विकासन्युज

काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौंका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ । सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै  चोभार, बल्खु, बालाजु, माछापोखरी र वनस्थली लगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो । यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिए ।  विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो  यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए । 

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो

काठमाडौं । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौं ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् । एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए । विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए । यस कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् । त्यस्तै, अवतरणका क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्ट सहितका अन्य शहरहरूमा मोडिनु परेको थियो । प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने कुनै निश्चित जानकारी दिइएको छैन । बिहीबार साँझ करिब १९३० जिएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिहरूले ड्रोन देखेको बताएका थिए । यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए । जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोजी कार्य प्रारम्भ गरेका छन् । यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएको भए तापनि ड्रोनको किसिम र सङ्ख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन । यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्त अघि भएको हो । विश्वभरबाट सयौँ हजार मानिसलाई दैनिक रूपमा आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो घटना हुनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ । युरोपका अन्य मुलुकहरूमा समेत हालै यस्ता घटनाहरू दोहोरिएका छन् । विशेषगरी कोपेनहेगन, ओस्लो र वार्साका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो । यसै कारण अहिले जर्मनी पनि उच्च सतर्क अवस्थामा रहेको छ । पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रूसलाई दोषारोपण गरेका छन् । यसैबीच, युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका प्रतिनिधिहरू बिहीबार कोपेनहेगनमा भेला भई सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका थिए । गत साताभरि जर्मनीका विभिन्न भागमा सैन्य तथा औद्योगिक स्थलगत क्षेत्रमा समेत ड्रोनको झुण्ड देखिएको रिपोर्ट सार्वजनिक भएपछि अधिकारीहरूले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिएका छन् । यसै सन्दर्भमा जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, ‘हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ । यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ । आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ ।’

युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिए अमेरिकालाई गम्भीर क्षति पुर्‍याउने पुटिनको कडा चेतावनी

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को-वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे । कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस-अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर, उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे । ‘यस्ता मिसाइलहरूले केही क्षति पुर्‍याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन,’ पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे ।  हामी नाटो ब्लकसँग लडिरहेका छौँ साढे ३ वर्षभन्दा लामो युद्धपछि पनि सानो छिमेकी युक्रेनलाई पराजित गर्न नसकेको भन्दै रूसलाई कतिपय पश्चिमी विश्लेषकहरूले ‘कागजी बाघ’ भनेर व्यङ्ग्य गरेको प्रसङ्गमा पुटिनले प्रतिवाद गर्दै भने, ‘हामी केवल युक्रेनसँग मात्र होइन, सम्पूर्ण नाटो गठबन्धनसँग लडिरहेका छौँ । आत्मविश्वासका साथ हामी अघि बढिरहेका छौँ । यदि कोही भन्छन् रूस ‘कागजी बाघ’ हो भने, त्यसो भए गएर आफैंले त्यस ‘कागजी बाघ’ सँग व्यवहार गरेर देखाउनुस् ।’ यसैबिच, नाम नखुलाउने सर्तमा बोल्ने एक ह्वाइट हाउस अधिकारीले पुटिनले आफ्नै हितका लागि अनुकूल शान्ति सम्झौता प्रस्तावलाई बारम्बार अस्वीकार गरेका कारण रूस आर्थिक र कूटनीतिक रूपमा क्षतिग्रस्त भएको टिप्पणी गरे ।  ट्रम्पसँगको शिखर बैठकको प्रशंसा राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे । उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी सङ्कट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे । त्यस्तै उनले सन् २०१० को न्यु-स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई १ हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बम वर्षकमा सीमित गरेको छ । ‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन,’ पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’ तेल ट्याङ्कर, ‘समुद्री डकैती’ र फ्रान्समाथि कटाक्ष युक्रेनलाई सहयोग गर्ने पश्चिमी मुलुकहरूले रूसी तेल बोक्ने ट्याङ्करहरू नियन्त्रण गर्ने प्रयासलाई राष्ट्रपति पुटिनले ‘समुद्री डकैती’ को संज्ञा दिए । यस्तो कदमले विश्व तेल बजारलाई अस्थिर पार्ने मात्र नभई बलियो प्रतिक्रिया प्राप्त गर्ने चेतावनी पनि दिए । फ्रान्सको एटलान्टिक तटमा एक तेल ट्याङ्कर रोकिएको घटनाबारे प्रश्न सोधिँदा उहाँले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई लक्षित गर्दै भने, ‘म्याक्रोनले आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता नाटक गर्नुभएको हो ।’ उनले व्यङ्ग्य गर्दै म्याक्रोनलाई ‘नेपोलियन’ सँग तुलना गरे ।  डेनमार्क ड्रोन घटना र नेटो आरोपको उपहास हालै डेनमार्कको आकाशमा देखिएको अज्ञात ड्रोन तथा युरोपका अन्य मुलुकहरूले लगाएको आरोपलाई पुटिनले ‘नाटोले रक्षा खर्च बढाउन र तनाव चर्काउन गरेको प्रयास’ भन्दै खारेज गरे । गत महिना मात्र पोल्यान्डमा रूसी ड्रोनको झुण्ड देखिएको, एस्टोनियामा रूसी लडाकू विमानले सीमा उल्लङ्घन गरेको र डेनमार्क–जर्मनीसहितका देशमा अज्ञात ड्रोनहरू देखिएको खबर बाहिरिएका थिए । पश्चिमी अधिकारीहरूले यसलाई रूसले नाटोको प्रतिक्रिया परीक्षण गर्ने रणनीति भएको दाबी गरेका थिए । तर, पुटिनले यस्तो दाबीलाई ‘मूर्खतापूर्ण’ भन्दै अस्वीकार गर्दै भने, ‘हामी युरोपको सैन्यीकरणलाई ध्यानपूर्वक हेरिरहेका छौँ । यदि आवश्यक भयो भने रूसको प्रतिक्रियात्मक कदम आउन ढिलो लाग्ने छैन ।’ चार्ली किर्कको हत्या र पुटिनको प्रतिक्रिया अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको हत्याबारे प्रश्न उठ्दा पुटिनले यसलाई ‘जघन्य अपराध’ भन्दै अमेरिकाको समाजभित्र रहेको गहिरो विभाजनको प्रतिबिम्ब बताए । उनले किर्कलाई परम्परागत मूल्यहरूको पक्षमा लड्ने नायकका रूपमा चित्रण गर्दै प्रशंसा गरे । उनले सन् २०२४ मा युक्रेनमा युद्धरत अवस्थामा मारिएका सिआइएका पूर्व उपप्रमुखका छोरा माइकल ग्लोसको पनि स्मरण गरे । उनले ग्लोसलाई पदक प्रदान गरिएको जानकारी दिँदै उक्त पदक राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकफमार्फत परिवारलाई हस्तान्तरण गरिएको बताए । ‘ग्लोसले रूसका सैनिकका रूपमा परम्परागत मूल्यहरूको रक्षा गर्दै जीवन अर्पण गरे र किर्कले अमेरिकाभित्रै उस्तै मूल्यहरूको लागि लड्दै ज्यान गुमाए । उनीहरू समान उद्देश्यका नायक हुन्,’ पुटिनले भने । यस विषयमा सिआइएले विज्ञप्ति जारी गर्दै माइकलको निधनलाई निजी पारिवारिक विषयका रूपमा सम्मान गरिएको र यसलाई राष्ट्रिय सुरक्षा मुद्दा नबनाउने जनाएको छ ।​​​​​​​ पुटिनको व्यङ्ग्यात्मक ठट्टा ४ घण्टा लामो प्रत्यक्ष कार्यक्रमका क्रममा पुटिनले अतीतमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस तथा उनका प्रशासनिक अधिकारीहरूसँगको भेट स्मरण गर्दै आफैंलाई हाँसोको शैलीमा ‘सिआइए निर्देशक’ भनेर सम्बोधन गरे । 

मोरक्कोमा जेनेरेशन जेडको नेतृत्वमा आन्दोलन, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न शहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकार विरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा ३ जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो । प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् । राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन् । आन्दोलनको माग र नाराहरू प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको थियो । मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौं युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रतिक्रिया प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गरे। उनले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गरे । ‘संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो,’ अखान्नोचले भने ।  हिंसा र क्षतिको विवरण गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा ३ युवाको मृत्यु भयो । मन्त्रालयले उनीहरू प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन् । उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा अधिकांश सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ । तेइस वटा प्रान्तमा सयौं कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । मन्त्रालयले देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरेको छ । ‘जेन जेड २१२’ आन्दोलन कथित जेनेरेशन जेड २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको हो । इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ । प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन् । उनीहरूले सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन् । ‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । अर्को चर्चित नारा थियो- ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’ हालै अगादिरको एक सार्वजनिक अस्पतालमा ८ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ । व्यापक असमानताप्रति आक्रोश मोरक्को द्रुत विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन् । जेनेरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, शिक्षा र सम्मान जनक जीवनको अधिकार केवल नारा होइन, यो गम्भीर माग हो ।’ गिरफ्तारी र झडप देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ । प्रदर्शनका आयोजकहरूले बारम्बार आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ । डिस्कोर्डमार्फत जारी एक सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए । तर विभिन्न शहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरे । अन्तर्राष्ट्रिय तुलना विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्कर जस्ता मुलुकहरूमा हालै देखिएका युवा निर्देशित आन्दोलनसँग तुलना गरेका छन् ।  यी सबै आन्दोलनहरूको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ ।

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । 

मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय, बाहिरिन केही ढिला हुने

काठमाडौं । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपरान्हदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए । वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए ।  ‘त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ,’ उनले भने ।  यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो । 

जडिबुटीको मूल्य पाइएन, बिचौलियाकै भर पर्दा किसानलाई घाटा

काठमाडौं । भोजपुरका कृषकले उत्पादित जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ । स्थानीयस्तरमै जडिबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा बिचौलियाहरुले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडिबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँची लगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि बिचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाए ।  जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बा लगायत जडिबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा बिचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको  कृषक पासाङ शेर्पाको गुनासो छ । उनले भने, ‘गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ । त्यही मूल्यमा बेच्छौँ, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौँ । यसले मारमा छौँ ।’ यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार विस्तारका लागि सहजीकरण गरिदिनु पर्ने किसानहरूको माग छ ।

रक्सी कसरी पिउने ? जान्नुहोस् यी तरिका

काठमाडौं । नेपालीहरूको महान पर्वमा घरपरिवारमा भेटघाट, रमझम र भोज भतेरको वातावरण सिर्जना हुने गर्छ । विशेषगरी मासु र रक्सी चाडपर्वको बेला बढी खपत हुने गर्दछ । दसैँतिहार नेपाली समाजमा मात्र नभई विदेशमा रहेका नेपालीहरूमा पनि परिवार एकत्रित हुने अवसरका रूपमा मनाइन्छ । रक्सी र मासुको परिकारले रमाइलो थप्ने भए पनि यो पर्वलाई स्वास्थ्यप्रद र सुरक्षित बनाउन सचेत रहनु आवश्यक छ । मासु र रक्सीको स्वादसँगै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर चाडपर्व रमाइलो बनाउन सकिन्छ । चिकित्सक र विज्ञहरूले सुझाव दिएका ‘सुरक्षित रक्सी सेवनका नियम’ पालना गर्न सकेमा पर्वहरू अझै सुखद र अर्थपूर्ण बन्नेछ । आज हामी रक्सी कसरी पिउने बारेमा छोटकरीमा चर्चा गर्नेछौँ । सीमित मात्रामा पिउने डाक्टरहरू पुरुषका लागि दिनमा २ पेग र महिलाका लागि १ पेगभन्दा बढी नगर्न सल्लाह दिन्छन् । धेरै मात्रामा पिउँदा तत्कालीन र दीर्घकालीन असर पुग्न सक्छ । रक्सीको मात्रालाई बुझ्न १ स्ट्यान्डर्ड ड्रिंक भनेर मापन गरिन्छ, जुन करिब १०-१४ ग्राम शुद्ध अल्कोहल बराबर हुन्छ । जस्तै बियर- ३३० एमएल (एक बोतल सामान्य बियर), वाइन- १०० देखि १५० एमएल (सानो ग्लास वाइन) र ह्विस्की/भोड्का र रक्सी ( ३०-४५ एमएल (सट ग्लास) । विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार पुरुषका लागि दिनमा अधिकतम २ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा १४ मात्र । यसैगरी, महिलाका लागि दिनमा अधिकतम १ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा ७ मात्र । मात्रा आफ्नो क्षमताअनुसार लिनु रक्सी पिउने बेला आफ्नो शरीरले कति धान्न सक्छ त्यसमा निकै ख्याल गर्नुपर्छ । अरूको उक्साहटमा वा लहलहैमा लागेर पिउँदा गाह्रो पर्न सक्छ । त्यसैले आफूले अड्कलेर खानु बुद्धिमानी ठहरिन्छ ।  खाली पेटमा नपिउने खाली पेटमा रक्सी नपिउनुहोस् । खाली पेटमा रक्सी पिउँदा शरीरमा असर अझ तीव्र र छिटो हुन्छ । किनभने पेटमा खाना नभएको कारण रक्सी छिट्टै सिधै सानो आन्द्रामा पुग्छ र रगतमा छिट्टै सोसिन्छ । खाली पेट पिउँदा रक्सीको असर छिटो देखापर्छ । ५/१० मिनेटमै टाउको हलुका हुने, बोली अस्पष्ट हुने, सन्तुलन गुम्ने सम्भावना हुन्छ । यसैगरी, पेट खाली हुँदा रक्सीले पेटको भित्तामा प्रत्यक्ष असर गर्छ जसले एसिड बढ्न गई ग्यास्ट्राइटिस र अल्सरको जोखिम हुन्छ । रक्सी पिउनुभन्दा पहिला प्रोटिनयुक्त खानेकुरा खाने रक्सी पिउनुअघि कम्तीमा ३० मिनेट पहिला प्रोटिनयुक्त खानेकुरा खानु निकै राम्रो हो । किनकि यसले रक्सीको असरलाई कम पार्छ र शरीरलाई केही हदसम्म सुरक्षित राख्छ । प्रोटिनयुक्त खानाले पेटमा रक्सी सजिलै सोसिँदैन । प्रोटिनयुक्त खाना पेटमा लामो समय बस्छ, जसले रक्सीलाई छिट्टै रगतमा प्रवेश गर्न नदिई असर बिस्तारै देखापर्छ। खाली पेटमा पिउँदा ब्लड सुगर घट्न सक्छ, प्रोटिनले यसलाई नियन्त्रणमा राख्छ । हामीले उसिनेको अण्डा वा अण्डाको अमलेट, चिज, दही वा ग्रीक योगर्ट, ग्रिल गरिएको मासु, माछा वा कुखुराको मासु, चना, दाल, बदाम, काजु, पिनट बटर लगायत खान सकिन्छ । साथै प्रोटिनसँगै थोरै कार्बोहाइड्रेट (रोटी, भात, आलु, सलाद) खाँदा अझ राम्रो प्रभाव पर्छ । रक्सी पिउँदा बीचबीचमा हलुका खाले खानेकुरा खाँदा राम्रो हुन्छ । साथै बेलाबेलामा पानी पिउनुपर्छ । यसले तपाईंलाई ह्याङओभर हुनबाट रोक्छ । रक्सी पिएर सुत्नुअघि खानेकुरा खानु लाभदायक स्वास्थ्य विशेषज्ञहरूले रक्सी पिएपछि सुत्नु अघि हल्का खाना खानु लाभदायक हुने बताउँछन् । विशेषज्ञहरूका रक्सी पिइसकेपछि सुत्नुअघि खाना खाँदा ह्याङओभर कम हुन्छ । साथै पानी पिउनु अत्यन्त जरुरी छ । यसले रक्सीले शरीरमा ल्याउने डिहाइड्रेशन घटाउँछ र मस्तिष्कमा होस फर्काउन मद्दत गर्छ । विशेषज्ञहरूले धेरै तेल भएको, मसालेदार वा धेरै मात्रामा खाना सुत्नुअघि नखान सल्लाह दिएका छन् । परीक्षणहरूले सुत्नुअघि सही खाना र पानी सेवनले टाउको दुखाइ, उल्टी र थकान कम गर्न मद्दत गर्ने देखाएको छ । सकेसम्म रक्सी सेवन नगर्नूहोस् गर्नै परे यी उपायहरू अपनाउँदा राम्रो हुन्छ ।