प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
सन्तोष गौतम काठमाडौं । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन् । आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ,’ उनले भने । तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका-२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए । तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए । ‘चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ । शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो,’ उनले भने । विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब ३ लाख रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिका-५ देउरालीदेखि तीनचुले जोड्ने ७ किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै २ घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ । दुई जिल्लाको सम्बन्धको सेतु तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल) ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनको भनाइ छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । ‘तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ । पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ,’ उनले भने । रासस
अन्तर्देशीय प्रसारण लाइन निर्माणमा ३ अर्ब लगानी गर्दै नेपाल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा २ अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली ४/४ केभी क्षमताका अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति २ देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तर्देशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् । प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ । नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।
बन्चरेडाँडामा स्थानीयको अवरोध हटाउने सहमति
काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हट्ने भएको छ ।सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो । बैठकमा सहरी विकास मन्त्रालय, प्रभावित क्षेत्र धादिङको धुनिबेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिकाका पदाधिकारी र स्थानीय बासिन्दा सहभागी थिए । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको हो । साथै सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ । बन्चरेडाँडाका स्थानीयका लागि तत्काल चालु आव २०८२/८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ । साथै महानगरले एक महिनाभित्र बन्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बन्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।
बाजुरामा प्रसूति केन्द्र निर्माणमा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई २६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो । निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूमाथि जनही १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।
आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर
काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।
शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा, बजारमा नयाँ तरङ्ग पैदा
काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा 'सेयर लोन' योजना सार्वजनिक गरेको हो । सेयर धितो राखेर कर्जा प्रवाह गरिने यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै बैंकले अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कर्जा योजना ल्याएको जनाएको छ । यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी योजनासहितको सुविधाले सुसज्जित यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको छ । बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न
काठमाडौं । क्रिप्टो बजारमा पछिल्लो केही दिनयता गिरावट जारी छ । बिटकोइनसहित धेरै ठूला क्रिप्टोकरन्सीहरू धराशायी भइसकेका छन् । तर एक क्रिप्टोकरन्सी भने यस्तो छ जसमा यो गिरावटको प्रभाव परिरहेको छैन । त्यसको नाम जीक्यास हो । पछिल्ला २४ घण्टामा धेरै क्रिप्टोकरन्सीमा ठूलो गिरावट देखिए पनि जीक्यासको मूल्य करिब १२ प्रतिशत बढेको छ । दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा धेरै भएको छ । बिहीबार दिउँसो करिब २:३० बजे जीक्यास क्रिप्टोको मूल्य ६७३ डलर (करिब ९६ हजार रुपैयाँ) थियो । यो क्रिप्टोले मात्र २० दिनमा लगानी दोब्बर गरिसकेको छ । अक्टोबर ३१ मा यसको मूल्य करिब ३३० डलर थियो, अहिले ६७० डलरभन्दा माथि पुगेको छ । यसरी हेर्दा २० दिनमै यसले लगानीकर्तालाई १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । त्यस्तै एक महिनामा यसको रिटर्न १६० प्रतिशतभन्दा बढी भइसकेको छ । जीक्यास क्रिप्टो दुई महिनामा लगानीकर्तालाई असाधारण रिटर्न दिइसकेको छ । दुई महिना अघि यसको मूल्य करिब ५० डलर थियो, अहिले ६७० डलर पार गरेको हो । यसरी हेर्दा मात्र दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा बढी छ । हाल क्रिप्टोकरन्सी बजारमा आएको गिरावटले रोकिने नाम लिएको छैन । पछिल्ला २४ घण्टामा धेरै ठूला क्रिप्टोमा २ प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि बिटकोइनमा केही सुधार देखिएको छ । कोइनमार्केटक्यापका अनुसार २४ घण्टामा बिटकोइन ०.७७ प्रतिशत बढेको छ । त्यस्तै, इथेरियम १.२० प्रतिशत गिरेको छ । यीबाहेक रिपल करिब १ प्रतिशत र बाइनान्स करिब २ प्रतिशत घटिसकेका छन् । सोलानामा भने २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ । क्रिप्टो करेन्सीमा किन गिरावट ? बिटकोइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् । यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् । लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल सुन भाडामा दिएर लाखौं कमाउँदै धनी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रतिवेदन प्रस्तुत गर्दै हालको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गर्ने र तिनको प्रतिकार रणनीति तयार गर्ने लक्ष्यसहित बैठकले आगामी दिनमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशहरू जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा सबै निकायबीच समन्वय र तयारी अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षा नीतिहरूलाई अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् ।