मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहकग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । हाल मुक्तिनाथ विकास बैंकले ९५वटा शाखा र १७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधाका सबै शाखाबाट लिन सक्ने छन् । हाल बैंकले २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले बताएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४० प्रतिशत
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारणमा परिणत भएको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरलाई साधारणमा परिणत गरी ६० प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । य अब कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर सेयरलाई साधारणमा परिणत गर्ने निर्णय गरेको थियो ।