शिक्षक आधा महिनादेखि सडकमा, माग सम्बोधन गर्ने सुरसारमा छैन सरकार
काठमाडौं । १५ दिनदेखि देशभरका शिक्षकहरू काठमाडौंका सहरमा आन्दोलित छन् । कहिले माइतीघरबाट नयाँ बानेश्वरसम्म र्यालीसहित नारा जुलुस गरेर पुग्छन् त कहिले गीत, कथा कवितामार्फत सरकारलाई व्यङ्ग्य गर्दै माग पुरा गर्न दबाब दिइरहेका छन् । यसरी १४ दिनसम्म शिक्षक सडकमा काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ । शिक्षकहरू भने झन सशक्त आन्दोलन बढाउँदै लैजाने योजनामा छन् । उनीहरूले यो अभियानमा साथ दिन निजी शैक्षिक संस्थालाई समेत आग्रह गरेका छन् । शिक्षकहरूको अहिले एउटै अडान छ- जबसम्म सरकारले माग पुरा गर्दैन तबसम्म कक्षा कोठामा फर्किँदैनौं । शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली भन्छिन्, ‘हामी पटक–पटक वार्तामा बस्यौं, सहमति गर्यौं, तर कार्यान्वयन भएन । अब यो पटक वार्ता गर्नु पर्ने जरुरी छैन, सरकारलाई घुँडा टेकाएरै छोड्छौं ।’ शिक्षक, विद्यार्थीको हितमा हुने गरी विद्यालय शिक्षा विधेयक पारित गर्न भन्दै शिक्षकहरू सडकमा आएको यो पहिलो पटक होइन । तीन/चार पटक सडकमा आइसकेका उनीहरूलाई सरकारले हरेक वर्ष सम्झौता गरेरै टार्न खोज्यो । तर, यो पटक कुनै पनि हालतमा शिक्षक सहमति गरेर मात्रै फर्कने अवस्थामा छैनन् । शिक्षकहरूले सुरुमा २०७५ सालमा आन्दोलन गरेका थिए । सरकारले शिक्षकसँग वार्ता गर्यो । सरकार र शिक्षकबीच ३१ बुँदे सहमति भयो । तर, कार्यान्वयन भएन । २०७८ सालमा शिक्षकहरूले फेरि आन्दोलन गरे । त्यो बेला विभिन्न ५१ बुँदे सहमति भए पनि कार्यान्वयन भएन । फेरि २०८० सालमा शिक्षकले काठमाडौंमा सडक ततायो । त्यो बेला पनि सरकारले असोज ५ गते ६ बुँदे र १२ गते अर्को पाँचबुँदे सहमति गर्यो । तर, अहिलेसम्म पनि सम्झौता कार्यान्वयन भएको छैन । जसकारण फेरि चैत्र २० गतेदेखि देशभरका शिक्षक काठमाडौंको सडकमा आएका छन् । ‘सरकार पटक-पटक सम्झौतामा अल्झाइरहने, हामी त्यही सम्झौतामा अल्झिने क्रम धेरै भयो, तर अहिलेसम्म कार्यान्वयन भएन । अब हामी सम्झौतामा होइन, कार्यान्वयनको मागमा छौं,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । उनी अब वार्तामा बस्नुको कुनै औचित्य नभएको बताउँछन् । शिक्षकहरूको मुख्य माग भनेको सरकारले विगतमा शिक्षकसँग गरेका सम्झौता कार्यान्वयन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी अग्रगामी शिक्षा ऐन जारी गर भन्ने हो । तर, यसमा सरकार गम्भीर भएको छैन । चैत्र २८ गते शिक्षकहरू मन्त्रालयले बोलाएको बैठकमा उपस्थित भए । शिक्षकका माग पुरा गर्न मन्त्रालयले मन्त्रिपरिषदमा यो कुरा लैजाने तर त्यसको लागि शिक्षकले आन्दोलन फिर्ता गर्नुपर्ने सर्त राख्यो । जुन सर्त शिक्षकहरूलाई मन परेन । उनीहरू फर्केर पुनः सडकमा आए । सहअध्यक्ष नानुमाया शिक्षा मन्त्रालयले संसदीय प्रक्रियामार्फत ऐन जारी गर्ने कुरा मन्त्रिपरिषद्मा लैजान घुमाउरो पाराबाट आन्दोलन फिर्ता गर्न भनेको दाबी गर्छिन् । उनका अनुसार सहमतिको कुरा शिक्षा मन्त्रालयको बुँतामा छैन । उनी भन्छिन्, ‘हामीलाई यो वार्ता पनि झुक्याउने खालको लाग्यो ।’ नागरिकलाई सास्ती काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्र मुख्य केन्द्रबिन्दु हो । कार्यालयदेखि काम विशेषले नागरिकहरू यही बाटोमा हिँड्नुपर्छ । बिहान कार्यालय समयमा प्रायः सडक बन्द नभए पनि ११ बजेपछि यो बाटो यात्रा गर्दा नागरिकले सास्ती खेप्नु परेको छ । शिक्षकहरूले बीच सडक कब्जा गरेर आन्दोलन गर्दा निकै सास्ती भएको स्थानीयहरू बताउँछन् । काभ्रेका रवि श्रेष्ठ मार्केटिङको काम गर्छन् । उनलाई ग्राहकको मागअनुसार उनीहरूको घरमै गएर सेवा दिनुपर्छ । सोमबार कोटेश्वर अर्डरको सामान पुर्याउन निस्केका उनले आधा घण्टा बढी जाममा बस्नुपर्यो । ‘बीच बाटोमा आन्दोलन छ, छेउछाउको बाटोमा हिँड्नुपर्छ । त्यसमा पनि जाम हुँदा समयमै पुग्न सकिएन,’ उनी भन्छन्, ‘जसको आन्दोलन भएपनि हामी जस्ता गरीखाने वर्गलाई निकै समस्या हुन्छ ।’ माइतीघर हुँदै आवतजावत गर्ने हरेक नागरिकलाई अहिले गन्तव्यस्थलसम्म पुग्न निकै गाह्रो हुने गरेको छ । शिक्षकको आन्दोलन गर्ने शैली फरक हुनुपर्ने विज्ञहरू भने शिक्षकजस्तो बौद्धिक वर्गले यसरी सडक नै जाम गरेर आन्दोलन गर्न सही नहुने बताउँछन् । उनीहरूका माग जायज भए पनि दिनभर सडकमा आएर नागरिकको जनजीवन नै प्रभावित हुने गरी आन्दोलन गर्न उचित नहुनेमा उनीहरूको जोड छ । पूर्व शिक्षासचिव गोपीनाथ मैनाली शिक्षकहरूको माग जायज भएपनि आन्दोलनको तरिका फरक हुनुपर्ने बताउँछन् । ‘शिक्षक आन्दोलनका कारण सवारी जाम भयो, सर्वसाधारणलाई सास्ती भएको कुरा सुनिएको छ, यो त्यति राम्रो मानिँदैन,’ उनी भन्छन्, ‘शिक्षकजस्तो प्रभुत्व व्यक्तिले नागरिकलाई दुःख दिनु राम्रो होइन, उनीहरू सयौं व्यक्ति काठमाडौंमा जम्मा भएर गर्ने आन्दोलनको तरिका फरक हुनुपर्थ्यो ।’ आन्दोलनबाहेक शिक्षकहरूले कसरी दबाब दिन सक्छन् भन्ने प्रश्नमा मैनाली भन्छन्, ‘शिक्षकहरूका विभिन्न १५ वटा संघसंगठन छन्, सबै विद्यालय बन्द गरी ती संघसंगठनका अध्यक्ष काठमाडौं आएर प्रधानमन्त्रीलाई हुन्छ कि सभामुखलाई हुन्छ कि कसलाई भेट्नपर्ने हो, उसैसँग भेटी आफ्नो मागदाबी राख्न सकिन्थ्यो ।’ शिक्षकका माग जायज शिक्षकहरू आन्दोलनमा उत्रनुको मुख्य कारण विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी अग्रगामी शिक्षा ऐन जारी तत्काल गर्नुपर्छ भन्ने हो । यो ऐन नहुँदा शिक्षा क्षेत्रमा काम गर्न सकस उनीहरूलाई परेको छ । मैनालीका अनुसार विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको हकहित, खटनपटन, उनीहरूको सुपरीवेक्षणदेखि सेवासुविधाका कुरामा समस्या भएको छ । यस्तो अवस्थामा शिक्षकले आन्दोलन गर्नु स्वाभाविक हो । सरकारले सकिने नसकिने सबै माग सम्बोधन गर्ने प्रतिबद्धता पटकपटक जनाएपनि कार्यान्वयन भएको पाइँदैन । कतिपय शिक्षकका मागमा संविधान नै संशोधन गरिनुपर्छ । शिक्षाविद् विनय कुसियत शिक्षकहरूका माग जायज रहेको भन्दै कार्यान्वयनमा सरकार उदासिन देखिएको बताउँछन् । विद्यार्थीलाई कक्षाकोठामा पढ्न मिल्ने वातावरण सरकारले तयार पार्नुपर्ने बताउँछन् । भन्छन्, ‘विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन, सरकारलाई झन छैन, यसको लागि सरकारलाई छिटो घर फर्काउने वातावरण सरकारले पार्नुपर्छ ।’ गैर-जिम्मेवार सरकार शिक्षक सडकमा आउनुको कारण अहिलेको सरकार चलाउने मान्छे गैरजिम्मेवार भएको कतिपयको भनाइ छ । शिक्षाविद् प्रा डा. विद्यानाथ कोइराला सरकार गैरजिम्मेवार बन्दा यस्तो अवस्था आएको दाबी गर्छन् । उनी यो विषयमा पहिले शिक्षामन्त्री भइसकेका गिरीराजमणि पोखरेल, देवेन्द्र पौडेल, अशोक राइको कमजोरीले नै यो अवस्था आएको बताउँछन् । भन्छन्, ‘यी व्यक्ति मन्त्री हुँदा ऐनको कुरा आएको हो, यो विषयमा अहिले उनीहरूले पनि चासो लिनुपर्दैन ? यसको निरन्तरतामा उनीहरूको पनि हात हुन्छ ।’ कोइराला शिक्षामन्त्रीको मात्र नभइ अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यसको जिम्मेवारी भएको बताए । ‘२०७५ मा ओली,२०७८ मा देउवा र २०८० मा प्रचण्ड पालैपालो प्रधानमन्त्री भएपनि उनीहरू ऐक्यबद्धता जनाउन सकेनन् ,’ उनी भन्छन्, ‘शिक्षा ऐन पारित हुनुमा सरकार नै गैरजिम्मेवार हो, आफू सरकारमा हुँदा माखा नमार्ने, विपक्षी भएपछि ऐक्यवद्धता जनाउने जुन प्रवृत्ति छ, यो राजनीतिक दलको बेइमानी हो ।’ कोइराला लगायतका केही विज्ञहरूले शिक्षक सडक आउनु अगावै यसको समाधानका लागि शिक्षा मन्त्रालय र शिक्षक महासंघलाई फम्र्याट बनाएर दिएका थिए । जसमा ऐनमा के राख्ने नियमावलीमा के राख्ने, शिक्षकका मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रष्ट पारिएको थियो । यसको प्रतिउत्तरमा शिक्षा मन्त्रालयबाट मन्त्री बिरामी भएको खबर आयो । शिक्षकहरूले पनि यतिले माग सम्बोधन हुँदैनन् भने । उनी भन्छन्, ‘शिक्षकहरूको मानसिकता पनि आफ्नो शक्ति देखाउनेतिर गयो, यहाँ शक्ति प्रदर्शन गरेर जित्ने र हार्ने मानसिकता भयो । सरकारले कुरा सुनेन, शिक्षक हामी के कम भन्दै दम्भमा आए र अवस्था यस्तो भयो ।’ कोइराला अब विकल्पको रूपमा दुई कुरा गर्न सकिने बताउँछन् । पहिलो कुरा- पहिलेका शिक्षामन्त्री, अहिलेका शिक्षामन्त्री, पहिलेका प्रधानमन्त्री र अहिलेका प्रधानमन्त्री बसेर कुन माग तत्काल सम्बोधन गर्न सकिन्छ, कुन सम्बोधन गर्न समय लाग्छ भन्ने विषयमा छलफल गर्नुपर्छ । दोस्रो– सरकारले २४ बुँदालाई ७ बुँदामा राखेर शिक्षक महासंघसँग अनौपचारिक संवाद गरेर सहमति नजिक नजिक अवस्थामा पुगेको छ, यसमा शिक्षमन्त्रीले यो विषयमा थप छलफल गरी वर्षे अधिवेशनमा पारित गर्छौं भन्न सक्नुपर्छ । भर्ना अभियान प्रभावित शिक्षकहरूको आन्दोलनले सडकसँगै विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ । सरकारले तामझामका साथ सुरु गर्ने विद्यार्थी भर्ना अभियान रोकिएको छ । सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू भर्ना हुनबाट वञ्चित छन् । शिक्षकहरू यसको जिम्मा सरकारले नै लिनुपर्ने बताउँछन् । विज्ञहरू भने यो आन्दोलनको असर अबको चार–पाँच वर्षसम्मका लागि पर्ने बताउँछन् । शिक्षविद् डा विष्ण कार्की सरकारले सामान्य मानेको यो आन्दोलनले शिक्षा क्षेत्रमा निकै ठूलो असर पर्ने दाबी गरे । उनी यसको प्रत्यक्ष फाइदा निजी विद्यालयले लिने बताउँछन् । सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढाउने अभियानमा लागेको सरकारले यो आन्दोलनबाट ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ । शिक्षाविद् डा. कोइराला विद्यालय व्यवस्थापन समितिले भर्ना गर्नसक्ने बताउँछन् । व्यवस्थापनको काम विद्यार्थी जम्मा पार्ने हो । पालिका महासंघले पनि यसको जिम्मा लिनुपर्छ । पालिकाको काम पहुँचको सुनिश्चित गर्ने हो । गाउँपालिका, नगरपालिका महासंघले अपडेट गर्ने पालिका र व्यवस्थापन समितिले भर्ना गर्दा १० गतेसम्म अभियान सकिन्छ । यसो गर्न सक्यो भने पनि शिक्षक नहुँदा पनि असर गर्दैन । विद्यार्थी पढाउन सरकारले छिटोभन्दा छिटो सम्झौता गरेर पठायो भने यो समस्या पनि समाधान हुन्छ । सरकारले चाहे एकैदिनमा काम हुन्छ सरकारले चाहेमा शिक्षकलाई तुरुन्त घर फर्काउन सक्ने हैसियत सरकारसँग छ । तर सरकारले यो विषयलाई चासोका साथ नहेर सरोकारवालाहरू बताउँछन् । प्रतिपक्षको विरोधका बाबजुत अध्यादेशमार्फत पाँचवटा विद्येयक पारित गर्न सक्नेले शिक्षकका माग किन गर्न सक्दैन भन्ने प्रश्न शिक्षकहरूको छ । उनीहरू शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि घुमाउरो पारामा पहिले आन्दोलन फिर्ता गर्न भनेपछि सशंकित बनेका छन् । यता शिक्षा मन्त्रालय भने शिक्षकहरूको मागमा सकरात्मक रहेको दाबी गर्छ । मन्त्रालयले मन्त्रिपरिषद्मा यो विषय लिएर पनि माग पुरा गर्न तयार रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा कुनैपनि शिक्षकले विभोद सहनुपर्ने अवस्था सिर्जना हुन नदिने दाबी गर्छन् । भन्छन्, ‘हामीले शिक्षकहरूसँग पनि कुरा गरिरहेका छौं, हामीले कुन मागलाई कसरी लैजाने भन्ने विषयमा पनि छलफल गरेका र्छौं, उहाँहरूको माग सम्बोधन गर्न तयार छौं ।’ शिक्षकहरूले भने अब शिक्षामन्त्रालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्षदलका नेताहरूसँग भेट्ने योजना बनाएको तर, पुरा नभएको बताएका छन् । उनीहरूलाई किन भेट्ने भन्ने प्रश्नमा नानुमाया भन्छिन्, ‘एउटा सरकारले गरेको निर्णय अर्को सरकारले कार्यान्वयन गर्न नमान्ने, ढिलासुस्ती गर्ने समस्या छ । यो विषयमा शीर्षस्तरका नेताहरूसँग छलफलगर्न लागेका हौं ।’
शिक्षामा २०८१ : शून्य प्रगति, सडकमै शिक्षक
काठमाडौं । २०८१ साल शिक्षा क्षेत्रमा सन्तोष गर्न लायक बन्न सकेन । यो पटक पनि निकै उतारचढावका बीच एक वर्ष बितेको छ । यो वर्षको बिदाइ समेत शिक्षकहरूले सडकबाटै गर्नुपर्दा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको मान्न सकिँदैन । ८१ सालको सुरुवात तामझामका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर भएपनि बिदाइ भने दुःखका साथ भएको छ । वर्षको सुरुवातमा शिक्षामन्त्री सुमना श्रेष्ठ थिइन् । उनले शैक्षिक क्षेत्रमा केही थिति बसाल्ने प्रयास गरेकी थिइन् । तर, उनले धेरै काम गर्ने मौका पाइनन् । त्यसपछि शिक्षामन्त्री बनेकी विद्या भट्टराईले पनि केही प्रयास गरेकी छिन् । उनले अघिल्लो मन्त्री सुमनाले गरेका राम्रा कामलाई निरन्तरता दिँदै राम्रो काम गर्ने वचनबद्धता गरेपनि शिक्षा क्षेत्रमा भएको राजनीतिबारे भने काम गर्न नसकेको गुनासो आएको छ । सुमनाले शिक्षा क्षेत्रलाई जसरी राजनीतिबाट मुक्त गर्ने अठोट बनाएकी थिइन् विद्याले यो अठोटलाई निरन्तरता दिन सकिनन् तर उनले केही राम्रा काम गर्ने प्रयास भने जरुर गरेकी छन् । यो वर्षको समीक्षा सरकारले गरेका राम्रो कामको प्रयासबाट गरौं । सरकारले गरेको प्रयास सरकारले अनिवार्य गर्ने भनिएको निःशुल्क अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । २०७५ सालमा बनेको ऐन अझै कार्यान्वयनमा आइनसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईले संविधानले दिएको मौलिक हकको रूपमा राख्दै कार्ययोजना बनाएकी हुन् । यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सुझाव माग गरी २०८३ सालसम्म कार्यान्वयन गरिसक्ने कार्ययोजना छ । सरकारले दिवा खाजा कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइएको छ । सरकारले सञ्चालन गरिरहेको दिवा खाजा कार्यक्रमलाई परिमार्जित गर्दै स्थानीय उत्पादनमा आधारित खाजा कार्यक्रम सुरु गरेको छ । शिक्षा मन्त्रालयले यो विषयमा निर्देशिका बनाएर कार्यन्वयन गरेसँगै सातवटै प्रदेशमा नमुनाको रूपमा सुरु गरिसकिएको छ भने केही पालिकाले योभन्दा अगाडि नै कार्यक्रम सुरु गरिसकेका थिए । सरकारले गरेको अर्को राम्रो कामको सुरुवात नेपालमा सञ्चालनमा आएका विदेशी विश्वविद्यालयबाट सञ्चालित कलेजलाई मापदण्ड पुरा गरे नगरेको विषयमा अनुगमन गरिएको छ । नेपालमा सञ्चालित ५९ यस्ता कलेजमध्ये १४ कलेजले मात्र मापदण्ड पुरा गरेको पाइएपछि बाँकी सबै कलेजलाई पनि मापदण्ड पुरा गर्न निर्देशन दिइएको थियो भने शिक्षकको दरबन्दीका लागि पुनरावलोकनको प्रयास पनि गरिएको छ । यस्तै, विद्यालय तहको परीक्षा र मूल्यांकन प्रणालीमा थप सुधार गर्न कार्ययोजना तयार गरिएको छ भने शिक्षामा विज्ञान र प्रविधिको विकासको लागि ओपन डेटा प्लेटफर्मको अवधारणा तयार पारिएको छ । सरकारले शिक्षाक्षेत्रमा केही गर्ने प्रयास गरे पनि २०८१ शिक्षा क्षेत्रमा गौरव गर्नलायक नबनेको विज्ञहरू बताउँछन् । केही प्रयास थालिएपनि ५ प्रतिशत काम पनि आशालाग्दो नभएको विज्ञहरूको तर्क छ । शिक्षाविद् डा. विष्णु कार्की यो शिक्षा क्षेत्र अनुत्पादक र अन्योलग्रस्त भएर बितेको बताउँछन् । उनी माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजाले नै यो वर्ष शिक्षामा कति कमजोर रह्यो भन्ने प्रष्ट पारेको बताउँछन् । २०८१ सालमा सार्जजनिक भएको एसईईको नतिजामा ५२ प्रतिशत, कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थी पास भए । सदरर ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल भए । उनी यो देशका लागि सबैभन्दा ठूलो घाटाको कुरा भएको बताउँछन् । ‘हुन त यो यो वर्षमात्र होइन, संधै यस्तै हुँदै आएको थियो,’ शिक्षाविद कार्की भन्छन्, ‘तर यसपाली राम्रो नतिजा आउँछ कि भन्ने आशा सबैले गरेका थियौं, सुरुवाती अवस्था नै निराश भएको शिक्षा क्षेत्रमा यो वर्षले पनि कुनै राम्रो नतिजा दिन सकेन ।’ शिक्षाविद कार्की यो वर्षको राम्रो काम भनेको विद्यालय शिक्षा विधेयक छलफलको लागि प्रतिनिधिसभामा जानु र त्यसमाथि छलफल सुरु हुनु एक सकारात्मक भएको बताउँछन् । छलफल सुरु भएको विधेयक हिउँदे अधिवेशनमा पाइन्छ कि भन्ने सबैको आश पारित नहुँदा निराशमा परिणत भएको उनको भनाइ छ । शिक्षाविद डा. विद्यानाथ कोइराला यो २०८१ मा केही सकरात्मक कामको थालनी र धेरै नकारात्मक क्रियाकलाप भएको तर्क गर्छन् । उनी केही शिक्षकहरूले राम्रो अभ्यासको सुरुवात गरेको तर त्यसको संग्रह नगरिएको बताए । ‘केही विद्यालय, पालिकाले पनि राम्रो उदाहरणीय काम गरेका छन्,’ उनी भन्छन्, ‘तर त्यो काम पनि संकलन भएको छैन, यसरी हेर्ने हो भने एउटा पाटो सकारात्मक छ, त्यसलाई संग्रह गरिएको छैन तर अर्को नकारात्मक कुरा पनि छ ।’ विद्यालय ऐन पारित हुन सकेन २०७५ सालमा पारित भइसक्नुपर्ने विद्यालय शिक्षा ऐन अझै पारित हुन सकेको छैन । २०८१ सालको हिउँदे अधिवेशनमा पारित हुने आशामा रहेक आम नागरिकहरूलाई दुःखी तुल्याएको छ । विद्यालय शिक्षा विद्येयक नहुँदा शिक्षा क्षेत्रमा देखिएको अन्यौलको गाँठो फुस्काउन मुस्किल परेको छ । स्थानीय तहले के गर्ने, विद्यालयको अधिकार कसलाई दिने भन्ने धेरै अन्यौलताहरू कायमै रहेका छन् । विद्यालय शिक्षा नआउँदा काम गर्न समेत उत्तिकै चुनौती थपेको विज्ञहरू बताउँछन् । शिक्षाविद् डा. कार्की विधेयक पारित नहुँदा शिक्षकहरू गरेको आन्दोलन शिक्षा क्षेत्रलाई अझै ४-५ वर्ष पछाडि धकेल्ने प्रयास भएको बताउँछन् । उनी भन्छन्, ‘विधेयक आउँदा कसको अधिकार के, कसले के काम गर्ने भन्ने कुरा स्पष्ट हुनथ्यो, त्यो भएन विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आएका छन्, यो राम्रो संकेत होइन । शिक्षाको लागि योभन्दा घातक केही हुन सक्दैन ।’ डा. कार्कीले झट्ट हेर्दा केही नदेखिए जस्तो भएपनि शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा ठूलो धक्का पुर्याएको बताए । ‘पढाइमा जुन गति बढिरहेको थियो, यो आन्दोलनले ठूलो बाधा सिर्जना गरेको छ, विद्यालय एकाएक बन्द हुँदा यो राम्रो भएन,’ उनी भन्छन्,‘ यसले एउटा भाष्य के स्थापित गर्योभन्दा यहाँ शिक्षाको गुणस्तरको चिन्ता कसैलाई रहेनछ भन्ने भाष्य निर्माण भयो, यसले निजी विद्यायलाई थप बलियो बनायो ।’ उनी समग्र रूपमा यो वर्ष शिक्षा क्षेत्र अन्यौलग्रस्त भएर बितेको ठोकुवा गर्छन् । सुधारोन्मुख भएको थापाको दावी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा देशको समग्र शैक्षिक अवस्था राम्रो हुन नसकेपनि सुधारोन्मुख बाटोतिर लागेको बताउँछन् । ‘राम्रो देख्नलाई सबैले राम्रो सोंच्नुपर्यो, अहिलेसम्म लथालिंग अवस्थामा रहेको शिक्षा क्षेलाई सुधार गर्ने तर्फ हामी लागिरहेका छौं,’ उनी भन्छन्, ‘शिक्षा क्षेत्र राम्रो बनाउनको लागि हामीले विधेयक बनाउने, कानुन बनाउने काम गरिरहेका छौं, आत्मनिर्भर शिक्षाको परिकल्पना गरिएको छ । यो आधारमा अघि बढ्न हामीले थुप्रै प्रयास गरिरहेका छौं ।’ सभापति थापाले २०८२ सालको वर्षे अधिवेशनमा विद्यालय शिक्षा विद्येयक पारित हुने दाबी गरे । उनले छलफलको चरणमा रहेको हतारमा पारित नगरेको बताउँदै ८२ असारमा पारित हुने बताए । शिक्षा क्षेत्रका जानकारहरू भने पारितमा ढिलो भएको बताउँदै समग्र शिक्षा क्षेत्र नै अन्योल बनेको बताउँछन् । कुलपति बरालले दिए राजीनामा त्रिभुवन विश्वविद्यालय (टीयू)का उपकुलपति केशरजंग बरालले राजीनामा दिए । उनको राजीनामापछि अहिले टीयू उपकुलपतिविहीन छ । उपकुलपति बरालले राजनीति दबाब थेग्न नसकेपछि काम गर्न नसकेको भन्दो चैत्र महिनामा राजीनमा दिएका थिए । त्रिविका आंशिक प्राध्यापकले आफूहरूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै पटक–पटक दबाब दिएकाले दबाब थेग्न नसकेको उनको प्रतिक्रिया थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका उपकुलपतिले राजनीतिक दबाब थेग्न नसकेको भन्दै राजीनामा दिनुले राम्रो सन्देश नदिएको विज्ञहरू बताउँछन् । शिक्षा क्षेत्रमा हुने राजनीति अन्त्य गरिनुपर्छ भन्ने चर्चा र बहस भइरहेको बेला यस्तो घटना हुनुले २०८१ सालको शिक्षा क्षेत्र कस्तो रह्यो भन्ने नजरअन्दाज लगाउन सकिन्छ । केयुले पायो कुलपति काठमाडौं विश्वविद्यालय (केयू)मा उपकुलपति नियुक्तिको विषय लिएर यो वर्ष निकै वादविवाद सिर्जना भयो । उपकुलपति नियुक्त गर्न बनेको खोज तथा सिफारिस समितिले दुई–दुई पटक दरखास्त आह्वान गर्नुपर्यो । उपकुलपतिको विषयलाई लिएर केही समय निकै विवादित बनेको केयूले यो वर्ष नयाँ उपकुलपति पाएको छ । जसमा लामो समयदेखि केयूमा कार्यरत प्राध्यापक डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । वाग्ले नियुक्त भएसँगथै केयूमा सिर्जित विवाद पनि समाधान भएको छ । सडकमै शिक्षकहरू शिक्षकहरूसँग भएको सम्झौता कार्यान्वयन गर्न र विद्यालय शिक्षा विधेयक पारित गर्न भन्दै आन्दोलित शिक्षक अहिले पनि सडकमै छन् । २०८० साल सडकमै बिताएका शिक्षकहरूको २०८१ साल पनि सडक तताएरै गएको छ । शिक्षकहरूले अब सम्झौताबिना माग पुरा गर्न भन्दै सरकारलाई सडकबाटै दबाब दिरहेका छन् । यसकारण पनि यो वर्ष शिक्षा क्षेत्रमा कुनै राम्रो काम हुन नसकेको विज्ञहरू बताउँछन् । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बन्यो तर कार्यान्वयन भएन २०७५ सालमै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बने पनि कुनै पनि पालिकाले यसको कार्यान्वयन नगरेको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले गुनासो पोखे । ‘२०७५ सालमै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनेको छ तर, कुनै पनि पालिकाले यसको कार्यन्वनय गरेका छैनन् । हामी नेपालीहरू के कुरा गर्छौं र के काम गर्छौं भन्ने कुरा बुझ्नै गाह्रो । शिक्षालाई सबैले गरिखाने बनाउनु पर्छ भनियो तर कसरी बनाउने भन्ने बारे काम भएको छैन,’ उनले भने ।
सूर्यांश वैद्यः बिँडो थाम्दै, जम्प हान्दै
काठमाडौं । बुवा सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष एवं उच्च कद भएका उद्यमी । आमा रितुसिंह वैद्य, पूर्व मिस इण्डिया, नेपालमा सफलता चुमिरहेकी महिला उद्यमी । सुरज र रितुको छोरा भन्नेबित्तिकै सूर्यांश वैद्यलाई व्यावसायीक जगतमा धेरैले चिन्दछन् । तर सूर्यांशलाई आफ्नै नामले चिनिनु छ । वहालवाला वा पूर्वमन्त्री, सांसद्, सचिव, न्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक वा उच्च सरकारी पदमा पुगेको वर्तमान वा पूर्व हाइप्रोफाइल व्यक्तिका छोरो छोरी नेपालमा बस्दैनन्, विदेशमा पुगेका हुन्छन् । तर धेरै कठिनाइ र झमेलाका बीच व्यवसायीका छोराछोरी नेपालमा नै केही गर्न प्रयत्नशील छन् । तिनैमध्ये एक हुन् सूर्यांश । उनका सबै साथीहरू अहिले विदेशमै रमाइरहेका छन् । तर उनी आफ्नै देशमा केही गर्नुपर्छ भनी व्यवसायमा लागिरहेका छन् । विदेशको सिकाइ अनुभव सँगाली नेपाल फर्केका उनी पैतृक व्यवसाय समाल्दै छन् । अटोमोबाइल, कृषि, कन्ट्रक्सन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका वैद्य अर्गनाजेशन अफ इण्ड्रष्ट्रिज एण्ड ट्रेडिङ हाउजेजमा उनी निर्देशकको भूमिकामा छन् । साथै वैद्य इनर्जीका सीईओ र पिटस्टप इन्कर्पोरेटेडका संस्थापकको रूपमा काम गरिरहेका छन् । भन्छन्, ‘मै धेरै विभाग हेरिरहेको छु, तर यसमध्ये विशेषगरी अहिले वैद्य इनर्जीलाई बढी समय दिइरहेको छु ।’ जान्दैनन् नेपाली सूर्यांश काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के तर उनलाई नेपाली भाषामा बोल्न कठिन हुन्छ । अरू नेपालीले झैं उनले कखगघ पढेनन्, एबीसीडी मात्र पढे । उनको परिवार बहुसांस्कृतिक र बहुभाषी छ । आमा रितु धेरैजसो अंग्रेजी र कहिलेकाहीं हिन्दी बोल्थिन् । बुवा र अन्य सदस्यले घरमा बोल्ने भाषा अंग्रेजी नै थियो । सूर्यांश सुरुमा काठमाडौंको बाफलस्थित रुपीज इन्टरनेशनल स्कूलमा पढे, जहाँ हिन्दीमा पढाइ हुन्थ्यो । पछि सानेपास्थित ब्रिटिश स्कुल हुँदै रविभवनको लिंकन स्कुलमा कक्षा १२ सम्म पढे, जहाँ पुरै अंग्रेजीमा पढाई हुन्थ्यो । कलेज पढ्न अमेरिका गए । बेन्टले यूनिभर्सिटीबाट व्यवस्थापन र उद्यमशीलता विषयमा ब्याचलर्स डिग्री लिए । अमेरिकामा पढ्दा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र धेरै विषयमा सिक्ने अवसर पाएको, व्यवसाय कसरी गर्ने, त्यसमा के के चाहिन्छ, सरकारसँग कसरी समन्वय गर्ने भन्ने यावत कुराहरू पढ्दै गर्दा थाहा पाएको उनी सुनाउँछन् । सूर्यांश पढाइ सकेर नेपाल फर्किँदा कोभिड महामारी थियो । जनमानसमा ठूलो त्रास थियो । त्यहीबेला उनले कुन क्षेत्रमा व्यवसाय कसरी गर्दा ठीक हुन्छ अनुसन्धान गरे । ‘मैले त्यो बेला नेपालका उद्योगहरूबारे जान्ने अवसर पाएँ । कृषि, इनर्जी, मोबिलिटी इनर्जी धेरै क्षेत्रको रिसर्च गरें, सबैभन्दा बेस्ट मलाई यो व्यवसाय लाग्यो र यही क्षेत्र रोजें,’ उनले भने । सूर्यांशका दुईजना दिदी छन् । जेठी दिदी अमेरिकामा छिन् भने माइली हस्पिटालिटी क्षेत्रमा काम गर्छिन् । उनको नेतृत्वमा चितवनमा होटल निर्माणाधीन छ । उनको काका सुरेश वैद्यले कृषि क्षेत्र हेरिरहेका छन् । ‘हजुरबाले जिरोबाट सुरु गरेको व्यवसायलाई मेरो बुवाले यहाँसम्म ल्याउनुभयो, अब मेरो जिम्मेवारी यो व्यवसायलाई कसरी अगाडि लैजाने भन्ने हो,’ उनले सुनाए । सूर्यांश व्यवसायमा लागेको पाँच वर्षमात्र भयो । यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उनी बताउँछन् । उनी उत्साहित छन् । भन्छन्, ‘भर्खरै एथरको ४५० एक्स लन्च गरेका छौं । यसमा धेरै काम भइरहेको छ । केही नयाँ गर्ने प्रयास गरिरहेको छु । अहिले म निकै उत्साहित छु । वैद्य इनर्जी वैद्य इनर्जी भारतमा निर्मित दुईपाँग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनी बताउँछन् । विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । ‘नेपालको इभीको पुरै इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका छौं । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ,’ उनले भने । पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । पछिल्लो समय नेपालमा व्यावसायीक जटिलता बढेको व्यवसायीको अनुभव छ । सूर्यांशलाई पनि त्यस्तै लाग्छ । नेपालभन्दा बाहिर गएर काम गर्न भने सजिलो हुने उनी बताउँछन् । तर उनलाई आफ्नै देशमा व्यवसाय गर्न मन छ । ‘व्यवसाय’ सूर्यांशको प्यासन हो । त्यसमा पनि अटोमोबाइल उनलाई अझ बढी मन पर्छ । आमाबुवासँग सहज सिकाइ आमाबुवा दुवैजना व्यवसायमा हुँदा सूर्यांशलाई धेरै कुरा सिक्न सहज भयो । जब उनको स्कुल बिदा हुन्थ्यो उनी बुवाआमासँगै अफिस जान्थे । बुबाआमाले व्यवसायसम्बन्धी कुनै कार्यक्रम, मिटिङ जानुपर्दा उनलाई पनि सँगै लिएर जान्थे । कार्यक्रममा, बैठक धेरैमा उनी सानो हुँदै सहभागी हुने अवसर पाउँथे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई व्यवसायका बारेमा थाहा थिएन तर, बिजनेसमा कसरी कुरा गर्ने, के गर्ने, के हुन्छ, समस्याहरू कस्ता आउन सक्छन् भन्नेबारेमा आमाबुवाकै कुरा सुनेर थाहा पाएको थिएँ ।’ व्यवसाय गर्नु सूर्यांशका लागि रहर कि बाध्यता ? हामीले प्रश्न गर्यौं । धेरैले यही प्रश्न गर्ने गरेको उनले बताए । र भने- 'दुइटै । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने पहिलेदेखि नै लागेको थियो । अनि अर्को- आउनैपर्ने बाध्यता पनि ।’ बुबा, आमाले जहिल्यै पनि इच्छाअनुसार काम गर्न प्रेरित गरेको पनि उनले बताए । नेपालमै उत्पादन गर्ने लक्ष्य उनी व्यवसायमा बाउबाजेको बिँडो थाम्नेमात्र नभई त्योभन्दा केही फरक गर्ने अठोटका साथ लागेका छन् । सूर्यांशलाई विदेशबाट दुई पाँग्रे सवारी आयात मात्र गर्नु छैन । उनको लक्ष्य नेपालमै सवारी उत्पादन गर्ने छ । नेपाली बजारमा इलेक्ट्रिक दुई पांग्रेको हिस्सा तीन प्रतिशतमात्र छ । बाँकी ९७ प्रतिशत अझै आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीहरू छन् । उनी भन्छन्,‘नेपालमा ईभी धेरै प्रयोगमा नआएकाले पनि हुनसक्छ, ग्राहकरूले यसको ब्याट्री कति टिक्छ भनी प्रश्न गर्छन् । यो नेपालीको हकमा महँगो पनि छ तर मर्मत खर्च भने निकै कम छ ।’ पछिल्लो समय देशमा ईभीका लागि पूर्वाधार बन्दै जाँदा बिस्तारै सहज परिस्थिति आउनेमा उनी ढुक्क छन् । नेपालमै दुई पाङ्ग्रे इभी उत्पादन कठिन भएको उनी बताउँछन् । ‘सरकारको नीति सहज छैन । यसका लागि चाहिने सामाग्रीहरू धेरै बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसरी ल्याउँदा भन्सार शुल्क पनि उत्तिकै महँगो छ । सूर्यांश अबको पाँच वर्षपछि ३० प्रतिशत पार्टपूर्जा आफै उत्पादन गर्ने दाबी गर्छन् । भन्छन्, ‘मेरो काम विदेशबाट सामग्री आयात गरेर नेपाली बजारमा सप्लायर्स गर्नुमात्र होइन, मैले यही उत्पादन गर्ने योजना बनाएको छु ।’ ‘अहिले विभिन्न देशहरू उत्पादनमा क्षेत्रमा धेरै प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले हरेक सामग्रीको लागि परनिर्भर रहनुपर्ने बाध्यता छ । सरकार र निजी क्षेत्र सबैले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोंच्नुपर्छ ।’ कम्बोडिया पनि पहिले नेपाल जस्तै अवस्थामा रहेको तर पछिल्लो समय कम्बोडियाले धेरै उन्नति गरेको सूर्यांश बताउँछन् । ‘त्यहाँको अवस्था पनि नेपालकै जस्तो छ । त्यहाँका युवाहरू पनि बाहिर गएर भविष्य खोजिरहेका हुन्थ्ये । तर त्यो देशमा टोयोटाको एसम्बल प्लान्ट बन्यो, उक्त प्लान्टमा हजारौं मानिसले रोजगारी पाएका छन् । उनी नेपालमा पनि यस्तो अवसर दिनसक्यो भने नेपाली युवा विदेशीनु नपर्ने बताउँछन् । यसका लागि निजी क्षेत्रले काम गर्न निकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् । भिजनरी बुबाको साथ सूर्यांशको बुबा सुरज पाँच बजे नै उठ्छन् । ७ बजे अफिस पुगिसक्छन् । बुवाबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको सूर्यांश बताउँछन् । कम्युनिकेशन, प्यासन्स, भिजन उनी सबैभन्दा यी तीनकुरा बुवाबाट सिक्न निकै आवश्यक रहेको सुनाउँछन् । अमेरिकाबाट फर्केपछि उनले सुरुमा मार्केटिङबाट काम थाले । त्यसमा आमाले साथ दिइन् । तर अमेरिकामा सिकेको कुरा नेपालमा लागू कठिन भयो सूर्यांशलाई । यतिबेला फेरि बुबा सुरज वैद्यले साथ दिए । उनी भन्छन्, ‘बुवाको त्यस्तो भिजन कहाँबाट आउँछ, मैले अहिलेसम्म बुझ्न सकेको छैन, बुवाले मलाई काम गर्ने राम्रो ठाउँ र अवसर दिनुभएको छ । म त्यो मानेमा निकै भाग्यमानी हुँ।’
विषालु हावाका कारण ४० प्रतिशतले बढे बिरामी
काठमाडौं । केही दिनदेखि निसास्सिएको काठमाडौं उपत्यकाले शुद्ध सास फेर्न पाएको छैन । विशुद्ध अर्थात विषालु हावाले धुम्मिएको उपत्यकाभित्र बसोबास गरिरहेका हरेक नागरिक अहिले अस्वस्थ सास फेरिरहेका छन् । विश्वको वायु गुणस्तर मापन एयर क्वालिटी इन्डेक्स एक्युआई सूचकांकअनुसार नेपालको काठमाडौं सहर केही दिनदेखि अत्यधिक प्रदूषित सहरमा परेको छ । जसका कारण अधिकांश नागरिकलाई अहिले आँखा बिझ्ने, श्वासप्रश्वासका समस्या हुने, खोकी लाग्ने समस्याले सताएको छ । कचौरा आकारको उपत्यकामा जम्मा भएको प्रदूषण सितिमिति हट्न गाह्रो हुने विज्ञहरू बताउँछन् । मौसमविद् प्रतिभा मानन्धर हिजोअस्तिको भन्दा मौसम खुलेपनि अझै प्रदूषण कायम रहने बताउँछिन् । उनी भन्छिन्, ‘तत्काल ठूलो पानी पर्ने, हावा चल्ने सम्भावना छैन, यसो नहुँदा प्रदूषण उस्तै रहनेछ ।’ उपत्यकाको यस्तो अवस्थाले बालबालिका, वृद्धवृद्धादेखि युवा उमेरका नागरिकको स्वास्थ्यमा असर परिरहेको छ । देशका विभिन्न ठाउँमा लागेको डढेलो, उपत्यकामा सञ्चालित इँटाभट्टा, सवारीसाधनको धुवाँले उपत्यकाको यस्तो अवस्था आएको विज्ञहरू बताउँछन् । उपत्यकामा प्रदूषण बढ्दा अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्या लिएर आउने गरेको चिकित्सकहरूले बताउँछन् । कुन अस्पतालमा कति बिरामी ? प्रदूषण बढेसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । देशभरका बिरामी उपचार गर्न पुग्ने वीर अस्पतालमा केही दिनयता बिरामीको चाप निकै बढेको छ । दैनिक हजार बढी बिरामी उपचारको लागि पुग्ने अस्पतालमा अहिले दुई हजार बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । प्रदूषण बढेपछि वीरमा ओपीडीतर्फ १० प्रतिशत बिरामीको संख्या बढेको छ भने इमरजेन्सीतर्फ १५ प्रतिशत बिरामीको चाप बढेको बताइएको छ । अस्पतालका सूचना अधिकारी सीताराम खड्काका अनुसार वायु प्रदूषण बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । उनले अस्पतालमा आउने धेरै जसो बिरामी श्वासप्रश्वासका समस्या लिएर आउने गरेको बताए । सूचना अधिकारी खड्काले अस्पतालमा बिहीबार एकै दिन २ हजार ४ सय ३१ जना बिरामी अस्पताल पुगेका बताएका छन् । वीर अस्पतालको छातीरोग विभाग प्रमुख डा. प्रज्वल श्रेष्ठले पहिलेको भन्दा बिरामीको संख्या अझ बढेको बताए । उनी भन्छन्, ‘अहिले बिरामीको संख्या बढेको छ, दम तथा दीर्घ बिरामीहरूको अवस्था पनि नियन्त्रण बाहिर गएको छ ।’ यो विभागमा अहिले ३० देखि ४० प्रतिशत बिरामी बढेको डा. श्रेष्ठले बताए । ‘यो अवस्था निक खतरा हो,’ डा. प्रज्वल भन्छन्, ‘अस्पताल पुग्ने धेरै जसोलाई घ्यार्रघ्यार्र हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिरहेका छन् ।’ उता महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा पनि बिरामीको चाप उत्तिकै बढेको छ । दैनिक १ हजार ८ सय देखि २ हजार जना बिरामी उपचारको लागि आउने गरेकोमा अहिले संख्या बढेर २ हजार ५ सय पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा आउने आधिकांश बिरामी श्वासप्रस्वास र रुघाखोकीका रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिरामीको संख्या बढेको जानकारी दिए । अस्पतालको छातीरोग इकाइका प्रमुख डा. निरज बमले पहिलेभन्दा अहिले श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताए । उनका अनुसार अहिले दैनिक २ सयदेखि तीन सय बिरामी यो समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार अहिले डेढ सय देखि दुई सय सम्म बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा पुगेका अधिकांश बिरामीमा श्वासप्रश्वासको समस्या रहेको जनाइएको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालमा पनि बिरामीको सख्या बढेको छ । अस्पतालका अनुसार प्रदूषणका कारण श्वासप्रस्वासको समस्या लिएर आउनेको संख्या पहिलेको भन्दा केही बढेको छ । अस्पतालका सूचना अधिकार भाष्करकुमार दासले ओपीडी र इमरजेन्सीमा आउने बिरामीको संख्या दिनहुँ बढ्दै गइरहेको बताएका छन् । पहिला यस्तो थिएन काठमाडौंको कलंकीका हरि महर्जनलाई केही वर्षदेखि काठमाडौं उपत्यकाको मौसम देखेर अचम्म लाग्छ । हिउँदमा पानी नपर्ने, वर्षामा अत्यधिक गर्मी हुने अनौठो अनुभव गर्दै आएका उनी केही वर्षदेखि उपत्यकामा बढ्ने वायु प्रदूषण देखेर अचम्म लागेको बताउँछन् । उमेरले ७५ वर्ष पुगेका उनी उहिलेको काठमाडौं र अहिलेको काठमाडौंमा निकै अन्तर रहेको बताउँछन् । ‘पहिले हरियाली, खेतीपाती भएको ठाउँ थियो, कलकल बग्ने बागमतीको पानी थियो,’ उनी भन्छन्, ‘अहिले जसरी ती जंगल र यहाँको वातावरण नासियो, ठूलठूला घर बने । जबदेखि सहर भयो तबदेखि काठमाडौं नै हरायो, यस्ता समस्या देखिन थाले ।’ कीर्तिपुरकी शिवमाया महर्जनलाई पहिले कीर्तिपुरदेखि काठमाडौं पुग्न घण्टौं हिँड्नुपथ्र्याे । अहिलेको जस्तो न बाटोघाटो थियो, न सवारीसाधन । एक ठाउँबाट अर्को ठाउँ पुग्न पैदलै हिँड्नुपथ्र्यो । उनी कीर्तिपुरबाट काम गर्न कहिले सिंहदरबार भएको ठाउँमा आउँथिन् भने कहिले कालीमाटी पुग्थिन् । उमेर ८० टेक्नै आँटेकी उनलाई अहिले हिँडेर जान न केही काम पर्छ न कुनै खुल्ला ठाउँ नै पाइन्छ । उनलाई अहिले जस्तो कुनै प्रदूषणले उपत्यकाका घाँटी निमोठेको याद छैन । उनी उपत्यकामा मान्छेको चाप र बस्ती बाक्लिएसँगै यस्तो समस्या आएको बताउँछिन् । भन्छिन्, ‘खोइ के हो, के हो, पहिले यस्तो केही सुन्दैनथ्यौं । अहिले के जाति रोग यही आउँछ, प्रदूषण यही बढ्छ कस्तो जमना आयो अचम्मै लाग्छ ।’ अहिले हरि र शिवमाया महजर्न जस्तै उपत्यकाका धेरैजसो बुढापाकालाई यस्तै अचम्म लाग्छ । पहिले हरियाली र खुल्ला जमिन देखेकाहरूलाई अहिले कंक्रिट सहर र यहाँका ट्याँट्याँ टुटु आवाज सुनेर दिक्क लाग्छ । उनीहरू सहरले विकाससँगै विनाश पनि ल्याएको बताउँछन् । किन यस्तो भइरहेको छ ? काठमाडौं उपत्यकामा सवारी चल्न थालेको इतिहास लामो छैन । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि यहाँ मोटर गुडेर आउन सुरु भएको हो । त्योभन्दा पहिले मान्छेले बोकेर ल्याएका सवारी फाट्टफुट्ट चल्थे । अहिले उपत्यकामा यातायातको साधन थेगिनसक्नुको छ । हाल उपत्यकामा बढेको वायू प्रदुषणको मुख्य कारण पनि सवारीबाट निस्केको धुवाँ रहेको विज्ञहरू बताउँछन् । वातावरणविद् भूषण तुलाधर यसका पछाडि धेरै कारण रहेको बताउँछन् । उनी देशभर आगलागीका घटना बढ्नु, उपत्यकामा इँटाभट्टा लगायत कलाकारखानाबाट निस्केको धुवाँसँग सवारीबाट निस्केको धुवाँका कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन्। गाडीको मर्मतसम्भार नहुनु, सार्वजनिक सवारीसाधनमा ओभरलोड हुनु र सडकमा जाम धेरै हुनुको कारण पनि प्रदूषण बढेको उनी बताउँछन् । काठमाडौं उपत्यकाका मान्छेको चापभन्दा बढी सवारी चाप बढ्दै गएको छ । नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जनामात्र छ । तर, काठमाडौंमा भने प्रतिवर्ग किलोमिटर १७ हजार ४ सय रहेको छ । जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै मानिन्छ । यहाँ वार्षिक १४ प्रतिशतको हाराहारीमा यातायातका साधन बढिरहेका छन् । जसरी उपत्यकमा जनघनत्व बढेको छ, त्योभन्दा बढी सवारीसाधनको चाप पनि बढेको छ । वातावरणविद् तुलाधर यही कारण पनि काठमाडौं उपत्यकाको अवस्था यस्तो भएको बताउँछन्। काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलबाट चल्ने सवारी जाँचको लागि तीन ठाउँमा परीक्षण गरिन्छ । काठमाडौंको टेकु, ललितपुरको एकान्तकुना र भक्तपुरको सल्लाघारी गरिने सवारी जाँचमा धुँवामा कार्वन र मोनोअक्साइड र हाइड्रो कार्वन परीक्षण गरिन्छ । तर अधिकांश सवारी परीक्षणबिनै वर्षौं पुराना धुवा फाल्ने गाडी जाँच चलाइराख्दा यस्तो आएको तुलाधर बताउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले पनि उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायातबाट निस्कने धुँवा देखाएको छ । परिषद्ले सन् २००६ र २०१४ मा गरेको अध्ययनअनुसार वायु प्रदूषणको मुख्य कारण यातायात रहेको पाइएको थियो । चिकित्सकको सल्लाह वायु प्रदूषणले व्यक्तिको स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ । बाहिरबाट नाँगो आँखाले नदेखिने ठूला–ठूला कणहरू श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने भएकाले स्वास्थ्यका लागि निकै घातक हुने चिकित्सकहरू बताउँछन् । प्रदूषणले श्वासप्रश्वासदेखि क्यान्सरसम्मका रोगहरू निम्त्याउने गर्छ । पछिल्लो समय गरिएका विभिन्न अध्ययन अनुसन्धानले वायु प्रदूषणका कारण मष्तिष्कघातदेखि हृदयघातसमेत गराउने गरेको पाइएको छ । छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ यस्तो बेलामा सकेसम्म घर बाहिर ननिस्कन सल्लाह दिन्छन् । उनी भन्छन्, ‘हामी काम नपरी बाहिर ननिस्कौं, निस्कनै परेमा माक्स, चस्माको प्रयोग गरी पुरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।’ डा. श्रेष्ठ बिहान र साँझको समयमा प्रदूषणको मात्रा अझ धेरै हुने भएकाले उनी केही दिनसम्म बिहानै उठेर मर्निङवाकमा ननिस्कन सल्लाह दिन्छन् । भन्छन्, ‘यो हावाले कसैलाई फाइदा गर्दैन तर गर्भवती महिला, ६० वर्ष कटेका वृद्धवृद्धा बालबालिका छन् भने हामीले निकै सावधानी अपनाउनुपर्छ ।’
बैंकिङमा सफलतापछि कृषिमा क्रान्ति खोजिरहेका भरतराज
काठमाडौं । ‘बेरोजगारलाई जागिर दिऊँ, पैसा नभएर तड्पिएकालाई थोरै भएपनि सहयोग गरौं, गाउँबाट कामको खोजीमा राजधानीमा आएकाहरूलाई सेटल गरौं,’ यस्तै मनकारी भावना भरतराज ढकालको मस्तिष्कमा घुमिरहन्थे । विद्यार्थी जीवनमा गाउँबाट काठमाडौं आएर उनको कोठामा बसेका साथीभाइहरूलाई हेरेपछि उनको मनमा यस्तै भावना उब्जिन्थे । तर, यो कसरी सम्भव छ ? उनी आफैलाई प्रश्न गर्थे । फेरि जवाफमा आफैलाई भन्थे, ‘व्यवसाय गर्नुपर्छ ।’ त्यो व्यवसायले हजारौंले रोजगारी पाउन्, लाखौं लाभान्वित बनुन् । त्यही मानसिकताका साथ ढकाल अगाडि बढे । स्याङ्जा पुतली बजारमा जन्मिएका उनले कक्षा १० सम्मको पढाइ उतै पूरा गरे । उनी थप अध्ययनका लागि काठमाडौं आए । त्यतिखेर व्यवस्थापनमा विद्यार्थीको आकर्षण थियो । उनले पनि व्यवस्थापन नै पढ्ने योजना नबनाएका होइनन् । तर, गाउँका एक जना काकाले सबैले व्यवस्थापन पढिरहेका छन्, अब तिमी अंग्रेजी पढ भनेर सुझाव दिएपछि उनको योजना बदलियो । उनले मानविकीमा भर्ना भए । पढाइमा अब्बले थिए भरतराज । गाउँमा हुँदा प्राचार्य बन्ने इच्छा जाग्थ्यो ढकालमा । तर, सहर पसेपछि रहर र सपना फेरिए । उनको दैनिकी फेरियो । विगत स्मरण गर्दै उनी भन्छन्, ‘पढाइमा अब्बल थिएँ, धेरैले तिमी परारष्ट्रको तयारी गर भनेर सल्लाह दिन्थे तर मलाई सरकारी जागिर खाने इच्छा थिएन, बरु व्यवसाय गर्नुपर्छ भन्ने थियो ।’ काठमाडौंमा जागिर नगरे त्यति सहज थिएन । त्यही समयमा ढकालले पढ्दै काम गर्दै योजना बनाए । काठमाडौंमा पढ्दै गर्दा एभरेष्ट क्यासिनोमा काम सुरु गरे । कमाइ राम्रै हुन्थ्यो । तर, उनलाई अरूको अण्डरमा काम गर्ने जाँगर चलेन । केही समयपछि काम छोडे । अब आफ्नै व्यवसाय गर्नुपर्छ भनेर योजना बनाए । देशमा सहकारी संघसंस्थाको चर्चा थियो । उनले पनि सोही समयमा सहकारी खोले । त्यतिखरे उनी २६ वर्षका थिए । सहकारीको नाम थियो रोयल कोअपरेटिभ । सहकारीको शाखा विस्तार गर्ने क्रममा ढकाल पोखरा गए । पोखराबाट स्याङ्जा गए । रोयल कोअपरेटिभले मात्रै उनलाई पुगेन । विभिन्न सामाजिक संस्थाहरूमा आवद्ध भएर सामाजिक काम गरे । त्यो बेला तत्कालीन विद्रोही माओवादीले स्याङजाका बैंक तथा वित्तीय संस्थाहरूमा आक्रमण गरेर ध्वस्त गरेको थियो । सहकारीमा काम गरेपछि उनलाई बैंक खोल्ने रकर जाग्यो । त्यसपछि खोले बैंक जिल्लामा वित्तीय सेवा नहुँदा सामान्य काम गर्न पोखरा पुग्नुपथ्र्यो । स्याङ्जामा निजी क्षेत्रका कुनै पनि बैंक थिएनन् । ढकालले यही समस्यालाई अवसर ठान्दै बैंक खोल्ने योजना बनाए । विसं २०५७ सालमा आफ्ना काकालाई अध्यक्ष बनाएर राष्ट्र बैंकमा बैंक दर्ता गर्न पुगे । तर, राष्ट्र बैंकले सुरक्षाको कारण देखाउँदै बैक खोल्न दिएन । ‘हामीले सानो रकमबाट बैंक खोल्ने योजना बनाएका थियौं । तर, राष्ट्र बैंकले ५ करोड लगानी गरेर ठूलो संस्था खोल्न भन्यो,’ उनी भन्छन्, ‘हामीसँग पुँजी थिएन, त्यसपछि बैंक खोल्ने योजना रोकियो ।’ उनले हार भने खाएनन् । अब साथीसँग छलफल अगाडि बढाउन थाले । कस्तो बैक बनाउने, कसरी काम गर्ने भन्ने विषयमा साथीहरूसँग अन्तक्र्रिया बढाउन थाले । अन्ततः २०६३ साल पुस २९ गते ढकालले स्याङजा, तनहुँ र कास्की तीन जिल्लालाई केन्द्रित गर्दै मुक्तिनाथ विकास बैंक स्थापना गरे । विसं २०६३ सालदेखि २०७५ सालसम्म उनले बैकको प्रकुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे । कास्कीका नागरिकलाई लक्षित गर्दै सुरुमा मुक्तिनाथ विकास बैंकको स्थापनामा अगुवाइ गरे । २०६३ सालमा स्याङ्जाजस्तो एउटा गाउँबाट सुरु गरेको यो बैंक अहिले अधिकांश सूचकमा नेपालको सबैभन्दा राम्रो विकास बैंकको रूपमा स्थापित भएको छ । बैकिङ क्षेत्रमा भरतराज ढकाल स्थापित नाम हो । स्याङ्जामा सरकारी बैंकले पनि ठूलो कारोबार नगर्ने, कर्जाको झन् कारोबार नै नगर्ने अवस्थामा उनले बैंकिङ कारोबारलाई आम सर्वसाधारणको पहुँचमा प¥याए । आधुनिक बैकिङ, ग्रामीण बैंकिङ, लघुबैंकिङ एकैसाथ सञ्चालन गर्ने भन्ने नारा पनि लगाइन्थ्यो । भरतराज र उनका साथीहरूले २०६६ सालमै कृषिको विषयमा गीत गाएर एल्बम पनि निकालेका थिए । त्यो एल्बमको नाम नै बंैकिङ जागरण अभियान थियो । त्यो गीत बजाउँदै स्याङजा, तनहुँ र कास्की तीन जिल्लामा जहाँ मोटरबाटो छ, त्यहीं पुग्थे उनी । ‘फरक तरिकाले काम गरियो, समूदायले पनि विश्वास गरे,’ ढकाल भन्छन्, ‘बैंकको कार्यक्षेत्र विस्तार गर्दै लगियो । वर्षैपिच्छे हकप्रद सेयर निकाल्दै पुँजी वृद्धि गर्दै गयौं । तीन जिल्लाबाट सुरु, १० जिल्ला हुँदै राष्ट्रिय स्तरको विकास बैंक बनायौं ।’ त्यो बेला उनले मुक्तिनाथ विकास बैंकमा समुदायको विश्वास जित्न ‘जनता बैंकसँग हैन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारा लगाए । यसले नागरिक खुसी भए । राष्ट्र बैंकलगायत सबैतिरबाट बैंकको नाराको प्रशंसा भयो । तर, तत्कालीन जनता बैंक नेपालले यसको विरोध गरेको उनी स्मरण गर्छन् । ‘जनता बैंकले राष्ट्र बैंकमा गएर लिखित उजुरी ग¥यो,’ ढकाल भन्छन्, ‘त्यो बेला केही झमेला पनि भयो, अब म त्यसबाट सेचत छु, कागजी रूपमा कडा बन्नुपर्दो रहेछ ।’ सुरुमा बैंक खोल्दा उनी हाँसोका पात्र बनेका थिए । ‘बैंक खोल्छुभन्दा धेरैले मजाक ठाने, कतिपयले हौसला पनि दिए । बैकिङ अनुभव छैन, कसरी बैंक चलाउँछस् पनि भने,’ उनी सुरुवाती दिन स्मरण गर्दै भन्छन्, ‘केही साथीले सहयोग गरेपछि बैंक खोल्यौं, त्योबेला दूरदराजमा गएर वित्तीय सेवा दिने बैंक नै मुक्तिनाथ विकास बैंक थियो ।’ बैंकपछि कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको व्यवस्थापकीय र सञ्चालक समितिको नेतृत्व गरिसकेका ढकालका पाइला अहिले कृषिमा लम्किरहेका छन् । मुक्तिनाथ कृषि कम्पनीका नाममा उनले कृषिमा लगानी बढाइरहेका छन् । उनले विसं २०६९ सालमा राष्ट्र बैंकमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीका नाममा मुक्तिनाथ कृषि कम्पनी दर्ता गरेका थिए । यसको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक नै हो । जहाँ बैंकको २२.२ प्रतिशत सेयर लगानी छ । अन्य ९०१ प्रवद्र्धकहरूको ५७.८ प्रतिशत र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणको सेयर छ । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कृषि समूहको यो पहिलो कम्पनी हो । नेपालको कृषि क्षेत्रमा काम गरी नेपालको अर्थतन्त्र सुधार गर्ने उद्देश्यले २०७५ साल भदौ १५ गते यो कम्पनी सञ्चालनमा आएको हो । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीको बजार पुँजीकरण १० अर्ब रुपैयाँ भन्दा बढी छ । १०० रुपैयाँ अंकित सेयर मूल्य हाल करिब १५०० रुपैयाँ छ । केही महिनाअघि यसको मूल्य १९६० रुपैयाँसम्ममा कारोबार भयो । ‘कम्पनी स्थापना भएको ६ वर्ष मात्र भएको छ । अहिले नै कम्पनीले नाफा काएर सेयरधनीलाई लाभांश खुवाउने अवस्था छैन । तर, यस कम्पनीको भविष्यप्रतिको आशा र यसका लगानीकर्ता तथा व्यवस्थापनप्रतिको भरोसा बजारमा गरेको छ,’ प्रबन्ध निर्देशक ढकालले भने । ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ नाराका साथ कृषि क्षेत्रमा नवीनतम् काम यो कम्पनीले गरिरहेको छ । मुक्तिनाथ कृषि कम्पनीका विभिन्न १० वटा सहायक कम्पनीहरू छन् । मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक रहेका छन् । यस्तै, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ आइटेक बैंक, मुक्तिनाथ क्लाइमेट केयर बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ लिमिटेड मुक्तिनाथका सहायक कम्पनी हुन् । उनका अनुसार यी कम्पनी पब्लिक लिमिटेड स्वरूपमा दर्ता भइसकेका छन् । यी कम्पनीले अहिले २ सयजना भन्दा बढीलाई रोजगारी दिरहेको छ । कृषि र यसका सहायक कम्पनीले अबको ५ वर्षमा २५ सय जनालाई रोजगारी दिलाउने योजना बनाएको छ । मुक्तिनाथ कृषि कम्पनीलाई पनि त्यसैगरी देशभर फैलाउने ढकालको योजना छ । बैंकको सुरुवात नै किसानलाई वित्तीय सेवा दिएर सुरु भएको स्मरण गर्दै उनी भन्छन्, ‘नागरिकले सेवा लिँदै गर्दा बैंकबाट लिएको कर्जा कृषिमा लगानी गरेँ, कृषिको उत्पादनलाई बजारीकरणको लागि फेरि मुक्तिनाथ बैंकसँग ठोक्किए र यो बैंकले उहाँहरूको बजारीकरण गर्न विभिन्न निकायसँग छलफल ग¥यो तर सफल भइएन ।’ ‘केही सीप नलागेपछि उनीहरूको उत्पादन आफैले लिन थाल्यौं, किसानहरूलाई झन् विश्वास बढ्यो । मल, बीउ, कृषि उपकरणका लागि उनीहरू सम्बन्धित निकाय खोज्न थाले, हामीसँग किसानको सम्बन्ध थप प्रगाढ भएको छ,’ उनले थपे । ढकाल कृषि कम्पनीलाई नम्बर वान बनाउने योजनामा छन् । ‘जसरी मैले गाउँबाट सुरु गरेको बैंकलाई राष्ट्रको एक नम्बरमा पु¥याएँ, अब कृषि क्षेत्रलाई पनि देशभर फैलाउने योजना छ,’ उनले भने । ‘नीतिमा कृषिको व्यावसायिकरण भनियो, काम मगन्ते तरिकाले गरियो । कृषि भनेको विज्ञान हो । यो अनुसन्धानमा आधारित हुनुपर्छ ।’ बैंकिङ क्षेत्रमा सफलता चुमेका भरतराज ढकाल प्रष्ट विचारका साथ दर्जन कम्पनीको नेतृत्व गर्दै कृषि क्षेत्रको रूपान्तरणमा होमिएका छन् । फरक कम्पनीका फरक काम कतिपयलाई लाग्छ, कृषि भनेको रासायनिक मल धेरै प्रयोग गर्नुपर्ने क्षेत्र हो । तर, नेपालमा रासायनिक मल आउन अति कठिन छ । यसको अन्तर्राष्ट्रिय बजारमा कस्तो चुनौती छ, त्यसको मूल्यको अवस्था के छ भन्ने विषयमा किसानलाई जानकारी नै हुँदैन । आजभोलि रासायनिक मलको प्रयोगले अम्लीय पदार्थ वृद्धि भई माटोको उर्वराशक्ति ह्रास आउने गरेको कुरा आइरहेको छ । मुक्तिनाथ फर्टिलाईजर बैंकले अर्गानिक मल निर्माणका विषयमा काम गरिरहेको छ । स्थानीय स्तरमा मल कसरी बनाउने ? यसका लागि के–के चाहिन्छ ? कसरी बनाउने ? भन्ने विषयमा यसले काम गर्छ । फर्टिलाइजर बैंकले चितवनको भरतपुर महानगरपालिकामा १५ रोपनी जग्गा लिएर फार्म सञ्चालन गरेको छ । यस्तै, नर्सरी बैंकले देशभर रहेका नर्सरी सस्ंथासँग सम्झौता गरेर फलफूलका बोट उत्पादनको काम गरिरहेको छ । यो बैंक आफैले स्याङ्जा र चितवनमा बिरुवा उत्पादन गरिरहेको छ । यस्तै, लाइभस्टक बैंकले पशुपन्छीसँग सम्बन्धित काम गर्छ । उसलाई कस्तो खानेकुरा चाहिन्छ, रोग लाग्दा कसरी उपचार गर्ने लगायत क्षेत्रमा काम गरिरहेको छ । यस्तै, हर्वल बैंकले जडिबुटीका विषयमा काम गर्छ । उत्पादन बढाउने, प्रोसेसिङ गर्ने, गुणस्तर कायम गर्ने, बजारीकरण गर्ने लगायतका काम गरिरहेको छ । त्यस्तै, फुड बैंकले खानाको विषयमा काम गर्छ । आजभोलि नेपालीहरू बिरामी पर्नुको पछाडि खाना नै सबैभन्दा ठूलो कारण हो । धेरै मानिसलाई के खान हुन्छ, के हुँदैन भन्ने थाहा छैन । कुन समयमा के खाने, कुन उमेरमा के खाने भन्ने कुरा समेत थाहा छैन । यो विषयमा जानकारी दिन खाद्य साक्षरता अभियान चलाउन फुड टेक्निसियन राखेर कम्पनीले फूड बैंक सञ्चालन गरिरहेको छ । किसानहरूले काम गर्दा प्रयोग गर्ने कृषि औजारहरूमा अहिले नयाँनयाँ प्रविधिहरू विकास भइरहेका छन् । यी सामग्रीहरू विभिन्न देशबाट आयात भइरहेका छन् । यसलाई मध्यनजर गर्दै मुक्तिनाथ कृषि कम्पनीले कृषि मेसिनरीको काम पनि गरिरहेको छ । कम्पनीले कृषि प्रविधिको प्रयोगलाई प्रर्वद्धन गर्दै कृषिमा उत्पादकत्व वृद्धिका लागि कृषि मेसिनरी सामान बनाइरहेको ढकालले बताए । ‘हामीले नेपालका भू-बनोटको आधारमा सुहाउने मेसिनरी सामग्री निर्माण गरिरहेका छौं, यस्ता सामग्री निर्माणमा धेरैलाई सघाउने उद्देश्यका साथ तालिम पनि दिने काम गछौं,’ उनले भने । अन्य कम्पनीले उत्पादनतर्फ काम गर्छन् भने मुक्तिनाथ टे«डिङ कम्पनीले उत्पादन भएका कृषि उपजको बजारीकरणको काम गर्छ । प्रविधि क्षेत्रमा काम गर्न आइटेक कम्पनीे छ भने अर्को मुक्तिनाथ क्लाइमेट केयर कम्पनी पनि छ । अहिले विश्व समुदायमा बहसको चर्चामा आएको जलवायु परिवर्तनका विषयमा यो कम्पनीले अध्ययन अनुसन्धानको काम गरिरहेको छ । मुक्तिनाथ कृषि कम्पनी र यसका सहायक कम्पनीले नेपालका विभिन्न जिल्लाहरूमा कृषि उत्पादनको क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी उत्पादन तथा सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले सातवटै प्रदेशमा स्थापना भएका प्रादेशिक कार्यालयहरू, २ सय भन्दा बढी वितरण च्यानल र कृषि स्रोत केन्द्रहरूमार्फत देशभरका ७० भन्दा बढी जिल्लामा वस्तु तथा सेवा पु¥याउँदै आएको ढकालको भनाइ छ । युवालाइ आकर्षित गर्न ‘बैंक’ ढकालले हरेक सहायक कम्पनीको पछाडि बैंक थपेका छन् । यो उनले अपनाएको टेक्निक हो । युवालाई कृषिमा आकर्षित गर्ने रणनीति हो । नेपालमा कृषि क्षेत्रमा काम गर्नेलाई हेर्ने नजर अन्य क्षेत्रको तुलनामा पृथक छ । युवालाई जागिर गर्ने रुचि छ तर कृषि गर्ने इच्छा छैन । बैंकमा युवाको आकर्षण छ । त्यही आकर्षणलाई कृषिमा तान्न उनले हरेक कम्पनीको पछाडि बैंक थपेका हुन् । कम्पनीको पछाडि नाम राखेर काम गर्दा भोलिका दिनमा विवादित विषय बन्दैन ? भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘भोलि कुनै नियामक निकाय आयो, यो नामले पनि भोलि कुनै समस्या आयो भने एउटा कुरा हो, नभए त्यसो नहोला, बरु यो नामले युवाहरूको आकर्षण यो क्षेत्रमा बढ्न सक्छ ।’ हाम्रो अर्थतन्त्रको आधार विगतमा कृषि भए पनि यसलाई दुःखको रूपमा हेर्दा आकर्षण नभएको उनको भनाइ छ । बैंकको लोभलाग्दो जागिर छोडेर ढकाल कृषिमा लागे । उनले जसरी बैंकमा मिहिनेत गरे, अहिले कृषि कम्पनीमा गरिरहेका छन् । एक समयको मुक्तिनाथ विकास बैंक अब बैंक मात्र रहेन । यो ग्रुप बनिसकेको छ । ऊसँग बैकसँगै अहिले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ कृषि कम्पनी र यसको १० वटा सहायक कम्पनी छन् । यी सबै पब्लिक कम्पनी हुन् । यी १० कम्पनीमध्ये ९ वटा कम्पनीको २० प्रतिशतका दरले पब्लिकमा सेयर आउँछ । उनी यो ग्रुप धेरै मान्छेले अवसर पाउने ठाउँ बन्न सक्ने धारणा राख्छन् । नेपालमा कृषिजन्य सामग्री ४ खर्ब बढीको आयात हुन्छ । यसलाई रोक्न चाहन्छन् ढकाल । ‘बैंक तथा वित्तीय संस्थाहरूले जसरी निक्षेपकर्ता र ऋणीको बीचमा गएर काम गर्छन्, त्यसरी नै हामीले पनि किसान र उपभोक्तबीचको मध्यस्थकर्ता गर्ने काम थालेका छौं,’ उनी भन्छन्, ‘त्यसैले पनि हाम्रा कम्पनीको नाम नै बैक राखेका हौैं, नाम पनि कार्यविधि बनाएर राखिएको हो, ताकि भोलि बैंक भन्ने शब्दलाई कसैले विवादको विषय नबनाउन् ।’ दुई दशक बैंकिङ क्षेत्रमै बिताएका ढकाल अब बाँकी जीवन कृषिमै बिताउन चाहन्छन् । अझ बढी उनी युवालाई कृषिमा आकर्षित गर्न चाहन्छन् । विसं २०४६ सालअघि नेपालमा सबैभन्दा राम्रो क्षेत्र कृषि नै थियो । सबैभन्दा धेरै संलग्नता पनि यही क्षेत्रमा थियो । किनकि त्यो बेला अहिले जस्तो सबै व्यक्ति पढेलेखेका थिएनन् । तर, मान्छे पढेपछि कृषि गर्न छोडेको उनी बताउँछन् । ‘आजभोलि मान्छेले जागिर गर्न थाले, कृषि गर्नै छोडे,’ ढकाल भन्छन्, ‘जागिर खान थालेपछि मान्छे कृषिबाट पलायन हुन थाले, जुन हाम्रोजस्तो देशका लागि राम्रो होइन । युवाहरू पलायन हुनु देशका लागि राम्रो होइन, यसले पछि समस्या ल्याउँछ । त्यसैले म कृषिमै जोड दिएर युवाहरूलाई यो क्षेत्रमा आकर्षित गराउन खोजिरहेको छु ।’ उनका अनुसार मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा आएको केही समयमै ठूलो नोक्सान बेहोर्नु प¥यो । ‘सरकारले रासायनिक मल आयातका लागि बोलपत्र आह्वान गरेको थियो, मल आयातको टेण्डर हामीले पायौं, जुन मूल्यमा सरकारसँग सम्झौता भएको थियो । कोभिडका कारण अस्वाभाविक रूपमा मूल्यवृद्धि भयो । एलसी खोलिसकेको सप्लायर्सले सामान दिन सकेन, ऊ भाग्यो । त्यो बेला अन्तर्राष्ट्रिय अदालतमा गएर मुद्दा हाल्न सकिने अवस्था पनि भएन,’ उनी भन्छन्, ‘कम्पनीले १० करोड नोक्सान बेहोर्नुप¥यो ।’ कृृषिमा देखिएको सकस नेपालको कृषि क्षेत्रमा विविध समस्या छन् । अहिले हाइब्रिड बीउको आयातमा समस्या देखिएको छ । यो बीउनले बालीमा फल नलाग्ने समस्याहरू देखिने गरेको छ । पहिले पहिले किसानहरूले आफूलाई चाहिने बीउ आफै उत्पादन गर्थे । तर, सरकारले अनुदान दिने नाउमा बीउ पनि अनुदान दिन थालेपछि फल नै नलाग्ने समस्या देखिएको उनको भनाइ छ । ‘केही समय पहिले सरकारले मेसिनरी सामानमा बढी अनुदान दिन्थ्यो । तर, आजभोलि बीउ नै अनुदानमा दिन थालेपछि सरकारले किसानलाई थप बिगार्न थाल्यो,’ उनी भन्छन्, ‘बीउ अनुदान दिन सुरु भएपछि किसानले अनुदान नपाउने पीरले बीउ जोगाउन छोडे । तर त्यो बीउ हाम्रो माटो, हावापानी सुहाउँदो भएन जसले गर्दा किसानले लगाएको बालीमा फल नै लाग्दैन ।’ सरकारको गलत नीतिका कारण एकातिर रैथाने बीउ नष्ट हुँदै गएको छ भने अर्कोतिर नेपालमा आएको हाइब्रिड बीउमा ठूलो समस्या देखिएको छ । यो चुनौतीको सामना गर्न कृषि क्षेत्रमा कठिन भएको ढकाल बताउँछन् । ‘खुल्ला सिमाना छ, किसानले पनि बीउ सस्तो खोज्छन्,’ उनी भन्छन्, ‘सस्तो सामान बलियो हुँदैन र बलियो सामान सस्तो हुँदैन, जसका कारण यो समस्या देखिएको छ ।’ कतिपय बीउ हाम्रो हावापानी माटोमा सुहाउँदो खालको हुँदैन । जबसम्म नेपालमा ठूला कम्पनीले नै सरकारबाट लाइसेन्स लिएर विभिन्न रैथाने बीउलाई प्रदान गर्ने र हाइब्रिड बीउलाई नेपालको हावापानी माटो सुहाउँदो तरिकाले उत्पादन गर्दैनन् तबसम्म बीउमा यस्ता समस्याहरू आइरहने ढकालको दाबी छ । नेपालमा अहिले उत्पादन र उत्पादकत्व कम हुने कारण नै एउटा बीउ भएको उनको निष्कर्स छ । अन्तर्राष्ट्रिय बजारबाट असंगठित तरिकाले आयातित बीउ वितरण भइरहेको छ । किसानले खेती नफलेको गुनासो पटक–पटक गर्दा पनि सरकारी संयन्त्रबाट कुनै कडा कारवाही तथा नियन्त्रण नगरेको ढकालको बुझाइ छ । बीउको समस्या गम्भीर बन्दै गएपछि मुक्तिनाथ सीड बैंक स्थापना गरेर काम थालिएको उनले बताए । लोप हुँदै गएको रैथाने बीउलाई जोगाउन सीड बैंकले विभिन्न सहकारीसँग मिलेर बीउलाई समयअनुसार कुन ठाउँमा कुन बीउ उत्पादन गर्ने, त्यसको उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ रिसर्च एण्ड डेभलपमेन्ट विभाग नै स्थापना गरी काम थालिएको उनी बताउँछन् । यसका लागि छुटटै प्राविधिकहरूको समूह छ । रैथाने बीउ प्रवद्र्धनसँगै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न हाइब्रिड बीउलाई नार्कमा लिएर पहिले परीक्षण गर्ने र परीक्षण गरेको बीउ किसानकहाँ पठाउने काम यो विभागले गरिरहेको छ । यसरी वितरण गरिएको कुनै बीउले फल दिएन भने यसका लागि छुटट्ै कोष निर्माण गरी क्षतिपूर्तिसमेत दिने गरेको छ । मुक्तिनाथ सीड बैंकले उत्पादन गरेको बीउमा कुनै कमजोरी भयो भने यसको जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ । एकीकृत कृषि प्राधिकरणको प्रस्ताव नेपालको कृषि क्षेत्रलाई प्रभावकारी बनाउने हो भने राज्यले कृषिसम्बन्धी छरिएर रहेको नीति परिवर्तन गर्नुपर्ने ढकालको तर्क छ । यसका लागि सरकारले एकीकृत कृषि विकास प्राधिकरण बनाउनुपर्ने र त्यो पनि निकै शक्तिशाली हुनुपर्ने उनको राय छ । अहिले उत्पादनका लागि कृषि मन्त्रालय, बजारको लागि हो भने अर्को मन्त्रालय, जमिनको लागि अर्कोतिर जानुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘छरिएका सरकारी संरचना र छरिएको नीतिलाई एकीकृत गरेर जबसम्म प्राधिकरण बन्दैन, तबसम्म यस्ता समस्या रहिरहन्छन् । अब यो कुरामा ध्यान दिनुपर्छ ।’ ढकाल अहिले स्थानीय तह, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकार र विभिन्न सरकारी निकाय, गैरसरकारी संस्थाले कृषि क्षेत्रमा काम गरिरहेको भन्दै त्यसको नतिजा नआएको बताए । उनले यो विषयमा सरकारलाई राय पनि दिइसकेको जानकारी दिए । ‘कृषि भनेको विज्ञान हो । यो अनुसन्धानमा आधारित हुनुपर्छ । हचुवाका भरमा काम गरेर हुँदैन । यो क्षेत्रमा काम गर्ने यस्तो एउटा संस्था बनोस्, जसले निजी क्षेत्रलाई आकर्षित गरोस्,’ उनी भन्छन् ‘नीतिमा कृषिको व्यावसायिकरण भनियो, काम मगन्ते तरिकाले गरियो । यसो गरिनु हुँदैन ।’
खाजा पसलदेखि तीन दर्जन होटल, ५० हजार ऋणबाट अर्बौंका मालिक
काठमाडौं । कुनै काम सुरु गर्दा यसरी लाग्नुहोस् कि तपाईंको मिहिनेत देखेर अरू थाकून् तर आफू थाकेको महसुस नहोस् । तन, मन र धन लगाएर गरेको मिहिनेतले कहिल्यै पछाडि फर्कन पर्दैन । बरु कसरी अगाडि बढ्ने भन्ने आँट र हिम्मत दिन्छ । यस्तै तन मन र हिम्मत लगाएर मिहिनेत गरेका एक सफल उद्यमी हुन् लक्ष्मण न्यौपाने उर्फ चिन्तामणि । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपालमा आतिथ्य सेवा क्षेत्रमा उदाएको मौलिक ब्राण्ड हो, जसले होटल, रेस्टुरेन्ट, क्याफे र रिसोर्टहरू सञ्चालन गर्दै आएको छ । आजभन्दा २६ वर्षअघि एउटा खाजा पसलबाट सुरु गरेको उनको व्यावसायिक यात्रा अहिले पाँचतारेदेखि बुटिक होटलसम्म पुगेको छ । यस चेनभित्र हालसम्म नेपालमा विभिन्न ३३ ठाउँमा होेटल सञ्चालनमा छन् । नेपालभित्र सफल बन्दै गएको यस ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ आफू लागिरहेको उनी बताउँछन् । को हुन् लक्ष्मण ? ५३ वर्षअघि गुल्मीको छत्रकोट गाउँपालिकाको हुँगामा जन्मेका थिए न्यौपाने । ६ जना दाजुभाइमध्ये उनी माइला हुन् । त्यो बेला धन कमाउन जाने एउटै ठाउँ थियो भारत । उनका बुवा भारतमा काम गर्थे । १२ वर्षको उमेरमा उनी पनि भारत पसे । बुवाले भारतको गुवाहाटी भन्ने ठाउँमा खाद्यान्न÷रासनको सामान बेच्थे । न्यौपाने भारत जाँदा उनका बुवाले गाईफर्म सुरु गरेका थिए । जहाँ गाईलाई घाँस काट्नेदेखि दूध दुहेर बेच्ने काम बुवाले गर्थे । त्यही काममा बुवालाई सघाउन थाले उनले । एक पटक बुवाले गाईफर्म बेच्ने योजना बनाएका थिए । तर, उनले त्यसलाई रोके । आफूलाई सानैदेखि आफ्नै काम गर्ने रुचि भएको उनी सुनाउँछन् । उनको परिवार ठूलो थियो । गाउँमा खेतीपाती पनि ठूलो थियो । काम भ्याइनभ्याइ हुन्थ्यो । ‘मलाई खेलेर आनन्द लिएको याद छैन, काम गरेरै आनन्द लिनुपर्थ्याे,’ बाल्यकाल सम्झँदै न्यौपाने भन्छन्, ‘त्यही बानी परेर होला आज पनि मलाई खाली बस्न मन पर्दैन ।’ नाबालकमै भारत छिरेकाले उनी भारतमै हुर्के, बढे । करिब १४ वर्ष भारतमै बित्यो । त्यसमध्ये पनि भारतको गार्डन सिल्क मिल्स कम्पनीमा उनले धेरै वर्ष काम गरे । त्यहाँ उनको मिहिनेत देख्दा कम्पनीका सिनियरले पनि उनलाई माया गर्थे । सबैले विश्वास गर्दथे । ‘त्यहाँ काम गर्दा मैले यति धेरै माया पाएँ कि अहिले जाँदा पनि सिनियरहरू भेट्न आउनुहुन्छ,’ उनी भन्छन्, ‘मैले काम गर्दा कहिल्यै घडी हेरिनँ, मेरो समय सकियो जान्छु भनेर हिँडिनँ, जे काम भेटियो कि गरिहाल्थेँ ।’ श्रम क्षेत्रमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने गरिन्छ । तर, न्यौपानेलाई यस्ता मापदण्ड सही लाग्दैनन् । उनी भन्छन, ‘कसैलाई १५ घण्टा काम गर्न मन होला, कसैलाई ८ घण्टा मात्र काम गर्न मन होला । जसलाई जति काम गर्न मन छ, त्यति गर्न दिए हुन्छ । कार्यसम्पादनका आधारमा उसले प्रतिफल पाउनुपर्छ । मान्छेले श्रम गर्ने समय मेसिनमा झैं सेट गरिनु हुन्न ।’ त्यसपछि फर्किए नेपाल न्यौपानेलाई भारतमै अरूको कम्पनीमा काम गरेर बस्न चित्त बुझेन । नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनी बुवासँगै नेपाल फर्के । त्यो बेला उनी २५ वर्षका थिए । उनीलाई तीन प्रकारका व्यवसाय गर्न मन थियो । पहिलो– ट्राभल, दोस्रो– गार्मेन्ट र तेस्रो– होटल । ट्राभल, गार्मेन्ट व्यवसाय गर्न आवश्यक पुँजी उनीसँग थिएन । त्यसैले थोरै पुँजीबाट चल्ने खाजा–खाना खुवाउने होटलबाट व्यवसाय सुरु गरेको उनी सुनाउँछन् । तर, सामाजिक परिवेशले न्यौपानेलाई होटल खोल्न पनि सहज भएन । ‘ठूलो रेस्टुरेन्ट खोल्न पैसा थिएन, खाजा पसल खोल्दा सबै काम आफैले गर्नुपर्ने, गाउँमा सबै चिनजानका मान्छे हुने, देख्नेहरूले भाँडा माझ्न थाल्यो भन्ने,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘त्यही भएर चिनेका मान्छे खासै नपुग्ने, गाउँघरबाट धेरै टाढा तर नयाँ बजार विकास हुँदै गरेको स्थानमा व्यवसाय थालेँ ।’ विसं २०५४ माघ २७ गते न्यौपानेले सिद्धार्थ फाष्टफुड सञ्चालन गरे टीकापुरमा । पसल सञ्चालनका लागि ५० हजार रुपैयाँ ऋण लिएका थिए । आफूलाई काम सघाउन एकजना सहयोगी त राखेका थिए । तर, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका सबै काम आफैले गर्थे । टीकापुरमा उनको पसल राम्रो चल्यो । त्यसपछि उनलाई अझ मिहिनेत गर्न मन लाग्यो । थप लगानीमा व्यवसाय गर्न उनले ठूलो बजार खोजे र नेपालगञ्ज रोजे । त्यहाँ उनले सिद्धार्थ कटेज सुरु गरे । अब उनलाई एक्लै अघि बढ्न गाह्रो थियो । उनले साझेदार भित्र्याउन थाले । ज्वाइँ मुक्तिनाथ भण्डारी र कृष्ण भण्डारीलाई साझेदार बनाए । लक्ष्मण र ज्वाइँहरू नेपालगञ्जको सिद्धार्थ कटेजमा लाग्दा टीकापुरको सिद्धार्थ खाजा पसलको जिम्मा कान्छो भाइ केशव न्यौपानलेलाई सुम्पिए । एक्लै काम गर्दै आएका न्यौपानेलाई सहयोग गर्ने साथी हुँदा विगतको तुलनामा सहज भयो । त्यहाँ पनि व्यवसाय राम्रो चल्यो । त्यसपछि फेरि अर्को ठाउँ पुग्ने उनको योजना तयार भयो । त्यसपछि उनले सूदुरपश्चिमबाट पूर्वतिर आफ्नो व्यवसाय फैलाउँदै लगे । विसं २०५८ सालमा काठमाडौंको सुन्धारामा होटल सिद्धार्थ सञ्चालनमा ल्याए । विसं २०६० सालमा तीनकुनेमा सिद्धार्थ कटेज, रेष्टुरेन्ट एण्ड बार सुरु भयो । टीकापुर, नेपालगञ्ज, काठमाडौंमा विभिन्न होटेल, रेस्टुरेन्ट सञ्चालनमा आएपछि उनका धेरै ठाउँ व्यापार छरिए । लगानी र शाखा बढेपछि न्यौपानेले कम्पनी ग्रुप दर्ता गर्ने योजना बनाए । विसं २०६१ सालमा उनले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको रूपमा कम्पनी दर्ता गराएर व्यवसाय अगाडि बढाए । पहिले कटेजका रूपमा रहेको नेपालगञ्जको सिद्धार्थ कटेजलाई लक्जरी चारतारे होटलका रूपमा होटल सिद्धार्थ सञ्चालनमा ल्याउन सफल भए । त्यसपछि कर्णाली चिसापानीमा रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याए । व्यवसायले ठूलो फड्को मारेपछि उनलाई हौसला बढ्दै गयो । ५० हजार ऋण निकालेर सुरु गरेको उनको व्यवसाय अहिले अबौँमा पुगेको छ । ठाउँ-ठाउँमा सञ्चालनमा आएको व्यवसाय चल्न थालेपछि उनी टिम निर्माणमा लागे । उनले आफ्ना दाजुभाईलाई पनि आफ्नो व्यवसायमा आवद्ध गराए । अहिले उनको समूहमा वकिलदेखि सिएसम्मका व्यक्ति आवद्ध छन् । यी पनि उनको आफ्नै परिवार र साथीभाइ भित्रका नातेदार हुन् । उनी यहाँसम्म आफू पुग्न एक्लै असम्भव रहेको बताउँछन् । भन्छन्, ‘म एक्लै पुगेको होइन, मलाई लखेट्दै लखेट्दै मेरो टिमले यहाँसम्म पु¥याएको हो, साथीभाइले मलाई, मैले साथीभाइलाई, परिवारले मलाई, मैले परिवारलाई नगरेको भए यो सम्भव थिएन ।’ धैर्यता र मिहिनेत आवश्यक आजभोलि नेपालमा रेस्टुरेन्टमा गएर खानेपिउने क्रम बढेको छ । यही जीवनशैलीभित्र अवसर देखेर सहरी क्षेत्रमा धमाधम रेस्टुरेन्ट खुलिरहेका छन् । तर, लामो समयसम्म टिक्न भने गाह्रो हुन्छ । क्याफे तथा रेष्टुरेन्ट खोल्ने लहर मात्र छैन, एक सर्वेक्षणले साना तथा मझौला होटल र रेष्टुरेन्टहरूको स्वामित्व किनबेच सर्वाधिक देखाएको छ । क्याफे रेष्टुरेन्ट खोल्ने, बेच्ने क्रम उच्च रहेको जानकारहरू पनि बताउँछन् । ‘रहरले मात्र हुँदैन, व्यवसायप्रतिको प्यासन चाहिन्छ, समय दिन सक्नुपर्छ र यसलाई न्याय गर्न सक्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘आफै भान्छामा पस्न सकिन्छ कि सकिँदैन, कस्तो खाना कुन लेबलको बनाइरहेका छौं, त्यो कुरामा पनि सोच्नुपर्छ ।’ नवउद्यमीलाई सुझाव दिँदै उनी भन्छन्, ‘मजस्तो बन्न मन लागेर मात्र हुँदैन, यसका लागि मेरो जत्तिकै संघर्ष गर्नुपर्छ ।’ न्यौपाने रेस्टुरेन्टमा खानेकुरा पकाउँदा कुक सिकेकै हुनुपर्छ भन्ने नहुने बताउँछन् । आफूसँग भएको सीपले जसरी अहिलेसम्म पकाउँदै आइएको छ त्यसरी नै पकाउँदा पनि हुन्छ, किनकि यसो गर्दा स्वादमा फरक आउँछ । ‘मानौं एउटा कुनै कलाकार गीत गाउन गयो त्यहाँ फरक स्वर भएका थुप्रै कलाकार छन् भने एउटाको धोद्रो स्वर पनि नयाँ सुनिन्छ, मासले मन पराउँछन्, खाना पनि यस्तै हो,’ उनी थप्छन्,‘ तपाईंले हृदयदेखि बनाउनुभयो भने यत्तिकै मिठो बन्छ, त्यसप्रति समय दिएर गर्नुहुन्छ भने गर्नुहोस् न भए रहरले कुनैपनि बिजनेस सुरु नगर्नुहोस् ।’ पुँजी ठूलो कि प्लान ? व्यवसायका लागि पुँजी र प्लान दुवै आवश्यक पर्छ । कुनै एकमात्र छ भने पनि राम्रो हुँदैन । ‘पैसा नभइ नहुने पनि हो, सबै पैसा पनि होइन,’ न्यौपाने भन्छन्, ‘पैसाभन्दा ठूलो साथीभाइ, ब्राण्ड हो, अर्को संस्कार हो ।’ कुनैपनि व्यक्तिले होटल, रेष्टुरेन्ट बनाउन सुरु गर्दा सबैभन्दा पहिले पुँजी हुनुप¥यो । होटल भनेको ग्लायमर बिजनेस हो, किनभने यहाँ शो बढी हुन्छ । यसका चुनौती पनि त्यत्तिकै छन् । होटल क्षेत्रमा पहिले एउटा उखान थियो, ‘भए दोब्बर, नभए गोबर’ । त्यो बेला होटलमा खाना मात्र बेच्ने भएर पनि होला । खाना खाने मान्छे आयो भने त दोब्बरै हुन्छ, होइन भने त गोबर । न्यौपाने अहिले पनि लगभग त्यही उखान रहिरहेको बताउँछन् । होटल सञ्चालन गर्नु भनेको चानचुन होइन । ठूलो लगानी हुन्छ । ठूलो पूर्वाधार निर्माण गर्नुपर्छ । चलेन भने सबै डुब्छ । होटल बनाउँदा १० वर्षपछिको बजारलाई पनि पूर्वानुमान गर्न सक्नुपर्ने उनको भनाइ छ । पर्यटकीय विकासको हिसाबले तराईभन्दा पहाडको भविष्य राम्रो भएको उनी बताउँछन् । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको ब्यानरभित्र १. सिद्धार्थ भिलाज बनबास, चितवन २. सिद्धार्थ भिलाज, भैरहवा ३. सिद्धार्थ होटल, नेपालगन्ज ४. सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत ५. सिद्धार्थ बुटिक होटल, बौद्ध ६ सिद्धार्थ होटल ग्रान्ड सिटी, बिर्तामोड ७. सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटा ८. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर ९. होटल सिद्धार्थ कैलाली, टिकापुर १०. होटल सिद्धार्थ, सुन्धारा ११. सिद्धार्थ होटल ग्रीन लुम्बिनी, लमही १२. सिद्धार्थ कुटीज, बुटवल १३. सिद्धार्थ रिसोर्ट, चिसापानी १४. सिद्धार्थ रिभर साइड रिसोर्ट, चुम्लिङटार १५. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट १६. सिद्धार्थ होटल, दमौली १७. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट एण्ड बार, तिनकुने १८. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, धोबीघाट १९. शान्ति सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, नेपालगन्ज २०. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, जैकुटी बुटवल २१. सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वर २२. एस क्याफे, तिनकुने २३. एस क्याफे टुथ, महाराजगन्ज २४. एस क्याफे धोम्बोजी, नेपालगन्ज २५. एस क्याफे लगनखेल, ललितपुर २६. एस क्याफे मनमोहन, काठमाडौं २७. सिद्धार्थ कन्सर्न प्रा. लि. २८. सिद्धार्थ लिंक प्रा. लि. २९. सर्वा टेक्नोलोजी प्रा. लि. ३०. सिद्धार्थ केयर एण्ड रेस्पोन्सिीविलिटी ३१. सिद्धार्थ बायोटिका ३२. सिद्धार्थ एकेडेमिया, भैरहवा ३३. पाथिल होलिडे टिम आवश्यक न्यौपाने आफू यहाँसम्म पुग्नुको पछाडिको श्रेय टिमलाई दिन्छन् । आफूसँग टिम रहेको बताउँदै व्यवसायमा लाग्ने युवाहरूलाई व्यवसायसँगै राम्रो टिम आवश्यक पर्ने बताउँछन् । अहिलेको जमानामा ‘सिंगल अनरसिपमा’ बिजनेश गर्न गाह्रो हुने उनको अनुभव छ । उनको टिममा कृष्ण भण्डारी, मुक्तिराम भण्डारी, इन्द्रलाल न्यौपाने, केशवराज न्यौपाने, पुस्कल न्यौपाने, योगराज न्यौपाने, शेखर ढुंगाना, कृष्ण भण्डारी, कृष्ण न्यौपाने, भीलाल न्यौपाने, किरण रिमाल, ईश्वर पाण्डेलगायत रहेका छन् । टिमभित्र पनि आफूले कसरी नेतृत्व गर्ने भन्नेमा उनी प्रष्ट छन् । उनलाई भीडमा सँगै हिँड्दा ठोकिन्छ भन्ने हेक्का छ । पछि हिँड्न मन छैन । अगाडि जान अरूको भन्दा बढी मिहेनत गर्ने पर्ने उनको निष्कर्ष छ । ‘अरूले राति सपना देख्छन् होला, म दिउँसै कल्पना गर्छु कि म यहाँसम्म पुग्छु भनेर र सोहीअनुसार काम गर्छु,’ उनी भन्छन् । मरेपछि पनि बाँच्ने इच्छा कुनै पनि व्यक्ति सामान्य अवस्थाबाट अलि सम्पन्न हुँदा चाहनाहरू बढ्दै जान्छन् । ब्राण्डेड लुगा लगाउने, चर्चित रेस्टुरेन्टमा खाना खाने, त्यहीअनुसारको गाडी किन्ने सोख हुन्छ । तर, उनलाई खान लगाउन त्यति सोख छैन । ‘खाना पहिलेको भन्दा आधी भइसक्यो, लगाउन पनि उस्तै हो, पहिला पो कसरी राम्रो बन्ने भन्ने हुन्थ्यो अहिले त्यो पनि जाँगर लाग्न छोड्यो,’ न्यौपाने भन्छन्, ‘जस्तो भएपनि पनि चलेकै छ, मलाई ठूलो पुँजी चाहिएको हैन, म मरेपछि पनि बाँच्न चाहन्छु ।’ न्यौपानेलाई एक हप्तासम्म एउटै होटलमा बस्नुभन्दा पनि एक वर्षमा धेरै होटलमा बस्न मन लाग्छ । तर, यो उनको सोख होइन । यसलाई आनन्द लिनुभन्दा पनि फरक–फरक होटलबाट फरक–फरक सिकाइ लिन चाहन्छन् । न्यौपानेले कुनै होटल म्यानेजमेन्ट पढेका होइनन्, विश्वविद्यालयमा बिजनेश वा व्यवस्थापन पनि पढेका होइनन् । बरु उनको शिक्षा स्कुल तहसम्म मात्र हो । तर, उनले विश्वका नामी विश्वविद्यालय पढेर व्यवसायमा लाग्नेको भन्दा राम्रो गरेर देखाइरहेका छन् । आफ्नो सीप विकासको लागि उनले विभिन्न तालिमहरू लिएका छन् । खाना कसरी बनाउने भन्ने बारे कुकको तालिम लिए । अरू उनलाई चाहिने बेसिक कोर्स इन्स्टिच्युटमा गएर सिके । आवश्यकता अनुसार उनी अहिले पनि अनौपचारिक अध्ययन गरिरहेका हुन्छन् । फरक यति हो, उनले कुनै कलेज भर्ना भएर परीक्षा दिएनन् । उनीसँग उच्च शिक्षा हासिल गरेको प्रमाणपत्र छैन । ‘मलाई अहिले पनि पढ्न उत्तिकै रहर लाग्छ,’ उनी भन्छन्, ‘आजभोलि पनि दैनिक ३० पेज पढ्छु । मलाई इतिहास पढ्न बढी रुचि हुन्छ ।’ अबको योजना न्यौपानेको इच्छा सिद्धार्थलाई इन्टरनेशनल ब्राण्ड बनाउने छ । उनी अहिले त्यसैमा कोसिस गरिरहेका छन् । नेपालमा जस्तै विभिन्न देशमा म्यानेजमेन्ट गरेर जाने योजना रहेको उनले बताए । उनी भन्छन्, ‘एफडीआई गरेर पैसा लिएर गयौं भने हामी लगानी गर्न सक्दैनौं । तर, यहाँको म्यानेजमेन्ट लिएर जान मिल्छ, हामी यसैगरी जोडी खोजिरहेका छौँ । ’ उनले यसका लागि इण्डियामा एक/दुई ठाउँ कुरा पनि भइसकेको बताए । उनी आफू मरेपनि सिद्धार्थ जीवित रहोस् भन्ने चाहन्छन् । उनी लोकल ब्राण्ड कमजोर नहुने बताउँछन् । नेपालको कानुनले विदेशमा लगानी गर्न निषेध गरेको छ । विदेशमा लगानी खुला गरेमा आफूहरूले सिद्धार्थ हस्पिटालिटी ब्राण्डको चेन होटल विदेशमा पनि लैजान इच्छुक रहेको उनी बताउँछन् । ‘विदेशमा लगानी गर्न पाएँ भने त मैले नेपाललाई बलियो बनाउँछु नि, लगानी नेपालको हितमा छ कि छैन विज्ञहरूले यो विषयमा छलफल गर्नुप¥यो’, उनी भन्छन्, ‘धेरैले अहिले पनि नेपालका घर बेचेर अस्टे«लिया, युरोपतिर घर किनिरहेका छन्, यो त रोक्न सकिएन । हामीले भन्सार दर बढाउँछौं । तर, चोरबाटोबाट सामानहरू आएर यहाँ धमाधम बेचेका हुन्छौं, त्योभन्दा त भन्सार आधा गरे भइहाल्यो नि ।’ नेपालमा विदेशी ब्राण्डसँग जोडिएर चलेका होटलहरूको भीडमा नेपाली ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसबीजीएच) रफ्तारमा विस्तार भइरहेको छ । २६ वर्षअघि सानो पुँजीमा फाष्टफूड क्याफेबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण न्यौपानेको नेतृत्वमा यस ग्रुपले देशभर २६ स्थानबाट आतिथ्य सेवा प्रदान गर्दै आएको छ । सिद्धार्थ हस्पिटालिटीलाई उच्चस्तरको ब्राण्ड बनाउँदै अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको लक्ष्य छ । ‘म धेरै सम्पत्ति कमाएर आफ्नो छोरा, भोलिको सन्तति बिगार्न चाहन्नँ । सन्ततिले आफै संघर्ष गर्नुपर्छ । म कर्म गर्न आएको हुँ, कर्म गर्ने हो,’ उनी भन्छन्, ‘हामी जन्मँदा मृत्युको सजाय पाएर आइसकेका छौं, धेरै साथीभाइहरू पाँचतारे होटेल खोल्दैछस् कसरी चलाउँछस् भनेर सोध्नुहुन्छ, विश्व मार्केटमा नेपालीहरूले राम्रो कम्पनीमा काम गरिरहनु भएको छ, म उहाँहरूलाई जोड्न चाहन्छु ।’ न्यौपानेको कम्पनीमा दुई हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । जसमध्ये एक हजारभन्दा बढी रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । होटलबाहेक उनले ट्रेडिङ बिजनेशमा पनि हात हालेका छन् । अर्को होटलको सेटअपको काम पनि उनीहरूले गर्छन् । सिद्धार्थ टेकले मोबाइलको आयात गर्छ । गुल्मीमा एग्रिकल्चर फर्म खोलेका छन् । त्यस्तै, ट्राभल र ट्रेनिङ इन्स्च्यिुट सञ्चालनमा ल्याएका छन् । न्यौपानेले होटलको सेयर निष्कासन गर्ने र कम्पनीलाई पब्लिक बनाउने तयारी पनि थालेका छन् । यसका लागि एक चरणको काम सकेर निकट भविष्यमा जाने तयारी गरेको भन्दै उनले सुरुमा पाँचतारे होटललाई आईपीओमा लैजाने योजना रहेको सुनाए । त्यसपछि अन्य कम्पनीलाई एक–एक गरी लैजाने उनको योजना छ । धैर्यतामा जोड अहिले सबै विदेश गए नेपाल खाली भयो भन्ने सुनिन्छ । उनी भने अब बल्ल नेपालको सुध्रने दिन आएको बताउँछन् । ‘ठूलो नेपाली जमात विदेशमा सेटल भइसकेको छ, अझै जाने क्रम छ । अब केही समयपछि आउनेक्रम सुरु हुन्छ । त्यसपछि उसले किराना पसल खोल्दैन, मार्ट खोल्छ । आधुनिक शिक्षा र स्वास्थ्य सेवाको सुरुवात गर्छ । विकास यसरी नै हुँदै जान्छ,’ उनी आशावादी हुँदै भन्छन् । नेपालीलाई लामो समय विदेशमा नबस्न पनि उनले सुझाए । ‘४० वर्षभित्र आफ्नो भविष्यको तयारी गरिसक्नुपर्छ । तर, नेपालीहरूले यही समय विदेशमा गएर फर्किरहेका हुन्छन्,’ उनी भन्छन्, ‘४० वर्षपछि विदेशबाट फर्किँदा काम गर्ने हिम्मत नै आउँदैन । २५ देखि ३५ वर्षको उमेरलाई अत्यन्तै उपयोगी बनाउनुपर्छ ।’ नीतिगत अस्थिरता हुनु, उच्चदरको कर हुनु, उद्यमीप्रति सरकारी प्रशासन सहयोगी नबन्नु नेपालमा व्यवसाय गर्नुको मुख्य समस्या भएको न्यौपानेको बुझाइ छ । तर, चुनौतीसँग लडेर काम गर्नुको विकल्प पनि नभएको उनी बताउँछन् । ‘विदेशबाट आयात गरेको सामान बेच्ने पसलेले १३ रुपैयाँ युनिटको बिजुली पाउँछ । चारतारे होटल भन्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने जस्तो गम्भीर समस्या छन्, यस्ता नीति सुधार गर्न सबैले सरकारलाई दबाब दिनुपर्छ,’ उनी भन्छन्, समस्या छ, चुनौती छ भनेर कहाँ जानु, हामीले यही चुनौतीसँग लडेर काम गर्नुपर्छ । समस्या भएको ठाउँमा सुधार गर्नुपर्छ, देशको बिग्रेको प्रणालीलाई सुधार्दै अगाडि बढ्नुपर्छ । अब यो जिम्मा युवाहरूको हो ।’ पर्यटनबाटै समृद्धि सरकारले नेपालको पर्यटनलाई मात्र ध्यान दिने हो भने नेपालको समृद्धि पर्यटन क्षेत्रबाट हुने न्यौपानेको विश्वास छ । नेपालको पहाडी क्षेत्रमा भूमि र हावापानी बस्नको लागि उत्कृष्ट भएकोले विदेशीलाई जमिन लिजमा दिने र घर बनाएर बस्न मिल्ने नीतिगत व्यवस्था गर्न उनी सुझाव दिन्छन् । यस्तो व्यवस्था भएको विदेशीका धनीहरूका लागि नेपाल आकर्षक भूमि हुने र उनीहरू हरेक वर्ष नेपाल आउने, लामो समय बस्ने र त्यसले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सबैभन्दा ठूलो भूमिका खेल्ने उनको विश्वास छ । मान्छेलाई तान्ने, भिजिट गराउने, पर्यटक बोलाउने भनेको होटल भएको बताउँदै उनी ठाउँ–ठाउँमा होटल खोलिनु राम्रो भएको बताउँछन् । नेपालभन्दा सानो देशहरूले करोडौं पर्यटक भित्र्याइरहेको बेला नेपालले १६ लाख पर्यटक पनि भित्र्याउन नसकेको अवस्थामा सरकारले यस्तो विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । राम्रो बाटोघाटोसहितको पूर्वाधार अभावले पनि पर्यटक नेपाल ल्याउन कठिन भएको उनको ठम्याइ छ । ‘नेपालमा एयरपोर्ट बनायो जहाज उड्दैन, ६/७ वर्षसम्म सय किलोमिटर बाटो बन्दैन, अनि कहाँबाट हुन्छ ?,’ उनी भन्छन्, ‘यहाँ होटलभन्दा बाटोघाटो राम्रो नहुँदा पर्यटक आउन सकेनन् ।’ हिमाल चढ्ने, ट्रेकिङमा जाने एक तहको परम्परागत हिसाबले आउने पर्यटक मात्र आइरहेका बताउँदै न्यौपाने छोटो समयका लागि आएर रमाएर जाने पर्यटकलाई आकर्षण गर्न नसकेको बताउँछन् । नजिकैको छिमेकी भारत तर चीनबाट मात्र ठूलो संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना धेरै भएको उनी सुनाउँछन् ।
सुदूरको छोरो, व्यवस्थापनमा हिरो
काठमाडौं । एउटा गाउँको बालकको मस्तिष्कमा पढाइभन्दा परको कुरा थिएन । साँझ बिहान घरको काम, दिउँसो विद्यालय र कहिलेकाहीँ छुट्टीमा गोठालो यसैगरी बाल्यकाल बित्यो । पहाडका उकाली र ओराली गर्दै गाउँको स्कुलबाटै एसएलसी दिए । जब उनी एसएलसीमा राम्रो नम्बर ल्याएर पास भए । तब उनको यात्रा सहरतिर डोरियो । सहरमा छिरेपछि मस्तिष्कमा पढाइ मात्र रहेन । अब पढाइसँगै मैले केही पनि गर्नुपर्छ भन्ने कुराहरू खेल्न थाले । यही उद्देश्य र लक्ष्यले गाउँबाट सहर हानिएका उनी अहिले शिक्षा क्षेत्रमा परिचित पात्र बनेका छन्, नेपालका अब्बल शिक्षालयको नेतृत्व गरिरहेका छन् । उनी अर्थात् डा.खगेन्द्र प्रसाद ओझा । लेक्चररकै रूपमा काम गरिरहेका भए हामी उनलाई त्रिभुवन विश्व विद्यालयमा भेट्थ्यौं । जागिर होइन आफैं केही गर्नुपर्छ भन्दै उनले पदबाट राजीनामा दिएर शिक्षण पेशासँगै शिक्षण व्यवसायमा पनि हात हाले । उनी आज उत्कृष्ट शिक्षक मात्र छैनन्, देशकै ठूलो शिक्षण संस्थाको कार्यकारी प्रमुख छन् । खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । डा. ओझाको घर सूदुरपश्चिमको डोटी जिल्लामा हो । उनले डोटीकै दिल्पेश्वर माविबाट एसएलसी पास गरे । १६ वर्षको उमेरमै विवाह गरे । पारिवारिक जिम्मेवारी पनि समाले । तर उनी गाँउ छोडेर उच्च शिक्षाको लागि सहर पसे । एसएलसीपछि उनले कैलालीको धनगढीबाट आइकम पास गरे । प्लसटुमा पास मात्र गरेनन्, उनले जिल्लामै सर्वोत्कृष्ट नम्बर ल्याए । त्यसपछि उनी काठमाडौंमा आएर शंकरदेव कलेजमा स्नातकमा भर्ना भए । स्नातकमा उनी नेपालकै बोर्ड छैटौं भए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा एमबीएमा भर्ना भई अध्ययन र अध्यापन दुबैलाई अगाडि बढाए । वि.सं. २०४९ सालमा एमबीए भर्ना भएका उनले वि.सं. २०५१ को सालमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ उपाधि पनि चुमे । एमबीएमा भर्ना भएसँगै उनले कलेजमा पनि पढाउन सुरु गरे । एकातिर काम अर्कोतिर पढाइ । यसैगरी उनको दैनिकी चलिरहेको थियो । खगेन्द्रले त्यही बेला काठमाडौं त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आवेदन खुलेको थाहा पाए । उनले त्यहाँ फर्म भरेर परीक्षा दिए । पहिलो पटकमै उनको नाम निस्कियो । त्यसपछि सुरु भयो उनको सरकारी जागिर त्रिभुवन विश्व विद्यालयमा । वि.सं. २०५३ सालमा उनी लेक्चररको रूपमा त्रिभुवन विश्वविद्यालयमा काम गर्न थाले । त्यो बेला मासिक तलब थियो पाँच हजार रुपैयाँ । बाँकी समय ट्यूसन पढाउँथे । एक घण्टा ट्यूसन पढाउँदा ६० रुपैयाँ पाइन्थ्यो । विगत स्मरण गर्दै उनले भने, ‘काठमाडौंमा अहिलेजस्तो महँगी थिएन, दुई हजारमा फ्ल्याट पाइन्थ्यो, मट्टीतेलले स्टोपमा खाना पकाएर खान्थ्यौं, अहिलेको जस्तो ग्यास थिएन ।’ खगेन्द्रले १७ वर्ष त्रिभुवन विश्व विद्यालयमा पढाए । त्यसपछि उनी विद्यावारिधी गर्न छात्रवृत्ति कोटामा पोल्याण्ड गए । उनले उनले सहश्राब्दी विकास लक्ष्य (मिलिनियम डेभलपमेन्ट गोल) विषयमा पीएचडी गरे । विद्यावारिधी गरिसकेपछि उनी नेपाल फर्के । राजधानी काठमाडौं महंगिदै थियो । खगेन्द्र राम्रो अवसरको खोजीमा थिए । वि.सं २०६० सालमा डनबोस्को कलेजमा संयोजकको रुपमा काम गर्ने प्रस्ताव आयो । तलब मासिक ५० हजार हुने भयो, जुन त्रिविले दिने भन्दा गुणात्मक रुपमा बढी थियो । त्यो बेला कलेजको प्रिन्सिपल थिए तारानाथ शर्मा । त्यहाँ उनी संयोजकको रूपमा काम गर्न थाले । त्यहाँ उनले करिब ७ महिना मात्र काम गरे । खगेन्द्रलाई जागिर गर्दैगर्दा अब आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी भयो उनका दाजु पनि व्यवसाय गरिरहेका थिए । दाजु पनि शिक्षक पेसा छोडेर व्यवसायमा लागेको देख्दा उनलाई पनि त्यतातिर रुचि जाग्यो । ‘व्यवसाय गर्न मन त लाग्यो । तर, पैसा थिएन,’ उनले व्यवसाय सुरु गर्दाका दिनहरू स्मरण गर्दै भने । खगेन्द्र र उनका दुई/तीन जना साथीहरू मिलेर होस्टेल सञ्चालन गर्ने योजना बनाए । योजनाअनुसार उनले साथीहरूसँग मिलेर बानेश्वरमा होस्टेल सञ्चालन गरे । ‘होस्टेल सिज्नल चल्दो रहेछ, कहिले विद्यार्थी हुने, कहिले नहुने, यसमा पनि राम्रो होला जस्तो भएन, फेरि साथीहरूले सल्लाह गर्यौं, त्यसपछि स्कुल नै सञ्चालन गर्ने योजना बन्यो,’ उनले भने, ‘फेरि पनि पैसा थिएन । समस्यामा परेर बिक्रीमा रहेको भ्याली भ्यू स्कुल लिने योजना बन्यो । थोरै लगानीमा स्कूलमा प्रवेश गर्यौं ।’ स्कुल सञ्चालनमा ल्याउँदा खगेन्द्र र उनका साथीले त्यत्तिकै बस्नुपर्यो । किनकि उनीहरूको विज्ञता भनेको कलेज पढाउने थियो । फेरि उनीहरूलाई पढाउने रहर लाग्यो । उनी भन्छन्, ‘स्कुलले पनि नहुँदो रहेछ, किनकी हामीले पनि काम पाउनु थियो, फेरि कलेजको खोजी गर्यौं ।’ कलेज खोज्दै जाँदा ग्लोबल कलेज चलाउन नसकेर बन्द हुने अवस्थामा रहेको खबर सुनियो । पुराना लगानीकर्ता कलेज किन्ने मान्छे खोज्दै थिए । खगेन्द्र लगायतको समूह कलेज किन्ने सोचमा थियो । ‘हामीले कलेज खोजेको कुरा उनीहरुले चाल पाएछन् । यो कलेज चलाइदिनुपर्यो, हामीहरू पनि यही सेयरमा समाहित हुन्छौं भनेर आउनुभयो, त्यसपछि हामीले ग्लोबल कलेज किन्यौं,’ ओझाले भने, ‘त्यसपछि भाडाको घरमा कलेज सञ्चालन गरियो ।’ खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । भ्याली भ्युपछि ग्लोबल कलेज सञ्चालनमा आइसक्दा पनि आर्थिक पाटोमा समस्या नै थियो । आर्थिक समस्या समाधानका लागि उनीरूले एउटा कम्पनी स्थापना गरे । व्यावसायिक यात्राका क्रममा आएका उतार चढावले खगेन्द्रलगायत उनका साथीहरू मिलेर कम्पनी सुरु गरे । कम्पनीको नाम राखे ‘प्रोफेसनल एजुकेटर लिमिटेड । कम्पनी दर्ता गरिसकेपछि त्यसको अध्यक्ष डा पुस्कर बज्राचार्य बने । कम्पनी दर्ता गर्दा एउटा नियम बनाइयो । न्यूनतम ५० हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ सेयर राख्न मिल्ने । त्योभन्दा तलपनि राख्न नमिल्ने र माथि पनि राख्न नमिल्ने । ‘सबै अग्रजहरूलाई आग्रह गर्यौं, उहाँहरू पनि सहमत हुनुभयो, यसरी हाम्रो कम्पनीलाई बामे सार्यौं,’ उनले भने । त्यो कम्पनीमा ठूल्ठूला व्यवसायी तथा पैसावालाहरू आवद्ध भए । अहिलेका अर्थमन्त्री डा.प्रकाशरण महतसहित र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, हामी स्टीलका बालकृष्ण श्रेष्ठ लगायतका ठूला व्यवसायी पनि सेयर साझेदार बने । सुरुमा १०३ जनाबाट १ करोड २५ लाख रुपैयाँ संकलन भयो । यही मोड नै उनको व्यवसायको उदगम् स्थल बन्यो । उनी भन्छन्, ‘म पहिले पनि पैसावाला थिएन, अहिले पनि मसँग पैसा छैन, मेरो काम भनेको समन्वय गर्ने हो, अहिले पनि यही काममा व्यस्त छु ।’ होस्टेल सञ्चालनदेखि स्कुल र कलेजसम्म पुग्दा सुरुमा आर्थिक रूपमा समस्या नै थियो । भनिन्छ नि- ‘व्यवसाय गर्नेहरूसँग दरिलो मुटु चाहिन्छ ।’ किनकि व्यवसायमा घाटा र नाफा भइरहन्छ । कहिले शिक्षकहरूलाई तलब दिन पैसा पुग्दैन थियो । समस्या पर्दा पैसा भएका अग्रजहरूसँग सहयोग माग्ने गरेको उनी सुनाउँछन् । पैसा नभएर ऋण मागेर तलब खुबाएको उदाहरण उनीसँग प्रशस्त छन् । पछिल्लो समय बैंकबाट ८० प्रतिशत कर्जा लिएको पनि उनले सुनाए । विद्यार्थी खोज्न गाउँ-गाउँमा कुनैपनि काम सहज हुँदैन । कलेज सञ्चालन गरिसकेपछि पनि ढुक्क हुने अवस्था रहेन । कलेज सञ्चालनपछि विद्यार्थी आवश्यक पर्यो । आफैं पढाउने, आफै व्यवस्थापन गर्नु पर्दाको अनुभव अर्कै थियो । ती दिनहरूको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यो बेला काममा निकै खटिनु पर्थ्यो, बिहान ६ बजेदेखि राति ६ बजेसम्म खट्थ्यौं, आफै पढाउँथ्यौं, आफैं विद्यार्थी खोज्न जान्थ्यौं ।’ ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्छ, मिहिनेत नगरी केही हुँदैन ।’ खगेन्द्रले कलेज पढ्ने विद्यार्थी खोज्न धुलिखेल र बनेपा लगायत ठाउँका घर-घर चहारे । कसैको घरमा एसएलसी दिएको केटाकेटी छन् भन्ने सुनेपछि उनीहरूको घरमा जाने, अभिभावकलाई कन्भिन्स गरेर विद्यार्थी ल्याउने कार्यमा खगेन्द्रको टिम भिड्न थाल्यो । मिनभवन र शंकरदेव लगायतका कलेजमा गएर पनि त्यहाँका विद्यार्थीलाई आफ्नो कलेजमा पढ्न आग्रह गर्थे । भ्याली भ्यू स्कुल सञ्चालन गर्दा सुरुमा ८० जना विद्यार्थी थिए भने अहिले १६ सय बढी विद्यार्थी छन् । त्यतिबेला ग्लोबल कलेजमा ९०/१०० जना विद्यार्थी थिए भने अहिले कलेजमा तीन हजार विद्यार्थी प्लसटुमा मात्र छन् । सबै विद्यार्थी गरेर करिव ९ हजार विद्यार्थी छन् । विस्तारै जग्गा किन्दै भवनको संरचना निर्माण गर्दै अहिले कलेज १५ रोपनी जग्गामा छ । ‘म आफैं एकाउन्ट फाइनान्स पढाउने हुनाले व्यावसायिक योजना बनाउन सहयोग भयो, बजेट बनाउने काम आफैं गर्थें, योजना बनाएर बैंकलाई ऋणका लागि प्रस्ताव गरेपछि एक्सेप्ट भइहाल्थ्यो,’ उनी भन्छन्, ‘अहिले मलाई सजिलो छ, कतिपय बैंकमा आफ्नै साथी र विद्यार्थी सीईओ छन्, खुसी लाग्छ ।’ सबै स्थायित्व भइसकेपछि अब कम्पनी आईपीओमा जाने तयारी गरिरहेको छ । सुरुमै पब्लिकमा जाने योजना रहेपनि जान नसकेको बताउँदै खगेन्द्रले अब आईपीओमा जाने तयारी भइरहेको बताए । उनी भन्छन्, ‘कम्पनीको नाम पनि पब्लिक लिमिटेड राखेर सेयर मार्केटमा सुचिकरण गर्ने हो, भोलि पब्लिकमा गएपछि पनि अब कम्पनी बन्द हुँदैन भन्ने अवस्थामा त ल्याउनुपर्यो ।’ उनले अबको तीन वर्षभित्र आईपीओमा जाने योजना सुनाए । प्रोफेसनल एजुकेटर लिमिटेडमा ४ जना पब्लिक सेयरधनी र ७ जना प्रमोटर गरी ११ जनाको सञ्चालक समिति छ । कम्पनीमा पब्लिकमा नगएकाले ४ जना पब्लिकको सिट खाली छ भने बाँकी ७ जना निर्वाचित हुन्छन् । कुनै व्यवसाय राम्रो किसिमले अघि बढाउन सबैभन्दा पहिले त्यहाँको व्यवस्थापन राम्रो हुनुपर्ने खगेन्द्र बताउँछन् । उनी त्यसको लागि कसरी कामदारहरूलाई काम गरायो भने काम गर्छन् ? कस्तो वातारवरण दियो भने मोटिभेट हुन्छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँछन् । ‘एउटा त राम्रो पारिश्रमिक दिनुपर्यो, समयमै दिनुपर्यो, व्यवहार राम्रो हुनुपर्यो, कस्तो वातारण तयार पार्ने भन्ने विषयमा नेतृत्व सजक बन्नुपर्छ, तब मात्रै कम्पनी र नेतृत्व पनि सफल हुन्छ’- उनले भने । उनी विद्यार्थीलाई सिकाउँदा ५० प्रतिशत सिद्धान्त र ५० प्रतिशत सीप कसरी सिक्ने भनेर सिकाउनु पर्ने धारणा राख्छन् । यस्तो गर्ने हो भने व्यक्तिले जागिर गरेपनि वा आफ्नै काम गरेपनि राम्रो गर्न सक्ने उनको भनाइ छ । एउटा विद्यार्थीलाई स्कुलदेखि नै उसको जीवनमा चाहिने आधारभूत कुराहरूको सिकाइ विद्यालयबाटै हुनुपर्ने उनको भनाइ छ । हाम्रो शिक्षा जीवन उपयोगी हुनमा चुकेको उनी बताउँछन् । कसरी बन्ने अब्बल व्यवस्थापक ? हाल ‘प्रोफेसनल एजुकेटर लिमिटेड कम्पनी अन्तर्गत युनिग्लोबल स्कुल, काठमाडौं वर्ल्ड स्कुल, जीसीई ए लेवल कलेज सञ्चालित छन् । यी सबै स्कुल तथा कलेजको व्यवस्थापनको जिम्मा उनै डा. ओझाको काँधमा छ । उनले व्यवस्थापनको जिम्मेवारी पाएपछि यी सबैं संस्था अब्बल बनेका छन् । ‘व्यवसायको हिसावले मेरो मुख्य प्राथमिकता शिक्षा हो, मैले विद्यार्थी र शिक्षकसँग राम्रो व्यवहार गर्नुपर्यो, समस्या के छ ? अनुभव के मा छ, उनीहरू के चाहिरहेका हुन्छन् भन्ने कुरामा नेतृत्वले बुझ्न सक्नुपर्छ, त्यो बुझेर समस्याको समाधान गर्ने व्यक्ति नै अब्बल व्यवस्थापक हो,’ उनले भने । ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्यो, मिहिनेत नगरि केही हुँदैन ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’