ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले जुनसुकै शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्न रपरेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ् तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ । तर कम्पनीले उनको नियुक्तीबारे आधिकारीक रुपमा जानकारी सार्वजनिक गरेको छैन । प्रक्रियागत केही आन्तरिक काम बाँकी रहेको कम्पनी सम्बद्ध स्रोतले बतायो । इएमबीए र बीएलसम्ममा औपचारिक शिक्षा हासिल गरेका भट्टसँग २३ वर्ष बैकिङ् क्षेत्रमा काम गरेको अनुभव छ । केही समय अघिसम्म उनी मेगा बैंक नेपालको डेपुटी सीईओ थिए । त्यसअघि इन्भेष्टमेन्ट बैंकमा थिए । पछिल्लो समय रेमिट टू नेपालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । २०७४ भदौ १ देखि सञ्चालनमा आएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । जनशक्तिको अभाव जनाउँदै अझै धेरै बीमा कम्पनीहरुले व्यवस्थापकीय तहको प्रमुख पद रिक्त राखेका छन् ।
लामो चेकलिष्ट बोकेर बीमा कम्पनीहरूमा छिर्यो बीमा समिति, ३९ वटै कम्पनीको स्थलगत निरीक्षण हुने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । समितिले आज एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबाट स्थलगत निरीक्षण शुरु गरेको हो । उपनिर्देशक दिनेश कुमार लालको नेतृत्वमा एउटा टोली एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निरीक्षणमा खटिएको छ भने चार्टर्ड एकाउन्टेण्ट ज्योति पाण्डेको नेतृत्वमा अर्को टोलीले सिद्धार्थ इन्स्योरेन्समा निरीक्षण थालेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक वर्षमा ३९ वटै बीमा कम्पनीहरुको स्थलगत निरीक्षण गर्ने कार्य योजना बनाएको छ । निरीक्षण गर्दा बीमा ऐन, कम्पनी ऐन, बीमा समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका, अन्य निर्देशन तथा नियमावलीहरु, सम्बन्धित कम्पनीका प्रबन्धपत्र, नियमावली, आर्थिक प्रशासन विनियमावली लगायत बीमा कम्पनीमा आकर्षित हुने सबै नियम कानुनको परिपालना भए/नभएको हेरिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । ‘हामीले लामो चेकलिष्ट तयार गरेको छौं । ती सबै कुरा स्थलगत रुपमा हेरिन्छ’ अध्यक्ष चापागाईले भने–‘निरीक्षण गर्दा देखिने साना कमी कमजोरीलाई लिएर हामी कारवाही गर्दैनौं । त्यसलाई सच्याउन निर्देशन दिन्छौं । जानीजानी वा खराब नियतले गलत काम भएको रहेछ भने नियमअनुसार कारवाही पनि हुन्छ ।’ निरीक्षण गर्दा बीमा कम्पनीहरुमा डर, त्रासको वातावरण नबनाउन निरीक्षणमा खटिने कर्मचारीलाई निर्देशन दिएको पनि उनले बताए । बीमा समितिले विगतमा नीति नियम बनाउने, निर्देशन दिने कार्यमा बढी जोड दिएको थियो । तर त्यसको कार्यान्वयन अवस्था कस्तो छ भनेर निरीक्षण गर्ने कार्य कम भएको थियो । ‘अब हामी कम्पनीहरुले नीति नियमको परिपालना गरे/नगरेको स्थलगत रुपमा नै हेर्छौ ।’ सबै कम्पनीहरुको वार्षिक रुपमा स्थलगत निरीक्षण गर्ने बीमा समितिको योजना रहेको उनले बताए । ‘यसले बीमा कम्पनीलाई सुशासित र बलियो बनाउँछ । बीमितको पनि हित हुन्छ । बीमा कम्पनीका लगानीकर्तालाई पनि लाभ हुन्छ ’ अध्यक्ष चापागार्इले भने ।