विकासन्युज

रक्सी कसरी पिउने ? जान्नुहोस् यी तरिका

काठमाडौं । नेपालीहरूको महान पर्वमा घरपरिवारमा भेटघाट, रमझम र भोज भतेरको वातावरण सिर्जना हुने गर्छ । विशेषगरी मासु र रक्सी चाडपर्वको बेला बढी खपत हुने गर्दछ । दसैँतिहार नेपाली समाजमा मात्र नभई विदेशमा रहेका नेपालीहरूमा पनि परिवार एकत्रित हुने अवसरका रूपमा मनाइन्छ । रक्सी र मासुको परिकारले रमाइलो थप्ने भए पनि यो पर्वलाई स्वास्थ्यप्रद र सुरक्षित बनाउन सचेत रहनु आवश्यक छ । मासु र रक्सीको स्वादसँगै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर चाडपर्व रमाइलो बनाउन सकिन्छ । चिकित्सक र विज्ञहरूले सुझाव दिएका ‘सुरक्षित रक्सी सेवनका नियम’ पालना गर्न सकेमा पर्वहरू अझै सुखद र अर्थपूर्ण बन्नेछ । आज हामी रक्सी कसरी पिउने बारेमा छोटकरीमा चर्चा गर्नेछौँ । सीमित मात्रामा पिउने डाक्टरहरू पुरुषका लागि दिनमा २ पेग र महिलाका लागि १ पेगभन्दा बढी नगर्न सल्लाह दिन्छन् । धेरै मात्रामा पिउँदा तत्कालीन र दीर्घकालीन असर पुग्न सक्छ । रक्सीको मात्रालाई बुझ्न १ स्ट्यान्डर्ड ड्रिंक भनेर मापन गरिन्छ, जुन करिब १०-१४ ग्राम शुद्ध अल्कोहल बराबर हुन्छ । जस्तै बियर- ३३० एमएल (एक बोतल सामान्य बियर), वाइन- १०० देखि १५० एमएल (सानो ग्लास वाइन) र ह्विस्की/भोड्का र रक्सी ( ३०-४५ एमएल (सट ग्लास) । विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार पुरुषका लागि दिनमा अधिकतम २ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा १४ मात्र । यसैगरी, महिलाका लागि दिनमा अधिकतम १ स्ट्यान्डर्ड ड्रिंक र हप्तामा ७ मात्र । मात्रा आफ्नो क्षमताअनुसार लिनु रक्सी पिउने बेला आफ्नो शरीरले कति धान्न सक्छ त्यसमा निकै ख्याल गर्नुपर्छ । अरूको उक्साहटमा वा लहलहैमा लागेर पिउँदा गाह्रो पर्न सक्छ । त्यसैले आफूले अड्कलेर खानु बुद्धिमानी ठहरिन्छ ।  खाली पेटमा नपिउने खाली पेटमा रक्सी नपिउनुहोस् । खाली पेटमा रक्सी पिउँदा शरीरमा असर अझ तीव्र र छिटो हुन्छ । किनभने पेटमा खाना नभएको कारण रक्सी छिट्टै सिधै सानो आन्द्रामा पुग्छ र रगतमा छिट्टै सोसिन्छ । खाली पेट पिउँदा रक्सीको असर छिटो देखापर्छ । ५/१० मिनेटमै टाउको हलुका हुने, बोली अस्पष्ट हुने, सन्तुलन गुम्ने सम्भावना हुन्छ । यसैगरी, पेट खाली हुँदा रक्सीले पेटको भित्तामा प्रत्यक्ष असर गर्छ जसले एसिड बढ्न गई ग्यास्ट्राइटिस र अल्सरको जोखिम हुन्छ । रक्सी पिउनुभन्दा पहिला प्रोटिनयुक्त खानेकुरा खाने रक्सी पिउनुअघि कम्तीमा ३० मिनेट पहिला प्रोटिनयुक्त खानेकुरा खानु निकै राम्रो हो । किनकि यसले रक्सीको असरलाई कम पार्छ र शरीरलाई केही हदसम्म सुरक्षित राख्छ । प्रोटिनयुक्त खानाले पेटमा रक्सी सजिलै सोसिँदैन । प्रोटिनयुक्त खाना पेटमा लामो समय बस्छ, जसले रक्सीलाई छिट्टै रगतमा प्रवेश गर्न नदिई असर बिस्तारै देखापर्छ। खाली पेटमा पिउँदा ब्लड सुगर घट्न सक्छ, प्रोटिनले यसलाई नियन्त्रणमा राख्छ । हामीले उसिनेको अण्डा वा अण्डाको अमलेट, चिज, दही वा ग्रीक योगर्ट, ग्रिल गरिएको मासु, माछा वा कुखुराको मासु, चना, दाल, बदाम, काजु, पिनट बटर लगायत खान सकिन्छ । साथै प्रोटिनसँगै थोरै कार्बोहाइड्रेट (रोटी, भात, आलु, सलाद) खाँदा अझ राम्रो प्रभाव पर्छ । रक्सी पिउँदा बीचबीचमा हलुका खाले खानेकुरा खाँदा राम्रो हुन्छ । साथै बेलाबेलामा पानी पिउनुपर्छ । यसले तपाईंलाई ह्याङओभर हुनबाट रोक्छ । रक्सी पिएर सुत्नुअघि खानेकुरा खानु लाभदायक स्वास्थ्य विशेषज्ञहरूले रक्सी पिएपछि सुत्नु अघि हल्का खाना खानु लाभदायक हुने बताउँछन् । विशेषज्ञहरूका रक्सी पिइसकेपछि सुत्नुअघि खाना खाँदा ह्याङओभर कम हुन्छ । साथै पानी पिउनु अत्यन्त जरुरी छ । यसले रक्सीले शरीरमा ल्याउने डिहाइड्रेशन घटाउँछ र मस्तिष्कमा होस फर्काउन मद्दत गर्छ । विशेषज्ञहरूले धेरै तेल भएको, मसालेदार वा धेरै मात्रामा खाना सुत्नुअघि नखान सल्लाह दिएका छन् । परीक्षणहरूले सुत्नुअघि सही खाना र पानी सेवनले टाउको दुखाइ, उल्टी र थकान कम गर्न मद्दत गर्ने देखाएको छ । सकेसम्म रक्सी सेवन नगर्नूहोस् गर्नै परे यी उपायहरू अपनाउँदा राम्रो हुन्छ । 

रुसको तेल खरिद गर्ने देशमाथि कडा कदम चाल्ने जी-७ को कडा चेतावनी

काठमाडौं । युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी-७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार सम्पन्न भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले ‘रुसको तेल निर्यातमा अधिकतम दबाब दिनुपर्ने समय आएको’ स्पष्ट उल्लेख गरेका छन् । यसले युद्धका लागि अत्यावश्यक रहेको मस्कोको राजस्वलाई कमजोर पार्ने लक्ष्य राखिएको हो । मन्त्रीहरूले भनेका छन्, ‘युक्रेनमाथि आक्रमण भएपछि पनि लगातार रुसको तेल खरिद गर्दै आएका तथा त्यसलाई सहज बनाउनेहरूलाई हामी अब प्रत्यक्ष रूपमा लक्षित गर्नेछौँ ।’ उनीहरूले रूसी तेलको कारोबार घटाउने उद्देश्यले भन्सार शुल्कसहितका व्यापारिक उपाय, आयात तथा निर्यातमा प्रतिबन्ध जस्ता विकल्पहरूमा सहमति भएको जानकारी दिए । साथै, ‘रूसबाट उत्पादित परिष्कृत पेट्रोलियम पदार्थ खरिद गरेर युद्ध प्रयासलाई अप्रत्यक्ष आर्थिक सहयोग गर्ने मुलुक र संस्थाहरूमाथि समेत गम्भीर रूपमा प्रतिबन्ध वा व्यापारिक अवरोध लागू गर्ने’ चेतावनी दिएका छन् । गत महिना मात्रै संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग सहकार्य गर्दै यस्तो कदम चालेमा रुसका तेल खरिदकर्तालाई लक्षित गरी थप भन्सार शुल्क विस्तार गर्न तयार रहेको सङ्केत दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीन र भारतजस्ता ठूला खरिदकर्तामाथि ५० देखि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको बताएका थिए ।  युरोपेली आयोगले समेत ट्रम्पको कडा दबाबबीच ब्लकभित्र रूसी तेल आयातमा सम्भावित भन्सार शुल्क लगाउने कार्य चलिरहेको पुष्टि गरेको थियो । अमेरिकाले भने युरोपका नेताहरूसँग प्रतिबन्धमा सहमत हुनुअघि नै मस्कोबाट ऊर्जा आयात पूर्ण रूपमा बन्द गर्न माग गर्दै आएको छ । जी-७ का अर्थमन्त्रीहरू यसै महिना वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकको अवसरमा पुनः प्रत्यक्ष भेला भई प्रतिबन्ध र व्यापारिक उपायहरूलाई थप ठोस बनाउने तयारीमा रहनेछन् । यसरी, जी-७ को ताजा चेतावनीले अब रुसबाट बढ्दो तेल खरिद गर्ने मुलुक र कम्पनीहरूलाई थप दबाबमा पार्ने स्पष्ट सङ्केत गरेको छ ।

डाइभर्सन नहुँदा ​​​​​​१८ वटा माल बाहक ट्रली भन्सारमै थन्किए

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँच पास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा माल बाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम-कोरला सडक अन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरला नाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका माल बाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ माल बाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए ।  लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताए । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनको भनाइ छ ।  घमी खोलामा निर्माणाधीन पुल ७ वर्ष भइसक्दा समेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ मा ६ करोड ८० लाख रुपैयाँ लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जानासमेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

सेयर बापतको रकम चुक्ता गर्न अमादब्लम मिनि हाईड्रोको ताकेता, नतिरे सेयर खारेज गर्ने

काठमाडौं । अमादब्लम मिनि हाईड्रोले बाँकी रकम जम्मा गर्न सेयरधनीहरूलाई ताकेता गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरूलाई तेस्रो पटक सूचना पठाउँदै सेयर बापतको बाँकी रकम भुक्तानी गर्न ताकेता गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ (२) बमोजिम अमादब्लम मिनि हाईड्रोको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सेयरधनीहरूलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले कबुल गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्न भनिएको छ ।  आफूले कबुल गरेको सेयर बापतको रकम चुक्ता गर्न कम्पनीले सेयरधनीहरूलाई ३५ दिनको समय दिएको छ । यदि उक्त अवधिभित्र रकम भुक्तानी नगरेमा कम्पनी ऐन, २०६३ को दफा ५३ (३) बमोजिम र कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सेयर जफत (खारेज) गर्ने र आवश्यक कारबाही अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ । कम्पनीका अनुसार लक्ष्मण अधिकारीको नाममा ७ लाख कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ६ करोड ४४ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, फुथुण्डु शेर्पाको नाममा १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ९२ लाख ९० हजार भुक्तानी बाँकी छ ।  बेयुल हाइड्रो पावर इन्भेष्टमेन्ट प्रालिको नाममा १ लाख ९६ हजार कित्ता सेयर छ भने ३ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।  आङ पासाङ शेर्पा, पेम्वा थुण्डु शेर्पा र लाक्पा डोमा शेर्पाको नाममा समान १ लाख ५० हजार कित्ता सेयर छ । उनीहरुले कम्पनीलाई १ करोड ४० लाख रुपैयाँका दरले भुक्तानी गर्न बाँकी रहेको छ ।  यस्तै, डोमा छिरी शेर्पाको नाममा ४ हजार कित्ता सेयर रहेको छ । उनले ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । 

हेटौंडा-काठमाडौं जोड्ने २ सडकमा राति सवारी साधन चलाउन रोक

काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा आजदेखि ३ दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा-भैँसे-काठमाडौं सडकमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् । विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । ​​​​​​ धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

आज देशभर साधारणतया बदली हुने, यी ५ प्रदेशमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू-भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ ।  यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ ।