सुनसरी-१ मा त्रिपक्षीय प्रतिस्पर्धा, एमालेको गढमा हर्क र रास्वपाको लडाइँ
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । १६५ निर्वाचन क्षेत्रमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता पनि भइसकेको छ । दलहरूले चुनावी घोषणापत्र बनाउने चटारोमा रहँदा उम्मेदवारहरू भने चुनावी प्रचारप्रसारमा होमिसकेका छन् । यस पटकको निर्वाचनमा सुनसरी-१ लाई पनि धेरैले चासोका रूपमा हेरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका केही वडाहरू सुनसरी–१ मा पर्छन् । बराह क्षेत्र १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । जहाँ धरानका निवर्तमान मेयर हर्क साम्पाङसमेत प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनी मेयर पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा २६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी-१ मा नेकपा एमालेको टीकाराम लिम्बू, नेपाली कांग्रेस पार्टीका सुजेन्द्र गोले तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङ (सरिन), नेपाल मजदुर किसान पार्टीको उम्मेदवार महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्रविक्रम चन्द )का दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीको उम्मेदवार भूपी राई रहेका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज (सूर्यबहादुर) भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीको उम्मेदवार राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, उज्यालो नेपाल पार्टीको डम्बर लावती, नेकपा संयुक्त पार्टीका श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका राय बहादुर विष्ट , जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पाटीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालको डा.रक्षकुमार राई रहेका छन् । त्यस्तै, स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा , चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बूले मनोनयन पत्र दर्ता गराएका छन् । यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग पक्का भएको छ । नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बु, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई र रास्वपाकी उम्मेदवार गोमा तामाङबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको हो । अहिले राई सडकदेखि मतदाताको घरदैलोमा माइक बोकेर मत माग्न थालेका छन् । आफू स्थानीय भएको र धरानमा मेयर हुँदा धेरै विकास गरेको तथा खानेपानी समस्याको धेरै हदसम्म समाधान भएको दाबी गर्दै चुनावी मैदानमा छन् । मुलुक निर्माण गर्न श्रमको अभियानकर्ता आफू रहेको दाबी उनको छ । श्रम गरेरमात्र मुलुक बन्छ भन्ने विश्वास राख्ने राई सांसद बनेर मुलुक परिवर्तन गर्ने हुटहुटीले संसदमा छिर्ने अभिलाषा बोकिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा साम्पाङ्ले २० हजार ८२१ मत प्राप्त गरेका थिए । साम्पाङ्ले स्वतन्त्र उम्मेदवारीको रूपमा धरान उपमहानगरपालिकाका मतदाताहरूको मत पाएर विजयी भएका थिए । यस पटकको निर्वाचनमा भने उनलाई भने सहज छैन । उनले धरानमा लोकप्रिय नाराको नाममा विकास गर्न खोजे पनि धेरै विवादित जनप्रतिनिधिको रुपमा चिनिन्छन् । यो क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका थिए । उनले १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए । यद्यपि २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले सहयोग गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन् । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिनै तामाङ उम्मेदवार बनेकी छन् । उनले चुनावमा राईलाई कडा टक्कर दिएकी थिइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए । त्यसबखत नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उनी उम्मेदवार बनेका थिए । यसपटक भने सबै दलले आ-आफ्नो उम्मेदवारी उठाएका छन् । सुनसरी–१ लाई एमालेको गढ मानिन्छ । विगतका निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेदवार वा एमालेले समर्थन गरेका उम्मेदवार विजयी हुँदै आइरहेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुजेन्द्र तामाङ धरान उपमहानगरपालिका १५ निवासी तथा पार्टीको क्षेत्रीय सभापतिसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका किशोर राई मेयर साम्पाङ्सँग पराजित बनेका थिए । कांग्रेसले १६ हजार ५९ मत प्राप्त गरेका थिए । धरानका पूर्व मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचनमार्फत धरानको सत्तामा कांग्रेस उक्लिएको थियो । मेयरमा तिलक राई २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका थिए । सोही बेला प्राप्त गरेको मत पुनः लिने आशामा कांग्रेसका उम्मेदवार तामाङ् चुनावी मैदानमा छन् । माओवादीको तर्फबाट धरान उपमहानगरको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई राजीनामा दिएर चुनावी मैदानमा छन् । भट्टराई र मेयर साम्पाङ उपमहानगरपालिकामा जनप्रतिनिधि हुँदा विवादमा आइरहन्थे । हालसम्मको प्रचारप्रसार, मतदाताको मनोविज्ञान र विगतको मतको विश्लेषण गर्दा यस क्षेत्रमा नेकपा एमाले, रास्वपा र हर्क साम्पाङबीच प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता छन् । यो क्षेत्रमा १६१ मतदान केन्द्र र ४१ वटा मतदान केन्द्र रहेका छन् ।
नवलपरासी-१ मा ‘हेभीवेट’ भीडन्त, कसले मार्ला बाजी ?
काठमाडौं । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेदवारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या बुझिरहेका छन् । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यसअघिका प्रतिनिधिसभा सदस्य एवं डलर अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यसअघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी चुनावी मैदानमा छन् । यसैगरी, नेकपा एमालेबाट पूर्वसुस्ता गाउँपालिकाका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व नेपाली कांग्रेसका नेता एंव व्यवसायी विक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन् । नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डा सहित बस्ती-बस्तीमा पुगिरहेका छन् । विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् । यसअघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए । चौधरीले २९ हजार ५१९ मत पाउदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए । अघिल्लो पटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो तर अहिले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भीडन्त हुने देखिएको छ । चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा राखेका छन् । त्यस्तै, रास्वपाका विक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् । एमालेका पाण्डेले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन् । जनमोर्चाका उम्मेदवार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यस पटक गिलास चिन्हमा मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्याइरहेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।
काठमाडौं उपत्यकामा कति मतदाता र मतदान केन्द्र थपिए ?
काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख ८५ हजार ३७४ मतदाता पुगेका छन्, जसमध्ये काठमाडौंमा ७ लाख १० हजार ७०८, ललितपुरमा २ लाख ६९ हजार २५६ र भक्तपुरमा २ लाख ५ हजार ४१० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा यसअघि प्रतिनिधिसभाको निर्वाचनमा ६ लाख ५३ हजार ९९८, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ९४ हजार ४३९ मतदाता रहेका थिए । आयोगका अनुसार काठमाडौंमा ५४ हजार ७१०, ललितपुरमा २५ हजार ३७२ र भक्तपुरमा १० हजार ९७१ जना मतदाता थपिएका छन् । काठमाडौंमा पुरुष मतदाता ३ लाख ४४ हजार १९९, महिला ३ लाख ६६ हजार ५०७ र अन्य ७ जना मतदाता छन् । ललितपुरमा महिला १ लाख ३७ हजार ७०७ र पुरुष १ लाख ३१ हजार ५४९ जना मतदाता रहँदा भक्तपुरमा पुरुष ४८ हजार ७४, महिला ५० हजार २७७ र अन्य ५ जना मतदाता रहेका छन् । यसैगरी, काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ५० वटा मतदान केन्द्र थप भएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा ७ सय ७६ मतदान केन्द्र रहेको थियो । ललितपुरमा कुल १ सय ३१ मतदान स्थल रहेको छ । मतदान केन्द्र ३१८ रहेको यसपटक भने २८ वटा मतदान केन्द्र थप गरिएको ललितपुर जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् । भक्तपुरमा जम्मा ७६ मतदान स्थल रहेका छन् । मतदान केन्द्र २ सय ३३ रहेको र ११ मतदान केन्द्र थप गरिएको भक्तपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिए । निर्वाचन आयोगका अनुसार देशभर फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् । यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।