विकासन्युज

सञ्चार मन्त्रालयमा ‘उही दिन वा भोलिपल्टसम्ममा काम टुंग्याउने’ कार्यशैली लागू

काठमाडौं ।  दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ कार्यनीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रालय र यसअन्तर्गतका सबै निकायका कर्मचारीहरूका लागि लागू गरिएको उक्त व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सकेसम्म सोही दिनभित्र र नभए भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कर्मचारीलाई आफ्नो जिम्मेवारी छिटो, पूर्ण र गुणस्तरीय रूपमा पूरा गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको बताए । नयाँ नियमअनुसार निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीले तुरुन्तै आफ्नो माथिल्लो तहलाई जानकारी गराउनुपर्नेछ । साथै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्नेछ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस कदमले कर्मचारीमा अनुशासन कायम गर्नुका साथै कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीले छिटो, सहज र प्रभावकारी सेवा पाउने विश्वास लिइएको छ । मन्त्रालयले यस अभ्यासलाई मातहतका सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै, स्रोतसाधनको मितव्ययी तथा प्रभावकारी उपयोग गर्न पनि मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

रास्वपाले आह्वान ग‍र्यो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहीबार (भाेलि) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा मध्यान्ह सवा १२ बजे बस्न लागेको हो । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  त्यसैगरी अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।  

व्यवसायीको कारोबारमा अख्तियार प्रवेश गर्दै, सेयर किनबेचको सक्कली स्टेटमेन्ट पेस गर्नुपर्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानबिन गर्ने तयारी गरेको छ । निजी क्षेत्रका हरेक क्रियाकलापहरूमा सुशासन प्रत्याभुती गराउने उद्देश्यले अख्तियारले व्यावसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी गरेको हो ।   अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना  (२०८२/८३ – २०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्सानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा सुधार गरिने उल्लेख गरेकाे छ ।  त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी सङ्घ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ ।  रणनीतिअनुसार २ वर्षभित्र सहकारी क्षेत्र र सार्वजनिक वा निजी कम्पनी वा अन्य कुनै निजी सङ्घ, संस्थामा हुने भ्रष्टाचारको परिभाषा, भ्रष्टाचारजन्य कसूर र सजाय, निजीक्षेत्रको सम्पत्ति हिनामिना वा नोक्सानीको बिगो भराउने, अनुसन्धान, तहकिकात एवं अभियोजन गर्ने निकाय तथा मुद्दा हेर्ने निकाय समेत तोक्ने गरी नयाँ भ्रष्टाचार निवारण ऐनको निर्माण गर्ने योजना बनाइएको छ ।  त्यस्तै, कम्पनी, साझेदारी फर्म, अन्य निजी सङ्घ संस्था तथा सहकारी क्षेत्रमा हुने सबै प्रकारका अनियमितता वा भ्रष्टाचार सम्बन्धी काम कारबाहीलाई निरुत्साहित गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को घर जग्गा लिखत पारित सम्बन्धी कानूनी व्यवस्था लगायत निजी क्षेत्रसँग सम्बन्धित अन्य ऐन नियमहरूमा समयानुकूल संशोधन/परिमार्जन गर्ने योजना समेत अख्तियार रणनीतिमार्फत अघि सारेको छ ।  निजी क्षेत्रको आर्थिक, वित्तीय वा व्यापारिक क्रियाकलापमा घुस लिने दिने कार्यलाई दण्डनीय बनाउने योजना अघि सारेको छ । त्यसका लागि अब बन्ने नयाँ ऐनमा घुस लिने दिने कार्यलाई दण्डनीय तुल्याउने गरी व्यवस्था गर्ने र निजी क्षेत्रसँग सम्बन्धित हाल प्रचलित कानुनहरूमा समेत सोही अनुकूल संशोधन गर्ने तयारी छ । सरकारी वा सार्वजनिक सम्पत्ति हिनामिना वा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याउने गरी निजी क्षेत्रबाट हुने भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कानुनी व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ । २ वर्षभित्रै सरकारी वा सार्वजनिक हानी नोक्सानी पुर्याएका व्यक्ति वा संस्थालाई थप सजाय हुने गरी नयाँ कानूनी व्यवस्था गर्ने तयारी अख्तियारको छ ।  अख्तियारले आफ्नो रणनीतिक योजनामा  सहकारी क्षेत्र र सार्वजनिक वा कम्पनी वा अन्य कुनै निजी संघ, संस्थाले आम्दानी र खर्चको विवरण अभिलेखमा हेरफेर गर्ने/नजनाउने वा नभएको खर्च देखाउने वा गलत लिखत प्रयोग गर्ने वा श्रेस्तालाई मनशायपूर्वक नष्ट गर्ने जस्ता कार्यलाई दण्डनीय बनाउन कानूनी २ वर्षमै कानून बनाउन लाग्ने आफ्नो योजना सार्वजनिक गरेको छ ।  निजी क्षेत्रबाट हुने सेयर खरिद बिक्रीलाई नियमित, पारदर्शी र व्यवस्थित तुल्याउन दश लाख रुपैयाँ भन्दा बढी रकमको संस्थागत वा व्यक्तिगत सेयर खरिद बिक्रीको लगत अभिलेख प्रमाणीकरण गर्दा खरिदकर्ताले बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक स्टेटमेण्ट र सोको भौचर वा  चेक समेत पेश गराई शेयर लगत अभिलेख राखिदिने गरी कम्पनी निर्देशिका, २०७२ संशोधन गर्ने, निजी संघ संस्थाको कामकारबाहीमा स्वार्थको द्वन्द्व हुन नदिन र व्यवसाय सम्बन्धी कामकारबाहीको उचित सम्पादन गर्न तथा संवद्ध निजी संस्थाको कामकारबाहीमा शुद्धता कायम गर्ने रणनीतिमा उल्लेख गरिएकाे छ ।  निजी संघ संस्थामा आन्तरिक लेखापरीक्षण तथा नियन्त्रणको व्यवस्थालाई सुदृढ तुल्याई पारदर्शिता अभिवृद्धि गर्ने, सार्वजनिक खरिद कार्यमा संलग्न निजी क्षेत्रका व्यवसायीको कारोबारको सम्बन्धमा प्रचलित कानून बमोजिम कारोबार गरे नगरेको स सम्बन्धमा छानबिन, जाँचबुझ गर्ने,  निजी क्षेत्रको लेखाको खेस्ता र लेखापरीक्षणका स्थापित मापदण्डहरू परिपालन भए नभएको अनुगमन गरी नभएमा सजाय गर्ने कानुनी व्यवस्था गर्ने जस्ता योजना अख्तियारले आफ्नो रणनीतिमा राखेको छ ।   

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेको सहयोग र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ ।  मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिज्म स्कुलको लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा पनि उनीहरूबीच परामर्श भएको छ । भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकहरूको क्षमता विकासलगायत विषयमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । साथै मन्त्री पोखरेलले अजिटम स्कुलको लागि स्रोत र जनशक्ति विकास तथा शिक्षकको पेशागत क्षमता विकासको सन्दर्भमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रका साथै अन्य क्षेत्रमा विगतदेखि गरिआएको सहयोग र सहकार्यका लागि बेलायत सरकार उत्सुक रहेको बताएका थिए। सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।  त्यस्तै, शिक्षकको क्षमता विकासमा सहकार्य गर्ने तथा ट्रान्सनेशनल एजुकेशनको नेपालमा सम्भावनाबारे पनि कुराकानी भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ३ लाख २ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० रुपैयाँ कायम भएको छ ।  गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

कांग्रेस अनुशासन समितिद्वारा कार्यवाहक सभापति खड्कासँग स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय अनुशासन समितिले चौधौँ महाधिवेशनका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । समितिको बैठक आज बुधबार ११ बजे बस्दैछ । बैठकमा खड्काले पछिल्ला दिनमा अघि बढाइरहेका गतिविधि रोक्न र तिनका कारणबारे लिखित स्पष्टीकरण माग्ने प्रस्ताव टुंग्याउने एजेन्डा रहेको समिति स्रोतले जनाएको छ । समितिले खड्काले पछिल्लो समयमा गरेका राजनीतिक तथा संगठनात्मक गतिविधि पार्टीको विधान र आन्तरिक शिष्टाचारसँग कति मेल खान्छ भन्ने विषयमा औपचारिक प्रश्नावली पठाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए । प्रारम्भिक छलफलअनुसार स्पष्टीकरणको समयसीमा तोक्ने र त्यसपछि आवश्यक निर्णयमा जाने प्रक्रियाबारे समेत बैठकले मार्गनिर्देशन गर्ने तयारी भइरहेको ती सदस्यले बताए । खड्काले कार्यवाहक सभापतिको रूपमा आफ्ना गतिविधि गरेकोमा कांग्रेस नेतृत्व रुष्ट रहेको छ । अनुशासन समितिले औपचारिक स्पष्टीकरण सोधेपछि खड्काको प्रतिक्रिया सार्वजनिक भएको आधारमा थप कारबाहीबारे सोच्ने समितिका एक सदस्यले जानकारी दिए ।

आईबीएम स्कूल कार्यक्रम नेपालमा सुरु, विद्यालयस्तरमै प्रविधि शिक्षा विस्तार

काठमाडौं । एशियन ई–लर्निङ प्रालिले आईबीएम स्कूल कार्यक्रम नेपालमा औपचारिक रूपमा सुरु गरेको छ । विद्यालयस्तरका विद्यार्थीलाई भविष्य उन्मुख प्रविधि शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमअन्तर्गत कक्षा ५ देखि १२ सम्मका विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन र साइबर सुरक्षा विषयमा अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा पाउने भएका छन् । आईबीएमद्वारा विकसित तथा यसको आधिकारिक डेलिभरी पार्टनर ट्रान्सन्युरोन टेक्नोलोजिज, बैंगलोरमार्फत सञ्चालन हुने उक्त कार्यक्रमले विद्यार्थीलाई आधुनिक प्रविधिमा व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरण ‘एक्सप्लोरर’ अन्तर्गत विद्यार्थीमा जिज्ञासा विकास, आधारभूत बुझाइ तथा नयाँ प्रविधिप्रति आत्मविश्वास निर्माण गराइनेछ । दोस्रो चरण ‘डिस्कभरर’ प्रमाणपत्र आधारित पाठ्यक्रम हुनेछ, जसअन्तर्गत विद्यार्थीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो चरण ‘इनोभेटर’ मा विद्यार्थीले आफ्नै उत्पादन र आइडियामा काम गर्दै भेन्चर क्यापिटलिस्टसमक्ष प्रस्तुति दिने अवसर पाउनेछन् । कम्पनीका अनुसार प्रत्येक कोर्सले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र उपलब्ध गराउनेछ, जसले उच्च शिक्षा र भविष्यको करियरमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रमको औपचारिक शुभारम्भसँगै सेन्ट जेभियर्स, गोदावरी र कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीसँग सहकार्य सम्झौता सम्पन्न भएको छ । यससँगै नेपालमा आईबीएम स्कूल कार्यक्रमको औपचारिक सुरुवात भएको कम्पनीले जनाएको छ । सेन्ट जेभियर्स, गोदावरीका प्रिन्सिपल फादर विजय टोप्पोले उक्त सहकार्यले विद्यार्थीको भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले विद्यालयमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँचले उच्च शिक्षा र करियरमा स्पष्ट अग्रता दिलाउने बताए । एशियन ई–लर्निङ प्रालिका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले कार्यक्रमले विद्यार्थीका लागि नयाँ अवसर सिर्जना गर्ने र पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार यो पहलले नेपाली विद्यार्थीलाई विद्यालयस्तरमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँच दिलाउँदै भविष्यका लागि सक्षम बनाउने लक्ष्य राखेको छ । 

भक्तपुरमा हौँचुरे घिमिरे वंशावली विमोचन, ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर । हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम भक्तपुरको कौशलटारमा सम्पन्न भएको छ । साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षतामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानसमेत गरिएको थियो । 'ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि तारानाथ घिमिरेलाई ‘ज्येष्ठतम् पुरुष सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी ९४ वर्षीया चेली मनिकर्णिका निरौलालाई ‘ज्येष्ठतम् चेली सम्मान’, इन्दिरा घिमिरेलाई ‘ज्येष्ठतम् महिला सम्मान’ (पन्ध्रौँ पुस्ता), हौँचुरे घिमिरे वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई ‘विद्वत् सम्मान’ तथा वंशावलीका सङ्कलक एवं सम्पादक गणेश घिमिरे ‘मार्मिक’लाई ‘सम्पादक सम्मान’ प्रदान गरिएको थियो । सत्रौँ पुस्ताको आयोजनामा सम्पन्न कार्यक्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले व्यक्त गरेका थिए भने सञ्चालन हरि घिमिरेले गरेका थिए । साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले पुस्तक समीक्षा प्रस्तुत गरेका थिए ।