विकासन्युज

संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास

काठमाडौं । अमेरिकाको बढ्दो ऋण अब ठूलो चिन्ताको विषय बन्दै गएको छ । चीनले अमेरिकी ऋणबाट दूरी बनाउन थालेको छ र यो विषय विश्व अर्थतन्त्रका लागि डरलाग्दो संकेत मानिएको छ । यसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सक्छ । यसको असरले अमेरिकी डलरको स्थिति कमजोर पार्ने अनुमान गरिएको छ ।  यस्तै अवस्थामा एक महत्त्वपूर्ण प्रश्न उठेको छ — जब विश्वको सबैभन्दा ठूलो ऋणी देश आफ्नो ऋण फिर्ता गर्न असफल हुन थाल्छ, तब के हुन्छ ? विश्लेषकका अनुसार यो प्रश्नले चाँडै नै विश्व अर्थतन्त्रको रूपरेखा नै बदल्न सक्छ । किनभने ठूला देशहरूले अमेरिकाबाट आफ्नो पूँजी फिर्ता लिन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चेतावनी दिएको छ कि अमेरिकी ऋणको जालो अब नियन्त्रणबाहिर गइसकेको छ । अमेरिकामाथि युरोप, अफ्रिका र दक्षिण अमेरिकाको संयुक्त जीडीपीभन्दा बढी ऋण छ । प्रत्येक अमेरिकी नागरिकमाथि १ लाख डलरभन्दा बढी ऋण परेको छ । यो चेतावनी आईएमएफले अमेरिकाको संघीय ऋण ३६ ट्रिलियन डलर पुगेको पछिल्लो तथ्यांक सार्वजनिक गरेपछि आएको हो । यो ऋण मुख्यतः २००८ को आर्थिक संकटपछिका बेलआउट प्याकेज, अभूतपूर्व रक्षा खर्च र कोभिड महामारीका बेला दिइएका प्रोत्साहन योजनाका कारण बढ्दै गएको हो ।  अहिले अमेरिकाका सबैभन्दा ठूला ऋणदाता देशहरूले आफ्नो पैसा फिर्ता लिन थालेका छन् । चीन, जापान, बेलायत र क्यानडा जस्ता देशहरूले शान्तिपूर्वक अमेरिकी ट्रेजरी बन्डहरू (सरकारी प्रतिभूति) बेच्न थालेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता चीनले यो प्रक्रिया सुरु गरिसकेको छ। जापान पनि सोही बाटोमा छ । निवेशकहरूलाई आकर्षित गर्न अमेरिकाले ब्याजदर बढाउँदैछ, तर यसले संकटलाई झन् गहिरो बनाइरहेको छ । अहिले अमेरिकाको वार्षिक ब्याज भुक्तानी १ ट्रिलियन डलरभन्दा माथि पुगेको छ, जुन अमेरिकी रक्षा विभाग (पेन्टागन) को बजेटभन्दा पनि बढी हो । विश्व पूँजी प्रवाहमा पनि परिवर्तन देखिन थालेको छ — विभिन्न मुलुकका केन्द्रीय बैंकहरू अहिले सुनतर्फ आकर्षित भइरहेका छन् र उदीयमान बजारहरूमा चिनियाँ युआनले व्यापारिक मुद्राको रूपमा स्थान पाउँदैछ । विश्लेषकहरूले धनी वर्गमाथि कर बढाउने सुझाव दिएका छन् । उनीहरूको भनाइमा रक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा खर्च कटौती गर्ने प्रयासले देशभित्र आर्थिक तथा सामाजिक अस्थिरता निम्त्याउन सक्छ । उनीहरूका अनुसार सम्भावित विकल्पका रूपमा आयातमा शुल्क (ट्यारिफ) बढाउने र आप्रवासन (इमिग्रेशन) घटाउने नीति मात्र बाँकी देखिन्छ । तर यस्ता कदमले अमेरिकालाई अन्तर्राष्ट्रिय स्तरमा झन् एक्ल्याउने जोखिम समेत रहन्छ । विश्लेषकहरूले यदि वर्तमान आर्थिक अवस्थाको समाधान चाँडै खोजिएन भने अमेरिकी डलरको अवमूल्यन सुरु हुन सक्ने र यसको असर विश्व अर्थतन्त्रमै पर्न सक्ने चेतावनी दिएका छन् । टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै  

तिहारअघि आधा दर्जन कम्पनीको लाभांश, २१ कम्पनीमध्ये कुनको कति ?

काठमाडौं । तिहारअघि आधा दर्जन कम्पनीले सेयरधनीको खातामा लाभांश पठाउने तयारी गरेका छन् । सेयर बजारमा सूचीकृत ७ कम्पनीले तिहारअघि नै लाभांश वितरण गरेर सेयरधनीकाे खातामा पठाउने तयारी गरेका हुन् । लगानीकर्ताले चाडपर्वमा लाभांश रकमबाट खर्च गर्ने सोच बनाएका हुन्छन् । दशैं-तिहार अगावै लाभांश प्राप्त पाउँदा लगानीकर्ताहरु मख्ख हुने गर्छन् ।  लगानीकर्ताको इच्छा पनि चाडपर्व अघि नै राम्रो प्रतिफल पाएर धुमधामका साथ चाडपर्व मनाउने हुन्छ । पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरूसँग रमाइलो गर्ने अभ्यास पनि छ । सकेसम्म आफूले लगानी गरेको कम्पनीले दशैं अगाडि नै लाभांश देओस् भन्ने अपेक्षा गरेका हुन्छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये २१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तर, ७ कम्पनीले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने देखिएका छन् ।  यसपटक सूचीकृत कम्पनीहरूमा माछापुच्छ्रे बैंकले मात्रै दशैं अगाडि लाभांश वितरण गर्न सफल भयो । लाभांश घोषणा गरेका कम्पनीहरुमा सानिमा बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र नेपाल ल्युब आयलले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएका छन् ।  दशैंमा नसकेपनि सकेसम्म तिहार अगाडि नै लाभांश वितरण गर्न सूचीकृत कम्पनीहरुले प्रयास गरिरहेका हुन्छन् । तर, लाभांश घोषणा गरेर पनि एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल, युनिलिभर नेपाल, मुक्तिनाथ कृषि कम्पनीले भने तिहार पछि मात्रै वार्षिक साधारण सभा बोलाएका छन् । ‘यसपालिको चाडपर्वमा लगानीकर्ताको हात रित्तो भयो, विगतमा केही कम्पनीले दशैं-तिहारमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि वितरण गर्न छाडे, यसपालि दशैं तिहारमा लगानीकर्ताको हात रित्तो भयो,’ एक लगानीकर्ताले भने ।  माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ ।  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ  सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।    सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।    कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको हो । असोज २४ गते काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभाले डाकेको छ । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । यूनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँको ९ प्रतिशतका दरले २० करोड ५१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १ करोड ७ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण बोलाएको थियो । तर, गणपूरक संख्या नपुगेपछि कम्पनीको साधारण सभा स्थगित भएको छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७४ करोड ८४ लाख रुपैयाँको १५ प्रतिशतका दरले ११ करोड २२ लाख ६० हजार रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतका दरले ५९ लाख ८ हजार रुपैयाँ नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजी ८५ करोड रुपैयाँको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँको प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको छ ।  नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशतका दरले ७ लाख ६६ हजार रुपैयाँ नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरमा ३४औँ वार्षिक साधारण सभा बोलाएको छ ।  आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।    गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । 

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा जफत गरी राखिएको सुनसहितको ‘इलेक्ट्रोनिक सिगरेट’ हराएको घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । भन्सार ऐन, २०६४ अन्तर्गतको आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको ठहरसहित ललितपुर महानगरपालिका–२६, खुमलटार बस्ने ६८ वर्षीय महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । २०७९ साल पुस १० गते फ्लाई दुबैको एफजेड ०५८७ फ्लाइटमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हान्सङले २ वटा सुटकेशमा ७३ बट्टा अर्थात् ७३० थान भेप्स अवैध रूपमा ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । जफत गरिएका ती ‘भेप्स’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो । तर, नायव सुब्बा रेवन्त खड्का लगायतको संलग्नतामा उक्त स्टोरबाट ७३० थान सुनसहितका भेप्स चोरी गरी बेचबिखन गरिएको अनुसन्धानमा खुलासा भएको सीआईबीले जनाएको छ । जफत सामग्रीको कुल मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ रहेको छ । सीआईबीका अनुसार महरा पक्राउ परेसँगै घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान भइरहेको छ ।  सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले यस प्रकरणमा आपराधिक समूहले संगठित रूपमा लाभ लिएको प्रमाण फेला परेको जानकारी दिए ।

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे । सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासङ्घका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले फरक प्रसङ्ग उल्लेख गर्दै सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे । 'सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उहाँहरुको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सृजना गर्नुहुँदैन', उनले भने । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासङ्घले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन् । उनले भनिन्, 'पत्रकार महासङ्घ सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छ । निर्वाचन गराउनमा पत्रकारले गर्नुपर्ने सहयोग र भूमिका सकारात्मक हुने विश्वास दिलाउन चाहन्छु ।' रासस

फरार कैदीबन्दीको तीनपुस्ते विवरण निकालिँदै

काठमाडौं । कारागार व्यवस्थापन विभागले फरार कैदीहरुको तीनपुस्ते विवरण निकाल्ने तयारी गरेको छ ।  स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका १३, हजार ५५८ कैदीमध्ये ७ हजार ७३५ कैदी कारागार फर्किएका छन् भने बाँकी ५ हजार ८२३ कैदीबन्दी अझै फरार छन् ।  ती फरार कैदीबन्दीको ठेगानासहित तीनपुस्ते निकाल्ने तयारी गरिएको हो ।

फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं । फोटोनले पिकअप मोडेल फोटोन टुनल्याण्ड का ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । लिमिटेड टाइम अफर अन्तर्गत, ग्राहकहरूले ३ वर्षसम्म वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस सुविधा प्राप्त गर्नेछन् । यो अफरले टुनल्याण्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सहज बनाउनेछ । कम्पनीका अनुसार अफरले गाडीको दीर्घायु, कार्यक्षमता र भरपर्दोपनमा थप सुधार ल्याउने लक्ष्य राखिएको छ । निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्टहरूको नियमित मर्मत समावेश गरिएको छ । यी पार्ट्सहरूले गाडीको प्रदर्शनलाई उच्च स्तरमा कायम राख्न मद्दत गर्ने फोटोनको दाबी छ । तर, यो सुविधा उल्लेखित पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीले स्पष्ट पारेको छ । फोटोन टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र बहुउपयोगी पिकअप का रूपमा स्थापित छ । लगातार मागमा रहेको यो मोडेल नेपालका सबैभन्दा बढी बिक्री हुने पिकअपमध्ये एक बनेको छ । कम्पनीका अनुसार, ‘जिरो कस्ट अफर’ मार्फत फोटोनले ग्राहक सन्तुष्टि र भ्यालु–फर–मनी सेवाप्रतिको प्रतिबद्धता झनै मजबुत बनाएको छ । यो अफर २०२५ अक्टोबर ३१ सम्म मात्र मान्य रहनेछ । फोटोनले ग्राहकहरूलाई नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा पुगेर अफर सकिनु अघि नै यसको फाइदा लिन आग्रह गरेको छ । कम्पनीले यस अफरमार्फत नेपालजस्तो प्रतिस्पर्धी अटोमोबाइल बजारमा नवीनता, भरपर्दोपन र ग्राहक सेवाप्रतिको समर्पण पुनः प्रमाणित गरेको जनाएको छ ।

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो

काठमाडौं । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोग) को जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छवटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।  उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एकैपटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए ।  यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए । ‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुनसक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो।  ‘ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए,’ उनले भने, ‘तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौं ।’ उनका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ ।  उनले एकैव्यक्तिको मस्तिष्कमा छवटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताए । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमैमात्रामा हुने गर्दछ ।  उनले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताए । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ ।  न्युरो सर्जरी विभाग प्रमुख  डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उनले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । ‘अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको छु,’ उनले भने, ‘तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्व गर्यौं ।’ अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । उनले अहिले बिरामीको अवस्था ठीक भइसकेको जनाए ।