जाडोसँगै स्वास्थ्य जोखिम बढ्दै, ‘सामान्य रुघाखोकी पनि घातक हुन सक्छ’

काठमाडौं । चिसो बढ्दै जाँदा भाइरस र ब्याक्टेरियाले शरीरमा विभिन्न प्रकारका असर पार्न थाल्छन् । चिसोले किटाणुहरूको सक्रियता बढाउने भएकाले नाक, घाँटी, फोक्सो र छातीसम्बन्धी रोगहरू जाडोमा धेरै देखिन्छन् । विशेषगरी भाइरल निमोनिया, घाँटीको संक्रमण, रुघाखोकी, दम बढ्ने समस्या यो मौसममा बढी देखिन्छ  । चिसोमा कम उमेरका बालबालिका र धेरै उमेरका वृद्धवृद्धा बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । जाडो सहन सक्ने क्षमता कम भएकाले सामान्य संक्रमणले पनि जटिलता निम्त्याउन सक्छ । दमका बिरामीका लागि जाडो झनै संवेदनशील समय हो । चिसोका कारण अक्सिजनको मात्रा घट्न, स्वास नली साँघुरिन र इन्फेक्सनको खतरा बढ्न सक्छ । यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर बाफमार्फत औषधि दिनुपर्ने, संक्रमण रोक्न एन्टिबायोटिक दिनुपर्ने र कहिलेकाहीँ जीवनरक्षक उपचार आवश्यक पर्न सक्छ । अस्पताल आउने चिसोका बिरामी बढ्दै त्रिवि शिक्षण अस्पताल लगायत देशभरका विभिन्न अस्पतालमा अहिले बिरामीको संख्या बढिरहेको छ । रुघाखोकी, ज्वरोलगायत विभिन्न स्वास्थ्य समस्या ल्याएर बिरामीहरू अस्पताल आइरहेका हुन्छन् । चिसोमा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिए  पनि कहिलेकाहीँ अवस्था असामान्य भइदिन्छ ।   रुघाखोकी एक–दुई दिनमै निको भयो, खोकी धेरै लागेन भने आत्तिनु पर्दैन । तर दुई–तीन दिनसम्म पनि निको भएन, खोकी धेरै लाग्यो, स्याँस्याँ बढ्यो, खकारमा रगत देखियो, ज्वरो पनि धेरै बढ्यो भने त्यस्तो अवस्थामा अस्पताल गइहाल्नुपर्ने हुन्छ।  कहिलेकाँही  सामान्य जस्तै लाग्ने यस्ता ज्वरो, रुघाखोकी पनि गम्भीर रूपमा परिणत हुने गर्छन् । सामान्य मानिएको यस्ता संक्रमणले ज्यान जान सक्ने सम्भावना पनि धेरै हुने गर्छ । जाडोको बेलामा मुटुको नली पनि खुम्चने, हृदयघात पनि बढी हुने हुँदा कसैलाई ग्यास्टिक जस्तो दुखाइ भयो तर छातीको बीचमा पनि दुख्यो र त्यो दुखाइ बिस्तारै चिउडो, दाहिने वा देब्रे हाततिर सर्दै जाने दुखाइ पनि बढी हुँदै जाने हो भने अस्पताल आउनुपर्छ । हृदयघातको सम्भावना उच्च चिसोमा हृदयघातको सम्भावना पनि उच्च हुन्छ । चिसोमा मुटुलाई सप्लाइ गर्ने नली खुम्चिन्छ । नली खुम्चँदा अक्सिजनको आवश्यकता बढी पर्ने तर सप्लाइ कम हुने अवस्था हुन्छ । बाहिरका अन्य नली पनि केही खुम्चने हुँदा मुटुलाई भार थपिन्छ । जसले गर्दा यस्तो समयमा हृदयघातको सम्भावना बढी हुन्छ । हामीले यसका लागि खानपानमा ध्यान बढी दिनुपर्छ । नियमित शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ ।    जाडोको समयमा रक्तनलीहरूले बाहिरतिर हिटलस नहोस् भनेर खुम्चिन्छन् । यसरी खुम्चिँदा थुप्रै असरहरू आउँछन् । यसो हुँदा अचानक ब्लड पेसर बढ्ने हुन्छ ।  यसो हुँदा मुटुको रोगीहरूलाई हृदयघात, प्यारालाइसिस जस्ता समस्याहरू आउन सक्छन् । मुटुले रगत पेलेर शरीरका विभिन्न भागमा पठाउनुपर्ने हो यसमा हुँदा उसले बढी बल लगाउनुपर्ने अवस्था आउँछ ।  यस्तो बेला मुटुलाई बढी अक्सिजन चाहिने तर त्यसको सप्लाई नपुग्ने हुन्छ । यस्तो हुँदा डिमाण्ड सप्लाईको मिसम्याच हुन जान्छ । जसले गर्दा पनि मुटुको रक्तसञ्चारमा मांशपशीमा अलि नपुग्ने हुन्छ । यो बेलामा फोक्सोको संक्रमण, छातीको संक्रमण,  निमोनिया संक्रमण बढी हुने गर्छ । मुटुसम्बन्धी बिरामीलाई पनि यस्तो बेला गाह्रो हुन्छ । भाइरल इन्फुलुएन्जा पनि यस्तो बेला आउँछ । श्वासप्रश्वास प्रणालीमा माथिल्लो भागको संक्रमण बढी हुने र तल्लो भागको निमोनिया बढी हुने, भाइरल निमोनिया पनि बढी हुने हुन्छ ।  निमोनिया गराउने किटाणु सक्रिय चिसोमा सबैभन्दा बढी देखिने अर्को समस्या हो निमोनिया । जसबाट धेरै व्यक्ति प्रभावित भइरहेका छन् । निमोयिालाई ख्यालठट गर्दा ज्यान जाने सम्भावना बढी हुन्छ । निमोनिया भनेको फोक्सोको संक्रमण हो । कुनै पनि किटाणुका कारण फोक्सोमा सुजन हुन्छ । नेपाली जनमानसमा चिसोले गर्दा निमोनिया बढी हुन्छ भन्ने भ्रम छ।  तर निमोनिया चिसोले गर्दा हुने होइन । निमोनिया किटाणुले गर्दा हुन्छ । कुरा के हो भने चिसोका कारण निमोनिया लाग्ने किटाणुको विकास बढी हुन्छ । जसले गर्दा चिसोमा निमोनियाका बिरामीहरू हुने गर्छन् । निमोनीयाबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको भ्याक्सिन हो । ब्याक्टोरियल निमोनिया, भाइरल निमोनीयाको भ्याक्सिन बालबालिका र वृद्धवृद्धाहरूलाई लगाउनुपर्छ ।  यसो हुँदा चिसोमा सक्रिय हुने किटाणुले पनि संक्रमण गर्न सक्दैनन् । मानसिक स्वास्थ्यमा पनि असर चिसोको समयमा मान्छेको मुडमा पनि परिवर्तन आउँछ । डिप्रसन, एन्जाइटी समस्या भएकाहरूलाई पनि यस्तो बेला बढी समस्या हुने गर्छ । काम गर्न मन नलाग्ने, मन नरमाइलो भइराख्ने हुन्छ । कहिलेकाँही उनीहरूलाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउनसक्छ । यस्तो समस्या भएका व्यक्तिहरूले घाममा बस्ने, बढी हिँडडुल गर्ने, आफ्नौ दैनिक कामकाजलाई बढाउने र चिसोबाट बच्ने गर्नुपर्छ । यस्तो हुँदा मन रमाइलो हुने  र  खुसी बनाउने न्युरो ट्रान्समिटरहरू हुन्छन् तिनको मात्रा बढ्छ ।  अहिले नेपाल लगायत विश्वमा दीर्घरोगका बिरामीको संख्या बढ्दै छ । यसको मुख्य कारण खानपान र दैनिक जीवनशैलीले हुन्छ ।  सागसब्जी कम खाने, फाष्टफुड बढी खाने गर्दा नागरिकको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । तौल नियन्त्रमा नहुने, बढ्दै जाने समस्या बढी देखिने गरेको छ । मान्छे नहिँड्ने समस्या अहिले सबैभन्दा बढी देखिँदैछ  । धुम्रपान, सुर्तीजन्य पदार्थ, अल्कोहलको प्रयोग बढी हुँदा पनि धेरै रोगहरू आइरहेका छन् भने  लागिरहेका रोग पनि बढी सक्रिय भएर जोखिम बढिरहेको छ । यसका लागि स्वास्थ्य खानपान, नियमित शारीरिक व्यायाम निकै आवश्यक छ ।  कसरी बच्ने ? दीर्घरोग भएका, रोग प्रतिरोधसँग लड्ने क्षमता कम भएका र अन्य सामान्य व्यक्तिले पनि यस्तो बेला चिसोबाट बच्नुपर्छ । यसका लागि सबैभन्दा पहिले दैनिकी र जीवनयापनमा सुधार ल्याउनैपर्छ ।  धेरै हदसम्म खानपान सन्तुलित बनाउन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।  रोगबाट बच्नु भनेको धेरै ठूलो कुरा हो । रोग लागिसकेपछि निको पार्न निकै गाह्रो हुन्छ । पैसा र समय सबै वर्वाद हुन्छ । यसका लागि सबैभन्दा खानपान र जीवनशैलीमा बढी ध्यान दिनुपर्छ ।  यसका लागि नियमित जाँच गर्ने सन्तुलित आहारबिहार अपनाउने, तौल नियन्त्रण गर्ने हो । ब्लडप्रेसर, सगरग र कोलेस्टेरोलको मात्रा पनि बेला बेला जाँच गरेर हेर्नेपर्छ । जाडोमा शरीर चिसो भयो भनेर तातो बनाउन अल्कोहलको मात्रा धेरै लिने, स्मोकिङ धेरै गर्ने चलन पनि बढ्दै गएको छ । यत्तिकै पनि जाडोमा हृदयघातको सम्भावना बढी भएको बेला यसले झन बढाउँछ । यस्ता कुराको सेवन नगरिकन चिल्लो र बोसो पनि धेरै नभएको तातो झोलिलो कुराहरू, भिटामिन सीयुक्त अमिला फलफूल खानुपर्छ । जसले गर्दा शरीर न्यानो पनि रहन्छ र पोषिलो पनि रहन्छ । (जनरल फिजिसियन डा. खेमराज भुसालसँग गरिएको कुराकानीमा आधारित)

माटोको खत

पूरानो दिनका स्मृतिमा पारिवारिक कुराकानी चल्दै थियो । बिर्सन नसकिएका, मनमा गडेर आसन जमाएर बसेका सन्दर्भ उप्किएका थिए । मनमा बसेका खाटाको यादले उहिल्यै सामसुम भएको भल फेरि उर्लिँदो रहेछ । बग्न लागेको भल सुसाइरहन स्वयंको हिम्मत र सामुन्नेवालाको धैर्यता चाहिँदो रहेछ ।  खाना खाइवरी बेलुका अबेरसम्म विगततिर फर्किँदै गफिँदा पाकापुस्ताको भावभंगीले यसै भन्थ्यो । उनीहरू कुरा उप्काउँथे अनि बीचैमा मोडिदिन्थे । सायद त्यो आँट र धैर्यता अब बाँकी थिएन । अरूको मनभित्रका डाम देख्ने र त्यसको नापो लिने ताकत सायद भगवानले मानवचोलाका कसैलाई दिएका छैनन् । शरीरमा बसेका खाटा सबैले देख्ने रैछन् । जति पुरानो भए पनि खतको डाम उस्तै, उत्रै ।  मामाघरकी मेरी बज्यैले मेरा बारेमा भनेकी थिइन् – ‘आ...यो क्या सम्झला त, त्यति नानो माण्ठ । त्यही बेलाआ... कुडा । यैको नाडीको डामको नापो आफै बोल्लो ।’  म जन्मेको पहाडको सम्झना ४ वर्षको बालक मनले खासै राख्न सकेन । सामान्य स्मृति मात्र आउँछ । मेरो घरको चुल्हो, ओटालो, ओटालोबाट देखिने ओखरको रुख, घरछेउको नासपातीको बोट, पल्ला टोलको मामाघर जाने त्यो पहाडको डिलैडिलको बाटो, बीचमा पर्ने पानीको ढल, रुँदै पर्खेर उभिएको देखेर मलाई तारिदिने मैले बिर्सिएका ती आफन्त, हिलोमा झरेका ओखर र मामाघरमा बज्यैले ख्वाउने दूधभातका पल धमिलै सही सानै मनदेखि नबिर्सिने गरी गढेका छन् ।  मन कमलो भुवा झैं भएर बहकिएका बेला भुरुरु ती यादहरू फर्कीफर्की आइरहन्छन् । तराई झरेपछि विस्तारै मेरो उमेर अनुसारका स्मृतिका छाप मनमा प्रष्ट हुने नै भए । सानो उमेर भए पनि सायद मानिसले नदेखिने मनको चोट होस् वा देखिने जीउको चोटका सन्दर्भ चटक्क बिर्सन सक्दो रहेनछ ।  मैले मेरो हात अगाडि सार्दै भनेको थिएँ– ‘यी मेरो पुरानो सम्झना ।’ बज्यैले मेरो दाइने हातको नाडीमा रहेको खतको सन्दर्भ जोडेकी थिइन् ।  बर्दियाको राजापुर क्षेत्र । राजापुर भित्रको एक गोला । त्यही गोलाको खोनपुर । कर्णाली नदीको दुई भङ्गालोले घेरेको छ– बर्दियाको राजापुर क्षेत्रलाई । थारु समुदायबीच भौंरा टप्पुको नामले पनि चिनिन्छ । तत्कालीन एघार गाविसको राजापुर इलाकालाई श्रीलंकाको टापुका रूपमा पनि चिनाउने चलन छ । उत्तर चिसापानीमा कर्णालीको दोभान छ भने दक्षिणतर्फ भारतको जङ्गली फाँट छ । यसैभित्र उत्तरतर्फ पर्छ– गोला । त्यसको दक्षिण क्षेउमा पर्छ खोनपुर ।  यहाँ मेरो पाहुना अवधि सकिन नपाउँदै मैले ठूलै खतको चिनो पाएको थिएँ । अचेलजस्तो उपचार चेत र यातायात सुविधा भए नेपालगन्ज पुर्याएर भए पनि घाउमा टाँका लगाइदिँदा हुन्, बुवाले । मामा पनि साथैमा जाँदा हुन् । टिटानसको सुई लगाइदिँदा हुन् । तर, भर्खर औल झरेका, के खाऊँ ? के लाऊँ ? बेलाका बाआमालाई त्यस्तो चेत कसरी आउनु ? अनकन्टार जस्तो चारैतिर कर्णाली नदीले घरेको गाउँबाट नेपालगञ्ज जानु कहाँ सजिलो थियो र ? कैयौं घण्टा पैदल हिँडेर, कोठियाघाटको कर्णाली नदीमा डुङ्गा तरेर, भारतको कतर्निया हुँदै बस समातेर नेपालगन्ज पुगेर उसैगरी फर्कनु समय, पैसा सबै हिसावले त्यसबेला निकै कहालीलाग्दो यात्रा हुन्थ्यो ।  मनमा चेत आएर पनि कसरी नेपालगञ्ज लानु ? मलाई सम्झना छ, भाँगो निचोरेर बज्यैले रस चुहाइदिएको । अनि निचोरेका भाँगाकै पातको मल्हम जस्तो थुप्रो पारिदिएको ।  नाडीको घाउ त केही दिनमा बिसेक भयो तर, नमेटिने ठूलै खतको साइनबोर्ड चाँहि टाँगेर गयो । उमेरसँगै नाडीको आकार बढ्यो । अनि खतले पनि सँगै आफ्नो भागको आकार बढायो । जुन मैले साथमै बोकेको छु । जीवनपर्यन्त यो साथमै रहने छ । आसपासका खोला, नदी, घर, आफन्त, परिवार, साथीभाइ छुट्लान् तर यो खतले छोड्ने छैन । मेरो शरीरबाट उड्ने धुँवा र खरानीले मात्रै सायद मेट्न सक्नेछ यो चिनो ।  ४ वर्षको कलिलो हातको नाडीमा भरखर धार लगाएको बासोले छ्याक्क काटेको थियो । घाउ कत्रो थियो होला ? नशा काटिए होलान् कि नाइँ ? निको कसरी भयो होला ? काटिएको भए नशा कसरी आफै जोडियो होला ? कति दिनमा निको भयो होला ? अहिले यही खतको गाढा निशानी र धीमा याद मात्रै साथी छन् । ४ वर्षको चिचिलो उमेरका सबै कुरा जस्ताको तस्तै ४० कटिसक्दासम्म याद होस् पनि कसरी ? खासमा बेहोशी अघिको अवस्था जस्तो यादका झिसमिसे सम्झना मात्रै वीच वीचमा आलो फर्किरहँदा रैछन् ।  मामा र हाम्रो परिवार सँगै पहाडबाट तराई झर्यौं । बज्यै, म, आमा र माइलो भाइ जुम्लाबाट प्लेन चढेर नेपालगञ्ज झरेका थियौं । मामालाई ४५ वर्ष अघिका तिथिमिति ठ्याक्कै याद रहेको देख्दा अचम्मै हुन्छु । तर, उनको यो सम्झने शक्ति मेरा लागि गजबको पारिवारिक दस्तावेज जस्तो भएको छ । २०४० सालको मंसिर ८ गते जीवनमा पहिलोपल्ट मैले आकाशमा उड्ने मौका पाए पनि फुच्चे उमेरको त्यो यात्राको खासै सम्झना बाँकी छैन । बरु त्यसको २ वर्ष अगाडि नै २०३८ सालमा मलाई उपचार गर्न नेपालगञ्ज लैजानका लागि बुवा र मामाले जुम्ला लगेका बेला मैले जहाजको लामो पखेटा देखेको हो कि जस्तो लाग्छ । यकिन भने छैन ।  त्यो जमानामा नाग्म गाउँमा पानीको पाइप जडान भयो । पूर्व–दक्षिण फर्केको पहाडको पाखोमा एकातिर मावली पाण्डेबाडा र अर्कापट्टी हाम्रो अधिकारीबाडा पर्छ । कम्तिमा दुई घण्टाको ठाडो उकालो चढेपछि खोचमा रहेको मूलबाट प्लाष्टिकको कालो पाइप जोडेर टोलमा पानी ल्याइएको थियो । बाटो, गाडी नपुगेको त्यो अनकन्टार कालिकोटको नाग्म गाउँमा त्यो जमानामा त्यहाँ खानेपानी योजना पुग्नु पत्याउनै नसकिने सत्य थियो । पाइप तान्ने र जोड्ने काम श्रमदानबाट भएको थियो । जडान गर्दै जाँदा बेकामे भएको सानो पाइपको टुक्रा सायद त्यो आधा इन्चको पाइप थियो होला, मामाले भाञ्जाले खेलाउनलान् भनेर ल्याएछन् । त्यो मुख भित्र हालेर हु...हु... गर्दै हिँड्ने बेला विकट र उवडखावड त्यो वस्तीमा कता ढोकातिर खुट्टा फसेर म उछिट्टिएर अगाडि हुत्तिएछु ।  पानीका मुहानहरू धेरै भए पनि नजिकसम्म ल्याउने उपक्रम नहुँदा पानीको साह्रै दुःख थियो । पानी गाउँमा आउने खुसीभन्दा पहिले हाम्रो परिवारमा विपद आइलाग्यो । पाइपले मेरो घाँटीको श्वासनली वा खाना खाने नली कुन चाँहि काटेछ । वा दुवै काटेछ । रुवाबासी सुरु भयो । साढे २ वर्ष जतिको बालकको त्यो अवस्था अनि नजिक न अस्पताल न डाक्टर पाइने त्यो युग । रातभरि जसोतसो काटेर बुवा र मामा मलाई बोकेर विहानै सरजाम बोकेर जुम्ला हानिए ।  वरपर तानतुन गरेर नगद दश हजार जति रुपियाँ बोकेर मलाई काँधमा भिरेर दुई भिनासालाले नेपालगञ्ज लाने भनेर जहाज भेट्न हतासिएका थिए । बाटोमा त्यसबेला पाइने पिपलमेट चकलेट र नदीको चिसो पानी हातमा घोल्दै मेरो मुखमा रस चुहाएको मामा अहिले पनि सम्झन्छन् । अरु केही निल्नै नसकिने, दुखेर रुने मात्रै मेरो अवस्था थियो ।  कहिलेकाहीँ संजोग पनि गजबले टुप्लुक्कै आँगनमै आइपुग्ने रहेछ । आधा दिनको पैदल यात्राबाट खलङ्गा पुगेर प्लेन टिकटको जोहो गर्न सोधखोज गर्दै गर्दा हेल्थ क्याम्प लागेको खबर कानमा परेपछि हानिँदै मलाई त्यता लगियो । अनि डाक्टरले चिम्टाले च्यापेर मेरो घाँटी भित्रको काटिएको घाउ टाँसिदिए । अनि भोलिपल्ट मामा घर फर्किए, हामी भने फलोअपमा केही दिन बसेर घर फर्कियौं । अनि नेपालगन्ज जानु पनि परेन, ढिलो नभएर होला मेरो घाउ पनि बिग्रेन र पैसा पनि जोगियो । यसै बेलाको हो जस्तो लाग्छ, जहाजको पखेटाको धिमा सम्झना । ठ्याक्कै चाँहि भन्न सकिनँ ।  सबै जना बाटोको सामल अनि आफूसँग भएका पछि काम लाग्ने सरजामसहित हिँडेर बर्दिया बसाइँ सर्ने तयारी थियो । नाग्म, कालिकोटबाट दैलेख, सुर्खेत हुँदै गोला, बर्दिया पुग्न करिब १० दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । तरुना र तन्दुरुस्त लोग्ने मान्छेहरू ७ दिन जतिमा पुग्थे । बुढाबुढी, केटाकेटी, सुत्केरी महिला भएपछि यात्रा लामो हुने नै भयो । अनि बाटोको सामल र अत्यावश्यक सरजामको भारी आवश्यकता अनुसार बढ्यो भने यात्राका दिन पनि लम्बिन्थ्यो ।  मामाघरकी बज्यैले पूराना कुरा सम्झँदै भनिन् – ‘तेरा बोब (वुवाका वुवा)ले काँ सुत्केरी बुहारी हिँडेर जान सक्छ ? हुँदैन । प्लेनको टिकट गर भन्या छन् ।’ बुहारीलाई मान्छे नगन्ने त्यो बेलाको समाजमा हाम्रा बोबमा त्यो तहको उदार चेत रहेछ । उनी बितेको पनि २७ वर्ष भैसक्यो । बोबको निर्णयपछि बज्यै, म र आमा अनि ४ महिनाको दुधे भाइसमेत हामीले जुम्लाको खलङ्गादेखि नेपालगञ्जसम्मको जहाज चढ्ने सौभाग्य पायौं । त्यसबेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेनमा एकजनाको भाडा १२५ रुपियाँ थियो ।  हामी उड्नुभन्दा एक साताअघि बुवा नेपालगञ्जका लागि हिँडेका थिए हामीलाई ‘रिसिभ’ गर्न । मामाले जुम्लामा विमान चढाएर बिदाई गरे भने बुवाले नेपालगञ्जमा स्वागत । अनि भारतीय बाटो हुँदै गोला पुगियो ।  गोलाको खोनपुर गाउँमा हामी बसाइँ सरेका सुरुका दिन बाआमाका लागि घर बनाउने दार, खाबा जोड्ने, खरखडाई खोज्ने चटारो थियो । केही महिनामा माथिल्लो तलो होँचो भए पनि सुत्न मिल्नेगरी दुई तलाको फुसको घर तयार भएको थियो । बारी बनाउने, तिहुन तरकारी लाउने आदि कामको मेसो पनि मिलाइँदै थियो । बज्यैका लागि पनि घर तयार भयो ।  कुलापारि उत्तरपट्टि मामाघर र सडक वारि दक्षिणपट्टि हाम्रो घर ठडियो । अभिभावक यस्तैयस्तै काममा व्यस्त भए । म जस्तै टोटकी (केटाकेटी) भने आफ्ना छावँलका साथी सँग चिनजान गरिवरि साथ्या बनाई केटाकेटी खेलमा अभ्यस्त हुन थालिसकेको थिएँ । डण्डिबियो, लुकीलुकी, घुरघुरिया, वालुवामा लुकाइ, माटो खनाइ, आइसबाइस जस्ता तराईंका केटाकेटी खेल सिक्न दुई महिना पनि लागेन ।  सँगै जग्गा किने पनि आमाकी माहिली दिदीको परिवार अघिल्लो वर्षकै मंसिरमा तराई झरिसकेकाले सुरुमा उनीहरूको भर भयो । ठूलीआमाको परिवार सँगै जुम्लाबाट अर्को छिमेकी परिवार पनि बसाइँ सरी आएको थियो । ठूलीआमाको घरसँगै हाम्रो अस्थायी छाप्रो बनेको थियो । त्यसभन्दा पश्चिम केहीपर बाटोको दक्षिणपट्टि ती छिमेकीको घर थियो । त्यो घरमा मेरै उमेरकी सानी छोरी पनि थिइन् । उनी मेरो नयाँ साथीहरूमध्ये एक हुन आइन् ।  नयाँनयाँ ठाउँ । वस्ती पनि पातलो । साथीभाई थोरै थिए । हामी समय मिलेसम्म केटाकेटी खेलमा रमाउन थाल्यौं । त्यसबेला धानको कुनिउँमा लुकीलुकी खेल्न खुब मज्जा हुन्थ्यो । उनले एकदिन भनिन्, ‘माटो खन्ने खेलौं है ?’ उनी घरभित्र पसिन् र काठ ताछ्ने बासो लिएर आइन् ।  उनको घर अगाडिको आँगनको चिसो भुइँमा हामी थचक्क बस्यौं । पुषमाघको ठिहिर्याउने मौसम थियो । घाम पनि लागेको थिएन । पहाडबाटै ल्याएका कोछ्या, जाँघ्या यस्तै केही लुगा लाएको थिएँ । थचक्क भुइँमा बसेको सम्झेर झल्यास्स बीउ झैं भएँ । सोचें, टाला मैलीजान्या हुन् कि ? अनि टुक्रुक्क खुट्टाले टेकेर बसेँ ।  उनले फेरि भनिन् – ‘म खन्छु । तुमी माटो फाल है ?’  उनी बासोले माटो खन्ने अनि मैले हातले माटो तानेर खाल्डो बनाउन थालेँ । यसो गर्दा उनले खन्ने पालो र मैले फाल्ने पालो मिलाएर गरिरहेका थियौं । रमाइलै भैरहेको थियो माटोको खेल । एकछिन् पछि कसरी हो पालो विग्रिएछ । मैले माटो फाल्न हात हाल्ने र उनले खन्न बासो उज्याउने सँगै परेछ । मेरो नाडीमा घ्याच्च लागि हाल्यो । बासो पनि भरखर धार लाएको रैछ । केटाकेटी बलले पनि काटिहाल्यो । रगतको धारा छुटे । हल्लीखल्ली भयो । अनि अनुभवको डिग्री बोकेकी बज्यैले भाँगोले रगत थामिन् । भाँगोकै लेपले निको पार्ने मल्हम बनाइ दिइन् । धरधन्दाको काममा असिनपसिन आमाबुवाले थाहा पाउनेबित्तिकै चार हातखुट्टा टेकेर आए । बेस्सरी रोए । लगलग कामे । तराई झर्नेबित्तिकैको पहिलो उपहार नमीठो माने सायद ।  मैले दाहिने हातमा टलक्क टल्कने ठाउँमा टाटो साइनबोर्ड पाएँ । बर्दियाको माटोसँगको सानिध्य सुरु भयो । जसले टाटो चिनो दिएको थियो ।  २०५३ सालमा नेपालगञ्जमा आइए पढ्न बस्दा बेला रहरले मार्सल आर्ट्सको चिनियाँ खेल उसु खेल्न थालेको थिएँ । एक जना ‘सिनियर’ खेलाडी हाम्रा गुरु थिए राजु थापा । उनकी भाउजू दुई जीउकी भएका बेला शरीरमा चाहिने भन्दा आधा मात्रा रगत रहेछ । सायद १०÷१२ पिन्ट जति रगत ‘स्टाण्डवाई’ राख्न डाक्टरले भनेका थिए । उनले सबैलाई रगत दिन आग्रह गरेपछि म पनि रगत दिन तयार भएँ र भेरी अस्पतालको व्लड बैंकमा साथीहरु सँग गएर पहिलो पल्ट रक्तदान गरेको थिएँ ।  पछि गाउँ गएका बेला रगत दिएको आमालाई सुनाएँ । आमा त धरधरी रुन थालिन् । उनको दुखेसो थियो – ‘मैले आफूले खाइनखाई दशधरा दूध खुआएर अरूकन रगत देलाइ भनेर हुर्काएकी छियाँ भाउअ ?’ छोरा मान्छेलाई हाम्रो खस भाषामा स्नेहले भाउअ भन्ने चलन छ । चलन थियो भनौं । अब त्यो ठेट भाका बाँकी रहेन । पनाति पुस्तामा आउँदा मासिइसक्यो ।  खासमा आजभन्दा झण्डै ३० वर्ष अघिको कुरा त्यसमाथि गाउँमा रक्तदानबारे चेतना थिएन । आमाको चिन्ता अन्यथा थिएन । त्यसबेला शरीरबाट रगत बग्नु र खसीको मासु काट्दा बोसोको भाग नपर्नु बहुतै ज्यादा महत्त्वका विषय थिए । त्यसताका शरीरको रगत र खसीको बोसो उस्तै भाउका थिए । थारु अनि हिन्दी मिसिएको भाषामा शरीरबाट खुन बग्नु र ६ महिना लाएर भाग पुगेपछि काटिएको खसीको मासुमा बोसोको अलग भाग नमिल्नु ठूलो पीडाको कुरा हुन्थ्यो ।  खसी काटेपछि रगतसहितको भुटन पकाएर बाँडेर खाने चलन थियो भने मासु र बोसोको बराबर भाग लाग्थ्यो । अहिले सम्झन्छु– क्याम्पस पढ्न गएको हुर्केबढेको छोरोले अरूकोे ज्यान बचाउन डाक्टरले विधि पुर्याएर रगत झिक्दा त रुवाबासी गर्ने आमाले ४ वर्षको सानो बालकको हातको नाडीबाट बासोको धार लागेर उम्लिएको रगत देखेर कति रुवावासी गरिहोलिन् ?  नयाँ ठाउँ, नयाँ मान्छे, ओत लाग्ने आफ्नो घर बनिसकेको छैन । के खाने, के लाउने टुंगो नलागेको परदेशी जस्तो हाल भएका बेला छोराको नाडीबाट रगतका छिल्का आउँदा कुन् आमाबाको मन नरुँदो हो र ? पछि बाआमा बनेपछि आफ्ना सन्तानको शरीरबाट रगत बग्नु त परैको कुरा सानो कतै घोचियो भने पनि आफ्नो मुखबाट ऐआको चित्कार फुत्किँदा बाआमाको मन अनुभव हुँदो रहेछ । सबै बाआमाको मन उही त हो । चाहे अघिका हुन् वा पछिका । चाहे गाउँका हुन् या सहरका । बाआमा त बाआमा नै हुन् ।  ठूलो भएपछि कति ठाउँमा आफ्नो हुलिया लेख्ने बेला दाइने हातको नाडीमा खत भएको भनेर लेखेको छु । अनुहारको हुलियाको मात्र खास गणना हुने पछि मात्र थाहा भयो । तर, मलाई लाग्छ यो घाउ होइन, पहिचान हो । नाता हो माटोसँगको । जसरी रातो माटोलाई कर्णाली नदीले पहाडबाट बगाउँदै ल्याएर तराईमा रातोपानी बगेर एकाकार गरिदिन्थ्यो खेतमा सिञ्चिएर । मलाई पनि उसैगरी त्यसै माटोसँग नाता जोडिदिएको थियो सायद त्यो बाल दुर्घटनाले ।  किशोर उमेरका बाआमाले आफ्नो थातथलोको पवित्र रातो माटोको माया छातीभित्र गुम्साएर सायद आफ्ना लागि कम हामी सन्तानको भविष्यका लागि ज्यादा अनकन्टार गोलामा पुगेका थिए । त्यही माटोमा मेरो रक्त कण एकाकार भएको हो भन्ने ठान्छु अनि नाडीको चिमचिमे घडी सम्झँदै खत हेरेर मुस्कुराउँछु । २०४० सालको भाद्र ३ गते कर्णाली नदीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यसै सालको मंसिर ८ गते ४ महिने दूधे बालक मेरो भाइलाई च्याप्तै ४ वर्षको कलिलो बालक मलाई डोर्याउँदै बसाइँ सरेको थियो हाम्रो परिवार । मामाको परिवार पनि सँगै हुँदा एकअर्कालाई भर थियो ।  कर्णाली नदीको भेलले कालिकोटबाट समेत रातो माटो बगाउँदै त्यसका राता कण भए पनि नदीसँगै जोडिएको खोनपुरको माटोमा मिलन गराउँथ्यो । हरेक वर्षामा राता कणको पुनर्मिलन गराउने जिम्मा भेलको थियो । भेल उग्र हुँदा मात्रै पीर हो, नत्र भने माटो मिलन प्रिय नै थियो हाम्रा लागि । यसरी नै हाम्रो परिवारलाई भूगोलले पनि स्वीकार्यो होला अनि आफ्नै बनायो होला सायद । त्यही मन बनाएर सायद अञ्जान, अपरिचित र बिरानो ठाउँको माटोलाई हाम्रो परिवारले आत्मसात गर्यो । अनि एउटा विशाल आत्मपरीक्षाको उकालीओराली पार गरी नयाँ परिवेश, नयाँ समाज र नयाँ भूगोलको परिचय बनेको थपिएको थियो । हामी चिचिलाको सायद त्यति विशाल मन नहुँदो हो । भए पनि व्यक्त नहुँदो हो वा भनौं पछिसम्म सम्झने शक्ति नहुँदो हो । त्यसैले भूराहरूको परीक्षा बाँकी राखिँदो हो । त्यसैले त भनिन्छ सन्तान पाउनुले होइन, बरु असल अभिभावक हुनु शास्वत बाआमा मानिन्छ । अनि जीवनभर त्यसका खातिर परीक्षा दिइरहनु पनि अभिभावक हुनुको नियमित परीक्षा हो । एउटा बालक वा बालिका अभिभावक बन्नुअघि उसको सबै जाँच सायद उसका बाआमाले नै दिइरहन्छन् । तर, कहिलेकाँही परीक्षा लिने झुक्किँदा हुन् अनि भविष्यका अभिभावकले असमयमैं पनि परीक्षा दिनुपर्दो हो ।  यो मीठो खतले बर्दियाको माटोसँग एकाकार गरी दिएकी ती बालसखालाई त्यसबेला आफूले जानेसुने जति गाली गरेर पीडा कम गरेँ हुँला रुँदैरुँदै । तर, अहिले सोच्छु, ती अबोध बालिकाको के दोष ? बालबालिका र वृद्धवृद्धा भगवानका रूप भन्ने हाम्रो लोकोक्ति नै छ ।  तर, मलाई फेरि एकपल्ट ती दिनमा जान मन छ । ‘रिवाइण्ड’ गर्न मन छ मेरो विगतलाई । खोज्न मन छ मेरो पारिवारिक विरासतलाई । बुझ्न मन छ मेरो पृष्ठभूमिलाई । म बढेको मेरो धर्तीलाई । नुनदेखि सुनको जोहो गर्न हरेक वर्ष सयौं उकाली–ओराली पार गरेर हटारुको परिचय पाएका मेरा पुर्खाको सम्झनामा मलाई हराउन मन छ । हाटबजारको खोजीमा तराई झरेका उनीहरू कसरी बसाईं सरे हुन् ? किन सरे हुन् ? जवाफ खोज्न मन छ ।  उनीहरूको जीवनको आरोह–अवरोह, भीरपहिरोको कथा सुन्न र सुनाउन पाइयोस् । आउने पुस्ताका लागि शबदमा उतार्न पाइयोस् । अनि एउटा चलचित्रको पटकथा झैं गरी वाक्यहरू जोड्न पाइयोस् र जीउ ढाक्न नाना, एक मुठी खाना र आकाश छेल्ने छानाका लागि आफ्नो वस्ती छोडेर हरेक हिउँदमा गोलभूगोल चहार्न निस्केका मेरा बोबहरू, बाबाहरू, मामाहरूसमेत सम्पूर्ण हटारु आफन्तीहरू जो हाट निस्कँदा पाइला परेका ठाउँठाउँमा बसाईं सरे, उनीहरू सबैप्रति समर्पित गर्न पाइयोस् ।

‘नीति स्थिरता र उत्पादनमूलक उद्योग बिना अर्थतन्त्र उठ्दैन’

देशको उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर समग्र अर्थतन्त्रको विकास तथा विस्तारका लागि नीतिगत सुझाव दिँदै आएको छ । साथै परिसंघले आफ्ना गतिविधिहरू पनि सोही दिशामा केन्द्रित गर्दै आएको यहाँहरूलाई विदित नै छ ।   त्यसैको निरन्तरता स्वरुप परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन होस् भन्ने उद्देश्यले सार्वजनिक निजी संवाद बजेट वाच पहल सञ्चालन गर्दै आइरहेको छ ।  समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्त्वपूर्ण हुन्छ । वित्त नीति अर्थात बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरू सहायक बन्नुपर्ने हुन्छ ।  बजेटले महत्त्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव सबैले महसुस गरेको हुँदा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हामीले बजेट वाच पहल अगाडि बढाएका हौं ।  बजेटको सफल कार्यान्वयनले नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुन्छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण छ ।  बजेटमा निजी क्षेत्रको तर्फबाट नीतिगत सुझाव दिँदै आएका हुन्छौं । हाम्रा नीतिगत सुझावहरू बजेटमा समावेश पनि हुन्छन् । त्यसले हामीलाई उत्साह प्रदान गर्दछ । तर जब कार्यान्वयनको चरण आउँछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।  त्यसैले प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको तर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा परिसंघले विगत तीन आर्थिक वर्षदेखि बजेट वाच पहल सुरु छौं । बजेट वाच बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरूको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो ।  समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य छ । औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरूप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ । त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ । स्वदेशी उत्पादन बढाउन सकिएन भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौं । विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक छ । आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक छ ।  हाम्रो जस्तै अर्थतन्त्र भएका मुलुकहरू आज हामीभन्दा धेरै अगाडि पुगिसकेको छन् । ती देशले किन र कसरी प्रगति हासिल गर्न सके भन्ने विषयलाई हाम्रा नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी हुन्छ । नीति स्थिर हुने, उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगीकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सक्छौं भन्नेमा म विश्वास राख्दछु ।  (नेपाल उद्योग परिसंघले आयोजना गरेको औद्योगिक विकास केन्द्रित बजेट वाचमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले राखेको मन्तव्य)