दुर्गा पक्षको आठौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ । छैटौँ दिन शनिबार स्कन्दमाता र सातौँ दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो । आठौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
जेनजी आन्दोलनका घाइतेलाई सरकारको २० हजार सहयोग, परिचयपत्र पनि वितरण गरिने
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार गृहमन्त्रालयले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइते व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको उल्लेख गरेको छ । सरकारले प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई रकम निकासा गरिएको जानकारी गराएको छ ।
देउवाको साला भुषण राणाको घरमा प्रहरीको छापा, सामान बरामद
काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनको घरमा छापा मारेको हो । प्रहरी स्रोतका अनुसार प्रहरी जावलाखेलस्थित भुषणको घरमा पुगेर सामानहरू खानतलासी तथा बरामद गर्ने काम गरेको छ । राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । अहिले सरकारले देउवाको घरमा भेटिएको नोटको विषयमा अनुसन्धान गरिरहेको छ । त्यसैको सिलसिलामा गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको बुझिएको छ ।
फागुनमा घोषणा भएको चुनावमा भाग नलिने एमालेको संकेत, यस्तो गर्यो निर्णय
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तय भएको चुनावमा भाग नलिने संकेत देखाएको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले चुनावमा चाग नलिने संकेत देखाएको हो । सचिवालय बैठकले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको टिप्पणी गर्दै चुनावमा सक्रिय सहभागिता नहुने संकेत गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार प्रतिसोधको बाटोमा लागेको बताएका हुन् । ‘वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं, सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको देखिन्छ,’ उनले भने । उनले वर्तमान सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिएको बताए । उनले फागुन २१ गते घोषणा भएको निर्वाचनमा राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका पनि व्यक्त गरे । ‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन् ।’ उनले पाँच महिनाभित्र निर्वाचन हुनेमा संशय व्यक्त गरे । एमालेले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।
ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का, उपत्यका बाहिर जान पनि नपाउने
काठमाडौं । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको राहदानी रोक्का गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै ओलीसहित निवर्तमान गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न निर्देशन दिएको हो । उनीहरु अब विदेश जान पाउने छैनन् । आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गरेको छ । गत २३ भदौको जेन-जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको बताइएको छ ।
स्रोत नखुलेको नगद भेटिए अनुसन्धान हुनेछ : अर्थ मन्त्रालय
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा यस विषयलाई लिएर आवश्यक जानकारीसमेत दिएको छ । अर्थ मन्त्रालयले नेपाल सरकारले वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमार्फत गर्न प्रोत्साहित गरिरहेको पुनः स्मरण गराएको छ । सूचनामा भनिएको छ– 'विद्युतीय भुक्तानी प्रणालीमार्फत जुनसुकै परिमाणको कारोबार गर्न सकिने भएकाले ठूलो मात्रामा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन । सम्भव भएसम्म सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट गर्न सबैमा आग्रह गरिएको छ ।' मन्त्रालयले प्रचलित कानुनबमोजिम आर्जन भएको र स्रोत खुलेको रकम जुनसुकै परिमाणमा सुरक्षित राख्न वा उपयोग गर्न कुनै वाधा नभएको स्पष्ट पारेको छ । तर, स्रोत नखुलेको रकम लुकाइराखेको वा सुरक्षित राखेको आशंकामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको पनि सूचनामा उल्लेख छ । विद्यमान कानुनी व्यवस्था अनुसार कुनै व्यक्ति, फर्म वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–विक्री गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्नेछ । त्यस्तै, नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा घोषणा नगरी ल्याउन सक्नेछन् । सोभन्दा बढी रकम भएमा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्नेछ । यस्तै, नेपाली नागरिकले विदेशमा रोजगारी, व्यवसाय वा सटही सुविधाबाट प्राप्त विदेशी मुद्रा मध्ये अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भविष्य उपयोगका लागि नगदमा राख्न सक्ने कानुनी व्यवस्था छ । यी कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद भेटिएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही गरिने मन्त्रालयले जानकारी गराएको छ ।
दशैंमा मनकामना केबलकार अस्थायी रूपमा बन्द हुने
काठमाडौं । दशैंको अवसरमा मनकामना जाने केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ । मनकामना केबलकार प्रालिले जारी गरेको विज्ञप्तिअनुसार महानवमी (असोज १५ गते), विजया दशमी (असोज १६ गते) र एकादशी (असोज १७ गते) का दिन केबलकार सञ्चालन अस्थायी रूपमा बन्द हुने छ । कम्पनीले यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नियमित सेवा असोज १८ गतेदेखि पुनः सुचारु हुने जानकारी दिएको छ । यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको कम्पनीले विजयादशमी तथा बडादशैंको अवसरमा आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना समेत व्यक्त गरेको छ ।
त्रिवि सुधारमा मन्त्री पुनले दिए निर्देशन– दशैंपछि राजनीतिमुक्त बनाउन ठोस योजना पेस गर्नू
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सुधारका लागि विश्वविद्यालय नेतृत्वलाई औपचारिक निर्देशन दिएका छन् । आइतबार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा मन्त्रालयमा आयोजित विशेष बैठकमा भिसी, रजिस्ट्रार, रेक्टर, डीनहरू तथा विभिन्न संकायका प्रतिनिधिहरूसँग आफूले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र यसलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा रूपान्तरण गर्ने उपायबारे विस्तृत छलफल गरेको उल्लेख गरेका छन् । बैठकमा पुनले त्रिविको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा रूपान्तरण गर्न सकिन्छ ? भनी प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा विश्वविद्यालयका शीर्ष पदाधिकारीहरू र फ्याकल्टी प्रतिनिधिहरूको एउटै धारणा आएको थियो, ‘विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म गुणस्तरमा वास्तविक सुधार सम्भव छैन वा अत्यन्त कठिन हुनेछ ।’ सबैको एउटै धारणा आएपछि पुनले तत्कालै निर्देशन दिएका थिए । उनले दशैंपछि विश्वविद्यालयलाई राजनीति–मुक्त बनाउनका लागि ठोस र व्यावहारिक कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । यतिमात्र नभई उनले सुधार प्रक्रिया अब केवल कागजमा मात्र सीमित नभई यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक कदम चालिनुपर्नेमा पनि जोड दिए । मन्त्रालयका अनुसार निकट भविष्यमै सरोकारवालासँग थप परामर्श गरी विश्वविद्यालय सुधारका लागि स्पष्ट रोडम्याप तयार पारिने र चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।