विकासन्युज

अमेरिकी डलरको भाउ निरन्तर उकालो, कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । शनिबारका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार शनिबार बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।  

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौं-भद्रपुर उडान सङ्ख्या ९०१ जहाज-नाइन एन-एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।  ‘विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसे मैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्,’ उनले भने ।  आज साँझ ७ बजे काठमाडौंबाट भद्रपुर प्रस्थान गरेको विमान ९:४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो । 

मधेशदेखि कर्णालीसम्म : २५० नयाँ टावरमार्फत एनसेलको फोरजी पहुँच सुदृढ

काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।  साथै २ हजार २०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ । विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरूसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो ।  सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विशेषगरी मधेस, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो । एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँमा पनि टावरहरू स्थापना गरिएका छन्।  यसैगरी, मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भीमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरूमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् । कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो । नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् ।  नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो । यस विस्तारले देशव्यापी रूपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुने विश्वास कम्पनीले लिएको छ ।  एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक : बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा वैशाख अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको सन्दर्भमा बैठकमा २८ देखि ३० सम्म गर्ने प्रस्ताव अघि सारिएको हो । बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको कार्यकाल जेठसम्म थप गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । महाधिवेशन तयारीका लागि आवश्यक समय अभाव रहेको भन्दै कार्यकाल थपको प्रस्ताव गरिएको बताइएको छ । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशनसम्बन्धी नियमित कार्यतालिका स्थगित गरिएको जानकारी गराएका थिए । त्यसपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ समयसीमा र नेतृत्वको म्याद थपबारे औपचारिक छलफल अघि बढाएको हो । बैठकमा महाधिवेशन तयारी, पार्टीको आन्तरिक एकता, संगठन विस्तार तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको जनाइएको छ ।

अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालनमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंमा गैरकानुनी अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरिरहेको व्यक्ति पक्राउ परेका छन् ।  गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरस्थित कस्टको इन्फरमेसन टेक्नोलोजीमा छापा मार्दै कल बाईपास गर्दै गरेको अवस्थामा ३० वर्षीय राजन राजवंशी पक्राउ गरेको हो । पक्राउ परेका राजवंशी झापाको बिर्तामोड नगरपालिका वडा नं। २ का मूल निवासी हुन् र हाल काठमाडौं धुम्बाराहीमा बस्दै आएका छन् । उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । राजवंशीलाई पक्राउ गर्ने क्रममा सीआईबीले विभिन्न उपकरणहरू बरामदसमेत गरेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी रहेको छ र अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।  शुक्रबार अपराह्न २ वजे आह्वान भएको बैठक दिउँसोको सवा पाँच बजे केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको तय गरिएको कार्यतालिका स्थगित गरिएको जानकारी दिएका थिए ।  उनीहरूले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको विकल्प प्रस्ताव गरेपछि कांग्रेसभित्र आन्तरिक असन्तोष र तनाव थप चर्किएको छ ।

एक वर्षमै त्रिभुवन विमानस्थलको आम्दानी करिब १३ अर्ब, लामिडाँडा विमानस्थलको कमाइ ७२८ रुपैयाँ मात्र

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका विमानस्थलमध्ये सबैभन्दा धेरै आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक प्रतिवेदनअनुसार उक्त विमानस्थलले एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको हो । यात्रु सेवाको हिसाबले पनि त्रिभुवन विमानस्थल पहिलो नम्बरमा रहेको छ । यो विमानस्थलले एक वर्षको अवधिमा ३७ लाख १८ हजार आन्तरिक र ४० लाख ९८ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै आम्दानी गर्ने दोस्रो विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलले एक वर्षमा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ ।  एक वर्षको अवधिमा तेस्रो धेरै आम्दानी गर्ने विमानस्थलमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले एक वर्षमा २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गौतमबुद्ध विमानस्थलले ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक र १३ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । क्यानको प्रतिवेदनअनुसार आव २०८१/८२ मा १४ विमानस्थलले करोड रुपैयाँ बराबरको आम्दानी गरेका छन् । विराटनगर विमानस्थलले एक वर्षको अवधिमा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।  त्यस्तै, नेपालगञ्ज विमानस्थलले १४ करोड ६० लाख रुपैयाँ, चन्द्रगढीले ८ करोड ९० लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, जनकपुरले ७ करोड १५ लाख रुपैयाँ भरतपुरले ६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  करोड आम्दानी गर्ने अन्य विमानस्थलहरुमा लुक्लाले ६ करोड २१ लाख रुपैयाँ, सिमराले ५ करोड ३६ लाख रुपैयाँ, रामेछापले १ करोड ३६ लाख रुपैयाँ, राजविराजले १ करोड ५९ लाख रुपैयाँ र सुर्खेतले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  लाख आम्दानी गर्ने विमानस्थल  एक वर्षको अवधिमा १८ विमानस्थल कार्यालयले लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । क्यानको प्रतिवेदनअनुसार जोमसोमले ८८ लाख २० हजार रुपैयाँ, सिमकोटले ५१ लाख ७३ हजार रुपैयाँ, तुम्लिङटारले ५० लाख रुपैयाँ, फाप्लुले ४९ लाख ८ हजार रुपैयाँ, जुम्लाले २४ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेका छन् । लाख कमाउने अन्य विमानस्थलहरूमा रारा, बाजुरा, डोल्पा, दाङ, सल्ले, भोजपुर, ताप्लेजुङ, साँफेबगार, टिकापुर, खानीडाँडा, रुम्जाटार थामखर्क र रेसुंगा हुन् ।  हजारभन्दा कम आम्दानी गर्ने विमानस्थल  सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ । लामिडाँडाले पछिल्लो एक वर्षमा ७२८ रुपैयाँ मात्रै आम्दानी गरेको क्यानको तथ्यांक छ । एक वर्षको अवधिमा बझाङ विमानस्थलले ९० हजार २६३ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, फाल्गुनन्द सुकिलुम्बाले ७६ हजार ७३१ र डोटीले ४६ हजार रुपैयाँ आम्दानी गरेका छन् ।