सिञ्जा गाउँपालिकामा १ हजार ५ सय घरको बीमा, क्षतिग्रस्त भएपछि बीमाले भुक्तानी दिने
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब १ हजार ५४५ घरको घर बीमा गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममार्फत सिञ्जाका १ हजार ५४५ घरको बीमा गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार पालिकाका ६ वटै वडामा २ जना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी घर बीमाको सङ्ख्या निर्धारण गरिएको हो । प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषदबाट फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी यही असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिंजाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको गाउँपालिका अध्यक्ष धितालले बताए । कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २३ लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हुरीबतासलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले ११ अर्ब ५० करोड रुपैयाँ बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बीमा गरेको प्रदेशको कानुन मन्त्रालयले जनाएको छ । चालु आव २०८२/८३ मा घर बीमा कार्यक्रममा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५' सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे । उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे । कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।
प्रोटेक्टिभ माइक्रोको नाफा ७९.५७ प्रतिशत बढ्यो, १८.६९ करोड रुपैयाँ पुग्यो कुल बीमाशुल्क
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७९.५७ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष २ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले गत वर्ष १८ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष २ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २३ लाख १९ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३१ हजार रुपैयाँ, सञ्चित नाफा ५ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले ४८ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ ।