विश्वकप समाप्ति : फुटबलमा नयाँ युग थालनी

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ ।  स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग गरेको आधारमा देखाएका कूल सातवटा पहेँलो कार्डमध्ये सबै कार्ड अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले पाएका थिए । अझ अर्जेन्टिनाका इन्जो फर्नाण्डिजले दोहरो पहेँलो कार्ड पाएबापत रेफ्रीले रातो कार्ड देखाइ मैदानबाट निष्काशित गरेपछि १० खेलाडीमा सीमित हुनुपरेको साविकको विजेता अर्जेन्टिनाले हार समेत ब्यहोर्नुपर्यो तर स्पेनका खेलाडीहरुले भने खेल अवधिभर कुनै कार्ड प्राप्त नगरी अनुशासनको उच्चतम नमूना प्रस्तुत गरेका थिए । खेल अवधिभर विपक्षी अर्जेन्टिनाविरुद्ध पूर्ण दबाब दिन सफल स्पेनको टिमले उत्कृष्ट रणनीति प्रदर्शन गर्दै विश्व विजेता बन्न सफल भएको थियो । स्पेनका खेलाडीहरुले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलगायतका प्रभावशाली खेलाडीहरुलाई प्रारम्भदेखि अन्त्यसम्म एकोहोरो निगरानीमा राख्न सफल हुनु नै आफ्नो टिमको विजयको कारक बन्न पुग्यो । स्पेनको रक्षा पङ्क्तिदेखि अग्रपङ्क्तिका खेलाडीहरुले लगातार खेल आफ्नो नियन्त्रणमा राखिरहेको अवस्थामा अतिरिक्त समयको एक सय छ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गरेका थिए । स्पेनको टिममा खेल कुनै खेलाडी विशेषमा निर्भर नरही सामूहिक रुपमा उचित भूमिका निर्वाह हुनुले नै टिमलाई विजयको भागीदार बनाएको अनुभव गरियो ।  स्पेनको रक्षापङ्क्तिको प्रशंसा जति गरे पनि कमी हुन्छ । रक्षापङ्क्ति बलियो हुनुको कारण नै स्पेन यसपालिको विश्वकपमा सबैभन्दा कम गोल खाने उदाहरणीय टिम बन्न पुगेको छ । समूहमा चरणमा कुनै पनि गोल नखाएर अपराजित यात्रा थालेको स्पेनले क्वाटरफाइनलमा मात्र बेल्जियमको एक गोल खाएको थियो । सो खेलमा स्पेनले बेल्जियमलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । स्पेन सेमी फाइनलमा फ्रान्सलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो । स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टिमको सक्षम नेतृत्व गरेबापत सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डेन बल प्रदान गरिएको थियो । स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाएबापत उत्कृष्ट गोल किपरका रुपमा गोल्डेन ग्लोभ प्रदान गरिएको थियो भने रक्षापङ्क्तिका कुर्बासीलाई सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका थिए ।   स्पेनले पहिलोपटक सन् १९३४ मा इटालीमा आयोजित दोस्रो फिफा विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिखेर स्पेन क्वाटर फाइनलसम्म पुगेको थियो । स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा एकपटक विश्वकप जितेको थियो । स्पेनले हालसम्म १७ पटक विश्वकपमा सहभागिता जनाएको भए पनि दुईपटक मात्र फाइनलमा पुग्न सफल भएको थियो । विश्वभर अत्यधिक रुचाएका खेलाडी नियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना विश्वकपमा अनवरत यात्राको क्रममा साबिकको विजेताबाट उपविजेतामा खुम्चनुप¥यो । अर्जेन्टिनाको पराजयको कारणमा आक्रामक खेल खेल्न नसक्नु नै देखियो । अग्रपङ्क्तिका खेलाडीहरुले विपक्षीको गोल पोष्टमा आक्रमक रुपमा अघि बढ्न खासै अवसर जुटाउन सकेनन । सामान्य पासिङमा समेत तालमेल मिल्न सकेको थिएन । विशेषतः स्पेनको तुलनामा अर्जेन्टिना कमजोर देखिएको थियो ।   अर्जेन्टिना यसपटक सातौँ चोटी विश्वकप फुटबलको फाइनलको यात्रा निरासामा परिणत भएको छ । अर्जेन्टिनाले विश्वकप फुटबलमा पहिलो प्रतियोगितादेखि लगातार सहभागिता जनाउँदै आइरहेको हो । सन् १९७८ मा पहिलोपटक आफ्नै गृहमैदानमा नेदरल्याण्डसलाई पराजित गर्दै विश्वकप जितेको अर्जेन्टिनाले सन् १९८६ मा तत्कालीन पश्चिम जर्मनीलाई हराएर उपाधि कब्जा गरेको थियो । त्यतिखेर अर्जेन्टिनाका कप्तान डियगो म्याराडोनाले इङ्गल्याण्डविरुद्ध गरेका आकर्षक गोललाई शताब्दीकै उत्कृष्ट गोल मान्ने गरिएको छ । सन् २०१४ को विश्वकपमा फाइनलमा पुगेर पनि जर्मनीसँग पराजित भएको अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा सन् २०२२ मा फ्रान्सलाई हराएर ३६ वर्षपछि पुनः उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिना इङ्गल्याण्डलाई सेमीफाइनलमा एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो । अर्जेन्टिनाले  विश्वकपका प्रारम्भिक चरणदेखि नै लगातार जित हात पार्दै विशिष्ट पहिचान बनाउन सफल भएको थियो । समूह चरणको कुनै पनि खेलमा पराजय नभोगेको अर्जेन्टिनाले त्यसपछिका नकआउट चरणमा पनि लगातार जित हासिल गर्दै सहजै अन्तिम खेलसम्म पुग्न सक्यो । मेस्सीले यसपालिको विश्वकपमा अल्जेरियाविरुद्ध पहिलो ह्याट्रिक गर्ने खेलाडीका रुपमा कीर्तिमान स्थापित गरेका थिए । विश्वकप अवधिभर उनले कूल आठ गोल गरेका थिए ।   करोडौँको पुरस्कार  यसपटकको विश्वकपमा सन् २०२२ को विश्वकपको तुलनामा पुरस्कारको राशिमा वृद्धि गरिएको थियो । फिफाले हालसम्मकै सर्वाधिक राशि पुरस्कारको व्यवस्था गर्दै कूल पुरस्कारका लागि ८७ करोड १० लाख अमेरिकी डलर छुट्याएको थियो । विश्वकप विजेता टिमले पुरस्कारबापत पाँच करोड डलर पाएका छन् । यसअघि कतारमा विश्वकप विजेता टिम अर्जेन्टिनाले चार करोड २० लाख डलर पुरस्कार पाएको थियो । यसपालिको दोस्रो टिमले तीन करोड ३० लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो टिमका लागि दुई करोड ९० लाख डलर तथा चौथो टिमका लागि दुई करोड ७० लाख डलर पुरस्कारको व्यवस्था रहेको छ ।  फिफाले विश्वकपको तयारीका लागि ४८ वटा प्रत्येक टिमलाई १५ लाख डलर प्रदान गरेको थियो । त्यस्तै क्वाटरफाइनल पुगेका प्रत्येक टोलीले एक करोड ९० लाख डलर पाएका थिए । यसअघि समूह चरण खेलेका प्रत्येक टोलीले ९० लाख डलर, राउण्ड अफ बत्तीसमा पुगेका प्रत्येकलाई एक करोड १० लाख डलर तथा राउण्ड अफ सोह्र पुगेका प्रत्येक टिमले एक करोड ५० लाख डलर प्राप्त गरेका थिए ।    असम्भव गोल विश्वकपका सन्दर्भमा थुप्रै गोल भएका छन् जसले फुटबलको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ तर केही यस्ता गोल पनि भएका छन् जुन गोललाई स्वयं फुटबल विज्ञहरुले पनि असम्भव गोल मानेका छन् । फिफाले नर्वेका एन्टोनियो नुसाले इङ्गल्याण्डविरुद्ध गरेको गोललाई असम्भव गोलका रुपमा मनोनयन गरेको छ । उनले नर्वेका गोलकिपर जोर्डन पिकफोर्डलाई झुक्याउँदै बक्सको कठिन कुनाबाट स्पिन गराउँदै सिधै गोलपोष्टको जालीभित्र छिराएर गोल गरेका थिए ।  केप भर्डे टिमका रक्षापङ्क्तिका खेलाडी सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा गरेको गोललाई पनि यो प्रतियोगिताको कठिन गोल मानिएको छ । अर्जेन्टिनाका जुलियन अल्भारेजले स्विजरल्याण्डलाई अतिरिक्त समयमा बक्स बाहिरैबाट प्रहार गरेको बल गोलमा परिणत गरेर सबैलाई चकित बनाइदिएको थिए । सर्वाधिक गोलकर्ता फ्रान्सका स्ट्राइकर एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाउन नसके पनि विश्वकपको इतिहासमै सर्वाधिक गोल गरेको कीर्तिमानसहित गोल्डेन बुट जितेका छन् । उनले विभिन्न विश्वकपमा गरी हालसम्मकै सबैभन्दा बढी २२ वटा व्यक्तिगत गोल गरेका छन् । उनले यसपटकको विश्वकपमा मात्र १० गोल गरेका थिए । उनले पछिल्लो दुई गोल इङ्गल्याण्डविरुद्ध गरेका थिए तर सो खेलमा फ्रान्स चार गोलका विरुद्ध छ गोलले हार्न पुगेको पुगेको थियो ।    मैदानमा रुवावासी विश्वकप फुटबल प्रतियोगितामा पराजय भइसकेपछि विभिन्न टिमका खेलाडीहरुको रुवावासी साँच्चिकै नरमाइलो क्षण बन्न पुगेको थियो । हालसम्मका सबै विश्वकपमा भाग लिई पाँचपटक उपाधि जितिसकेको ब्राजिलको हारले समर्थकहरुलाई ज्यादै निरास बनाएको थियो । ब्राजिलका विश्व प्रसिद्ध खेलाडी नेयमार आफ्नो टिम विश्वकपबाट बाहिरिएको अवस्थामा रोएको क्षण अत्यन्त नरमाइलो थियो । घाइते भएर लामो समयसम्म मैदानबाट बाहिर रहेका नेयमार विश्वकपको प्रतिस्पर्धामा फर्किदा पनि रोएको देखिएको थियो । पछिल्लो पराजयपछि नेयमारजस्ता प्रभावशाली खेलाडीलाई आगामी दिनका महत्वपूर्ण प्रतियोगितामा देख्न पाइने हो कि होइन फुटबल समर्थकहरुमा चिन्ता थपिएको छ ।  अधुरो सपना यसपटकको विश्वकप आफ्नो अन्तिम विश्वकप हुने सार्वजनिक घोषणा गरिसकेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको आफ्नो मुलुकलाई एकपटक विश्वकपको उपाधि दिलाउने सपना पूरा हुन सङ्केन । रोनाल्डोले आफूले खेलेका छवटै विश्वकपमा लगातार गोल गर्न सफल भई विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको रुपमा कीर्तिमान कायम गरे तापनि आफ्नो टिमलाई विश्व विजेता बनाउने सपना भने पूरा गर्न सकेनन् ।  विश्वकपमा उनको कूल गोल सङ्ख्या ११ पुगेको छ । उनले यसअघि युरोकप, नेशन्स लिग, च्याम्पियन्स लिगजस्ता महत्वपूर्ण फुटबल प्रतियोगिता जिते पनि विश्वकपमा नकआउट चरण जित्न त्यति सहज हुन सकेन । पोर्चुगलले विश्वकपमा हालसम्म तेस्रो स्थानभन्दा ठूलो उपाधि जित्न सकेको छैन ।   उदाहरणीय टिम  अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले पहिलोपटक विश्वकपमा छनोट भएर पनि सबैको मन जित्न सफल भयो । करिब पाँच लाख ६० हजार जनसङ्ख्या भएको सानो राष्ट्रको टिमले अन्य टिमलाई दिएको चुनौती प्रशंशनीय थियो । अर्जेन्टिनाजस्तो बलियो टिमलाई अतिरिक्त समयसम्म चुनौती दिनसक्नु यो टिमको सानो सफलता थिएन । अन्तिममा पनि आत्मघाती गोलका कारण यो टिम बाहिरिएको थियो । यसअघि स्पेनसँग गोलरहित बराबरी खेलेर केपभर्डेले विश्वकै ध्यान आफ्नो टिमतर्फ केन्द्रित गरेका थिए । केपभर्डे टिमले खेलेका सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै धेरै गोल बचाएर केप भर्डे टिमका ४० वर्षीय गोलकिपर भोजिन्हा उदाहरणीय खेलाडी बन्न पुगेका थिए ।      ‘तिमीलाई सम्झिरहनेछौँ’ विश्वकपमा खेल कौशल प्रदर्शन गरेर दर्शकहरुलाई प्रभावित बनाएका एक खेलाडीलाई प्रतियोगिता समाप्त नहुँदै गुमाउनुपर्दा फुटबलप्रेमीहरु अत्यन्त दुःखित भएका थिए । दक्षिण अफ्रिकाका एकजना खेलाडीले पराजयपछि घर फर्किएलगत्तै मृत्युवरण गरेको समाचारले सबैलाई स्तब्ध बनायो । दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा लैजान महत्वपूर्ण भूमिका खेलेका २५ वर्षीय खेलाडी जेडेन एडम्सको आफ्नो गृह मुलुकमा फर्केलगत्तै दुःखद् निधन भएपछि विश्वकपका खेलमा खेलाडीहरुले मौनधारण गरेका थिए । केपटाउनस्थित निजी निवासमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।  विश्वकपमा प्रतिस्पर्धा गरिरहँदा उनकी हजुरआमाको निधन भएको भए पनि उनले राष्ट्रको लागि खेललाई निरन्तरता दिएका थिए । विश्वकपमा दक्षिण अफ्रिकाले मेक्सिको, चेक गणतन्त्र र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्दा उनी मैदानमा सक्रिय देखिएका थिए । प्रतियोगिताको सहआयोजक क्यानडासँग पराजित भएपछि दक्षिण अफ्रिकी टिम स्वदेश फर्केको थियो ।        हारेर पनि जितेकाहरु  विश्वकप फुटबल केही टिमले हारेर पनि दर्शकहरुको मन जितेका छन् । यस्ता टिममा इजिप्ट अग्रपङ्क्तिमा रह्यो । बोस्निया हर्जगोभिनाले पहिलोपटक नकआउट चरणमा पुगेर बाहिरिनु परे तापनि दर्शकहरुको अपार समर्थन पाउन सफल भएको थियो । यस्तै केही अफ्रिकी टिमले देखाएको खेल प्रदर्शनबाट अफ्रिकी मुलुकको आगामी दिनमा राम्रो सम्भावना भएको आकलन गर्न सकिन्छ । अफ्रिकी टापु केपभर्डे टिम पहिलोपटक नकआउटमा पुगेर आफ्नो आकर्षक खेल देखाएको थियो । विशेषगरी अर्जेन्टिनासँगको खेलका क्रममा यो टिमले मैदान कब्जा गरेर नतिजा आफ्नो पक्षमा ल्याउन कोशिस गरेको थियो ।  कङ्गो पनि दर्शकहरुको मन जित्न सफल टिमहरुमध्ये परेको थियो । घरभित्रको कुरा नेपाली फुटबल प्रेमीहरुले विश्वकपको अन्तिम चरणमा निःशुल्क फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाएर राहतको महसुस गरे तर खेल अवधिमा केही समय विद्युत् आपूर्ति बन्द हुँदा दर्शकहरु निरास बन्न पुगे । सरकारी च्यानल एनटिभी प्लसले फाइनल र तेस्रो स्थानका लागि भएको खेलको कुनै शुल्क नतिरेरै हेर्ने व्यवस्था मिलाएको थियो । यसअघि दर्शकहरुले निजी क्षेत्रको टेलिभिजनमा शुल्क तिरेर मात्र विश्वकप हेरिरहेका थिए । स्थापनादेखि नै नेपाल टेलिभिजनले विश्वकप फुटबल निःशुल्क रुपमा प्रदर्शन गर्दै आइरहेको थियो । आगामी दिनमा यस्तो महत्वपूर्ण खेलकुद प्रतियोगिता निःशुल्क रुपमा प्रदर्शनका लागि सरकारी सक्रियता अपेक्षित मानिएको छ ।  नेपालमा विश्वकपको अत्यन्त ठूलो प्रभाव परेको देखियो । बजारमा टेलिभिजनको बिक्री ह्वात्तै बढ्न गयो । होटल, रेष्टुरेण्टले फुटबल देखाएरै उल्लेखनीय व्यापार गरे । कयौँ नेपाली विश्वकप हेर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर प्रतियोगितास्थलमै समेत पुगेका थिए । मुलुकभित्र मध्यरातको समयमा पनि फुटबल हेर्नेको सङ्ख्यामा कुनै कमी देखिएन । बाटोमा विभिन्न टिमका जर्सी लगाएर हिँड्नेहरु थुप्रै देखिन्थे, जसमध्ये अर्जेन्टिनाका कप्तान मेस्सीको नाम अङ्कित १० नम्बरको टिसर्ट लगाउनेको सङ्ख्या उल्लेख्य रहेको थियो । समग्रमा विश्वकै लामो खेलकुद प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबलले संसारभरका खेलप्रेमीहरुलाई एक सूत्रमा बाँध्दै विश्वबन्धुत्वको भावना अभिवृद्धिका लागि महत्वपूर्ण अध्याय स्थापित गरेको छ । विश्वकपका सन्दर्भमा विभिन्न १६ वटा रङ्गशालामा ३९ दिनसम्म सञ्चालन गरिएका १०४ खेलले भिन्दाभिन्दै भूगोल, संस्कृति तथा  परिवेशमा रहेका मानिसलाई अझ नजिक बनाउँदै यो फुटबल प्रतियोगिताले नयाँ युगको थालनी गरेको छ ।  यस प्रतियोगितामा अत्यन्त प्रतिस्पर्धात्भक खेलको माध्यमबाट विश्वकप विजेता चयन गरिनुका साथै अन्य विविध विश्व कीर्तिमान कायम भएका छन् । विश्वकपका सन्दर्भमा परम्परागत दाबेदार टिमहरुको छिट्टै पराजयजस्ता अप्रत्याशित नतिजा पनि देखिएका छन् । अपेक्षा नगरिएका टिम तथा चर्चामा नआएका कयौँ प्रतिभाशाली खेलाडीहरुको उचित खेल प्रदर्शन विश्वकपको विशेषता बनेको छ । विज्ञान तथा प्रविधिको उच्चतम विकासलाई खेलसँग जोडने सत्प्रयासले फुटबलमा नयाँ युगको थालनी भएको महसुस गरिएको छ ।   विश्वकपमा पहिलोपटक धेरै मुलुकले खेल्ने अवसर पाए जसले समग्र विश्वकै फुटबलको विकासमा महत्वपूर्ण योगदान पुगेको अनुभव गरिएको छ । विगतमा सीमित शक्तिशाली टिमहरुको मात्र बाहुल्यता रहने गरेको विश्वकपमा यसपटक साना मुलुकका टिमहरुले समेत देखाएको प्रसंशनीय खेलबाट आगामी दिनमा प्रतिस्पर्धा अझ बढ्नसक्ने अपेक्षा गर्न सकिन्छ । समग्रमा फिफा विश्वकप २०२६ ले जुन इतिहास कायम गरेको छ, जसले फुटबलको विश्वव्यापी मैदानलाई अझ फराकिलो बनाउँदै लगेको छ । यसबाट निकट भविश्यमा विश्वको जुनसुकै कुनामा बसेका फुटबलप्रेमीहरु पनि लाभान्वित हुनसक्ने कुरामा आशावादी हुन सकिन्छ । रासस

पुँजी बजार सुधारको अबको बाटो

विगतमा नेपाल धितोपत्र बोर्डसँग आबद्ध नहुँदा पनि नेपालको पुँजी बजारसँग सम्बन्धित विभिन्न विषयमा संसदीय समिति उपस्थित भएको थिएँ । संसदले पुँजी बजारलाई गम्भीर रूपमा हेरेर अभिभावकत्व प्रदान गरिरहेको अनुभव भएको छ । हामीले पुँजी बजारलाई कहाँ पुर्याउने, कस्तो बनाउने र कुन दिशामा अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोणसहित पुँजी बजारको मार्गचित्र सार्वजनिक गरेका छौँ । त्यसमा विद्यमान कमजोरी (ग्याप) पहिचान गर्ने र तिनको समाधान गर्ने विषयलाई पनि समेटिएको छ । अर्थतन्त्रमा पुँजी बजारको योगदान के हो, विश्वव्यापी रूपमा नेपालको पुँजी बजारको अवस्था कहाँ छ, विभिन्न मुलुकका पुँजी बजार नियामक संस्थाहरूले कस्ता अभ्यास अपनाएका छन् भन्ने विषयको अध्ययन गरेका छौँ । यसले हाम्रो पुँजी बजारका कमजोरी पहिचान गर्न सहयोग पुगेको छ । ती कमजोरी हटाउँदै आधुनिक, प्रतिस्पर्धी, प्रविधिमैत्री र विविधीकरण भएको पुँजी बजार निर्माण गर्ने उद्देश्यले सुधारका एजेन्डाहरू तयार गरेका छौँ । केही सुधार यसै आर्थिक वर्षभित्र र केही आगामी वर्षहरूमा कार्यान्वयन गर्ने रणनीति बनाएका छौँ । धितोपत्र बजार अहिले किन घटिरहेको छ भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । धितोपत्र बोर्ड नियामक निकाय हो । यसको काम बजारका सबै सहभागीका लागि समान र निष्पक्ष अवसर (लेभल प्लेइङ फिल्ड) उपलब्ध गराउनु हो । बजारमा पुँजी जुटाउने र लगानी गर्ने दुवै पक्षलाई समान अवसर प्रदान गर्नु नै बोर्डको दायित्व हो । हाम्रो बजारको प्रवृत्ति भने फरक छ । बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुसी हुन्छन् । आमधारणा नै बजार सधैँ बढिरहनुपर्छ भन्ने छ । सबैले बजार बढ्नैपर्छ भन्ने अपेक्षा राख्छन् । तर बजार धेरै बढेपछि फेरि धितोपत्र बोर्डले किन नहेरेको, किन अनावश्यक रूपमा बढ्न दिएको भन्ने प्रश्न पनि उठ्छ । सामान्य अवस्थामा बजार बढ्नु स्वाभाविक हो । तर बजार ३ हजार अंक पुगे पनि, ३ हजार ५ सय पुगे पनि वा ५ हजार अंक पुगे पनि मानिस सन्तुष्ट हुँदैनन् । किनभने बजारको वृद्धिको कुनै निश्चित सीमा हुँदैन । यद्यपि संसारका कुनै पनि सेयर बजारका सूचकाङ्क सधैँ बढिरहँदैनन् । कुनै न कुनै समयमा बजारमा सुधार (करेक्सन) आउँछ । तर नेपालमा भने ५ हजार अंक पुगेपछि पनि बजार घट्न थाल्यो भने धितोपत्र बोर्डलाई नै घेराउ गरिन्छ । मैले स्वयं आफ्नो जीवनमै पहिलो पटक त्यस्तो घेराउको सामना गरिसकेँ ।  बजार जहिले पनि बढिरहनुपर्ने होइन भन्ने कुरा सबैलाई थाहा छ । तर नेपालको सन्दर्भमा बजार किन बढ्नुपर्छ भन्ने प्रश्नको एउटा मुख्य कारण छ । लगानीकर्ताले सेयर किन्ने उद्देश्य नै प्रतिफल प्राप्त गर्नु हो । निश्चित मूल्यमा सेयर किनिसकेपछि प्रतिफलका लागि त्यसको मूल्य बढ्नुपर्छ । मूल्य नबढी प्रतिफल प्राप्त हुँदैन । त्यसैले लगानीको उद्देश्य नै प्रतिफल प्राप्त गर्नु हो । अब हामी बजार जता गए पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था विकास गर्दैछौँ । अर्थात् बजार घट्दा पनि कसैले प्रतिफल लिन सक्ने र बजार बढ्दा पनि प्रतिफल लिन सक्ने प्रणाली निर्माण गर्ने दिशामा अघि बढेका छौँ । अहिले हामीले प्रयोग गरिरहेको मार्जिन बाइङ एउटा माध्यम हो । सामान्यतया बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले सेयर किन्छन् र मूल्य बढेपछि नाफा कमाउँछन् । तर बजार बढाउने वा घटाउने अधिकार कसैसँग हुँदैन । हामीले कुनै पनि लगानीकर्तालाई बजार बढाऊ वा घटाऊ भनेर निर्देशन दिन सक्दैनौँ । त्यो प्रत्येक लगानीकर्ताको अध्ययन, विश्लेषण, अपेक्षा र स्वविवेकमा आधारित निर्णय हो । अब हामी छिट्टै कार्यान्वयनमा ल्याउने गरी सर्ट सेलिङको व्यवस्था गर्दैछौँ । यदि कुनै लगानीकर्ताले बजार घट्ने अपेक्षा गर्छ भने उसले यो उपकरण प्रयोग गर्न सक्छ । यसमा उसले अहिले बजारमा सेयर सापटी लिएर बिक्री गर्छ । उसको अपेक्षा हुन्छ कि भविष्यमा बजार घट्नेछ र त्यसबेला कम मूल्यमा त्यही सेयर किनेर फिर्ता गर्नेछ । यसरी मूल्यको अन्तरबाट उसले नाफा आर्जन गर्न सक्छ । उदाहरणका लागि, कुनै लगानीकर्ताले ५० रुपैयाँमा सेयर बिक्री गर्यो र पछि त्यसको मूल्य घटेर ३० रुपैयाँमा आयो भने, ३० रुपैयाँमा सेयर किनेर फिर्ता गर्दा उसले २० रुपैयाँ नाफा कमाउँछ । यो उसको बजारसम्बन्धी अपेक्षा र विश्लेषणमा आधारित निर्णय हो । अर्कोतर्फ, अर्को लगानीकर्ताले बजार बढ्ने अपेक्षा गर्न सक्छ । उसले अहिले ५० रुपैयाँमा सेयर किन्छ र भविष्यमा मूल्य ८० रुपैयाँ पुगेपछि बिक्री गरेर नाफा कमाउँछ । यसरी बजारमा दुवै प्रकारका लगानीकर्ता सक्रिय हुन्छन् । एक पक्षले बजार बढ्ने अपेक्षा गर्छ भने अर्को पक्षले बजार घट्ने अपेक्षा गर्छ । त्यसैले अब सबै लगानीकर्ता एउटै धारमा उभिनुपर्ने अवस्था रहँदैन । अहिलेसम्म सबैको अपेक्षा बजार बढ्नैपर्छ भन्ने भएकाले विभिन्न लगानीकर्ता सङ्घ–संस्थाहरू गठन भए, बजार बढाउनुपर्ने माग राखिए र कहिलेकाहीँ नियामक निकायलाई घेराउ गर्ने अवस्था पनि सिर्जना भयो । हाम्रो उद्देश्य भनेको यस्तो बाध्यता हटाउनु हो । बजार जता गए पनि अन्तिम निर्णय लगानीकर्ताकै हुन्छ । सरकारले कसैलाई बजार बढाउन वा घटाउन निर्देशन दिने होइन । अहिले विश्वकप चलिरहेको छ । विश्वकपमा कसले जित्ने र कसले हार्ने भन्ने खेलाडीको प्रदर्शनमा निर्भर हुन्छ ।  फिफाले त खेल सञ्चालनका लागि आवश्यक वातावरण तयार गरिदिन्छ, रेफ्री र लाइन्सम्यानको व्यवस्था गर्छ, नियम बनाउँछ र आवश्यक अनुशासन कायम गर्छ । हामी पनि पुँजी बजारमा त्यही भूमिका निर्वाह गर्छौँ । हामी निष्पक्ष खेल मैदान उपलब्ध गराउँछौँ, तर लगानी गर्ने वा नगर्ने निर्णय लगानीकर्ताकै हुन्छ । अहिले आ–आफ्नो निर्णयका आधारमा गरिएको लगानीका परिणामले हामी, तपाईंहरू र संसद् सबैलाई चिन्तित बनाइरहेको अवस्था छ । लगानीको पहिलो जिम्मेवारी स्वयं लगानीकर्ताकै हुन्छ । तर बजारमा अफवाह फैलाउने, भ्रामक सूचना दिने र गलत प्रभाव पार्ने गतिविधि रोक्न आवश्यक नीतिगत व्यवस्था पनि हामी गर्दैछौँ । हामीले लगानीकर्ताहरूसँग विस्तृत छलफल गर्यौं । उहाँहरूले सुधार गर्नुपर्ने धेरै विषय उठाउनुभयो । अन्त्यमा हामीले सोध्यौँ, ‘लगानी गर्ने वा नगर्ने निर्णय त तपाईंहरूकै हो, त्यसो भए किन लगानी नगर्नुभएको ?’ त्यसपछि उहाँहरूले सम्पत्ति छानबिन र पछिल्ला सरकारी कारबाहीका कारण लगानीकर्ताको उत्साह घटेको धारणा व्यक्त गर्नुभयो । तर हाम्रो दायित्व भनेको प्रभावकारी नियमन गर्नु हो । हामी राम्रो नियमन, प्रभावकारी निरीक्षण र ब्रोकरहरूको नियमित अनुगमन गर्ने दिशामा अघि बढिरहेका छौँ । अहिले एएमएल सम्बन्धी मापदण्ड कार्यान्वयन, ग्रे–लिस्टबाट बाहिरिने तयारी तथा अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने काममा हामी गम्भीरतापूर्वक लागेका छौँ । यी राज्यका प्राथमिक दायित्व हुन् । लगानीकर्ताहरूको मुख्य माग भनेको बजारमा विश्वासको वातावरण निर्माण गर्नु हो । उहाँहरू मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । हामीले पनि उहाँहरूलाई मनोबल बलियो बनाउनु आवश्यक रहेको बताएका छौँ । सरकारले स्थिर नीति लिएको छ । स्वच्छ, पारदर्शी र नियमअनुसार कारोबार गर्ने लगानीकर्तालाई बजारमा स्वागत गरिएको छ । त्यसैले लगानीकर्ताले आफ्नो अध्ययन, विश्लेषण र जोखिम मूल्याङ्कनका आधारमा लगानी गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । केही धितोपत्रसम्बन्धी घटनाका कारण बजारमा देखिएका अनियमितता र स्क्यान्डल कुनै पनि दृष्टिले सकारात्मक होइनन् । ती न संसद्का लागि राम्रो हुन्, न देशका लागि, न लगानीकर्ताका लागि । त्यसैले सरकारले आवश्यक कारबाही गर्दा त्यसलाई बजारप्रतिको नकारात्मक सन्देशका रूपमा होइन, बजारलाई अझ पारदर्शी, विश्वसनीय र सुरक्षित बनाउने प्रयासका रूपमा बुझ्न आवश्यक छ । हामीले सम्बन्धित निकायसँग समन्वय गरेर यस्ता विषयमा आवश्यक निरीक्षण, सुपरीवेक्षण र कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छौँ । प्रि–आइपीओका नाममा हुने चलखेल स्वीकार्य छैन। प्रि–आइपीओ कारोबार कानुनी व्यवस्था बाहिरको विषय हो। यदि त्यस्तो कारोबार भएको प्रमाण भेटिएमा कानुनअनुसार कारबाही गरिनेछ। त्यस्ता कारोबार वैधानिक प्रक्रियाअनुसार हुने लगानी होइनन्। तर राज्यले अनावश्यक हस्तक्षेप गरेको भन्ने आरोप लाग्ने अवस्थासमेत नआओस् भन्नेमा पनि हामी सचेत छौँ। कर्पोरेट क्षेत्रको विकासका लागि हामीले तीन प्रकारका संयन्त्र तयार गरेका छौँ। स्टार्टअपलाई वित्तीय पहुँच उपलब्ध गराउने, साना तथा मझौला उद्योग (एसएमई) लाई पुँजी बजारमा पहुँच दिलाउने र योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउने वातावरण बनाउने हाम्रो योजना हो। आइपीओमा जाने कम्पनी त्यस्ता हुनुपर्छन्, जुन वास्तवमै योग्य, पारदर्शी र सुशासित हुन् । सर्वसाधारण लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गर्ने भएकाले आवश्यक मापदण्ड (स्ट्यान्डर्ड) कायम गरी, कम्पनीलाई थप पारदर्शी बनाउँदै, मूल्य निर्धारणमा पर्याप्त प्रतिस्पर्धा सुनिश्चित गरेर मात्रै योग्य कम्पनीलाई बजारमा ल्याउने व्यवस्था गर्छौँ । हामीले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत अन्य संस्थागत लगानीकर्ताहरूलाई पनि पर्याप्त भूमिका दिने योजना बनाएका छौँ । किनकि पुँजी बजारको एउटा प्रमुख उद्देश्य नै उचित मूल्य निर्धारण (प्राइस डिस्कभरी मेकानिजम) हो । त्यसैले अन्तर्राष्ट्रिय अभ्यास, ओईसीडीका मापदण्ड र आईओएससीओका सिद्धान्तअनुसार आवश्यक सबै प्रावधान पूरा गराएर मात्रै सर्वसाधारण लगानीकर्तालाई त्यस्ता कम्पनीमा लगानी गर्ने वातावरण तयार गर्नेछौँ । हामी पुँजी बजारका उपकरणहरूको पनि विविधीकरण गर्नेछौँ । अब बजारलाई केवल सेयरमुखी क्यापिटल मार्केटमा सीमित राखिने छैन । ऋणपत्रमुखी बजार, डेरिभेटिभ इन्स्ट्रुमेन्टमुखी बजार तथा कमोडिटी फ्युचर्स बजारको पनि विकास गरिनेछ । कमोडिटी फ्युचर्सका लागि आवश्यक नियम–कानुन त हामीले बनाइसकेका छौँ । अब सेयरमा मात्र लगानी गर्नुपर्ने अवस्थाबाट मुक्त गराई लगानीका विभिन्न विकल्प उपलब्ध गराउने दिशामा काम भइरहेको छ । यसका लागि आवश्यक संस्थागत संरचना, प्रविधि र संस्थागत क्षमता विकासलाई पनि सँगसँगै अघि बढाइनेछ । सर्ट सेलिङको व्यवस्था तीन महिनाभित्र लागू गर्ने लक्ष्य राखेका छौँ । यो व्यवस्था नेप्सेमार्फत सञ्चालन हुने भएकाले नेप्सेमा आवश्यक प्रविधि विकास, ब्रोकरहरूले गर्नुपर्ने प्राविधिक तयारी, आवश्यक नियम–कानुन निर्माण तथा अर्थ मन्त्रालयबाट स्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियामा लाग्ने समयलाई ध्यानमा राख्दै हाम्रो तर्फबाट तीन महिनाभित्र आवश्यक तयारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ । त्यसपछि कार्यान्वयनका लागि नेप्से र ब्रोकरहरूसँग आवश्यक समन्वय गरिनेछ । धितोपत्र बोर्डभित्र शून्य सहनशीलताको नीति अपनाइनेछ । चाहे बोर्डभित्र होस् वा बाहिर, कुनै पनि प्रकारका अनियमिततालाई स्वीकार गरिने छैन । पूर्ण रूपमा पारदर्शी प्रणालीमार्फत सबै काम–कारबाही अगाडि बढाइनेछ । चाहे आइपीओसँग सम्बन्धित विषय होस् वा अन्य कुनै नियामकीय प्रक्रिया, सबैलाई पारदर्शी र उत्तरदायी बनाइनेछ । अहिलेका मापदण्डमा देखिएका कमजोरी सुधार गर्दै नयाँ बुक बिल्डिङ निर्देशिका, धितोपत्र निष्कासन नियमावलीलगायत सम्बन्धित सबै कानुनी तथा नियामकीय व्यवस्था पुनरावलोकन गरिनेछ । अन्तर्राष्ट्रिय प्रचलित अभ्यासअनुसार आवश्यक सुधार गरेर मात्रै ती व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । लगानीकर्ता शिक्षाको विषय अझ प्रभावकारी र व्यापक बनाइनेछ । देशभरि सञ्चालन हुँदै आएका लगानीकर्ता शिक्षा कार्यक्रमलाई अझ विस्तार गरिनेछ । किनकि पुँजी बजारका उपकरणहरू उच्च जोखिमयुक्त हुन्छन् । त्यसैले लगानीकर्ताले जोखिमको प्रकृति, सम्भावित प्रतिफल र सम्भावित क्षतिको पर्याप्त ज्ञान तथा अनुभव हासिल गरेपछि मात्र लगानी गर्नुपर्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गरिनेछ । यसलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्ने हाम्रो योजना छ । आइटी तथा नयाँ प्रविधिको विकासमा प्रमुख चुनौती भनेको आवश्यक भौतिक पूर्वाधारको अभाव हो । बोर्डको आफ्नै भवन र जग्गा छैन । सूचना प्रविधिमा ठूलो लगानी गर्न उपयुक्त भौतिक संरचना आवश्यक पर्छ । त्यसैले नयाँ भवन तथा जग्गाको व्यवस्था यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि सूचना प्रविधिमा थप लगानी गर्न सहज हुनेछ । अहिले आवश्यक फिनटेकसम्बन्धी कामहरू भइरहेकै छन् । आगामी दिनमा भवन तथा पूर्वाधार तयार भएपछि प्रविधिमा अझ व्यापक लगानी गर्दै आधुनिक नियामकीय प्रणाली विकास गरिनेछ । यसका लागि सरकार तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय पनि गरिनेछ । लगानीकर्ताको विश्वास (इन्भेस्टर कन्फिडेन्स) बढाउन आवश्यक सबै उपायहरू अवलम्बन गरिरहेका छौँ । लगानीकर्ताको मनोबल अभिवृद्धि गर्न हामीले निरन्तर संवाद भइरहेको छ ।  ब्रोकरलगायत बोर्डले नियमन गर्ने सबै निकायको निरीक्षण तथा सुपरीवेक्षणमा देखिएका कमजोरीका कारण बजारमा समस्या आएको भन्ने गुनासो पनि गम्भीरतापूर्वक लिएको छ । उनीहरूको निरीक्षण, सुपरीवेक्षण, कार्यसम्पादनका मापदण्ड, रिपोर्टिङ प्रणाली, पूर्वाधार तथा सूचना प्रविधि प्रणालीको नजिकबाट अनुगमन गरिनेछ । आवश्यक प्रतिवेदन तयार गरी गर्नुपर्ने सुपरीवेक्षकीय तथा नियामकीय कारबाही पनि अगाडि बढाइनेछ । यसबाट बजारलाई अझ निष्पक्ष, पारदर्शी र स्वस्थ बनाउन सहयोग पुग्ने विश्वास छ । नियामकीय तथा सुपरीवेक्षकीय व्यवस्थालाई अझ प्रभावकारी बनाउने दिशामा बोर्ड प्रतिबद्ध छ । यिनै प्रयासका माध्यमबाट सम्पूर्ण नेपालीले धितोपत्र बजारलाई अझ नजिकबाट बुझ्ने र बजारप्रति आफ्नो विश्वास अझ बलियो बनाउने अपेक्षा छ । नियमन गरिएको, स्वस्थ प्रतिस्पर्धायुक्त र अन्तर्राष्ट्रिय स्तरको पुँजी बजार निर्माण गर्ने दिशामा बोर्ड अघि बढिरहेको छ । क्रमशः नयाँ–नयाँ वित्तीय उपकरणहरू बजारमा ल्याइनेछन् । ती सबै कार्यान्वयनमा आएपछि बजार अझ पारदर्शी, स्वस्थ र अन्तर्राष्ट्रिय स्तरको बन्नेछ । गैरआवासीय नेपाली (एनआरएन) का लागि पनि आवश्यक पूर्वाधार र प्लेटफर्म विकास गर्ने काम अघि बढिरहेको छ । उहाँहरूबाट पनि आवश्यक प्रस्तुतीकरण तथा सुझाव प्राप्त भइरहेका छन् । त्यस्तै, प्राइभेट इक्विटी, म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्ताको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा प्राप्त भएका सबै सुझावलाई कार्यान्वयन हुने गरी नियमावली, विनियमावली तथा निर्देशिकामा आवश्यक संशोधन गरिनेछ । (नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले अर्थ समितिको बैठकमा राखेको धारणा)

पर्यटनमा रणनीतिक बजारीकरणको खाँचो

नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र हिमाली पर्यटनका कारण विश्वभर परिचित देश हो । हिमाल, पहाड र तराईको बेजोड प्राकृतिक सौन्दर्यता तथा उपजहरु, राष्ट्रिय निकुञ्ज, ऐतिहासिक सम्पदा तथा विभिन्न जातजातिका मौलिक संस्कृति नेपालको पर्यटन क्षेत्रका प्रमुख आकर्षण हुन् । यति धेरै सम्भावना हुँदाहुँदै पनि अन्तरराष्ट्रिय बजारीकरण प्रभावकारी हुन नसक्दा अपेक्षित रूपमा पर्यटकको आगमन बढाउन सकिएको छैन । हाल पर्यटकस्तरीय होटलमा करिब ४० लाख शय्या (बेड) छन्, पूर्वाधारमा पनि उल्लेख्य सुधार भएको छ, दुई वटा थप अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइसकेका छन् तर विदेशी पर्यटकको सङ्ख्यामा अपेक्षित सुधार आउन सकेको छैन । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा यो समस्या देखिएको हो ।  गन्तव्यको माग वृद्धिका लागि रणनीतिक, सघन र प्रभावकारी बजारीकरण अपरिहार्य छ ।   कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र विस्तारै पुनर्जीवित हुँदै गएको छ । विदेशी पर्यटकको आगमन बढ्दै गएको छ भने आन्तरिक पर्यटन पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । वर्तमान अवस्थामा पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिए पनि दीर्घकालीन योजना, पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रवाहमा अझै धेरै सुधार आवश्यक छ ।  पर्यटन क्षेत्रलाई दिगो विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन स्पष्ट योजना, प्रभावकारी बजारीकरण योजना तथा कार्यान्वयन र सबै पक्षको साझा प्रतिबद्धता आवश्यक छ । पर्यटन केवल मनोरञ्जनको माध्यम मात्र होइन, देशको आर्थिक समृद्धि, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय छवि सुदृढ गर्ने महत्वपूर्ण क्षेत्र पनि हो । त्यसैले पर्यटनका विद्यमान चुनौतीलाई समयमै समाधान गर्दै सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो । अब के गर्ने त ? आजको विश्व बजारमा परम्परागत ढङ्गले बजारीकरण हुन सक्दैन । पर्चा, पम्प्लेट र ब्रोसर बाँडेर पर्यटक आउने होइन-कुनै समय यिनै प्रचारका मुख्य माध्यम थिए, तर अहिले यसले काम गर्दैन । अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्नुपर्छ । हाम्रा पर्यटकीय उपजहरु सबै एकैखालका छैनन् । त्यसैले कस्ता पर्यटकहरूले कुन उपजहरु अनुभव गर्न चाहन्छन् भन्ने आधारमा लक्षित बजारीकरण आवश्यक छ । सांस्कृतिक, प्राकृतिक एवं साहसिक पर्यटन नै हाम्रो मुख्य आकर्षणका क्षेत्र हुन् । पर्यटकका आ–आफ्नै रुचि, क्षमता र अनुभव हुने भएकाले उनीहरूलाई त्यसैअनुसारको स्वाद चखाउन सक्नुपर्छ । विश्व पर्यटनकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार आज पनि चीन नै हो । झन्डै १७ करोड ५० लाखभन्दा बढी चिनियाँ पर्यटक वर्षेनि विश्व भ्रमणमा निस्कने गर्छन् । त्यसको शून्य दशमलव शून्य एक प्रतिशत मात्र नेपाल आउने गरेको तथ्याङ्क हामी माझ छ । त्यसैगरी त्यस्तै भारतका तीन करोड पर्यटक वार्षिक रूपमा विदेश भ्रमण गर्छन् तर तिनको एक प्रतिशत पनि नेपाल आउँदैनन् । अन्य सार्क देशका पर्यटकको आगमन पनि अत्यन्त न्यून रहेको छ । भूराजनीतिक द्वन्द्वका कारण हवाई यातायात एकदम महँगो र नेपालको लामो दूरीका स्रोत बजारहरुसँगको को सम्पर्क पहुँच (कनेक्टीभिटी) कमजोर भएको परिवेशमा विश्वका दुई ठूला अर्थतन्त्र, जनसंख्या र पर्यटकहरुको उपस्थिति भएका देशहरु भारत र चीन सँगसँगै क्षेत्रीय स्रोत बजारहरुमा नेपालले आफूलाई प्रतिस्पर्धी र आकर्षक गन्तव्यका रूपमा प्रमाणित गर्न रणनीतिक बजारीकरणमा जानैपर्छ ।  नेपाल भ्रमण गर्नुअघि पर्यटकहरूले यहाँका गन्तव्यहरूबारे जानकारी, शान्ति–सुरक्षा, सेवा–सुविधा लगायत विभिन्न सहुलियत प्याकेजबारे चासो राख्ने गर्छन् । सबै पर्यटक यहाँका प्राकृतिक सम्पदा हेर्न मात्र आउँदैनन्‌—कोही सांस्कृतिक सम्पदा र जीवनशैली अनुभव गर्न, कोही थप सुविधा वा सहुलियतका कारण नेपाल भ्रमण गर्न उत्सुक हुन्छन् । त्यसैले सबै खालका पर्यटकलाई आकर्षित गर्न विविध र रणनीतिक बजारीकरण आवश्यक हुन्छ । चिनियाँ पर्यटकहरूलाई आफ्नो देशमा भित्र्याउन धेरै मुलुकले चीनमै आफ्ना सम्पर्क कार्यालय राख्ने, त्यहाँ विभिन्न प्रवद्र्धनात्मक क्रियाकलाप गराउने र स्थानीय स्तरमा आफ्ना प्रतिनिधि तयार गरी आफ्नो देशको प्रचारप्रसार गराउने गरेका छन्, जसका कारण उनीहरूले ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउन सफल भएका छन् । यस दिशामा नेपालले पनि पहल गर्नु आवश्यक छ । विभिन्न देशमा रहेका नेपाली दूतावासले नेपालबारे ती मुलुकलाई जति प्रभावकारी रूपमा अवगत गराउनुपर्ने हो, त्यसो हुन सकेको छैन । केवल औपचारिक जागिर वा भ्रमणको सोचले मात्र पर्यटक भित्र्याउन सकिँदैन । स्थानीय समुदायको सहभागिता बढाई पर्यटनबाट हुने आम्दानी गाउँ–गाउँसम्म पुर्‍याउन आवश्यक छ । यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय कला, संस्कृति र उत्पादनको संरक्षणमा पनि योगदान पुर्‍याउँछ ।  नवप्रवर्तन पर्यटन भनेको प्रविधिको उपयोगमार्फत पर्यटन अनुभवलाई नै नयाँ रूप दिनु हो । आजका पर्यटकले होटल बुकिङदेखि गन्तव्य छनोटसम्म कृत्रिम बौद्धिकता (एआई) मार्फत सहज र व्यक्तिगत सेवा खोज्ने गरेका छन् भने आभासी यात्रा पूर्वावलोकन, स्मार्ट यात्रा एप र यस्तै प्रविधिले पर्यटन अनुभवलाई थप सहज बनाइरहेका छन् । नेपालले पनि यस्तै प्रविधिमैत्री उपायहरू अपनाउनु आवश्यक छ, जस्तैः डिजिटल गन्तव्य म्याप, अनलाइन बुकिङ प्रणाली, र गन्तव्यगत जानकारी सहज रूपमा पाइने मोबाइल एपजस्ता सुविधा । यसले नेपालको पर्यटन प्रस्तुतीकरणलाई अन्तरराष्ट्रिय स्तरको बनाउनुका साथै साना तथा दुर्गम गन्तव्यहरूलाई समेत विश्व बजारसम्म पुर्‍याउन सहयोग गर्छ । साहसिक, आरोग्य र नवप्रवर्तन—यी तीनवटै क्षेत्रलाई एकसाथ जोडेर बजारीकरण गर्न सके नेपालले फरक–फरक रुचि र क्षमता भएका पर्यटक समूहलाई एकैपटक आकर्षित गर्न सक्छ । उदाहरणका लागि, पदयात्रापछि हिमाली आरोग्य केन्द्रमा विश्राम गर्ने वा साहसिक यात्राको योजना नै डिजिटल एपमार्फत बनाउने प्याकेज नेपालका लागि नयाँ र आकर्षक उत्पादन हुन सक्छन् । भारतसँगको माइस अवसर भारत आज विश्वकै सबैभन्दा छिटो वृद्धि हुने बाह्य माइस (एमआईसिई)  अर्थात बैठक, प्रोत्साहन यात्रा, सम्मेलन र प्रदर्शनी बजारमध्ये एक बनेको छ । भारतको स्वदेशी एमआइसिई बजार नै सन् २०२५ मा करिब ३७ अर्ब डलर बराबरको रहेकामा सन् २०३१ सम्ममा दोब्बरभन्दा बढी हुने प्रक्षेपण छ, भने बाह्य एमआइसिई खर्च पनि केही वर्षभित्रै १३ अर्ब डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । नेपाल यसअघि नै भारतीय आउटबाउन्ड पर्यटकका शीर्ष रोजाइका गन्तव्यहरूमध्ये सूचीकृत भइसकेको छ र नेपाललाई नजिकको दूरी, विविध पर्यटकीय आकर्षण र परिवर्तित एवं सुदृढ पूर्वाधार (स्तरोन्नत विमानस्थल, अन्तर्राष्ट्रिय होटल शृङ्खलाको आगमन) कारण सम्भाव्य गन्तव्यका रूपमा उभ्याएको छ । काठमाडौं, पोखरा र चितवनजस्ता सहरहरूलगायत तराईका सीमावर्ती गन्तव्यहरूलाई सम्मेलन तथा कर्पोरेट प्रोत्साहन यात्राका लागि उपयुक्त पूर्वाधारसहित प्रस्तुत गर्नसके भारतीय कर्पोरेट क्षेत्रसहित रहेको ठूलो पर्यटक बजार तान्न सकिन्छ, जसले उच्च खर्च गर्ने र भ्रमण–अवधि लामो हुने पर्यटक ल्याउँछ । डेस्टिनेसन वेडिङ (गन्तव्य विवाह) को सम्भावना भारतमा गन्तव्य विवाहको प्रचलन तीव्र गतिमा विस्तार भइरहेको छ । यस क्षेत्रको बजार आकार अरबौं डलर बराबर पुगिसकेको छ र वार्षिक रूपमा उच्च दरमा बढिरहेको छ, विशेषगरी हिमाली तथा प्राकृतिक पृष्ठभूमि भएका गन्तव्यहरूप्रति भारतीय जोडीहरूको आकर्षण उल्लेख्य रूपमा बढेको देखिन्छ । भारत सरकारले आफैं 'वेड इन इन्डिया' जस्ता अभियानमार्फत यस क्षेत्रलाई नीतिगत प्राथमिकतामा राखेको छ, जसबाट यो उद्योग कति महत्वपूर्ण बन्दै गएको छ भन्ने देखिन्छ । उत्तराखण्ड, हिमाचल प्रदेशजस्ता भारतकै हिमाली गन्तव्यहरूमा पनि पहाडी पृष्ठभूमिका कारण विवाह आयोजना बढ्दो क्रममा छ—यसले नेपालका लागि प्रत्यक्ष प्रतिस्पर्धा र अवसर दुवै देखाउँछ ।  नेपालका हिमाली दृश्यावलोकन हुने होटल–रिसोर्ट, ऐतिहासिक दरबार क्षेत्र र प्राकृतिक तालतलैया वरपरका स्थललाई विवाह–पर्यटन प्याकेजका रूपमा व्यवस्थित गरी भारतीय बजारमा लक्षित प्रवद्र्धन गर्न सके यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । यस्ता आयोजनाले होटल, यातायात, सजावट, खानपानलगायत स्थानीय साना–ठूला व्यवसायमा समेत प्रत्यक्ष लाभ पुर्‍याउँछन् । बोर्डको भूमिका महत्त्वपूर्ण नेपाल पर्यटन बोर्ड सरकारको आधिकारिक निकाय हो । सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्दै पर्यटकहरूका लागि प्रभावकारी र आधिकारिक सूचना प्रणाली निर्माण गर्नु यसको मुख्य काम हो । विश्व बजारमा नेपालको प्रचारप्रसार गर्ने र नेपाल भ्रमणमा आउने पर्यटकको सहजीकरण गर्ने कार्यमा बोर्डको भूमिका महत्वपूर्ण रहन्छ । बोर्ड स्थापनाको २८ वर्षको अवधिमा लिइएको वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य आज पनि उही सेरोफेरोमा रहेको छ । यस अवधिमा माओवादी सशस्त्र द्वन्द्व, महाभूकम्प, कोरोना महामारी, तथा युक्रेन–रुस र इरान–इजरायल युद्धजस्ता आन्तरिक र बाह्य चुनौती नआएका होइनन् तर अन्तर्राष्ट्रिय बजारीकरण प्रभावकारी नहुँदा हामीले पर्यटन क्षेत्रमा उल्लेख्य आगमन हुनसक्ने अवस्था बनाउन सकेनौं । आगामी दिनमा प्रतिस्पर्धी, गुणस्तरीय र दिगो पर्यटन विकासका लागि बोर्डले आफ्ना नीति, योजना र कार्यक्रममा आमूल सुधार गर्नु आवश्यक छ । विगतमा अपनाइएको बजारीकरणको तौरतरिका र शैलीले भविष्यमा पर्यटक आकर्षित गर्न सक्दैन । आन्तरिक पर्यटनले व्यवसायलाई गतिशील बनाउन सक्छ, तर विदेशी मुद्रा आर्जनका लागि विदेशी पर्यटक भित्र्याउनैपर्छ । हाम्रा गन्तव्यस्थललाई सुलभ र सहज बनाउनु आवश्यक छ, किनकी केवल हामीसँग यस्ता गन्तव्यस्थल छन् भनेर मात्र कोही भ्रमणमा आउँदैनन्‌—ती गन्तव्यस्थलबारे प्रभावकारी रूपमा जानकारी पुर्‍याउनुपर्छ । सूचना प्रविधिको वर्तमान विकासलाई ध्यानमा राखी हाम्रा बजारीकरण गतिविधि पनि त्यसैअनुरूप आधुनिकीकरण हुनु आवश्यक छ । ब्रोसर र म्याप हेरेर मात्र होइन, गुगल लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्जालसँग साझेदारी गरी आफ्ना गन्तव्य र सेवा–सुविधाबारे जानकारी पुर्‍याउन सकियो भने मात्र बढी पर्यटक भित्र्याउन सकिन्छ । पर्यटन क्षेत्रका चुनौतीको समाधान सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाटै सम्भव छ, र यसमा बोर्डले समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक छ । हामीले पर्यटकमैत्री नीति, सुरक्षित वातावरण, गुणस्तरीय सेवा, व्यवस्थित पूर्वाधार, स्रोत बजारसँगको सम्पर्क विस्तार र डिजिटल प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । साथै, पर्यटकलाई सहज सेवा उपलब्ध गराउन सूचना केन्द्र, आपत्कालीन उद्धार प्रणाली तथा दक्ष पर्यटन जनशक्ति विकासमा समेत लगानी बढाउनुपर्छ । पर्यटन क्षेत्रको नीति निर्माण र कार्यान्वयनबीच देखिने खाडल पनि सुधार्नुपर्ने देखिन्छ । रासस (प्रस्तुत विचार पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत बुडालसँग गरिएको कुराकानीमा आधारित)