काठमाडौं-७ र १० मा रास्वपाको अग्रता, कसले कति मत ल्याए ?

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ ।  निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुलीले ४ हजार ६७७ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले ७२० मत प्राप्त गरेका छन् ।  यसैगरी, काठमाडौं-१० मा सोही पार्टीका प्रदीप विष्टले ५ हजार ७६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताइन् । नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गरेका छन् । 

काठमाडौं-१ मा रञ्जु दर्शनाले कटाइन् साढे १० हजार मत, मिश्रले कति पाए ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छिन् । २० हजार ४८८ मत गणना हुँदा उनले सो अनुसार मत प्राप्त गरेकी हुन् ।  यस्तै, नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत र नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत प्राप्त गरेका छन् । 

रसुवामा कांग्रेसको अग्रता

काठमाडौं । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन् ।  यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।