नयाँ पैसा होइन, दिशा चाहिएको छ

नेपालको अर्थतन्त्रबारे सार्वजनिक बहसमा एउटा धारणा बारम्बार दोहरिने गर्छ- देशमा पुँजीको अभाव छ, त्यसैले लगानी बढ्न सकेको छैन र आर्थिक गतिविधि सुस्त बनेको छ । तर वर्तमान आर्थिक अवस्थाले भने फरक तस्वीर देखाउँछ । मुद्रास्फीति तुलनात्मक रूपमा नियन्त्रणमै छ, विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा बलियो छ, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ र वित्तीय प्रणाली समग्रमा स्थिर देखिन्छ । यद्यपि निजी क्षेत्रको लगानी विस्तार हुन सकेको छैन, कर्जा माग कमजोर छ, उद्योगहरूको क्षमता उपयोग घटेको छ र रोजगारी सिर्जनाको गति सुस्त छ । यही विरोधाभासले एउटा गम्भीर प्रश्न उठाउँछ- यदि पुँजी उपलब्ध छ भने अर्थतन्त्र किन गतिशील बन्न सकेको छैन ? यसको उत्तर पुँजीको परिमाणमा होइन, पुँजी परिचालनको संरचनामा खोज्नुपर्छ । नेपालको आर्थिक समस्या पुँजी अभावभन्दा बढी उपलब्ध स्रोत, वित्तीय प्रणाली, सरकारी नीति र उत्पादनशील क्षेत्रबीचको कमजोर समन्वयसँग सम्बन्धित छ । त्यसैले अब परम्परागत मौद्रिक नीतिको सीमाभन्दा बाहिर सोच्दै उत्पादन, रोजगारी र उद्यमशीलतालाई केन्द्रमा राख्ने विस्तृत मौद्रिक नीति आवश्यक भएको छ । स्थिरता पर्याप्त छैन, गतिशीलता आवश्यक छ नेपाल राष्ट्र बैंकले विगत दुई दशकमा मूल्य स्थायित्व, वित्तीय अनुशासन र बैंकिङ प्रणालीको सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तर आजको अर्थतन्त्रमा मौद्रिक नीतिको सफलता केवल मुद्रास्फीति नियन्त्रण वा विदेशी मुद्रा सञ्चितिको आकारबाट मात्र मापन गर्न सकिँदैन। बैंकहरूमा तरलता भएर पनि उद्योगहरूमा लगानी नबढ्ने, वित्तीय प्रणाली स्वस्थ देखिए पनि उद्यमहरू संकटमा रहने, आर्थिक वृद्धिदर देखिए पनि रोजगारी नबढ्ने अवस्था रहिरहेमा स्थिरता मात्रै विकासको पर्याय बन्न सक्दैन । आजको चुनौती वित्तीय स्थिरतालाई उत्पादनशील गतिशीलतासँग जोड्नु हो । आर्थिक नीतिको अन्तिम उद्देश्य केवल मूल्य स्थायित्व होइन, नागरिकको आय वृद्धि, सम्मानजनक रोजगारी, उद्यमशीलता विस्तार र राष्ट्रिय उत्पादन क्षमता अभिवृद्धि पनि हुनुपर्छ । फराकिलो मौद्रिक नीतिको अवधारणा फराकिलो मौद्रिक नीति भन्नाले राष्ट्र बैंकको मूल दायित्व- मूल्य स्थायित्व र वित्तीय प्रणालीको सुरक्षा कायम राख्दै मौद्रिक प्रणालीलाई उत्पादन, लगानी, रोजगारी र क्षेत्रीय विकाससँग संरचनागत रूपमा जोड्ने नीति ढाँचा हो । यसको आधार चारवटा परस्पर जोडिएका स्तम्भमा निहित छन् । वित्तीय स्थायित्व र कर्जा प्रवाहका लागि मौद्रिक नीति, राष्ट्रिय प्राथमिकता निर्धारणका लागि वित्तीय नीति, उत्पादन र प्रतिस्पर्धात्मकता विस्तारका लागि औद्योगिक नीति, र स्रोतको स्थानीय परिचालन तथा रोजगारी सिर्जनाका लागि स्थानीय आर्थिक नीति आवश्यक पर्छ । अर्थतन्त्रका यी चार पक्ष अलग-अलग दिशामा सञ्चालन हुँदा उपलब्ध पुँजी उत्पादनमा रूपान्तरण हुन सक्दैन । त्यसैले नीति समन्वय नै आर्थिक रूपान्तरणको पहिलो सर्त हो । नेपाल र असम्भव ट्रिनिटीको यथार्थ खुला अर्थतन्त्र भएका मुलुकहरू असम्भव ट्रिनिटी नामक आर्थिक सिद्धान्तको चुनौतीसँग जुधिरहेका हुन्छन् । यो सिद्धान्तअनुसार कुनै पनि देशले एकै समयमा स्थिर विनिमय दर, पुँजीको पूर्ण गतिशीलता र पूर्ण स्वतन्त्र मौद्रिक नीति कायम राख्न सक्दैन । नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दरको व्यवस्था अपनाएको छ र विप्रेषण मार्फत ठूलो मात्रामा बाह्य मुद्रा प्राप्त गरिरहेको छ । यस्तो अवस्थामा मौद्रिक नीतिको स्वतन्त्रता स्वाभाविक रूपमा सीमित हुन्छ। तर यसको अर्थ मौद्रिक नीति निष्क्रिय बन्नुपर्छ भन्ने होइन । बरु उपलब्ध नीतिगत क्षेत्रभित्र रहेर उत्पादनशील कर्जा प्रवाह, रोजगारी सिर्जना, उद्यमशीलता विकास र क्षेत्रीय आर्थिक सन्तुलनलाई प्रोत्साहन गर्ने उपायहरू खोजिनुपर्छ । यहीबाट फराकिलो मौद्रिक नीतिको आवश्यकता उत्पन्न हुन्छ । नेपालको वास्तविक समस्या: पुँजीको दिशा नेपालमा समस्या पैसा नहुनु होइन; पैसा कहाँ र कसरी प्रवाह भइरहेको छ भन्ने हो । विगतका वर्षहरूमा ठूलो परिमाणको वित्तीय स्रोत घरजग्गा, आयात-आधारित व्यापार र अल्पकालीन सट्टेबाजी गतिविधिमा केन्द्रित भयो । यसले केही समय आर्थिक गतिविधि बढाए पनि उत्पादन क्षमता विस्तार, निर्यात वृद्धि वा दीर्घकालीन रोजगारी सिर्जना गर्न सकेन । घरजग्गा क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो र यसलाई समस्याको स्रोतका रूपमा मात्र हेर्नु उचित हुँदैन । निर्माण क्षेत्र, बैंकिङ प्रणाली, पर्यटन, होटल उद्योग, पूर्वाधार विकास र स्थानीय बजारसँग यसको गहिरो सम्बन्ध छ । तर सम्पत्ति बजारलाई उत्पादनशील लगानीसँग जोड्न नसक्दा पुँजीको ठूलो हिस्सा सीमित आर्थिक चक्रभित्र घुमिरह्यो । नेपाललाई घरजग्गा-विरोधी होइन, घरजग्गा-उद्योग-पर्यटन-पूर्वाधार-उत्पादनबीचको समन्वित आर्थिक दृष्टिकोण आवश्यक छ ।  उत्पादनमुखी कर्जा प्रणालीको पुनर्संरचना बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुनु मात्र पर्याप्त हुँदैन; त्यो तरलता उत्पादनमा रूपान्तरण हुनुपर्छ । यसका लागि कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि र साना तथा मझौला उद्यमलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा पुनर्परिभाषित गर्ने, आंशिक कर्जा प्रत्याभूति कार्यक्रम विस्तार गर्ने, नवप्रवर्तनशील उद्यमका लागि जोखिम साझेदारी कोष स्थापना गर्ने, दीर्घकालीन परियोजना वित्त पोषण संरचना विकास गर्ने, पुनर्संरचना योग्य व्यवसायलाई अस्थायी राहत उपलब्ध गराउने, बैंकहरूको मूल्याङ्कनमा उत्पादन र रोजगारी सिर्जनाको योगदानलाई समेत समावेश गर्ने व्यवस्था आवश्यक छ । भविष्यको बैंकिङ प्रणालीको सफलता केवल नाफाबाट होइन, राष्ट्रिय उत्पादन र रोजगारीमा दिएको योगदानबाट पनि मापन गरिनुपर्छ । ऋणी पुनर्जीवन: आर्थिक पुनरुत्थानको आधार आर्थिक मन्दीको समयमा सबै ऋणीलाई एउटै दृष्टिले हेर्नु आर्थिक रूपमा पनि गलत र सामाजिक रूपमा पनि अन्यायपूर्ण हुन सक्छ । व्यवसायिक असफलता र नियतवश गरिएको वित्तीय दुरुपयोगबीच स्पष्ट भिन्नता गरिनुपर्छ । अस्थायी बजार सङ्कुचन, नीति परिवर्तन वा बाह्य संकटका कारण प्रभावित भएका उद्योग र व्यवसायलाई पुनर्जीवनको अवसर दिनु आवश्यक छ । यसका लागि ऋणी पुनर्संरचना तथा पुनर्जीवन संयन्त्र, व्यवसाय पुनःर्स्थापना कार्यक्रम, वित्तीय तथा प्राविधिक परामर्श सेवा, अस्थायी ब्याज सहुलियत, कर्जा पुनर्तालिकीकरण, रोजगार संरक्षणसँग जोडिएका पुनर्वित्त कार्यक्रमजस्ता उपायहरू आवश्यक छन् । कुनै व्यवसाय बचाउनु भनेको केवल एउटा कम्पनी बचाउनु होइन; त्यससँग जोडिएका रोजगारी, आपूर्ति शृङ्खला, स्थानीय बजार र करदाताको आधार बचाउनु पनि हो । स्थानीय अर्थतन्त्रलाई विकासको केन्द्रमा ल्याउने नेपालको सङ्घीय संरचनाले स्थानीय सरकारलाई विकासको नयाँ अवसर दिएको छ । तर स्थानीय तहहरू अझै आर्थिक विकासका सक्रिय केन्द्र बन्न सकेका छैनन् । स्थानीय सरकार, बैंक, सहकारी र निजी क्षेत्रबीच साझेदारी निर्माण गरी स्थानीय उत्पादन कोष, कृषि प्रशोधन केन्द्र, औद्योगिक क्लस्टर, पर्यटन-आधारित आर्थिक क्षेत्र, स्थानीय उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न सकिन्छ । स्थानीय स्रोत, स्थानीय श्रम र स्थानीय उद्यमलाई एउटै आर्थिक चक्रमा जोड्न सके मात्रै सङ्घीयता आर्थिक रूपमा सफल बन्न सक्छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउने नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अझै अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ । यसले उत्पादकता, कर प्रशासन, श्रम सुरक्षा र वित्तीय पहुँचमा समस्या सिर्जना गर्छ। व्यवसाय दर्ता प्रक्रियाको सरलीकरण, डिजिटल भुक्तानी विस्तार, कर प्रणालीको सहजता र औपचारिक व्यवसायलाई प्रोत्साहन गर्ने नीतिले अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक अर्थतन्त्रमा समावेश गर्न मद्दत गर्न सक्छ । यो केवल राजस्व सङ्कलनको विषय होइन; समग्र आर्थिक उत्पादकता वृद्धि गर्ने रणनीति पनि हो । विकासको नयाँ मापन आज पनि आर्थिक सफलताको प्रमुख सूचकका रूपमा जीडीपी वृद्धिदरलाई प्रस्तुत गरिन्छ । तर केवल जीडीपीले समाजको वास्तविक आर्थिक अवस्था देखाउन सक्दैन । नेपालले आर्थिक मूल्याङ्कनका क्रममा रोजगारी सिर्जना दर, युवा उद्यमशीलता, महिला आर्थिक सहभागिता, नयाँ व्यवसाय दर्ता, क्षेत्रीय आय वितरण, उत्पादकता वृद्धि र निर्यात विस्तार सूचकलाई पनि प्राथमिकता दिनुपर्छ । विकासको अन्तिम मापन मानिसको जीवनस्तरमा आएको सुधार हुनुपर्छ, केवल आर्थिक तथ्याङ्कमा देखिएको वृद्धि होइन । नेपाललाई नयाँ पैसा होइन, नयाँ दिशा चाहिएको छ। नेपाल आज पुँजी अभावको होइन, पुँजी परिचालनको मोडमा उभिएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता, विप्रेषणबाट प्राप्त स्रोत, स्थानीय बचत, निजी क्षेत्रको अनुभव र युवा जनशक्तिलाई एउटै उत्पादनशील चक्रमा जोड्न सकियो भने देशले आर्थिक पुनर्जागरणको नयाँ अध्याय सुरु गर्न सक्छ । अबको चुनौती थप पैसा खोज्नु मात्र होइन; उपलब्ध पुँजीलाई उत्पादन, नवप्रवर्तन, उद्यमशीलता र रोजगारीमा रूपान्तरण गर्ने संस्थागत क्षमता निर्माण गर्नु हो । जब मौद्रिक नीति, वित्तीय नीति, औद्योगिक रणनीति र स्थानीय आर्थिक विकास एउटै राष्ट्रिय दृष्टिकोणमा समाहित हुन्छन्, तब मात्र अर्थतन्त्र उपभोगमुखी संरचनाबाट उत्पादनमुखी, समावेशी र आत्मनिर्भर संरचनातर्फ रूपान्तरण हुन सक्छ । (कटवाल इटहरी चेम्बर अफ कमर्सका अध्यक्ष हुन् ।)

फिफा विश्वकपको समूह चरणको पहिलो खेलले देखाएको संकेत

उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् ।  पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टिमहरु विजयी हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल र एक पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग एक–एक को बराबरीमा रोकिएको छ भने सन् २०१० को विश्वकप विजेता स्पेन पहिलोपल्ट विश्वकप खेल्दै गरेको अफ्रिकी राष्ट्रसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगलले डिआर कङ्गोसँग एक–एक गोलको बराबरी खेल्यो ।  यस्तै आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदा अमेरिकाले पाराग्वेलाई सहजै पाखा लगाएको छ । अर्को सहआयोजक क्यानाडाले पनि युरोपेली छनोटमा इटालीलाई हराएर आएको बोस्नियाहर्जगोविनासँग बराबरी खेलेको छ । यसैगरी एसियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराउँदा जापानले नेदरल्याण्ड्ससँग दुई–दुई गोलको बराबरी खेलेको छ । कतारले भने स्वीजरल्याण्डसँग एक–एकको बराबरी गर्दै अंक बाँड्दा दुईपटकको विजेता उरुग्वेलाई साउदी अरेबियाले तीन अंक खोस्न दिएन र बराबरी भयो । पहिलो खेल जित्ने टोलीको अन्तिम ३२ को यात्रा सहज भएको छ भने बराबरी गर्ने टोलीको पनि सम्भावना माथि नै छ तर पराजित टिमका लागी बाँकी खेलमा सकारात्मक नतिजा ल्याउनुपर्नेछ ।  कूल ४८ राष्ट्रबीच १२ समूहबाट आउने प्रत्येक समूहका विजेता र उपविजेता गरी २४ देशले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् भने थप आठ देशको टुङ्गो पनि ती १२ समूहका उत्कृष्ट तेस्रोबाट छानेर समावेश गरिनेछ । विजेता र उपविजेतासँगै तेस्रो हुनेहरूबाट पनि उत्कृष्ट आठ देशलाई अन्तिम ३२ मा लगिने हुँदा समूहका एक खेल जित्ने टोलीले पनि उत्कृष्ट तेस्रो हुँदै अर्को चरणमा पुग्ने सम्भावना बनाउन सक्नेछन् । समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया अगाडि  मेक्सिको र दक्षिण कोरियाले उत्तर अमेरिकी तीन देशमा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा अन्तिम ३२ मा जाने सम्भावना बलियो बनाएका छन् । समूह ए का एक–एक खेल सकिँदा यी दुबै टोलीले आफ्ना पहिला खेल जित्दा अन्तिम ३२ का लागि सहज बाटो बनेको हो । मेक्सिको र कोरिया दुबैको तीन–तीन अंक छ । चार देश रहेको यो समूहमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले भने आफ्नो पहिलो खेल नै हार्दा अर्को चरणमा जान बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने भएको छ । पहिलो खेलको नतिजासँगै समान तीन अंक भए पनि गोल अन्तर बढी भएकाले मेक्सिको पहिलो स्थानमा छ । उसले दुई गोल गरेर कुनै गोल खाएको छैन । तीन अंक नै भए पनि दक्षिण कोरिया दोस्रो स्थानमा छ । उसले चेक गणतन्त्रलाई हराएर पनि एक गोल खाएको छ । यो समूहमा चेक गणतन्त्र र दक्षिण अफ्रिका दुबै पहिलो खेलमा पराजित भए पनि एक गोल गरेका आधारमा चेक गणतन्त्र तेस्रो स्थानमा छ । दुई गोल खाएर उसले एक गोल फर्काएको थियो । दक्षिण अफ्रिकाले दुई गोल खाएर एक गोल पनि गर्न सकेको छैन । अफ्रिका तालिकाको चौथो स्थानमा छ । कोरिया र मेक्सिकोका लागि बराबरीले पनि अन्तिम ३२ को यात्रा तय गर्न सक्छ भने चेक र अफ्रिकाका लागि दोस्रो खेलमा जितले यात्रा सहज बन्न सक्छ भने हारले यात्रालाई कठिन मोडमा पुर्याइदिन सक्छ । समूह ‘बी’ मा सबैको समान अंक       फिफा विश्वकप २०२६ को समूह बि का एक–एक खेल सकिएका छन् । पहिलो खेल सकिँदा समूहमा रहेका स्वीजरल्याण्ड, क्यानडा, कतार र बोस्नीया हर्जगोविनाले एक–एक अंक बटुलेका छन् । सबै टिमले एक–एक गोल गरेका कारण र अंक पनि बराबर भएका कारण ती सबैको हैसियता बराबर छ । सहआयोजक क्यानाडाले बोस्नियाहर्जगोविनासँग एक–एक को बराबरी गरेको छ भने अर्को खेलमा एसियाली राष्ट्र कतार र युरोपेली राष्ट्र स्वीजरल्याण्डले पनि बराबरी खेल्दै अंक बाँडेका थिए । अब ती चारवटै टिमले दुई–दुई खेल खेल्न बाँकी छ । क्यानाडाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ भने स्वीजरल्याण्डले बोस्नियाहर्जगोविना र क्यानाडासँग खेल्न बाँकी छ ।  यस्तै बोस्नियाहर्जगोविनाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ । अन्तिम ३२ भित्र अटाउन यी सबै टोलीलाई मुख्य तय जितले सहज हुनेछ भने बराबरीले पनि संभावना हट्ने छैन तर हारले भने संभावना कमजोर बन्नेछ ।  समूह ‘सी’ मा ब्राजिल मोरक्कोसँग बराबरीमा  तेइसौँ संस्करणको विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ का सबै टिमको पहिलो खेल सकिँदा स्कटल्याण्ड तीन अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्डले लामो समय द्वन्द्वबाट गुज्रिएर फेरि फुटबलमा पाइला चालेको हाइटीलाई एक–शून्यले हराउँदै तालिकाको पहिलो स्थानमा उभ्याएको छ । यही समूहको अर्को खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिल अफ्रिकी देश मोरक्कोसँग एक–एकको बराबरीमा रोकिएको छ । सुरुआती गोल मोरक्कोका इजनेल साइबारीले गरेका थिए । उनले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ११ मिनेट अग्रता बनाएको मोरक्कोले त्यसलाई निरन्तरता दिन सकेन ।  विश्व फुटबलकै पहिलोदेखि अहिलेसम्म निरन्तर सहभागी ब्राजिलले कमब्याक गर्दै हारबाट त बचायो तर स्पष्ट तीन अंक लिन सकेन । समूह ‘सी’ मा शीर्षस्थानको स्कटल्याण्डको तीन अंक छ । बराबरी गरेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ भने हाइटी शून्य अंकसहित पुछारमा छ । अब अन्तिम ३२ मा पुग्न स्कटल्याण्डलाई सहज भएको छ भने ब्राजिल र मोरक्को लागि पनि सम्भावना प्रशस्तै छ तर हाइटीका लागि भने आगामी ब्राजिल र मोरक्कोसँगको खेलमा सुखद नतिजा ल्याउन अत्यावश्यक छ ।  समूह ‘डी’ मा अमेरिका र अष्ट्रेलियाको समान अंक  फिफा विश्वकप फुटबलमा अष्ट्रेलियाले टर्कीलाई हराएसँगै समूह ‘डी’मा आयोजक अमेरिका र अष्ट्रेलियाको समान तीन–तीन अंक भएको छ । एशियाली क्षेत्रको प्रतिनिधित्व गर्ने अष्ट्रेलियाले आइतबार विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरिसकेको टर्कीलाई दुई–शून्यले हराउन सफल भएको थियो । यसअघि यही समूहको पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई चार–एकले हराएको थियो । समूह तालिकामा अमेरिका समान तीन अंक भए पनि पहिलो स्थानमा छ । उसले चार गोल गरेर एक गोल खाएको छ । तीन अंक नै भए पनि अष्ट्रेलियाले दुई गोल गरेको छ । तसर्थ, गोल अन्तरमा अमेरिका अगाडि छ । यस्तै पराजित भएर पनि कम गोल खाएका कारण टर्की तेस्रो स्थानमा छ । उसले दुई गोल खाएको छ । पाराग्वे भने चार गोल खाएर एक गोल गर्दै तालिकाको पुछारमा छ । अब अन्तिम ३२ भित्र प्रवेश गर्न अमेरिका र अष्ट्रेलियाका लागि बराबरी पनि काफी हुन सक्नेछ भने पाराग्वे र टर्कीका लागि जित आवश्यक देखिन्छ । पाराग्वे र अमेरिकाले अब अष्ट्रेलिया र टर्कीसँग खेल्न बाँकी छ ।  समूह ‘इ’ मा जर्मनी बलियो, आइभरीकोष्ट पछ्याउँदै  नवप्रवेशी कुरासाओलाई भारी अन्तरले हराएपछि समूह ‘इ’ मा जर्मनी बलियो देखिएको छ । सात–एक अन्तरको जित बटुलेको चार पटकको विश्व विजेता जर्मनीको समूहमा पहिलो खेल सकिदा तीन अंक भएको छ । पहिलो खेलमा इक्वेडरलाई एक–शून्यले हराएको अफ्रिकी देश आइभरीकोष्टको पनि तीन अंक छ । पहिलो खेल सकिदासम्म जर्मनी तीन अंकसहित पहिलो स्थानमा छ । समान तीन अंक नै भए पनि गोल अन्तरमा पछि पर्दै आइभरीकोष्ट दोस्रो स्थानमा छ । जर्मनीले सात गोल गरेर मात्र एक गोल खाएको छ भने आइभरीकोष्टले एक गोल गरेर विपक्षीबाट कुनै गोल खाएको छैन ।  यो समूह ‘इ’ को तालिकामा इक्वेडर तेस्रो स्थानमा छ भने कुरासाओ चौथो स्थानमा छ । इक्वेडरले कुनै गोल गर्न नसकेपनि मात्र एक गोल खाएको छ भने कुरासाओले एक गोल गरेर तीन गोल खाएको छ । अब अन्तिम ३२ मा जान जर्मनी र आइभरीकोष्टलाई सहज भएपनि इक्वेडर र कुरासाओको संभावना सकिएको भने छैन । अबका बाकी खेल कुरासाओ र इक्वेडरका लागि अझ महत्वपूर्ण हुनेछ । जित या बराबरीले अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ ।  बलियो देखिएको जर्मनीले अब आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ भने  कुरासाओले पनि आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ । यस्तै आइभरीकोष्टले जर्मनी र कुरासाओसँग तथा इक्वेडरले कुरासाओ र जर्मनीसँग खेल्नेछ ।  विगतका इतिहास हेर्ने हो भने जर्मनी चारपटक विजेता, चारपटक उपविजेता र चारपटक नै तेस्रो भएको छ । कुनै समय फ्रान्सको एक हिस्सा रहेको आइभरीकोष्ट स्वतन्त्र भएपछि सन् २००६ मा पहिलोपल्ट विश्वकप २००६ मा छनोट भएको थियो । उसले सन् २०१० र २०१४ गरी अहिलेसम्म तीन विश्वकपमा सहभागिता जनाएको छ । इक्वेडरले चौथो विश्वकपमा सहभागिता जनाइरहँदा सन् २००६ मा अन्तिम १६ सम्म पुग्न सकेको थियो । कुरासाओ भने पहिलोपल्ट विश्वकपमा सहभागिता जनाउँदैछ ।  समूह ‘एफ’मा स्वीडेन अगाडि, जापान र नेदरल्याण्ड्स पछ्याउँदै   समूह ‘एफ’ मा स्वीडेन तीन अंकसहित पहिलो स्थानमा छ । विश्वकप फुटबलको इतिहासमा तीनपटक फाइनल पुगेर उपविजेतामै चित्त बुझाएको नेदरल्याण्ड्स र एशियाली फुटबलको पावरहाउस जापान एक–एक अङ्कसहित समूहमा दोस्रो स्थानमा छन् । अफ्रिकी देश ट्युनेसिया बिना कुनै अंक समूहमा पुछारमा छ । सन् १९३४ को दोस्रो संस्करणको विश्वकपदेखि सहभागी हुँदै आएको स्वीडेनले जारी विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनेसियालाई पाँच– एक गोल अन्तरले हराएको छ । यो समूह अन्र्तगत जापान र नेदरल्याण्ड्सले दुई–दुई गोलको बराबरी खेलेका छन् । अन्तिम ३२ मा पुग्न स्वीडेनलाई सहज भएको छ भने जापान र नेदरल्याण्ड्सको पनि सम्भावना बलियो छ । तर ट्युनेसियाले भारी अन्तरले हारेका कारण जीतको विकल्प छैन । जापानले अब स्वीडेन र ट्युनेसियासँग खेल्न बाँकी छ । स्वीडेनले जापानसँगै नेदरल्याण्ड्ससँग पनि भिड्न बाँकी छ ।  यसैगरी नेदरल्याण्ड्सले स्वीडेनसँगै ट्युनेसियासँग खेल्न बाँकी छ । समूहको पुछारमा रहेको टोली ट्युनेसियाले जापान र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ । जित या बराबरीले ट्युनेसियाको अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ । स्वीडेनले बाँकीका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्याउन सक्छ । जापान र नेदरल्याण्ड्सका लागि अबको खेलमा जित हासिल गरे अन्तिम ३२ को यात्रा समूह चरणको अन्तिम खेलअघि नै सहज हुनेछ भने हारले चुनौती थप्नेछ ।  स्वीडेन एक पटकको उपविजेता र दुईपटकको विश्वकपमा तेस्रो भएको टोली हो । नेदरल्याण्ड्स तीनपटक उपविजेता र एकपटक तेस्रो भएको टोली हो । जापान विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेको छैन भने ट्युनेसीयाले समूहचरण पार गर्न सकेको छैन ।  समूह ‘जी’मा बेल्जियम दबाबमा    समूह जीमा रहेका सबै चार वटै देशको एक–एक अंक छ । न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्टको समान एक–एक अंक छ । तैपनि बढी गोल गरेका आधारमा तालिकामा न्युजिल्याण्ड र इरान अगाडि छन् । उनीहरुले दुई–दुई गोल गरेका छन् । पहिलो खेलमा न्युजिल्याण्ड र इरानले दुई–दुई गोलको बराबरी खेलेका थिए । समान एक–एक अंक भएपनि एक–एक गोल मात्र गरेका कारण बेल्जियम र इजिप्ट न्युजिल्याण्ड र इरानभन्दा तल छन् । समान गोल अन्तर भए पनि बढी गोल गरेका आधार बेल्जियम र इजिप्ट तल परेका हुन् ।  सन् २०१८ को विश्वकपमा तेस्रो स्थान ल्याउन सफल टोली बेल्जियम १५ औँ पटक सहभागिता जनाउने क्रममा दबाबमा छ । अब उसका लागि बाँकी दुबै खेलमा राम्रो नतिजा ल्याउनुपर्नेछ । अरु प्रतिस्पर्धी टिमले पनि नकारात्मक नतिजा ल्याए उ कम दबाबमा रहनेछ तर दोस्रो खेलमा पनि उस्तै बराबरी नतिजा आएको खण्डमा भने अरु देशलाई लक लाग्दै बेल्जियम दुर्भाग्यको शिकार बन्न सक्छ ।  पहिलो र दोस्रो विश्वकपमै सहभागी थियो बेल्जियम । दोस्रो विश्वकप पछि एकैपल्ट सन् १९९० को विश्वकप र २०१८ को विश्वकप पछि चौथोपल्ट सहभागीे इजिप्टको एक अंक छ । फिफा बरियतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन । इरानका लागि अबका दुई खेल बेल्जियम र इजिप्टसँग हुनेछ । कमब्याक गरेर हारबाट जोगिएको इरानका लागि अन्तिम ३२ मा जान अबका दुई खेलमा एकमा जित र एकमा बराबरी काफी हुनेछ । इजिप्ट र न्युजिल्याण्डका लागि पनि सुखद नतिजा आवश्यक छ ।  समूह ‘एच’मा स्पेनसँगै सबैको एक–एक अंक  उत्तर अमेरिकी महादेशमा जारी विश्वकपमा समूह ‘एच’ मा रहेका सबै चारवटै देशको एक–एक अंक छ । एसियाली राष्ट्र साउदी अरेबिया, एक पटकको विश्वकप विजेता स्पेन, दुई पटकको विजेता उरुग्वे र नवप्रवेशी अफ्रिकी मुलुक केप भेर्डेको समान एक–एक अंक छ भने साउदी र उरुग्वेले मात्रै एक–एक गोल गरेका छन् । स्पेन र केपे भेर्डे गोलवीहिन छन् ।  अन्तिम ३२ मा जाने टोलीको टुङ्गो लाग्न समूह चरणमा बाँकी रहेका दुई खेल आवश्यक पर्नेछ । तर अब हुने दोस्रो खेलले पनि को को अगाडि बढ्नेछन् , त्यसको एक खाले छनक दिनेछ । यो समूहको पहिलो खेलमा युरोपको एक अनुभवी एवं विश्व विजेता तथा युरोपियन विजेता भइसकेको स्पेन बराबरीमा रोकेको छ । अब साउदी अरबले स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ भने उरुग्वेले पनि स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ । केर्पे भेर्डे र स्पेनले साउदी अरब र उरुग्वेसँग खेल्न बाँकी छ ।  समूह ‘आई’ मा फ्रान्स र नर्वे अगाडि  समूह चरणको पहिलो खेल सकिदा समूह ‘आई’मा दुई पटकको विश्वविजेता फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको समान तीन–तीन अंक छ । यो समूहको पहिलो खेलमा पराजित सेनेगल र इराकको शून्य अंक छ । समूहको पहिलो खेलमा किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले सेनेगललाई तीन–एक ले हराएको छ भने अर्को खेलमा नर्वेले इराकलाई चार–एक गोल अन्तरले पाखा लगाएको छ । तीन अंक नै भए पनि नर्वे फ्रान्स भन्दा माथि पहिलो स्थानमा छ । हारेपनि कम गोल खाएका कारण सेनेगल तेस्रो र इराक चौथो स्थानमा छ ।  समूह ‘जे’ मा अर्जेन्टिना र अष्ट्रिया अगाडि  समूह चरणको पहिलो खेल सकिँदा समूह ‘जे’ मा तीन पटकको विश्वविजेता अर्जेन्टिना र अष्ट्रियाले तीन–तीन अंक जोडेका छन् । जोर्डन र अल्जेरियाको कुनै अंक छैन । अब अन्तिम ३२ मा पुग्न जोर्डन र अल्जेरियालाई अर्को खेलमा जित आवश्यक छ । पहिलो खेलमा जितेका अर्जेन्टिना र अष्ट्रियालाई बराबरी मात्रले पनि अर्को चरणमा पु¥याउने छ । यो समूहमा लियोनियल मेसीको किितमानी ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई तीन–शून्यले हराएको छ । यो खेलको तीन गोलसँगै मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोल संख्या बराबरी गरेका छन् । यो समूहमा  अष्ट्रियाले जोर्डनलाई तीन–एकले हराएको छ ।  समूह ‘के’ मा पोर्चुगल दबाबमा, कोलम्बिया ढुक्क  जारी विश्वकपको समूह ‘के’ मा क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगल दबाबमा छ । आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग बराबरीमा रोकिएसँगै अब अर्को चरणमा जान बाँकी रहेका खेलमा कम्तिमा एक जित आवश्यक देखीन्छ । यो समूहमा कोलम्बियाले उज्बेकिस्तानलाई तीन–एकले हराएको छ । पहिलो खेल सकिँदासम्म कोलम्बिया तीन अंकसहित पहिलो स्थानमा रहँदा पोर्चुगल र कङ्गोको समान एक–एक अंक छ भने एसियाली राष्ट्र उज्वेकिस्तान बिना अंक पुछारमा छ । कोलम्बियाका लागि बाँकी रहेका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्याउन सक्छ तर उज्वेकिस्तानलाई जीतको विकल्प रहनेछैन ।  समूह ‘एल’ मा इङ्ल्याण्ड र घाना अगाडि, क्रोयसिया दबाबमा विश्वकप फुटबलको समूह ‘एल’ मा पूर्व विजेता इङ्ल्याण्ड र अफ्रिकी देश घानाले तीन–तीन अंक बनाएका छन् । ह्यारी केनको दुई गोलमा इङ्ल्याण्डले क्रोयसियालाई चार–दुई अन्तरले हराउँदा घानाले पानामालाई एक–शून्यले पाखा लगाएको थियो । अर्को चरणमा पुग्न इङ्ल्याण्डका लागि बराबरी पनि पर्याप्त हुन सक्नेछ भने क्रोयसियाका लागी जित आवश्यक छ । यो समूहमा पानामाका लागि जितको विकल्प रहनेछैन । तुलनात्मक रुपमा पानामा अरु देशभन्दा कमजोर देखिन्छ । रासस  

तीन वर्षभित्र १८ हजार दर्शक क्षमताका २५ रंगशाला, काठमाडौं-पोखरा २ घण्टामै यात्रा

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका सुझाव, जिज्ञासा र चासोप्रति म सरकारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । संसदमा उठाइएका अधिकांश प्रश्नहरू पूर्वाधार विकास, सडक सुरक्षा, बजेट व्यवस्थापन, खानेपानी, खेलकुद तथा समग्र विकाससँग सम्बन्धित छन् । यी विषयहरूलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी तीन वर्षलाई लक्षित गरेर स्पष्ट कार्ययोजना तयार गरेको छ ।  सबैभन्दा पहिले, सडक, पुल तथा अन्य पूर्वाधार कार्यक्रमहरूमा बजेट न्यून देखिएको भन्ने विषयमा स्पष्ट गर्न चाहन्छु । सरकारले अब वार्षिक बजेटको सीमाभन्दा माथि उठेर तीन वर्षे कार्ययोजना कार्यान्वयन गर्ने नीति लिएको छ । विगतमा खरिद प्रक्रिया, डिजाइन तथा ठेक्का व्यवस्थापनमै १८ देखि २१ महिना लाग्ने अवस्था थियो । भौतिक पूर्वाधारतर्फ करिब ५ खर्ब रुपैयाँ, शहरी पूर्वाधारतर्फ करिब ६ खर्ब ५० अर्ब रुपैयाँ र समग्रमा करिब ११ खर्ब ५० अर्ब रुपैयाँ बराबरका आयोजना तीन वर्षभित्र कार्यान्वयनमा जानेछन् ।  अब त्यसलाई सुधार गरी ६ देखि ७ महिनाभित्र प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसैले बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ । भौतिक पूर्वाधारतर्फ करिब ५ खर्ब रुपैयाँ, शहरी पूर्वाधारतर्फ करिब ६ खर्ब ५० अर्ब रुपैयाँ र समग्रमा करिब ११ खर्ब ५० अर्ब रुपैयाँ बराबरका आयोजना तीन वर्षभित्र कार्यान्वयनमा जानेछन् ।  संसदमा सांसदहरुले सडक सुरक्षाको विषयलाई पनि विशेष महत्वका साथ उठाउनुभएको छ । सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै तीन वर्षका लागि ४ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । जिल्ला सदरमुकाम जोड्ने एक लेनका सडकलाई तीन वर्षभित्र दुई लेनमा स्तरोन्नति गर्न ११ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ । पहिरो जोखिम भएका स्थानहरूको संरक्षणका लागि २३ अर्ब रुपैयाँ विनियोजन गरिएको  छ। आगामी दिनमा स्तरोन्नति हुने सबै राजमार्गमा अन्डरपास, ओभरपास र फ्लाईओभरजस्ता आधुनिक संरचना अनिवार्य रूपमा समावेश गरिनेछ ।  अहिले सञ्चालनमा रहेका ठेक्काहरूमा पनि आवश्यकतानुसार सडक सुरक्षा सम्बन्धी संरचना थप गरिनेछ । त्यस्तै, खोला तथा जोखिमयुक्त स्थानहरूमा दुर्घटना न्यूनीकरणका लागि ३ हजार स्थानीय पुल निर्माण गर्ने लक्ष्यसहित ८१ अर्ब २२ करोड रुपैयाँ व्यवस्था गरिएको छ । सडक निर्माणसँगै मर्मतसम्भारलाई पनि सरकारले उत्तिकै महत्व दिएको छ । सडक विभागमार्फत ४४ अर्ब रुपैयाँ, स्थानीय पूर्वाधार विभागमार्फत १२ अर्ब १९ करोड रुपैयाँ तथा शहरी विकास तथा भवन निर्माण विभागमार्फत तीन वर्षे कार्ययोजनासहित १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट सडक मर्मत तथा स्तरोन्नतिका लागि व्यवस्था गरिएको छ । यसले निर्माणसँगै संरक्षणलाई पनि समान प्राथमिकता दिएको स्पष्ट हुन्छ । प्रदेश केन्द्र, जिल्ला सदरमुकाम, पालिका तथा वडा केन्द्र जोड्ने सडकका सम्बन्धमा पनि सरकारले ठोस योजना अघि सारेको छ । आगामी तीन वर्षभित्र सबै पालिका केन्द्र जोड्न २ हजार ८ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । वडा केन्द्र जोड्ने कार्यक्रमका लागि २८ अर्ब ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ। त्यस्तै, करिब ३०० वटा शहरका बजारलाई व्यवस्थित गर्ने ‘सघन शहरी कार्यक्रम’ का लागि ८८ अर्ब ३३ करोड रुपैयाँ तथा बस्ती विकास कार्यक्रमका लागि ५७ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ । काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने कार्यक्रमका लागि १९ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ भने केभी-२०४० सम्बन्धी योजनालाई पनि निरन्तर अघि बढाइनेछ । संसदमा सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक तथा पुल बजेटमा नपरेको विषय पनि उठाउनुभएको छ । सरकारले यसलाई सम्बोधन गर्न विभिन्न शीर्षकअन्तर्गत पर्याप्त स्रोत व्यवस्था गरेको छ । वैकल्पिक सहायक राजमार्गका लागि ४४ अर्ब ४० करोड रुपैयाँ, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २६ अर्ब ४ करोड रुपैयाँ, कृषि सडकका लागि १० अर्ब ५० करोड रुपैयाँ, स्थानीय पर्यटकीय सडकका लागि १० अर्ब ५० करोड रुपैयाँ तथा औद्योगिक सडकका लागि १ अर्ब ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने कार्यक्रमका लागि १९ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ भने केभी-२०४० सम्बन्धी योजनालाई पनि निरन्तर अघि बढाइनेछ । देशको आर्थिक विकासलाई गति दिन सरकारले पर्यटकीय तथा व्यापारिक राजमार्गलाई विशेष प्राथमिकतामा राखेको छ । रानी-विराटनगर-किमाथाङ्का, वीरगञ्ज-रसुवागढी, भैरहवा-कोरला, कोइलाबास-डोल्पा, जमुनाह-सिमकोट, गौरीफन्टा-बडीमालिका, पूर्व-पश्चिम पर्यटकीय राजमार्ग तथा अपिनाम्पा–पाथीभरा जोड्ने मार्गलाई प्राथमिकतामा राखिएको छ । यी योजनाअन्तर्गत करिब ३ हजार किलोमिटर सडक निर्माणका लागि ६ सय अर्ब रुपैयाँ लगानी गर्ने योजना छ । साथै, काठमाडौं-पोखरा र बुटव-पोखरा द्रुतमार्गको अध्ययन यसै वर्ष सम्पन्न गरी भविष्यमा करिब दुई घण्टाभित्र यात्रा गर्न सकिने आधुनिक सडक सञ्जाल निर्माण गर्ने लक्ष्य राखिएको छ । तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला निर्माणका लागि ५ अर्ब रुपैयाँ, ८ वटा क्रिकेट रंगशालाका लागि ४ अर्ब रुपैयाँ तथा २ हजार दर्शक क्षमताका ७ वटा इन्डोर स्टेडियम निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ । खानेपानी क्षेत्रमा पनि सरकारले स्पष्ट लक्ष्य निर्धारण गरेको छ । तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य छ । छुटेका तथा अत्यावश्यक आयोजनाका लागि १५ वटा शाखा कार्यालयमा न्यूनतम १० करोड रुपैयाँका दरले बजेट पठाइएको छ । निर्माण सम्पन्न भइसकेका सबै ओभरहेड ट्याङ्कीमा पाइपलाइन विस्तार गरी यसै वर्षदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । खेलकुद पूर्वाधारलाई पनि राष्ट्रिय गौरव र युवाको भविष्यसँग जोडेर हेर्ने नीति सरकारले लिएको छ । त्यसअनुसार तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला निर्माणका लागि ५ अर्ब रुपैयाँ, ८ वटा क्रिकेट रंगशालाका लागि ४ अर्ब रुपैयाँ तथा २ हजार दर्शक क्षमताका ७ वटा इन्डोर स्टेडियम निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ । यी सबै कार्यक्रमहरू केवल बजेटका अंक मात्र होइनन्, विकासको नयाँ कार्यशैलीको सुरुवात हुन् । सरकारले योजनाको निरन्तरता, समयमै खरिद प्रक्रिया, गुणस्तरीय निर्माण, सडक सुरक्षा, सेवा प्रवाह र समग्र पूर्वाधार विकासलाई एउटै ढाँचामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ । संसद्बाट प्राप्त सुझावहरूलाई कार्यान्वयनका क्रममा समेट्दै पारदर्शी, उत्तरदायी र परिणाममुखी विकासमार्फत नागरिकको जीवनस्तर सुधार्ने दिशामा सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाउन चाहन्छु । (पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार संसदमा राखेको धारणा)