हेभीवेटहरूको गृह प्रदेश कोशीमा २०७९ को मत ट्रेन्ड र २०८२ को चुनावी मोड

काठमाडौं । २०७९ सालको संघीय संसद् निर्वाचनले कोशी प्रदेशको राजनीतिक चरित्रलाई स्पष्ट रूपमा परिभाषित गरेको थियो । समानुपातिक मत परिणामले प्रदेश अझै पनि परम्परागत दलहरूको प्रभावमा रहेको देखाए पनि नयाँ राजनीतिक शक्तिको उदयले भविष्यको चुनावी समीकरण बदलिन थालेको संकेत समेत त्यतिबेलै देखिएको थियो ।  यही पृष्ठभूमिमा २०८२ को आमनिर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशको राजनीति पुनः निर्णायक मोडमा उभिएको छ । कोशी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव योगेश भट्टराई सचिवहरू शेरधन राई र भानुभक्त ढकालको गृह प्रदेश पनि हो । यस्तै, नेपाली कांग्रेसका हेभीवेटहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छेदार, डा. शेखर कोइराला पनि यसै प्रदेशका नेता हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि यही प्रदेशका नेता हुन् । हेभीवेटहरूको गृह प्रदेशको समानुपातिक मत परिणामले नेताहरूको प्रभावसमेत देखाउने भएकाले यस प्रदेशको समानुपातिक मत परिणामको विशेष महत्त्वसमेत रहेको छ । २०७९ को निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत प्राप्त गर्दै समानुपातिकतर्फ पहिलो स्थान हासिल गर्‍यो । यो परिणामले प्रदेशमा एमालेको संगठनात्मक सुदृढता र ग्रामीण र सहरी दुवै क्षेत्रमा फैलिएको मत आधार एमालेको रहेको पुष्टि समानुपातिक मत परिणामले गरेको एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् । नेपाली कांग्रेस ५ लाख ५५ हजार २२७ मतसहित दोस्रो स्थानमा रह्यो । कांग्रेसको मत परिणामले पार्टी अझै पनि बलियो प्रतिस्पर्धी भएको देखाए पनि अघिल्ला निर्वाचनहरूको तुलनामा मत विस्तार गर्न नसकेको सन्देश दियो । गत आम चुनावको भन्दा यसपटक मत बढ्ने आशामा छन् कांग्रेस प्रदेश सभापति उद्धव थापा ।  उनका अनुसार गत निर्वाचनमा भन्दा बढी मत ल्याउने आधार कांग्रेसको एकमना एकता हो । उनी भन्छन्, ‘कोशीमा हामी अभूतपूर्व एकतासहित निर्वाचनमा होमिएका छौं ।’ गत निर्वाचनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश थियो । पहिलो सहभागितामै रास्वपाले २ लाख १४ हजार ८१० मत प्राप्त गर्दै तेस्रो शक्ति बन्न सफल भयो । यसले कोशी प्रदेशमा वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षणलाई देखाउँछ । रास्वपाका स्थानीय नेताहरू यस पटक अघिल्लो निर्वाचनको भन्दा सुधारिएको प्रदर्शन गर्ने बताउँछन् । पार्टीको कोशी प्रदेश समिति सदस्य रहेका निरज कटुवालका अनुसार रास्वपाले कोशीमा राम्रो परिणाम दिनेगरी आन्तरिक रणनीतिहरू तय गरेको छ । त्यसैगरी, यस प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८८ हजार ६८२ मत प्राप्त ग¥यो भने राप्रपाले १ लाख ३० हजार ४०३ मत ल्यायो । यी दुवै दलको परिणामले उनीहरूको मत आधार अझै कायम रहे पनि विस्तारमा चुनौती देखाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा तीन तहको राजनीतिक संरचना देखायो । पहिलो तहमा एमाले र कांग्रेसजस्ता ठूला दलहरू, दोस्रो तहमा रास्वपाजस्तो उदीयमान शक्ति र तेस्रो तहमा तत्कालीन नेकपा माओवादी केन्द्र र राप्रपाजस्ता परम्परागत दलहरू रहेको उक्त निर्वाचनले देखाएको तस्विर हो । यसले प्रदेशको राजनीति अब केवल दुई दलको प्रतिस्पर्धामा सीमित नरही बहुध्रुवीय बन्दै गएको संकेत समेत दिएको स्थानिय विश्लेषकहरू बताउँछन् । बदलिँदो राजनीतिक वातावरण २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरणहरू भोगिसकेको छ । कोशी प्रदेशमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन गर्न सक्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ । एमालेले २०७९ मा प्राप्त गरेको मत अग्रता अझै पनि उसको बलियो पक्ष हो । तर २०८२ तर्फ जाँदा पार्टीले केही चुनौतीहरू पनि सामना गरिरहेको छ । सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र रास्वपाको बढ्दो प्रभावले एमालेको समानुपातिक मतमा स्थिरता वा हल्का गिरावट आउन सक्ने अनुमान स्थानीय नेता तथा कार्यकर्ताको छ । तर बलियो संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत आधारका कारण एमाले अझै पनि पहिलो स्थानको मुख्य दाबेदार रहने देखिन्छ । कांग्रेसले कोशी प्रदेशमा उल्लेख्य मत आधार जोगाइरहेको छ । तर पार्टीभित्रको गुटबन्दी, नयाँ मतको कम आकर्षणले कांग्रेसको मत विस्तारलाई चुनौती दिएको छ । यस प्रदेशमा रास्वपाको प्रवेशले एमालेलाई भन्दा कांग्रेसलाई प्रभाव पार्न सक्ने कांग्रेसको आँकलन रहेको छ । यस प्रदेशमा कांग्रेसले संगठन सुदृढीकरण, स्पष्ट राजनीतिक एजेन्डा र युवा मतदातासँग संवाद गर्न सके मात्र मत वृद्धि सम्भव देखिन्छ । अन्यथा २०७९ को स्तर वरिपरि सीमित हुने वा केही घट्ने सम्भावना प्रबल छ । २०८२ को निर्वाचनमा सबैभन्दा धेरै चर्चा हुने दल रास्वपा हुने संकेत देखिन्छ । २०७९ मा पाएको २ लाखभन्दा बढी मत पार्टीको आधार मात्र नभई सम्भावनाको संकेत थियो । कोशी प्रदेशका सहरी क्षेत्र, शिक्षित युवा र पुराना दलप्रति असन्तुष्ट मतदातामा रास्वपाको प्रभाव बढ्दो छ । यही कारण २०८२ मा रास्वपाले समानुपातिक मत उल्लेख्य रूपमा बढाउन सक्ने विश्लेषण गरिँदै आएको छ । यदि यही ट्रेन्ड कायम रह्यो भने रास्वपा एमाले र कांग्रेस दुवैका लागि निर्णायक चुनौती बन्न सक्छ । राप्रपाको अवस्था भने फरक देखिन्छ । राजसंस्था र सांस्कृतिक मुद्दाको उठानले राप्रपाले २०८२ मा मत हिस्सा विस्तार गर्ने अवसर देखिरहेको छ, विशेषगरी ग्रामीण र परम्परावादी मतदातामा उसले मत विस्तार गर्न सक्ने देखिन्छ । २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा परम्परागत शक्तिको वर्चस्व देखाए पनि २०८२ तर्फ जाँदा त्यो संरचना केही हल्लिन सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । एमाले र कांग्रेस अझै पनि यस प्रदेशका मुख्य शक्ति हुन् । रास्वपा निर्णायक ‘स्विङ फ्याक्टर’ बन्न सक्छ । यस प्रदेशमा माओवादी कमजोर रहेको र वर्ष २०८२ को निर्वाचनमा अझ कमजोर बन्न सक्छ । यता राप्रपा भने विस्तारको खोजीमा रहेको देखिन्छ । यस अर्थमा कोशी प्रदेश अब दुई दलीय प्रतिस्पर्धाबाट बहुध्रुवीय राजनीतितर्फ निर्णायक चरणमा प्रवेश गरेको छ, जहाँ २०८२ को निर्वाचनले प्रदेशको आगामी राजनीतिक मार्गचित्र कोर्नेछ । यो प्रदेशको मत परिणामले नेतृत्वको परीक्षणसमेत गर्नेछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।  सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।  उनका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८००  मतपत्र छपाइ सम्पन्न भएको हो ।  भण्डारीले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य आजदेखि सुरु भएको समेत जानकारी दिए ।  अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने उनको भनाइ छ । उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८००  मतपत्र छपाइ गर्ने कार्य सम्पन्न गरिसकेका छौं । र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र आजबाट छपाइ सुरु भएको छ । यो छपाइ कार्य १५ दिनभित्र सकिन्छ ।’ भण्डारीले अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने पनि बताए ।

आमनिर्वाचन २०८२ : पाल्पामा पुराना शक्ति आमने-सामने, नयाँ दलको सीमित चुनौती

काठमाडौं । पाल्पा जिल्ला पश्चिम नेपालको पहाडी राजनीतिमा प्रभावशाली जिल्लाका रूपमा चिनिन्छ । लामो समयदेखि  नेकपा एमाले र नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धा रहेको पाल्पामा पछिल्ला निर्वाचनहरूमा मतदाताको व्यवहारमा स्थिरता देखिएको छ । २०७९ को आमनिर्वाचनले पुराना दलहरूमाथि दबाब बढ्दै गएको देखाए पनि नयाँ शक्तिहरू हस्तक्षेपकारी भएको संकेत पाल्पामा देखिएको थिएन । तर नयाँ राजनीतिक विकल्पप्रति सीमित तर उल्लेखनीय आकर्षण देखाएको संकेत भने गरेको थियो ।  पाल्पा जिल्लामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा लामो समयदेखि कांग्रेस र एमाले बीचको प्रतिस्पर्धा रहँदै आएको छ । ग्रामीण क्षेत्रको बाहुल्यता र परम्परागत मताधारका कारण यहाँ मतदाताको झुकाव तुलनात्मक रूपमा स्थिर देखिन्छ । सिंगो पाल्पामा २०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले दुई दलबीच सीमित रह्यो भने तत्कालीन नेकपा माओवादी केन्द्र र अन्य साना दलहरू सहायक भूमिकामा देखिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघिल्लो निर्वाचनमा तुलनात्मक कमजोर रहे पनि यस निर्वाचनमा उसको उपस्थिति यस क्षेत्रमा कस्तो रहन्छ भन्ने विषयले निर्वाचनको परिणाम प्रभावित हुने पाल्पाका राजनीतिक विश्लेषक भगवान भण्डारी बताउँछन् । पाल्पाको १ नम्बर निर्वाचन क्षेत्र तुलनात्मक ग्रामीण क्षेत्र हो भने दुई नम्बर निर्वाचन क्षेत्र तानसेन नगरपालिकासहितको सहरी क्षेत्र हो । पाल्पाका दुवै निर्वाचन क्षेत्रको परिणाम हेर्दा नेकपा एमालेले जित हासिल गर्दै आएको देखिन्छ । अघिल्लो निर्वाचनमा पाल्पा १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १०३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए ।  पाल्पा–२ लाई भने जिल्लाकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र मानिन्छ । यहाँ सहरीकरण, वैदेशिक रोजगारीको प्रभाव र युवाको राजनीतिक चेतनाले मतदाताको निर्णयमा भूमिका खेलेको देखिन्छ ।  २०७९ मा मतान्तर साँघुरो रहेकोले यस क्षेत्रलाई स्विङ क्षेत्रका रूपमा समेत व्याख्या गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका ठाकुर गैरेले २८ हजार ७४५ मत ल्याएका थिए । उनलाई पाँच दलीय गठबन्धनमा उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका हेभिवेट उम्मेदवार सोमप्रसाद पाण्डेले २४ हजार ८९९ मतसहित टक्कर दिएका थिए ।  अर्गलीको फाँटदेखि तिनाउको काखसम्म फैलिएको पाल्पामा २०४८ मा तीन निर्वाचन क्षेत्र रहँदा तीनै क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो । ०५१ मा भने एमालेले तीनै सिटमा विजयी हासिल गर्यो । ०५१ को मध्यावधिपछि यस जिल्लामा एमालेले पछाडि फर्केर हेर्नु परेको छैन । ०६५ मा देशैभर तत्कालीन नेकपा माओवादीको माहोलका बाबजुद पनि पाल्पाका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेले निर्वाचन आफ्नो पक्षमा पारेको थियो । पछिल्लो राज्य पुनर्संरचनापछि २०७४ र २०७९ का दुवै निर्वाचनमा जित हासिल गरेको एमाले अहिले पनि जित निकाल्ने रणनीतिमा रहेको छ । आमनिर्वाचन २०८२ मा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दाहोर्‍याएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर २ बाट चर्चित विद्यार्थी नेता ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ भने एकबाट नारायणप्रसाद आचार्यलाई मैदानमा उतारेको छ । कांग्रेसले युवा नेता हिमालदत्त श्रेष्ठलाई दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ । अर्को एक नम्बर क्षेत्रबाट सन्दीप रानालाई मैदानमा उतारेको छ । संघीय निर्वाचनका लागि कांग्रेसका दुवै नयाँ अनुहार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई नम्बर निर्वाचन क्षेत्रबाट वरिष्ठ नेता सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाउँदा निर्वाचन क्षेत्र नम्बर १ बाट होमप्रसाद सुनारी मगरलाई मैदानमा उतारेको छ । पाण्डे ०५१ को आमनिर्वाचनदेखिका अनुहार हुन् भने सुनारी नयाँ अनुहार हुन् । स्थानीय विश्लेषक गाेविन्द भट्टराईका अनुसार पाण्डेको संगठन कमजोर भए पनि उनी हेभिवेट नेता हुन् । सुनारी भने संगठन र व्यक्तित्व दुवैमा कम प्रभावशाली मानिन्छन् । रास्वपाले पाल्पाको दुई नम्बर निर्वाचन क्षेत्रबाट माधवबहादुर थापा र एकबाट विमल पन्तलाई उम्मेदवार बनाएको छ । थापा बुटवलका मेडिकल व्यवसायी हुन् भने पन्त स्थानीय बासिन्दा हुन् । पाल्पामा एमाले र नेकपाबाट पुरानै उम्मेदवार दाहोरिँदा कांग्रेस, रास्वपाका उम्मेदवार भने पहिलोपटक प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको अवस्था कस्तो छ ? पाल्पामा कांग्रेसको संगठन पुरानो र संरचनागत रूपमा बलियो छ । स्थानीय तहमा पहुँच र सामाजिक सञ्जालका कारण कांग्रेसले स्थिर मताधार जोगाउँदै आएको स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन् । कांग्रेसका जिल्ला नेता अजय कर्माचार्यले पाल्पाली जनताले यस निर्वाचनमा स्थिर शक्ति र नयाँ नेता खोजेकोले कांग्रेस मतदाताको रोजाइमा पर्ने दाबी गर्छन् ।  २०४८ पछि उत्साहजनक परिणाम दिन नसकेको कांग्रेस यसपटक नयाँ इतिहास लेख्ने दौडमा धेरै अगाडि बढेको कर्माचार्यको कथन रहेको छ । २०७९ मा कांग्रेसले कुल समानुपातिक मततर्फ कुल ३८ हजार ९०९ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर एकबाट १८ हजार ७५५ र दुईबाट २० हजार १५४ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ । एमालेको अवस्था कस्तो ? एमालेको पकड जिल्लाभर सशक्त देखिन्छ । सांगठनिक अनुशासन र कार्यकर्ता परिचालन यसको मुख्य शक्ति रहेको एमाले नेता घनेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार एमाले जिल्लाको पहिलो शक्ति हो । अरूको प्रतिष्पर्धा दोस्रो बन्नका लागि भएको दावी उनको छ । पछिल्लो आमचुनाव २०७९ मा गठबन्धनका उम्मेदवारलाई हराएर एमालेले निर्वाचन जितेको थियो । उक्त निर्वाचनमा समानुपातिकतर्फ एमालेको मत ५१ हजार ४३९ रहेको थियो । पाल्पा एकबाट एमालेले २८ हजार ९१० र दुईबाट २२ हजार ५२९ मत प्राप्त गरेको थियो। नयाँ दल तथा स्वतन्त्र उम्मेदवार २०७९ मा पाल्पामा युवामाझ असन्तुष्टि बढ्दो रहेको संकेत नयाँ दलहरूको मत परिणामले देखाएको थियो । तर उक्त निर्वाचनमा समानुपातिकतर्फ १२ हजार ६६२ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न रास्वपा सफल भएको थियो । रास्वपा उपसभापति सुमन गैरे अघिल्लोपटक राखेको बीउ यसपटक फल्ने दावी गर्छन् । उनले भने, ‘दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर दुई जित्छौं, एकमा राम्रै प्रतिस्पर्धा गर्छौं ।’ मतदाता प्रवृत्ति र मुद्दा पाल्पाली मतदाताका प्रमुख चासोका विषयहरू सडक, स्वास्थ्य र शिक्षा, पूर्वाधार कृषि र रोजगारी रहेको पाल्पाको माडीफाँटकी स्थानीय कल्पना काफ्ले बताउँछिन् । उनका अनुसार स्थानीय विकास र बजेट वितरणमा समानतासँगै युवाको विदेश पलायन रोक्ने पहल गर्ने नेतृत्व पाल्पाली जनतालाई चाहिएको छ । काफ्ले पाल्पाली जनताले राजनीतिक दलभन्दा पनि उम्मेदवारको छवि र पहुँच हेर्ने दाबी गर्छिन् । आगामी निर्वाचनको संकेत आमनिर्वाचन २०८२ मा पाल्पामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय राजनीतिक विश्लेषक गोविन्द भट्टराईका अनुसार निर्वाचनको समग्र परिस्थिति एमाले र कांग्रेस वरिपरि नै घुम्छ । नयाँ दलले सीमित क्षेत्रमा मात्र चुनौती दिने संकेत देखिएको भट्टराई दावी गर्छन् । स्थानीय विश्लेषकहरूका अनुसार पाल्पा एकमा एमाले अहिले राम्रो मतसहित अग्रस्थानमै रहने सम्भावना छ भने पाल्पा–२ मा मत परिणाम स्विङ भोटरको प्रवृत्तिमा निर्भर रहन्छ ।