राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । पुस ९ गतेदेखि १२ गतेसम्म तीन दिन बिदुर नगरपालिकाको बट्टारमा जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम भएको थियो । नुवाकोट शाखाका प्रमुख राजकुमार भडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थिए । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका हुन् ।
अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ बीमालेख जारी गरी ३५ करोड ९२ लाख वीमा शुल्क आर्जन गर्नुका साथै हालसम्म ८ सय ६६ वटा दाबी वापत १० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न अजोड ईन्स्योरेन्स सफल भएको जनाएकाे छ । हालसम्म कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी ७० करोड छ भने लगानी तर्फ ९५ करोड ९७ लाख पुगेको छ । साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयले वासलात, नाफानोक्सान हिसाव, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल पारित गरेको हो । संचालनक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएसँगै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने व्यवस्था लागु हुने भएको छ । पछिल्लो समय डिजिटल ईन्स्योरेन्सका लागि च्याटबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । बीमाका शुल्क भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, खाल्ती, सेल पे जस्तो सेवाहरुको कार्य आरम्भ गर्न सम्झौता भएको छ । कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरी २ लाख रुपैयाँसम्म दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
आफ्नो ३ अर्ब रकम चलाउन नपाएको स्वास्थ्य बीमा बोर्डको गुनासो, झिकेर लगे हुन्छः महालेखा
काठमाडौं । सबै नेपालीको स्वास्थ्य बीमा गर्न स्थापना भएको स्वास्थ्य बीमा बोर्डले आफ्नो रकम नपाएको गुनासो गरेको छ । सर्वसाधारणबाट स्वास्थ्य बीमा शुल्कवापत उठाएको करिब ३ अर्ब रुपैयाँ सरकारले आफूलाई नदिएको बोर्डको गुनासो छ । आफ्नै रकम भएपनि सरकारले नदिएको कारण दैनिक खर्च चलाउन नपाएको बोर्डको गुनासो छ । पर्याप्त बजेट नहुँदा बोर्डका कार्यालयहरुले घरभाडा तिर्नदेखि कर्मचारी व्यवस्थापन गर्नसमेत अप्ठेरो परेको बोर्डले जानकारी दियो । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले वोर्डको नाममा जम्मा भएको करिब ३ अर्ब रुपैयाँ रहेको जानकारी दिए । यस्तो रकम सरकारी खातामा रहेको र वोर्डले प्रयोग गर्न पाएको छैन । स्वास्थ्य बीमा गर्दा विमितले प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ बोर्डलाई बुझाउँछन् । अहिले जम्मा भएको रकम यसरी नै जम्मा भएको हो । यो रकम बोर्डले नै प्रयोग गर्न पाउनु पर्ने भएपछि सरकारले वोर्डलाई खर्च गर्न दिएको छैन । ‘स्वास्थ्य बीमा गर्नेहरुबाट संकलन भएको करिब ३ अर्ब रुपैयाँ महालेखा नियन्त्रकको कार्यालयमा रहेको खातामा छ, त्यो पैसा हामीले झिकेर प्रयोग गर्न पाएका छैनौं,’ कार्यकारी निर्देशक पोखरेलले भने । वोर्डको रकम सरकारको ‘ख–६’ खातामा राखिएको छ । यस्तो खातामा राखिएको रकम कार्य संचालन तथा अन्य कोष खर्च हो । यस्तो रकम सम्बन्धित कार्यालयले नै झिकेर प्रयोग गर्न पाउने रकम हो । गुनासो गर्नुपर्र्दैन, झिकेर लगे हुन्छः महालेखा महालेखा नियन्त्रकको कार्यालयले भने वोर्डले आफ्नो रकम झिकेर लान कसैलाई पनि सोध्नु नपर्ने दाबी गरेको छ । आफ्नो खातामा रहेको रकम आफैले झिक्न सकिने भएकोले कसैलाई पनि सोध्नु नपर्ने महालेखाको भनाइ छ । ‘वोर्डको रकम रहेको खाता ख–६ हो, यो खाता राजस्व खाता होइन, राजस्व खाताको रकम मात्रै निकाल्न मिल्दैन, ख–६ खाता जुन निकायको नाममा छ, त्यो निकायले प्रक्रियाअनुसार झिक्न मिल्छ,’ महालेखा नियन्त्रकको कार्यालयका उपसचिव भेषप्रसाद भुर्तेलले भने । महालेखाले यस्तो प्रतिक्रिया दिएपनि वोर्ड भने आफ्नो रकम नपाएको भन्दै अर्थमन्त्रालय धाइरहेको छ । वोर्ड अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडा, राजस्व सचिव शिशिरकुमार ढुंगानालगायतलाई भेटी आफ्नो रकम खर्च गर्न पाउने व्यवस्था गरिदिन अनुरोध गर्दै आएको छ । तर, अर्थमन्त्री डा. खतिवडाले भने वोर्डलाई रकम ‘किन चाहियो’ भन्ने प्रश्न गरेका छन् । वोर्डको लागि आवश्यक रकम अर्थमन्त्रालयले प्रदान गरेको भन्दै मन्त्री खतिवडाले वोर्डको नाममा जम्मा भएको रकम राजस्वमा दाखिला गराउने प्रयास गरेका हुन् । चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा भएको छैन । यसैकारण वोर्डको खातामा रहेको रकम राजस्वमा देखाउने प्रयास राजस्व प्रशासनले गरेको हो । वोर्डले अहिलेसम्म ४९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेको छ । चालु आर्थिक वर्षभरीमा ७७ जिल्लामा नै कार्यक्रम लागू गर्ने वोर्डको तयारी छ । तर, कार्यक्रम संचालन गर्नको लागि आवश्यक रकम नभएको गुनासो वोर्डले गर्दै आएको छ ।