विकासन्युज

सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।  

१३ प्रतिशत लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो मंसिर २९ गते सेयरधनी भेला

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस वितरण पश्चात् कायम हुने जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई तोकिए बमोजिम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

मर्जरका लागि जोडी खोज्दै शाइन रेसुङ्गा बैंक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो ।   साथै, बैंक सञ्चालक समितिले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २६ गते बुटवल, रुपन्देहीमा १७औँ वार्षिक साधारण सभा अपरान्ह साढे १२ बजे डाकेको छ । सभाले गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  साथै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

उपल्लो मुस्ताङमा कायम निषेध फुकुवा गर्न प्रधानमन्त्रीसँग मुस्ताङका जनप्रतिनिधिको माग

काठमाडौं । मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वको जनप्रतिनिधिहरूको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हुन् । उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले ५०० अमेरिकी डलर तिरेर न्यूनतम् १० दिनको प्याकेज लिनैपर्ने व्यवस्था हटाएर सरकारले हालै प्रतिदिन ५० डलर कायम गरेकोमा पनि टोलीले त्यो संशोधन अपुग भएको भनेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  मन्त्रिपरिषद्को गत मङ्गलबार बसेको बैठकले अध्यागमन नियमावली संशोधन गरी विदेशी पर्यटकले निषेधित क्षेत्र भ्रमण गर्दा दैनिक ५० डलर तिर्नुपर्ने व्यवस्था गरेको थियो । स्थानीय जनप्रतिनिधिले यस्तो शुल्क लिने व्यवस्था नै खारेज हुनुपर्ने माग राखेका छन् । ‘उपल्लो मुस्ताङका तीन वटा गाउँपालिकाको क्षेत्र निषेधित क्षेत्रमा घोषणा गरिएको र विदेशी पर्यटकलाई महँगो शुल्क लिने नीतिले पर्यटकलाई निरुत्साहित गरिरहेको अवस्था छ,’ टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । प्रतिनिधिमण्डलमा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ, थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप थकाली, लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरूङ, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङ र लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट गुरुङ थिए ।

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।  अपरान्ह ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।  पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेट किपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।  सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषदका सदस्य सचिव सुमनराज अर्यालले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषदको ८औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेस गर्ने समेत निर्णय भएको जनाइएको छ ।

११औँ अन्तर्राष्ट्रिय ब्राह्मण सम्मेलन काठमाडौंमा हुने, अमेरिकासहित ९ देशबाट सहभागी हुने

काठमाडौं । जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरूको ११औँ अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर १२, १३ र १४ गते काठमाडौंमा हुने भएको छ । ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रस्ट नेपाल शाखाको आयोजनामा तीन दिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले जानकारी दिए । सम्मेलनमा ९ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उनले सुनाए । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ । भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अस्ट्रेलिया, सुरीनाम, बेलायत लगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताए । सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राम्हणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् । कर्मले सनातनी ब्राम्हणको व्यवहार गर्नेहरूले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहेका पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौं घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तर्राष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक रहेका छन् । 

अनुमतिबिना ड्रोन उडानमा रोक, कानुनविपरीत उडाएमा अनुमति खारेज

काठमाडौं । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो बढेपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जारी गरेको सूचनामा नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा तथा सामरिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनअनुसारका सबै प्रक्रिया पूरा नगरी ड्रोन उडान गर्न नपाइने स्पष्ट पारिएको छ । यस्तै अनुमतिबिना जबर्जस्ती ड्रोन उडान गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ । प्रशासनका अनुसार ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ ले तोकेअनुसार ड्रोन अनिवार्य रूपमा दर्ता गर्नु तथा उडान अनुमति लिनु अनिवार्य छ । ड्रोनको बनोट तथा तौलका आधारमा वर्गीकरण, अधिकतम उचाइ र उडान समय, उडान क्षेत्र निर्धारणलगायतका सबै प्रावधान पालना गरेपछि मात्र ड्रोन उडान गर्न पाइने प्रशासनले स्पष्ट गरेको छ । कानुनविपरीत ड्रोन उडान भएमा उडान अनुमति खारेज, उपकरण जफतलगायत आवश्यक कानुनी कारबाही हुने भन्दै प्रचलित नियमविपरीत ड्रोन उडान नगर्न प्रशासनले सर्वसाधारण, सङ्घसंस्था तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।