‘औद्योगिक वातावरण सुधारका लागि कर प्रणाली पुनर्संरचना नै प्राथमिकता’

यहाँहरुलाई जानकारी नै छ, नेपाल उद्योग परिसंघले उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। परिसंघले स्थापनाकालदेखि देशको आर्थिक, सामाजिक विकासको महत्वपूर्ण साझेदारको रूपमा काम गर्दै आएको छ । परिसंघले वार्षिक बजेट, नीति तथा कार्यक्रम, राष्ट्रिय योजना आयोगले तयार पार्दै आएका विभिन्न योजनाहरू, साथै विभिन्न मन्त्रालय एवं नियामक निकायहरूलाई नीतिगत विषयहरूमा सूक्ष्म अध्ययन गरी स्पष्ट सुझाव दिँदै आएको छ । थिङ्क ट्यांककै रूपमा परिसंघले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखी सरकारलाई नीतिगत सुझाव दिँदै आइरहेको छ । परिसंघले सुझाव मात्रै दिने गरेको छैन । सरकारले ल्याएका नीतिहरूको सफल कार्यान्वयनका लागि रचनात्मक पहल पनि सञ्चालन गर्दै आइरहेको छ । आदरणीय मन्त्रीज्यू, म आजको विषयमा सिधै प्रवेश गर्न चाहन्छु । अर्थतन्त्र एवं सार्वजनिक सुशासनको सुधारसँग सम्बन्धित विषयहरूमा सुझावका लागि धेरै आयोग एवं उच्चस्तरीय समितिहरू बने । ती आयोग तथा समितिका सुझावहरू के कति कार्यान्वयनमा गए, अध्ययनकै विषय हुन सक्छ । तर, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र यसले दिएको सुझाव कार्यान्वयनमा भने सरकारले निकै महत्व दिएको हाम्रो बुझाइ छ । यस उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा पहिलो पटक निजी क्षेत्रलाई सदस्य बनाइयो र त्यसको एक सदस्य नेपाल उद्योग परिसंघबाट राजेशकुमार अग्रवालज्यू पनि सदस्य हुनुहुन्थ्यो, सीएनआईका अध्यक्षको नाताले । हामीले सकेका सुझाव यथार्थपरक ढंगले दिएका थियौं । निजी क्षेत्रको समेत संलग्नता भएकाले पनि यो आयोगले दिएको सुझाव कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ भनेर नै ‘आर्थिक रुपान्तरणको मार्गचित्र’ शीर्षकमा सार्वजनिक–निजी संवाद सुरु गरेका थियौं । सोही पहलको दोस्रो संस्करणको रूपमा आज आयोगले दिएको सुझाव कार्यान्वयनका लागि गठित ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ ले दिएको सुझावमा पनि कर प्रणाली सुधारमा केन्द्रित भई यो सार्वजनिक–निजी संवाद आयोजना गरेका हौं । सरकारले मंसिर १ गते ‘राष्ट्रिय कर दिवस’ मनायो । राष्ट्रिय कर दिवसलाई समेत आधार बनाएर समग्र कर प्रणाली सुधारका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ ले दिएको सुझावमा मात्रै केन्द्रित भएर आजको छलफल आयोजना गरेका छौं । आदरणीय मन्त्रीज्यू, यो आयोगले दिएका सुझावहरू कार्यान्वयन हुनुपर्ने विषयलाई पुनः स्पष्ट रूपमा राख्न चाहन्छु । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । बैंकहरूमा लगानी योग्य रकम छ । ब्याजदर एकल अंकमा छ । समग्र बजार माग बढ्न सकेको छैन । मागमा वृद्धि आउन नसक्दा उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । मूल्यवृद्धि न्यून विन्दुमा छ । पैसा ‘आइडल बस्नु’ (नचल्नु) भनेको अर्थतन्त्रका लागि राम्रो संकेत होइन । त्यसको असर सरकारको राजस्वमा समेत पर्दै आएको छ । जबसम्म लगानी बढाउन सकिँदैन, उल्लेखित विषयहरूमा सुधार गर्न गाह्रो पर्छ । हाम्रो सन्दर्भमा लगानी अभिवृद्धि गराउन कर प्रणालीमा सुधार आवश्यक छ । यसलाई आयोगले दिएको सुझाव र कार्ययोजनाले दिएको महत्वले समेत पुष्टि गरेको छ । त्यसैले यथाशक्य चाँडो कर प्रणालीमा सुधार गर्न आवश्यक छ । लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुन्छ । स्वदेशी लगानीकर्ताले मात्रै होइन, विदेशी लगानीकर्ताले पनि करसम्बन्धी नीतिहरूको स्थायित्व हेरेर मात्रै लगानी गर्ने गरेका हुन्छन् । लगानीकर्ताको लगानीको आधारसमेत कर सम्बन्धी नीति हुने भएकाले यसलाई गहन रूपमा ध्यान दिन अनुरोध गर्न चाहन्छु । आयोगको सुझाव कार्यान्वयनका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ ले दिएको सुझाव र यसको कार्यान्वयनको अवस्थाका विषयमा शेषमणीजीले प्रस्तुतीकरण गर्नुहुनेछ । अन्त्यमा, नेपाल उद्योग परिसंघ यस आयोगको एउटा सदस्य भएको नाताले पनि आयोगका सुझावहरूको सफल कार्यान्वयनका लागि निरन्तर यस्तै पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । हाम्रो चाहना अर्थतन्त्रको सुधारसँगै रुपान्तरण होस् भन्ने हो । त्यसका लागि परिसंघले खेल्नुपर्ने भूमिका, निर्वाह गर्नुपर्ने कर्तव्य पूर्णतया जिम्मेवार भई पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । आयोगको सुझावमा केन्द्रित गरी आजको जस्तै अन्य क्षेत्र–केन्द्रित सार्वजनिक–निजी संवाद आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु । आफ्नो महत्वपूर्ण समय दिएर हामीलाई हौसला प्रदान गरिदिनुभएकोमा आदरणीय मन्त्रीज्यूसहित सबै विशिष्ट अतिथिज्यूहरूलाई हार्दिक आभारसहित स्वागत गर्न चाहन्छु । धन्यवाद । (नेपाल उद्योग परिसंघले आयोजना गरेको सार्वजनिक–निजी संवाद कार्यक्रममा अध्यक्ष वीरेन्द्रराज पाण्डेले व्यक्त गरेको स्वागत मन्तव्य)

मोटोपनले महिलाको मुटु र कलेजो जोखिममा

अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो सुनेका छन् । ‘मुटुको स्वास्थ राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर्नुपर्छ’ भनेर छलफल पनि भइरहन्छ तर कलेजो अस्वस्थ भयो भने कसरी समस्या पर्न सक्छन्, कलेजो स्वस्थ पार्न कस्ता खानेकुरा खाने भन्नेबारे पनि त्यति छलफल हुँदैन ।  कलेजो शरीरको यस्तो कारखाना हो, जसले शरीरको विषालु तत्वलाई बाहिर लैजाने काम गर्छ । शरीरभित्रको सबभन्दा ठूलो अङ्ग हो कलेजो, तर धेरै बेवास्ता गरिएको छ । यदि कलेजो अस्वस्थ भयो भने शरीरभित्रका विषालु तत्व बाहिर निस्कन पाउँदैन । अनि शरीरभित्र अनेक समस्या सुरु हुन्छ ।  नेपाली महिलाहरुको अहिले सरदर आयु ७२ वर्ष रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । नेपाली महिलाको सरदर आयु यति वर्ष हुनु जनस्वास्थको दृष्टिकोणले सफलता मान्न सकिन्छ । तर अर्कोतिर उनीहरु अस्वस्थ पनि बन्दैछन् । पछिल्लो सरकारी तथ्याङ्कले के देखाउँछ भने ३५ प्रतिशत नेपाली महिला मोटोपनको शिकार भएका छन् । त्यस्ता महिलाहरु प्रायः नेपालका ठूलो सहरहरुमा रहेका छन् । खासगरी धनी परिवारका ५३ प्रतिशत र गरिब परिवारका २० प्रतिशत महिलामा यो समस्या देखिएको छ । गाउँघरका गरिब महिलाहरुको कार्यबोभ, धेरै रहे पनि अहिले पत्रु खाना धेरै खाने भएकाले उनीहरुमा पनि मोटोपनको समस्या देखिन थालेको छ ।   ठूला सहरका महिलाहरु व्यापार, सरकारी र गैरसरकारी संस्था, सेवाप्रदायक ९अस्पताल, होटेल, शिक्षक, घरको काम० आदि काम गर्छन् । एक प्रकारले नेपाली महिलाले देशको आर्थिक विकासमा ठूलो टेवा पु¥याएका छन् । त्यसले हाम्रो समाजमा धेरै परिवर्तन भइसकेको छ भन्ने पनि देखाउँछ तर यसरी महिलाहरु देश र समाजमा विकासको काममा व्यस्त हुँदा उनीहरुको स्वास्थमा मोटोपनले गर्दा भविष्यमा ठूलै स्वास्थ्य समस्या आउने सम्भावना देखाएको छ । पैतीस प्रतिशत नेपाली महिला मोटोपनको शिकार हुनु र अस्पतालमा जाँच गर्न आएका ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेको देखिनुले नेपाली महिलाको खराब स्वास्थ भन्ने कुरा इङ्कित गर्छ । कोही अतिप्रिय व्यक्तिलाई ‘मेरो आँखाको नानी, मुटुको टुक्रा, कलेजोको टुक्रा’ भन्ने चलन नै छ । कति महत्व रहेछ त मुटु र कलेजोको । तर त्यही कलेजो र मुटु मोटोपनले बिग्रने के समस्याप्रति कमैको ध्यान गएको देखिन्छ ।   आर्थिक रुपमा सबल महिलाहरु मात्र होइन, कतिपय ठाउँमा आर्थिक रुपमा असक्षम महिलाको पनि कलेजोमा समस्या पर्न सक्छ । 'कलेजोमा बोसो जम्नुको प्रमुख कारणमध्ये मोटोपन, भोजन, शारीरिक रुपमा धेरै सक्रिय नहुने, विभिन्न किसिमका औषधि पनि हुन सक्छ', भारतका प्रसिद्ध कलेजोविज्ञ डा. एस के सरिन भन्नुहुन्छ, 'जसरी मुटु खराब हुँदा अनेक समस्या पर्छ त्यसैगरी कलेजोको स्वास्थले सम्पूर्ण स्वास्थको झलक देखाएको हुन्छ ।' उहाँले कलेजो स्वस्थ राख्न के गर्न सकिन्छ भनेर लेख्नुभएको आफ्नो किताबमा पहिलेपहिले ग्रिक समुदायमा मुटु, फोक्सो होइन, कलेजो शरीरको एक अति महत्वपूर्ण अङ्ग भनेर त्यसलाई पूजासमेत गर्ने चलनबारे उल्लेख छ । सो किताबमा पनि कसरी ‘मोटोपन’ ले गर्दा मुटुमा मात्र समस्या पर्ने होइन, कलेजोमा पनि समस्या पर्छ भनिएको छ । जब शरीरको विषालु तत्व निस्कासन गर्ने कारखानामा नै समस्या पर्छ, यसले मधुमेहको समस्या पर्नसक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।  डा. सरिनको अनुभवले भन्छ–'महिलाहरु र पुरुषको कमर यदि क्रमशः ३५ सेमी, ३८ सेमीभन्दा बढी छ भने त्यस्ता व्यक्तिहरुको कलेजोमा समस्या हुनसक्ने सम्भावना एकदम बढी हुन्छ ।' कलेजोमा बोसो जम्ने प्रमुख कारण ‘रक्सी’ हो । तर रक्सी नखाने व्यक्तिहरुमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यसको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो । कलेजो र मधुमेहको बीचको सम्बन्धलाई लिएर धेरै अनुसन्धान भएको छ । डा. रबर्ट लस्टिग नामक अमेरिकन बालरोग विज्ञले पनि आफ्नो किताब मेटाबोलिकलमा लेख्नुभएको छ–'शरीरमा चिनीको मात्र धेरै हुँदा मुसा र मानिसमा डिप्रेशन' (मानसिक अस्वस्थता) भएको देखाएको छ । चीन र युरोपमा गरिएको अनुसन्धानले सावित गरेको छ कि अति प्रशोधित भोजन (पत्रु भोजन) प्रयोग गर्दा डिप्रेशन देखिन्छ । कति जना व्यक्तिहरु व्यायाम पर्याप्त गरेपछि जे जति खाए पनि हुन्छ भन्ने गर्दछन् । यस कुरालाई केही वर्षअघिको एक अनुसन्धानले गलत प्रमाणित पारिदिएको छ ।  फिनल्याण्डका सामी इनकिनेन भन्ने एक व्यक्ति जो विश्व प्रसिद्ध ‘टाकिया’ कम्पनिको मालिकमध्येका एक थिए । उनले अमेरिका आएर आफ्नो व्यापार सुरु गरेका थिए । अर्बाै पति उनी एक दिनमा पाँच घण्टा व्यायाम गर्थे तर ३८ वर्ष नहुँदै उनलाई स्वास्थ समस्या देखापर्यो । रगत जाँच गर्दा उनलाई रगतमा चिनीको मात्रा धेरै देखियो । मधुमेह नै चाँहि भइसकेको थिएन । त्यही व्यायाम गर्ने व्यक्तिलाई पनि शरीरमा चिनीको मात्रा कसरी अत्यधिक भयो भनेर विचार गर्दा थाहा भयो । अनुसन्धानबाट उनलाई खेलाडीहरु पिउने इनर्जी ड्रिङ्कको सेवनको कारणले यस्तो भएको थाहा भयो । यसको अर्थ केबल व्यायाम गरेर, खेल खेलेर मात्र हुँदैन, स्वस्थकर भोजनको पनि त्यति नै महत्व रहन्छ । नेपालको पछिल्लो तथ्याङ्कले करिब छ प्रतिशत किशोरीहरु अति ‘मोटोपनको  शिकार’ भएका छन् भन्ने देखाएको छ । यी किशोरीहरु दाम्पत्य जीवनमा प्रवेश गर्दा, गर्भवती हुने समस्या पर्नसक्ने सम्भावना हुन सकिन्छ । काठमाडौं बत्तीसपुतलीकी एक ३० वर्षीया युवती ८० केजीकी थिइन् । उनको उचाइअनुसार उनी ५३ किलो मात्र हुनुपथ्र्यो । तेइस वर्षको उमेरमा विवाह भएको उनको सात वर्षसम्म पनि गर्भ रहेन । जाँच गर्दा उनको कलेजोमा पनि बोसो जमेको देखियो । चिकित्सकले उनलाई झण्डै २०–३० किलो घटाए मात्रै गर्भ रहने सम्भावना छ भन्ने सलल्लाह दिए । चिकित्सकको सल्लाहअनुसार एक वर्षमा चिनी, पत्रुखाना, धेरै बोसो भएको, कोल्ड ड्रिंक त्यागिन साथै योग गरेर २० किलो घटाउन सफल भइन् । तौल घटेपछि उनलाई भर्‍याङ चड्न पनि सजिलो भयो ।  तौल घटेसँगै उनको महिनावारी पनि समयमा हुन थाल्यो । पहिले कहिले दुई महिना, कहिले तीन महिनामा महिनावारी हुन्थ्यो । पहिले उनको पाठेघरको जाँच गर्दा पाठेघरमा पानीको फोकाजस्तो (जसलाई ‘ओमारियन सिस्ट’ भनिन्छ) देखापर्यो । जब उनको तौल घट्यो, उनको ‘सिस्ट’ पनि कम हुँदै गयो र उनको प्राकृतिक तरिकाले गर्भ रहन गयो, कलेजोमा जमेको बोसो पनि कम भयो र उनी र उनका श्रीमान् एकदम खुसी भएका थिए । चिकित्सकको सल्लाहले तौल घटाएपछि आफ्नो सम्पूर्ण स्वास्थमा नै सकारात्मक असर परेको भन्दै उनी निकै खुसी भएकी थिइन् ।  पहिले त उनलाई रक्सी खाने मानिसको मात्र कलेजो खराब हुन्छ भन्ने लाग्यो, पछि मोटोपनले गर्दा पनि कलेजो खराब भएपछि मधुमेहको समस्या पनि हुने रहेछ भन्ने थाहा भयो । मोटोपनले गर्दा प्रजनन स्वास्थमा समस्या पनि मेरो परेको रहेछ । उनीजस्ता कतिपय युवतीले किशोरावस्थामा नै मोटो हुँदा धेरै वास्ता गर्दैनन् तर पछि अनेक समस्या उनीहरुलाई आइपर्छ, अनि स्वास्थ्य परीक्षण गर्दा कसरी यस्तो भयो भन्ने थाहा लाग्छ । गर्भ नरहने समस्या भएपछि चिकित्सकसँग परीक्षण गराउन जान्छन् । आधुनिक प्रविधि प्रयोग गरेर गर्भवती हुनु पर्यो भने सबैलाई सहजै पूर्वक गर्भ नहुनसक्छ । पहिले अनेक किसिमका पत्रु खाना खाने, कोल्ड ड्रिंक खाने बालबालिका, किशोरकिशोरीलाई पनि कलेजो र मुटुमा समस्या पर्न जान्छ । अनि शारीरिक समस्या त पर्छ नै, अनेक मानसिक अस्वस्थ, तनाव पनि हुन सक्छ । त्यसैले मुटु, मिर्गौला र कलेजो स्वस्थ राख्न समयमै सबै सचेत हुन आवश्यक छ ।  (लेखक जनस्वास्थ्यविद् हुन्)  

देशका लागि कोही किन धुर्मुस बनोस् ?

दशक अघिसम्म कलापात्र ‘धुर्मुस’ अर्थात् सीताराम कट्टेलको ‘नेमफेम’ डाहलाग्दो थियो । पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सँगको उनको कलाजोडी ‘सुपरहिट’ जस्तै थियो । गाउँले पाराको धुर्मुस–सुन्तली जोडीको अर्गानिक अभिनयबाट लाखौं ‘फ्यान’ बनेका थिए । विभिन्न संस्थाबाट सम्मानको ओइरो थियो ।  जनमनमा बसेका उनै कलाकार धुर्मुसको जीवन अहिले ‘ओरोलो लागेको हरिणको चाल झैं’ भएको छ । चितवनमा आफैले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी टुंगो लाउन सरकारी अड्डा धाउँदाधाउँदै उनी लखतरान छन् । उनको पछिल्लो ५ वर्ष सिंहदरबार र चितवन धाउँदैमा बित्यो ।  रहरले बिसाएको यसै झमेलाका कारण शारीरिक, मानसिक र आर्थिक रूपमा गलेका उनी ‘डिप्रेसन’ र ‘एन्जाइटी’को शिकार भएका छन् । गत वैशाखदेखि प्राकृतिक चिकित्सालय समेत चहारिरहेका उनलाई चिकित्सकले धपेडी र तनाव नलिन सुझाए पनि फाइलको झोला बोकेर सरकारी अड्डा चहार्नुको विकल्प उनीसँग छैन । उनकी श्रीमती ‘सुन्तली’ भन्छिन्, ‘ऊ शारीरिक र मानसिक दुवै रूपमा निकै गलेको छ । तर जनताको माया जति पाएको छ, त्यसले फेरि उठाउने आशा हामीलाई छ ।’  हास्यव्यंग्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट उदाएका धुर्मुस–सुन्तलीले यसबाट पाएको ‘नेम’ र ‘फेम’ दुवै प्रयोग गर्दै समाजसेवा थालेका थिए । मुसहर बस्ती निर्माणलगायतका कामको सफलताले हौसिएका धुर्मुसले नागरिक सहायताबाट चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने ‘मेगा प्रोजेक्ट’ थाले ।  यो सपना पूरा गर्नका लागि चाहिने झण्डै तीन अर्बको स्रोत जुटाउन मात्र उनी असफल भएनन्, त्यसमा गरिएको खर्चको पारदर्शिता सम्बन्धी प्रश्नले पनि घेरिए । यसको खर्च पारदर्शी भएको केही छानबिनले देखाए पनि बहुप्रतिभाशाली कलाकार धुर्मुस यही प्रकरणले पछिल्लो केही वर्षदेखि बिथोलिँदै गएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् सहयोग संकलन गरेर शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते रंगशाला निर्माणको घोषणा गरियो । २० बिघा ६ कठ्ठा जग्गामा बन्दै गरेको रंगशालाको निर्माण कार्य रकम अभावका कारण २०७८ मा रोकियो । त्यसपछि फाउन्डेसनकै पहलमा भरतपुर महानगरपालिकाले स्वामित्व त लियो । तर, निर्माणमा खर्च भइसकेको १८ करोड ४३ लाख उधारो कसले तिर्ने भन्ने विवाद सुरु भयो । यही विवादले धुर्मुस–सुन्तली फाउण्डेसन विवादमा आयो र उनीहरूको निद हराम पनि सुरु भयो ।  भरतपुर महानगरपालिकाका अनुसार रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ रुपैयाँ खर्च भएको छ । त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ । महानगरपालिकाले गराएको अडिटमा समेत उधारो ऋण तिनुपर्ने देखाइएको छ । यो ऋण कसरी तिर्ने भन्ने विषयले निकास पाउन नसक्दा धुर्मुस परिवार तनावमा भासिँदै गएको हो । २०७९ मंसिर २९ गते तत्कालीन मन्त्रीपरिषद्ले ऋणमध्ये १२ करोड रकम अनुदान दिने निर्णय गरेको थियो । त्यतिबेला युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत भुक्तानी दिन पत्रसमेत पठायो । तर, परिषदले आफूलाई जानकारी नभएको र सम्झौतासमेत नभएको भन्दै दिन नसकिने जवाफ दियो । त्यसपछि २०८० असारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमार्फत भरतपुर महानगरपालिकाको खातामा १२ करोड रकम पठाइयो । त्यो रकम पनि महानगरपालिकाले भुक्तानी नगर्दा संघीय सरकारकै खातामा फिर्ता भयो । जसले गर्दा यो प्रक्रिया झन् गिजोलियो ।  रंगशाला निर्माणको बाँकी काम सरकारले नै गर्ने गरी जिम्मा लिइएको छ । तर, निर्माण गर्दा लागेको उधारो रकम चुक्ता नहुँदा धुर्मुस दम्पती सिंहदरबार धाउन विवश छन् । लेखापढीका फाइल बोकेर सिंहदरबारका कोठाकोठा चहारे पनि सरकारले आफ्नो समस्या नसुनेको दुखेसो उनीहरूको छ ।  २०७२ को भुकम्पपछि सहयोग उठाएर उनीहरुले पूर्वी तराईमा केही एकीकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर रौतहटको सन्तपुर बस्ती बनाउँदा ५ करोड, महोत्तरीको मुसहर बस्ती बनाउँदा साढे ७ करोड र गिरानचौर बस्तीका लागि ६ करोड बढी रकम जम्मा भयो । यसरी ठूलो जनसमर्थन र विश्वास पाएर पुलकित धुर्मुस जोडी छँदाखाँदाको नाम र दामको कलाकारिता भन्दा समाजसेवामा रमाउन पुगे । अनि स-सानो पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे ।  देशमा ठूलो सपना देख्नु नै अपराध नबनोस्, समाजले बिग्रिएका वा थाकेका वा हारेका होइन, जितेका सफा धुर्मुसहरू पाओस् । एकातिर नमूना बस्ती बनाएपछि समाजले रातारात ‘महान समाजसेवी’ बनाइदिएको अनि अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भइरहेको तर खेल्ने गतिलो ठाउँ नभएको बेला उनीहरू चरम महत्त्वाकांक्षी बनेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन तम्सिए । ठाउँ खोज्दै जाँदा संयोगले चितवन जुरेको थियो । सुरुमा देश-विदेशबाट सहयोग पनि जुट्यो । सहयोग जुटाउन ठाउँठाउँमा स्वतःस्फूर्त सहयोग समितिहरू बने । अनि झण्डै ४० करोड नगद रकम जुट्यो भने उधारोबाट १८ करोड बढिको काम भयो । त्यसबाट रंगशालाको ३५ प्रतिशत काम मात्रै हुन सक्यो ।  चाहिने रकम उठ्न रोकिएपछि धुर्मुसले ‘प्रोजेक्ट’ त अघि बढ्ने गरी सरकारलाई बुझाए । तर, बजारमा तिर्न बाँकी बक्यौताको ‘काउसो’ले भने पच्छ्याइ रह्यो ।  त्यसपछि उनीहरुको सपना, कलाकारिता र जीवन नै तहसनहस हुने गरी सुरु भएको हुरी ५ वर्षदेखि रोकिएको छैन । लहडमा लागेर चरम महत्त्वाकांक्षी बन्दा धुर्मुस–सुन्तलीको ‘हरिबिजोग’ भएको एकथरीको भनाइ पनि छ । अब पुनः कलाकारितामा फर्किएर अहिलेको ‘ट्रेण्ड’मा स्थापित हुन पनि ठूलै सकस छ । एक समय लोकप्रियताको शिखर चुमेका धुर्मुस–सुन्तलीको जोडी रंगशाला बनाउने योजनासँगै एकपछि अर्को परिबन्दमा फसे । देशलाई सघाउन खोजेका उनीहरुको वास्तविक पीडा सरकारले बुझ्न नसकेको वा नचाहेको भन्ने आम बुझाई बन्दै गएको छ । सरकारले रंगशाला जिम्मा लिइसकेको तर तिर्नुपर्ने बाँकी रकम बुझाउन भने फनफनी घुमाएर दुःख दिएको आरोप पनि एकथरीको छ ।  छिनोफानो छिटो होस् भनेर धुर्मुस फाइलको झोला बोकेर सिंहदरबारका कोठा–कोठामा पुग्दा पनि सरकार कछुवा गतिमै छ । यसले स्वयं धुर्मुस र उनको परिवार मानसिक तनावमा भासिँदै गएको छ । देश र जनताका लागि सुरु गरेको योजना नै अहिले निल्नु न ओकल्नु भएको छ । कहिले सिंहदरबार त कहिले ललितपुरको पुल्चोक अनि कहिले चितवनको भरतपुर धाइरहेका धुर्मुसलाई सरकारले ढिलाई गरेर किन पीडा दिइरहेको छ बुझिनसक्नु छ ।  गत वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशालाको काम सुरु गरेर धेरै दुःख पाएको भन्दै त्यो क्रिकेट मैदान पनि बन्ने र उनीहरूको दुःख कष्ट पनि हट्ने बताएका थिए । तर, उनी नेतृत्वको सरकारका तर्फबाट पनि तत्काल गाँठो फुकाइदिने काम चाहिँ भएन ।   उधारो चुकाएर पनि धुर्मुस जोडीले मुक्ति पाउने छैन । सहयोग रकम हिनामिना गरेको आरोपबाट सफाइ पनि धुर्मुस–सुन्तली फाउण्डेसनले पाउनु पर्नेछ । हुन त हालैको एउटा सरकारी मूल्यांकन रिपोर्टले उनीहरुका लागि केही आशा जगाइ दिएको छ । रिपोर्टमा सहयोग उठेको र तिर्नु पर्ने रकम भन्दा बढीको काम भएको देखिएपछि यो आरोप आफै खण्डित हुन पनि सक्छ । त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ । सो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश भै सकेको छ ।  कलेजले तयार गरेको प्रतिवेदनमा फाउण्डेसनले रंगशालाभित्र निर्माण गरेको नमूना क्रिकेट मैदान, कालोमाटोसहितको ढुवानी, मैदानमा दुबो रोप्दा लागेको खर्च, रंगशालाभित्र मौज्दात रहेको निर्माण सामग्री, स्क्राप सामग्री समेत झण्डै ३ करोड रकम नजोडिएको जनाएको छ । यी रकम बाहेक नै फाउण्डेसनले ५९ करोडभन्दा बढीको भौतिक काम गरेको प्रतिवेदनले देखाएसँगै धुर्मुसहरू माथि लागेको अनियमितताको दाग पखालिने आशा उनका शुभेच्छुकमा जागेको छ ।  संघीय सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्यांकन गर्ने घोषणा बजेटमार्फत् गरेको थियो । यसै अनुसार कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनबीच प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी अनुसार मूल्यांकन भएको हो । यद्यपि सरकारले फाउण्डेसनका तर्फबाट भएको कामको उधारो रकम तिर्नका लागि यस वर्ष १५ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै महानगरपालिकामा अख्तियारीसमेत गइसकेको छ । तर, महानगरपालिकाले सबै कुरा टुंगिए पनि अहिले आएर प्रतिवेदन अध्ययन गर्ने भन्दै अल्झाएर राखेको छ । जसले गर्दा धुर्मुस उक्त बजेट निकासाका लागि अझै धाइरहेका छन् । यो भुक्तानी भएपछि पनि बाँकी ३ करोडभन्दा बढी रकमको जोहो गर्नु पर्ने दायित्व धुर्मुसकै टाउकोमा रहनेछ ।  धुर्मुसको पीडा केवल व्यक्तिगत होइन, यो देशका लागि उठ्ने मानिसको साझा कथा हो । धुर्मुसले आफ्नै कमाइ र लोकप्रियता प्रयोग गरेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखे । तर, वाचा गरिएका सहयोगहरू पूरा भएनन्, प्रशासनिक अड्चन र राजनीतिक दवाबले परियोजना सुस्तियो, सामाजिक सञ्जाल र केही व्यक्तिले आलोचना र आरोप लगाइरहे । यद्यपि सबै कठिनाइका बाबजुद, धुर्मुसले हार नमानेर धाइरहेका छन् । तथ्यबाट यदि उनी पारदर्शी देखिए र यो योजना पूरा भयो भने यो एउटा सपना देख्ने र देशका लागि उठ्ने मान्छेको संघर्षको प्रतीक बन्नेछ । समाजका लागि प्रेरणाको स्रोत बन्नेछ ।  धुर्मुसले एक दशकअघि नै खाँचो देखेर यो काम आँट्नु नै उनको गल्ती होइन । उनी न नेता हुन्, न उद्योगपती । उनी क्रिकेटर पनि होइनन् र न क्रिकेटरका आफन्त । कलाकारले कलामै योगदान जारी राख्नु पथ्र्यो पनि भन्न सकियो । तर, अब उनलाई दुःख दिएर वा हियाएरै जिवनमरणको दोसाँधमा छोड्नु न्यायसँगत हो त ?  भन्नेले त यत्रो ठूलो काम जाबो कलाकारले किन आँटेको पनि भनेका छन् । केहीले पैसा कुम्ल्याउन पनि यसो गर्यो भनेका छन् । तर, आफू केही नगर्ने र गर्नेहरूको शरीरका जुम्रा खोजेर चौबाटोमा चियागफ लडाउनेहरूको कमी नभएको समाजमा यस्ता कुरा सामान्य हुन् । बरु मान्छे देशका लागि उठ्दा, देशले नै उनलाई बेहाल बनाइदिने कथा जस्तो यो नहोस् । यो देशमा ठूला सपना देख्ने हिम्मत गर्नु नै अपराध नबनोस् । बाँकी उनले समाजसेवाका नाममा कमाउधन्दा वा अरू बदमासी गरेका भए कानुनले सजाय देओस्, समाजले त जे पनि भन्छ । कसैले राम्रो काम गर्न खोज्यो भने पहिले उसलाई तान्ने, फेरि थिच्ने, अनि अन्त्यमा थकाउन खोज्ने समाजको पुस्तौनी संस्कृति हो । धुर्मुस पनि सायद यही संस्कृतिको सिकार बने । आखिरमा देशको राजधानीमा बल्ल क्रिकेटका लागि भने जस्तो रंगशाला बन्ने क्रममा छ । बुटवलमा एक जनाले निजी रंगशाला बनाएका छन् । धुर्मुसले एक दशकअघि नै खाँचो देखेर यो काम आँट्नु नै उनको गल्ती होइन । उनी न नेता हुन्, न उद्योगपति। उनी क्रिकेटर पनि होइनन् र न क्रिकेटरका आफन्त । कलाकारले कलामै योगदान जारी राख्नु पर्थ्यो पनि भन्न सकियो । तर, अब उनलाई दुःख दिएर वा हियाएरै जीवनमरणको दोसाँधमा छोड्नु न्यायसंगत हो त ?  त्यसैले देशमा ठूलो सपना देख्नु नै अपराध नबनोस्, समाजले बिग्रिएका वा थाकेका वा हारेका होइन जितेका सफा धुर्मुसहरू पाओस् । अझ धेरै सफा धुर्मुसहरू जन्मिऊन् । समयले सबै कुरा छिटो राफसाफ गरोस् । नत्र छिनमै देउता बनाउने र छिनमै राक्षस करार गर्ने ठेक्का पाएको हाम्रो समाजको मुख कसले थुन्न सक्छ र !