रिलायन्स लाईफ इन्स्योरेन्सले गर्यो एक लाख रुपैयाँकाे बीमा भुक्तानी

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत विश्वराम भट्टराईका परिवारलाई एक लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीको यो हालसम्मकै पहिलो दाबी रकम भुक्तानी हो । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ्क रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै, निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।

प्रभु इन्स्योरेन्सको अध्यक्षमा पुनः कुसुम लामा, सञ्चालक समितिमा ६ जना नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः सुश्री कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । कम्पनीको संस्थापक समुहबाट ३ र सर्वसाधारण समूहबाट ३ गरी ६ जना नयाँ सञ्चालकको रुपमा निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको विशेष साधारण सभाले इन्स्योरेन्सको संस्थापक समुहबाट कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी तथा सर्वसाधारण समुहबाट राजेन्द्र मल्ल, रणकेशव प्रधान र राजगोपाल राजभण्डारीलाई निर्वाचित गरेको हो । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले प्रतिनिधित्व गरेका छन् । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम चुक्ता पुँजी १ अर्ब पुर्याउनको लागि ४६ प्रतिशत हकप्रद सेयर निष्काशनको तयारीमा रहेको छ । कम्पनीले भविष्यमा ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ४ जना

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ । कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् । साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ । यस इन्स्योरेन्स २०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ गतेदेखि कारोबार संचालनमा आएको हो ।