विकासन्युज

विनोद चौधरी पनि पुगे विशेष महाधिवेशन स्थल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका नेता तथा व्यवसायी विनोद चौधरी पनि विशेष महाधिवेशनमा पुगेका छन् ।  पार्टीमा लामो समयदेखि सभापति शेरबहादुर देउवाका निकट रहेका चौधरी आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पुगेका हुन् । चौधरी पूर्वी नवलपरासीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

इतिहासको ब्याज खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज खाएर कांग्रेसको भविष्य नचल्ने बताएका छन् ।  श्रेष्ठले कांग्रेसले इतिहासमा अत्यन्तै ठूला काम गरेको र ठूला आन्दोलनको नेतृत्व गरेको दाबीसमेत गरे । इतिहासमा गरेका क्रान्तिका ती कार्यको ब्याज खाएर बाँच्ने दिनको अन्त्य भएको श्रेष्ठको दावी छ । पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्वोधन गर्दै उनले आजको दिनले कांग्रेसलाई सच्याउने आशा गरेका छन् ।

पेट्रोल पम्पमा अर्बको कारोबार, निजी र सुरक्षा निकायको दबदबा

काठमाडौं । नेपालको इन्धन बजारमा निजी तथा सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पहरूको दबदबा देखिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कअनुसार मुलुकका विभिन्न पेट्रोल पम्पहरूले अर्बौं रुपैयाँको कारोबार गरेका छन् । नेपाल आयल निगमको बिक्री तथ्याङ्कअनुसार धादिङको एक पेट्रोल पम्पले देशभरका पम्पहरूलाई उछिन्दै पहिलो स्थान सुरक्षित गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । निगमको तथ्याङ्कअनुसार बिक्री रकमका आधारमा धादिङको भैरवी इन्टरप्राइजेज सबैभन्दा अगाडि छ । यसले गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । दोस्रो स्थानमा चितवनको नारायणगढस्थित कैलाश आयल डिष्ट्रिब्युटर्स प्रालि रहेको छ, जसले १ अर्ब ४५ करोड रुपैयाँको कारोबार गरेको छ । यस्तै, सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरू पनि उच्च कारोबार गर्ने सूचीमा परेका छन् ।  काठमाडौंको समाखुसीस्थित प्रहरी वेलफेयर फन्ड १ अर्ब ४१ करोडको कारोबारसहित तेस्रो र भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन १ अर्ब २९ करोडको कारोबारसहित चौंथो स्थानमा रहेका छन् । सहकारी क्षेत्रबाट साझा सेवा पुल्चोकले १ अर्ब २५ करोडको व्यापार गर्दै आफ्नो सशक्त उपस्थिति जनाएको छ । नेपालको पेट्रोलियम व्यवसायमा निजी क्षेत्रसँगै नेपाल प्रहरी, नेपाली सेना र साझा सेवा जस्ता संस्थाहरूको भूमिका प्रभावकारी देखिएको छ । अर्विन्द एम्पोरियम, भक्तपुर फ्युल सेन्टर र साझा पेट्रोल पम्पहरूले पनि ९३ करोडदेखि ९९ करोड रुपैयाँसम्मको कारोबार गर्दै अर्बको क्लबमा पुग्ने जमर्को गरेका छन् ।  निगमका अनुसार पम्पहरूले पेट्रोल बिक्रीमा ६ प्रतिशत र डिजेल बिक्रीमा ४.९ प्रतिशत कमिशन प्राप्त गर्छन् । यसै कमिशनबाट ढुवानी, बीमा, वर्किङ लस र अन्य खर्च कटाएर पम्पहरूले खुद नाफा निकाल्ने गर्छन् । गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा पनि धादिङको भैरबी इन्टरप्राइजेज नै अगाडि छ । जसले ९ करोड २६ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । निगमले भने गत आर्थिक वर्षमा १३ अर्ब ६४  करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कुन पम्पको नाफा कति ? जोखिम बढेपछि पेट्रोल पम्पमा निगमको कडाइ, ३७ मध्ये २ वटामात्रै छनोट  

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा

सिरहा । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।      सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आइतबार करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भगवानपुर गाउँपालिका–३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।      चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको छ ।      नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।      यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जानकारी दिए ।   

कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले भैरहवा र मणिग्राम शाखामार्फत समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरेको हो । यस अन्तर्गत भैरहवा शाखाद्वारा लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड प्रदान गरियो भने मणिग्राम शाखाबाट शान्ति नमुना माध्यमिक विद्यालयका बालबालिकालाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ । उक्त सामग्री बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरेका थिए । कार्यक्रमका अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन अनाथ बालबालिका र आर्थिक रूपमा कमजोर बालबालिकाहरूका लागि बैंकले योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकको यस मानवीय पहलप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारी, सम्बन्धित संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय गर्दै यस्ता सामाजिक कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  

नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ ।  पार्टीका महामन्त्रीहरूले दीप प्रज्ज्वलन र रुखमा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । नवयुवा आन्दोलनपछि पार्टीको एउटा समूहले केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गरेका थिए । संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्। तस्बिरहरू :

तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । 'गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ', उनले भने, 'जनसङ्ख्याको घट्दो दरलाई रोक्न, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिन तथा दीघकालीन जनसङ्ख्या सन्तुलनमा राख्न र पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यसहित अगाडि बढेका हौँ ।' गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि २०८२ स्वीकृत गरेर कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता गर्ने तयारीमा जुटेको उनले बताए । गाउँपालिकाले स्वीकृत गरेको कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्दै आएका परिवारबाट चालु आर्थिक वर्षको साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । पछिल्लो समय एक वा दुई सन्तानमात्रै जन्माउने र अर्कोतर्फ गाउँबाट सहरतर्फ बसाइँ सर्ने गरेका कारण पनि गाउँ रित्तिँदै जान थालेका छन् । 'गाउँपालिकाले कार्यविधिअनुसार तीन सन्तान जन्माउने परिवारलाई प्रतिमहिना रु चार हजारका दरले आर्थिक सहायता गर्छ', उनले भने, 'प्रतिपरिवार दुई वर्षसम्म पोषण तथा सन्तानप्रतिको सकारात्मक प्रेरणास्वरुप आर्थिक सहायता गर्ने भएको हो ।' तीन सन्तान जन्माउने परिवारले कार्यविधिमा तोकिएबमोजिमको ढाँचामा निवेदन, नागरिकताको प्रतिलिपि, तीनवटै सन्तानको जन्मदर्ताको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि, बसाइँ सरी आएकाको हकमा बसाइँसराइको प्रतिलिपि आवश्यक पर्नेछ । जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने उल्लेख छ । त्यसले गर्दा सूचिकृत स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्यामा पनि वृद्धि हुने उनले बताए । रासस

विशेष महाधिवेशनस्थल पुगे गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनस्थलमा आइ पुगेका छन् ।  अर्का महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमस्थलमा नआईपुगेकोले कार्यक्रम औपचारीक रूपमा सुरु हुन सकेको छैन । कार्यक्रमस्थलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, राजन केसी, महेश आचार्यसहितका नेताहरू आइपुगेका छन् ।