विकासन्युज

शनिबारसम्म वर्षा र हिमपात : ‘मोन्था’ चक्रवातले ल्यायो मौसम परिवर्तन

काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।  आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।   

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियानअन्तर्गत चौथो भिडियो सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ । नयाँ भिडियोमा एक जिम्मेवार चिकित्सकको कथा देखाइएको छ, जसले पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक रूपमा आएको बिरामीलाई शल्यक्रिया गरेर आफ्नो पेशागत जिम्मेवारी पूरा गर्छ । उक्त दृश्यमार्फत कम्पनीले 'जिम्मेवारीको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश दिएको छ । यसअघि, अभियानको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीले आफ्नो कर्तव्यप्रतिको निष्ठा झल्काएको थियो । सो भिडियोले 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देशसहित सामाजिक चेतना अभिवृद्धिमा जोड दिएको थियो। त्यसैगरी दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । उक्त भिडियोले विश्वासपात्रहरूबाट हुनसक्ने छलकपट र धोका विरुद्ध सतर्कता र विवेकको महत्वमा जोड दिएको थियो । तेस्रो भिडियोमा दुई साथीबीचको प्रसङ्गमार्फत 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । यसमा समय व्यवस्थापन र अनुशासनको महत्वलाई जीवनका साना क्षणहरूसँग जोडेर देखाइएको थियो । ती सबै भिडियोहरू दर्शकबीच अत्यधिक चर्चित बनेका थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ' भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

खराब मौसमले धमाधम डाइभर्ट हुँदै जहाज, उडान प्रभावित

काठमाडौं । बिहीबार खराब मौसमको कारण हवाई उडान प्रभावित भएको छ । बिहीबार बिहानैदेखिको अविरल वर्षासँगै खराब मौसम र कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको हो ।  दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् । आन्तरिकतर्फ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ ।  नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ । सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको बुझिएको छ भने दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ । 

६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको फेन्टानिलमा लगाइएका कर आधा घटाएर १० प्रतिशत पुर्‍याएका छन् र चीनसँग दुर्लभ खनिज (रेयर अर्थ्स) सम्बन्धी सम्झौता भएको घोषणा गरेका छन् । दक्षिण कोरियामा बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता सम्पन्न भएपछि ट्रम्पले चीनसँग दुर्लभ खनिज र महत्त्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स) सम्बन्धी एक वर्षे सम्झौता भएको र फेन्टानिलमाथिको कर घटाएको बताएका हुन् । दक्षिण कोरिया छोड्ने क्रममा एयर फोर्स वन विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीसँगको भेटलाई ‘अद्भूत’ बताउँदै ‘धेरै महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्’ भनी उल्लेख गरे। ‘दुर्लभ खनिजको विषय समाधान भइसकेको छ,’ उनले भने, ‘यो एक वर्षे सम्झौता हो, जसलाई हरेक वर्ष पुनः वार्ता गरेर अद्यावधिक गरिनेछ ।’  उनका अनुसार चीनबाट आउने निर्यात वस्तुमा लगाइएका कर पनि ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत पुर्‍याइनेछ । बदला स्वरूप चीनले ‘फेन्टानिल रोक्न निकै कडा प्रयास गर्ने’ र अमेरिकी सोयाबिन र अन्य कृषिजन्य वस्तुहरू पुनः किन्ने सहमति जनाएको छ । ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन्, जसपछि राष्ट्रपति सी पनि अमेरिकाको भ्रमण गर्ने योजना छ, यद्यपि समय भने तोकिएको छैन । छ वर्षपछि पहिलोपटक यी दुई नेताहरूको भेट भएको हो, जुन एक घण्टा ४० मिनेटसम्म चलेको थियो । भेटअघि दुबै नेताले मिलनसार शैली अपनाएका थिए — ट्रम्पले सीलाई ‘पुरानो साथी’ भन्दै’ सधैं राम्रो सम्बन्ध रहेको’ बताएका थिए भने सीले चीनको आर्थिक विकासले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ दृष्टिकोणलाई कमजोर पार्ने होइन, सुदृढ पार्ने बताएका थिए । यस वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । यस महिनामा पनि तनाव बढ्दै गएको छ — चीनले निर्यात नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले चीनतर्फ सफ्टवेयर–सञ्चालित वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । हालै अमेरिकाले चीनसँग गर्न चाहेका सम्झौताका विवरणहरू सार्वजनिक गरेको थियो — जसमा अमेरिकामा फेन्टानिलको प्रवाह नियन्त्रण, टिकटकलाई चीनको मूल कम्पनी बाइटडान्सबाट अलग गर्नुका साथै कर, प्रविधि प्रतिबन्ध र दुर्लभ खनिजसम्बन्धी विषयहरू पनि समावेश थिए । यद्यपि चीनले सम्भावित सम्झौता विषयमा सावधानीपूर्ण व्यवहार गरेको थियो, तर सम्बन्ध सुधारको संकेतस्वरूप चीनले केही महिनापछि पहिलोपटक अमेरिकाबाट सोयाबिन खरिद गरेको रोयटर्सले बुधबार जनाएको छ ।

एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले राजीनामा दिएका छन् । सीईओ पाण्डेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिए ।  उनका अनुसार लघुवित्त सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।  यस्तै, सञ्चालक समितिको बैठकले एनएमबि क्यापिटललाई सेयर कारोबार अभिलेख तथा रजिष्ट्रारमा नियुक्त गरेको छ । क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी २०८४ असोजसम्म २ वर्षका लागि नियुक्त गरिएको कम्पनी सचिव थापाले बताए । 

हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए ।  उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् ।  सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा सञ्चार माध्यममा आएका समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ । बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले हाल केही सञ्चार माध्यमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार प्रसारित गरेको उल्लेख गर्दै त्यस्ता विवरणमा कुनै सत्यता नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, 'कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुन सक्दैन ।' प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार बनेको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको छ । गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको उल्लेख गरिएको छ । यस संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई सचिवालयले आग्रह गरेको छ ।

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अन्तर्गतको लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते गर्ने भएको छ । कार्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन् । विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सीसी मोटरसाइकल राखिएको छ, जससँगै टीभीएस एनटर्क १२५ सीसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा १,००० रूपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ । सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन् । यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन् ।