सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ः वित्तीय पहुँच विस्तारमा सरकारको प्रतिबद्धता
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा धनगढीमा मंसिर २० गते आयोजित उक्त सम्मेलन “वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता” नाराका साथ आयोजना गरिएको हो । धनगढीमा भएको उक्त सम्मेलनमा नेपाल सरकार, नेपाल राष्ट बैक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु र स्थानीयतहसँग सहकार्य एवं समन्वय गर्ने कार्यमा सहमति भएको छ ।यस्तै, नेपाल राष्टको नीति नियमअनुुुसार कृषि, पशुपालन, उद्यमशीलता, व्यवसायलगायत विभिन्न क्षेत्रमा सहुलियतपूर्ण र धितोविना कर्जा उपलब्ध गराउने पनि १० बुँदे सहमतिमा उल्लेख छ । यसै आर्थिक वर्षमा प्रदेशका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्याउने पनि सहमति भएको मन्त्री बोहराले बताए । अहिले यहाँका पाँचवटा स्थानीय तहमा बैंकिङ सुविधा पुग्न सकेको छैन ।प्रदेश सरकारको तथ्यांकअनुसार, सुदूरपश्चिमको करिब ५० प्रतिशत जनसंख्या वित्तीय पहुँच बाहिर छ भने करिब पाँच प्रतिशत मात्र बिमाको दायरामा समेटिएका छन् । वित्तीय र बिमाको पहुँच विस्तारसँगै वित्तीय संस्थाको लगानी अभिवृद्धिका लागि प्रदेश सरकारले वित्तीय सम्मेलन गरेको हो । बिमासम्बन्धी आठबुँदे सहमति वित्तीय सम्मेलनमै प्रदेश सरकार, नेपाल बिमक संघ र जीवन बिमक संघबीच सुदूरपश्चिममा बिमाको पहुँच विस्तारसम्बन्धी आठ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । बिमा कम्पनीका शाखा विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार, सञ्चार र सुरक्षामा प्रदेशले सहयोग गर्ने, बिमा कम्पनीले कानुनअनुसार, समयमा बिमा दाबी भुक्तानी दिने, प्रदेशमा बिमाको पहुँच बढाउन सहकार्य गर्ने सहमति भएको हो । त्यस्तै, बिमासम्बन्धी साक्षरता कार्यक्रम सञ्चालनमा पनि सहकार्य गरेर जाने सहमति भएको मन्त्री बोहराले बताए । प्रदेशमा वित्तीय पहुँच विस्तारका लागि वित्तीय सम्मेलन कोसेढुंगा सावित हुने उनको भनाइ छ । प्रदेशमा वित्तीय र बिमाको पहुँच निकै कम छ । सम्मेलनले यसको विस्तारमा ठूलो सहयोग पुग्नेछ मन्त्री बोहराले बताएका छन्। बैंक तथा वित्तीय संस्था र बिमक संघबीच भएका सहमतिअनुसार अघि बढ्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
राष्ट्रिय बीमा संस्थानद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा अभिकर्ताकाे आधारभूत तालिम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम नारायणगढ शाखाले मंसिर १९ देखि २१ गतेसम्म जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको हाे । तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियाे । संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका बुटवल शाखाका प्रमुख लगायत चार जना प्रशिक्षकहरुद्वारा बीमा व्यवसायको सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
पूनर्बीमा कम्पनीमा सीईओ नियुक्ती दुइ साता पर धकेलियाे
काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रकृया दुई साता पर धकेलिएको छ । कम्पनीले गत साता नै प्रतिस्पर्धीलाई कार्य योजना प्रस्तुती गर्न लगाउने समय तय गरेको थियो । विशेष कारणले पूर्वनिर्धारित समय तालिका परिवर्तन गरेको हो । सीईओका उम्मेदवारलाई प्रस्तुती र अन्तर्वाता गर्ने समय तालिका परिवर्तन गरिएको नेपाल पूनर्बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए । भण्डारीले पहिला निर्धारित समय तालिकालाई मंसिर ३० गतेका तय गरिएको बताए । यस अघि मंसिर १२ र १३ गते उम्मेदवारहरूले प्रस्तुती गर्ने समय तालिका तय भएको थियो । सीईओ प्रतिस्पर्धाको दौडमा कम्पनीमा ४ जनाको उम्मेदवारी परेको छ । प्रतिस्पर्धीहरू कम्पनीले गठन गरेको सीईओ सिफारिस उपसमिति समक्ष आफ्नो कार्य योजना प्रस्तुती गर्नुपर्नेछ । पुनर्बीमा कम्पनीको सीईओका लागि निवर्तमान सीईओ चिरायु भण्डारीसहित अशोक कुमार पौडेल, शेषरमण आचार्य र शंकर कुमार रायमाझीले आवेदन दिएका छन् ।