अध्ययन प्रतिवेदन विहिवार सार्वजनिक गरिएको हो । अध्ययनले अल्पकालमा एकल संस्थाको पूंजीको आधारमा वृद्धि गर्न सफल भएपनि समग्र वित्तीय प्रणालीमा भने अपेक्षित पूंजी आधारमा वृद्धि भई नसकेको निष्कर्ष निकालेको छ । कूल गार्हस्थ उत्पादन, कर्जा एवं निक्षेपसंगको पूंजीको आधार विगतमाभन्दा कमजोर हुंदै गएको परिप्रेक्ष्यमा समग्र वित्तीय प्रणालीलाई सुदृढ वनाउन बैंक तथा वित्तीय संस्थाको चुक्ता पूंजीमा नै पर्याप्त वृद्धि गर्नुपर्ने पनि अध्ययनको ठहर छ । मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरुको मर्जर अघि र मर्जर पछिको तथ्याङ्कको अध्ययनबाट मर्जर भएका बैंक तथा वित्तीय संस्थाहरुको औसत्मा निष्कृय कर्जा अनुपात, कुल सम्पत्तिमा खुद नाफाको अनुपात, कुल इक्विटीमा खुद नाफाको अनुपात, कर्जा निक्षेप अनुपात, कुल खर्चमा कर्मचारी अुनपात र कुल निक्षेपमा खुद तरल सम्पत्ति अुनपातमा मर्जर भएको पहिलो दुई वर्ष मिश्रित नतिजा देखिएको भए तापनि मर्ज भएको तेश्रो वर्ष सुधार भएको देखिएकाले मर्जरबाट संस्थाहरु क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ । नोक्सानमा संचालन भएका संस्था मर्ज भएको अवस्थामा र मर्ज भएको वर्ष कर्मचारी तथा विविध खर्चहरु वृद्धि भएको अवस्थाले कर्मचारी बोनस रकम कम भएको मर्ज भएका संस्थाका कर्मचारीहरुको पद तथा तलब मिलानको केही समस्याहरु बाहेक अन्य सूचकहरु सुधारात्मक देखिएकाले समग्रमा कर्मचारी सम्बन्ध तथा उत्प्रेरणामा मर्जरको सकारात्मक प्रभाव परेको अध्ययनको भनाइ छ । मर्जरपश्चात्को संस्थामा संस्थापक, संचालक र कर्मचारीहरुले नेपाल राष्ट्र बैंकको निर्देशन पालनामा, संस्थाको जोखिम व्यवस्थापनमा र संस्थागत सुशासनमा सुधार आएको अनुभव गरेको अध्ययनमा उल्लेख गरिएको छ । अधिकांश मर्जरमा जाने संस्थाहरुको सम्पत्ति र दायित्व तथा कारोबारको प्रतिवेदन (डिडिए) ले वास्तविक वित्तीय स्थिति देखाउन नसकेको अध्ययनको ठहर छ । यसका लागि डिडिएलाई यथार्थपरक र डिडिए मूल्यांकनकर्तालाई जिम्मेवार बनाउनु पर्ने आवश्यकता औल्याइएको छ । मर्जरपश्चात् केही वित्तीय संस्थाहरुको कारोबारलाई एकीकृत गर्न समय लागेको तथा ग्राहक सेवा छिटो छरितो बनाउने तर्फ कम प्राथमिकता दिइएको कारण केही वित्तीय संस्थाहरुमा मर्जरपश्चात् काम सम्पन्न गर्ने समय बढेको गुनासो सेवाग्राहीहरुले गरेको भए तापनि अधिकांश मर्जर भएका संस्थाहरुको ग्राहक सेवा गुणस्तर सन्तोषजनक देखिएको अध्ययनमा उल्लेख गरिएको छ । मर्जर भए पछि पहिलेका संस्थाबाट भाग वण्डा गरेर संचालक बन्ने प्रवृत्तिले संचालक समिति ठूलो हुने र निर्णय प्रक्रियामा जटिलता थपिएको उल्लेख गरिएको छ । मर्जरपश्चात्को संस्थामा कर्मचारीहरुको सम्बन्ध सुधारको लागि संयुक्त मर्जर समितिमा कर्मचारीको पनि प्रतिनिधित्व गर्नु राम्रो हुने सुझाव पनि दिइएको छ । संस्थागत सुशासन कमजोर भएका तथा वित्तीय रुपमा अवस्था खराब रहेका संस्थाहरु एक आपसमा मर्ज भएको अवस्थामा यसबाट थप समस्या आउन सक्ने अवस्था पति सजग रहनु पर्ने अध्ययनको भनाइ छ । मर्जर नीतिको कार्यान्वयनपश्चात बैंक तथा वित्तीय संस्थाहरु थप सुदृढ एवम् प्रतिस्पर्धी भई वित्तीय स्थायित्व मजवुत हुन सहयोग पुगेको भएपनि मुलुकको आर्थिक गतिविधिको विस्तारको तुलनामा चुक्ता पूंजी वृद्धि हुन नसकेको राष्ट्र बैंकको ठहर छ । साथै, चुक्ता पूंजी÷निक्षेप अनुपात तथा चुक्ता पूंजी÷कर्जा अनुपात जस्ता पूंजी पर्याप्तता अनुपातहरुसमेत् घट्दै गएका अध्ययनमा उल्लेख गरिएको छ । मर्जर पश्चात पनि बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पूंजी वृद्धि गरी पूंजीको आधार बलियो वनाई ठूला पूर्वाधार आयोजनाहरुमा लगानी गर्ने क्षमता अभिवृद्धि गर्नुपर्नेमा नियमनकारी पूंजी र शीघ्र सुधारात्मक कारवाहीबाट सुरक्षित रहनेतर्फ बढी केन्द्रित रहेको अध्ययनले देखाएको छ । ‘उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति विगतदेखि अवलम्बन गरिएको भए पनि नियमनकारी पूंजी वृद्धिको अभावमा बैंक तथा वित्तीय संस्थाहरुको अधिक निक्षेपलाई उत्पादनशील लगानीमा परिणत गर्न सकिएको छैन, परिवर्तित राजनैतिक एवं आर्थिक परिवेशले माग गर्ने वित्तीय सेवा व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुको पूंजीगत आधार बलियो हुनु पर्ने देखिएको छ,’ अध्ययनमा भनिएको छ । पूंजीगत आधार वलियो भएका संस्थाहरुवाट दीर्घकालीन विकासका लागि आवश्यक पर्ने पूर्वाधार क्षेत्रको लगानी सहज भई आन्तरिक आर्थिक क्रियाकलायमा विस्तार हुने अपेक्षा राष्ट्र बैंकको छ । यसै पृष्ठभूमिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको पूंजीको आधार सुदृढ बनाई अर्थतन्त्रलाई गतिशीलता दिन र मर्जर प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नीतिगत पहलहरु हुदै आएको राष्ट्र बैंकको दाबी छ । अध्ययनले नेपाल राष्ट्र बैंक, नेपाल सरकार र सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सुझावहरु पनि दिएको छ । राष्ट्र बैंकलाई दिइएको सुझावमा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर गर्ने नीतिलाई प्रभावकारी बनाउन सम्पत्ति र दायित्व तथा कारोबारको प्रतिवेदन डिडिएलाई यथार्थपरक र मूल्यांकनकर्तालाई जिम्मेवार बनाउनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सहकार्य गरी आवश्यक कार्यवाहीको व्यवस्था सहितको कार्यविधि लागू गर्न उपयुक्त हुने भनिएको छ । डिडिएले देखाएको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा फरक पर्ने गरी मोलमोलाइबाट समेत संस्थाहरु मर्ज हुने गरेको अवस्थाले लगानीकर्ताले वास्तविक मूल्याङ्कन अनुसार लाभ नपाएको समस्याको समाधानका लागि यस्तो अनुपात डिडिएले उल्लेख भएको भन्दा निश्चित अनुपात भन्दा फरक पार्न नमिल्ने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको छ । मर्जरमा जाने संस्थाको डिडिए तयार गर्ने कतिपय अवस्थामा मूल्यांकनकर्ताले सुपरिवेक्षकहरुबाट औल्याइएका कैफियत समेतलाई ध्यान दिने नगरेको जस्ता गुनासोहरुको समाधानका लागि सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनमा यस्ता कैफियतहरुको विश्लेषण अनिवार्य रुपमा समावेश गर्ने व्यवस्था गर्नु उपयुक्त देखिएको अध्ययनको ठहर छ । मर्ज हुने वित्तीय संस्थाहरुको सम्पत्ति र दायित्व मूल्यांकनलाई थप पारदर्शी एवम् तथ्यपरक बनाउन आवश्यक परेको अवस्थामा एक संस्थाले अर्को संस्थाको पूर्ण लेखापरीक्षण गर्न सक्ने व्यवस्था समेत गर्न सकिने अध्ययनको सुझाव छ । तल्लो वर्गको संस्था माथिल्लो वर्गको संस्थामा र क्षेत्रीय स्तरको संस्था राष्ट्रिय स्तरको संस्थामा मर्जर हुँदा तल्लो वर्गको तथा क्षेत्रीय स्तरको संस्थाको संस्थापक शेयरको लकिङ पिरियड फुकुवा वा सहज गरिदिने व्यवस्था गर्न उपयुक्त हुने अध्ययनले देखाएको छ । मर्जर प्रक्रिया शुरु भए पछि निश्चित समयमा मर्जर प्रक्रिया सम्पन्न गरे/नगरेको सम्बन्धमा नेपाल राष्ट्र बैंकले विशेष निगरानी गरिरहनु पर्ने र मर्जरको समयावधि घटाउनका लागि मर्जर प्रकृया शुरु भएबाट छिटो मर्ज हुने संस्थाहरुलाई थप छुटको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि दिइएको छ । मर्ज भएपश्चात् समेत यस्ता संस्थाहरुको विशेष निगरानी गरिरहनु पर्ने आवश्यकता अध्ययनले औल्याएको छ । मर्जर प्रकृयाको कारणले समेत बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारमा केही कमी आएको देखिएकोले शाखा विस्तार एवम् वित्तीय पहुँच विस्तारमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गर्न शाखा विस्तार र वित्तीय पहँुचका कार्यक्रमहरुलाई समेत सक्रियरुपमा अगाडी बढाउनु पर्ने अध्ययनको सुझाव छ । यस्तैनेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा समग्र चुक्ता पुँजी अनुपात घटेको भन्दै अध्ययनले मर्जरका कारण मर्ज भई बन्ने संस्थाहरुको पूँजीको अकार वृद्धि हुने भए पनि समग्र वित्तीय क्षेत्रको पूँजी विस्तारमा यसको कम प्रभाव परेको ठहर गरेको छ । त्यसैले आर्थिक गतिविधिमा भएको विस्तारसँगै समग्र वित्तीय क्षेत्रमा पूँजीको अधार वृद्धि गर्ने नीतिहरु समेत सजग तरिकाले अगाडी बढाउनु पर्ने अध्ययनले औल्याएको छ । मर्ज हुने संस्थाको सफ्टवेयरको विश्वसनीयता, संचालन एवं व्यवस्थापन जोखिमका विषयहरुमा समेत प्रश्न उठ्ने गरेको हुँदा मर्जर सम्बन्धी निर्देशिकामा यस्ता जोखिम न्यूनिकरणका विषयहरु समेट्नु पर्ने अध्ययनमा उल्लेख गरिएको छ । नेपाल सरकारलाई दिइएको सुझावमा मर्जरपश्चात् बन्ने नयाँ संस्था सम्वन्धित निकायमा दर्ता गर्नका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्न र उक्त संस्थाको सेयर धितोपत्रमा सूचीकरण गर्ने कार्यमा प्रक्रियागत सुधारको लागि नेपाल सरकारले सहज बनाउने कार्य गर्नु पर्ने सुझाव दिइएको छ । मर्ज हुने संस्थाहरुलाई दिइने कर छुट लगायतका सुविधाहरुमा समेत समय समयमा पुनरावलोकन गर्नु आवश्यक रहेको अध्ययनको ठहर छ । साना ठूला संस्थाबीच मर्जर हुन लागेमा सानो संस्थाको मात्र शेयर कारोबार रोक्का गरी ठूलो संस्थाको शेयर कारोबार फुकुवा गर्ने व्यवस्था हुनु पर्ने अध्ययनको निष्कर्ष छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई दिइएको सुझावमा मर्जरमा जाने सबै संस्थाहरुले अनिवार्य रुपमा एचआर अडिट गर्नुपर्ने व्यवस्था गरिएमा मर्जरपश्चात् जनशक्ति व्यवस्थापन सहज हुने अध्ययनको ठहर छ । मर्जमा जाने बैंक वित्तीय संस्थाका कर्मचारीहरुको वृत्ति विकास तथा तहगत निर्धारण र तलव भत्ताका सन्दर्भमा स्पष्ट संरचना प्रस्तुत गर्न सकेमा कर्मचारीहरुलाई अफ्नो भविष्य निर्धारण गर्न सहज हुन जाने अध्ययनको सुझाव छ । सबै मर्ज हुने संस्थाहरुले मर्जमा गएपश्चात् फरक फरक कर्पोरेट कल्चरमा काम गर्ने कर्मचारीहरुलाई तालिम तथा घुलमिल हुने वतावरणको निर्माण गर्नु आवश्यक रहेको अध्ययनको भनाइ छ । मर्जरको अवस्थाका बारेमा कर्जा सेवा लिएका तथा निक्षेपकर्ताहरुलाई समेत बैंक तथा वित्तीय संस्थाहरुले सुसूचित गर्ने र संस्था प्रति विश्वास दिलाउने कार्यक्रमहरु संचालन गर्नु समेत आवश्यक रहेको, मर्जर नीतिको प्रभावकारी कार्यान्वयनको निम्ति बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूंजीलाई मुलुकको आर्थिक गतिविधिसंग तादात्म्य हुने गरी विस्तार गर्नुपर्ने जस्ता सुझाब अध्ययनको छ । मर्जर पश्चात पनि बैंक तथा वित्तीय संस्थाहरुको न्यून पूंजीको आधारका कारण पूंजी पर्याप्तता अनुपातहरु घट्ने क्रममा रहेकोले नियमनकारी पूंजी वृद्धिमार्फत उक्त संस्थाहरुको अर्थतन्त्रमा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने ठाउँ प्रसस्त गर्नु पर्ने हुन्छ भन्दै अध्ययनको सुझावमा चुक्ता पूंजी वृद्धिबाट बैंक तथा वित्तीय संस्थामा विप्रेषण आप्रवाहको उच्च वृद्धिबाट सिर्जित अधिक निक्षेपलाई उत्पादनशील लगानीतर्फ प्रवाह गर्न सक्ने क्षमता विस्तार हुने भनिएको छ । चुक्ता पूँजी वृद्धि गर्ने हालैको नीतिगत व्यवस्थाबाट भविष्यमा अर्थतन्त्रका ठूला पूर्वाधार आयोजनामा सहवित्तीयकरण विना नै एकल संस्थाबाट पनि पर्याप्त वित्तीय साधन परिचालन हुन सक्ने अध्ययनको ठहर छ । अध्ययनले राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि जारी गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको पूंजीगत आधार सुदृढ गरी दीर्घकालीन विकासका लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्न आगामी दुई वर्षभित्र चुक्ता पूंजी चार गुणाले वृद्धि गर्नुपर्ने नीतिगत व्यवस्थाले मर्जर नीतिको प्रभावकारी कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रेरित गर्ने र यस बैंकले अवलम्बन गरेको वित्तीय सवलीकरण रणनीतिलाई निष्कर्षमा पु¥याउन सहयोग पुग्ने निष्कर्ष अध्ययनले निकालेको छ ।

गरिब देश २५ बाट बढेर ४८ पुग्यो, भूपरिवेष्टित पहाडी देश बढी समस्यामा

न्युयोर्क (अमेरिका), १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७०औँ महासभालाई आज यहाँ सम्बोधन उनले भूपरिवेष्टित विकासोन्मुख मुलुकका ४५ करोड जनताको जीवन परिवर्तन गर्ने भिएना कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए । विसं २०२८ मा वर्गीकरण भएका २५ वटा अल्पविकसित मुलुकको संख्या आज ४८ पुगेको उल्लेख गर्दै उनले भूपरिवेष्टिक र पहाडी भूभाग भएका देशहरुले धेरै समस्मा भोग्नु परेको उनले बताए । ३४ वर्षमा चारवटाले मात्र विकासशील राष्ट्रमा स्तरोन्नति गरेका बताउँदै उनले विकास र समृद्धिका लागि ती नेपाल लगायत ३८ राष्ट्र निरन्तर संघर्षरत रहेको बताए । “भूपरिवेष्टित विकासोन्मुख मुलुकको बिना व्यवधान समुद्रसम्मको पहुँच विश्व समुदायले सुनिश्चित गर्नुपर्ने र ती मुलुकको पारवहन अधिकार कुण्ठित गर्नुहुँदैन, भूपरिवेष्टित राष्ट्रका पारवहन अधिकार सम्बन्धित मुलुकले निःशर्त पालना गर्नुपर्छ” – भिएना कार्ययोजनाको स्मरण गराउँदै उनले भने । भारतले गरेको अघोषित नाकाबन्दीको पिडा भोगिरहेको नेपालले संयुक्त राष्ट्र संघमा अन्तराष्ट्रिय कानुन, सन्धी, सम्झौताको पालना गर्न विश्व समूदायको ध्यान आकृष्ट गरेको हो । सार्वभौमिकताका सिद्धान्तको परिपालना, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, अहस्तक्षेप, शान्ति, न्याय, समानता, स्वतन्त्रता र मानव प्रतिष्ठाको जगेर्ना पनि उत्तिकै अपरिहार्य भएकामा उपप्रधानमन्त्रीले जोड दिए । आर्थिक असमानताले अहिले पनि विश्वलाई घोरिएर हेरिरहेको भन्दै उहाँले दिगो समावेशी एवम् समतामूलक विकासका लागि विश्व समुदाय एक भई काम गर्नुपर्ने बताए । महासभाको ‘राष्ट्रसङ्घका ७० वर्ष : शान्ति, सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग’ विषयले शान्ति, सुरक्षा र मानव अधिकारप्रतिको साझा चाहनालाई प्रतिबिम्बित गरेको बताउँदै उनले तिनै विषयलाई राष्ट्रिय प्राथमिकता, क्षेत्रीय प्रयास र अन्तर्रािष्ट्रय तहमा हामी सबैको ध्यान केन्द्रित भइरहेको उल्लेख गरेका छन् । करिब आठ वर्षको अथक समावेशी, पारदर्शी एवम् सहभागितामूलक लोकतान्त्रिक अभ्यासबाट नेपालले यही असोज ३ गते समावेशी एवम् लोकतान्त्रिक संविधान जारी गरेको र शान्ति प्रक्रिया निष्कर्षमा पुगेको बताए । राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा छ दशकदेखि नेपालले योगदान गर्दै आएको र हालसम्म एक लाख २० हजार शान्ति सैन्यले विश्वका ४० वटा ‘मिसन’मा विशिष्ट व्यावसायिकताका साथ सेवा गरिरहेका जानकारी दिँदै उपप्रधानमन्त्री सिंहले त्यस क्रममा ७० जनाले सहादत प्राप्त गरेका बताए । अल्पविकसित मुलुकका विकासका चुनौती सम्बोधन गर्न सहयोग र सहकार्यको अभिवृद्धि अत्यावश्यक भएको बताए । शान्ति, सुरक्षा, मानव अधिकारजस्ता विषय शरणार्थी समस्यासँग सम्बन्धित भएकाले तिनलाई गम्भीर रुपमा सम्बोधन गर्नुपर्ने भन्दै उहाँले मानव गतिशीलता आप्रवासी समस्यालाई पनि उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्न जरुरी भएको बताए । रासस