संसारभरमा नै बीमा कम्पनीले दिने लाभांशमा नगद भन्दा बोनस सेयर बढी हुन्छ-उपाध्याय

पछिल्लो समयमा बीमा बजार फस्टाएको छ । त्यसमा पनि प्रिमियर इन्स्योरेन्स कम्पनी प्रतिस्पर्धामा छिटो दौडेर अगाडि आईरहेको देखिन्छ । यो कम्पनीमा विगत करिव ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ सुद्युम्न उपाध्याय । उपाध्यायले नेतृत्व लिएपछि कम्पनीको व्यापार, नाफा, ब्राण्ड इमेज सबै राम्रो भएको छ । ६ वर्षअघि कम्पनीको वार्षिक प्रिमियम १७ करोड थियो । गत आर्थिक वर्षमा १०० करोड नाघेको छ । विगत तीन वर्षमा कम्पनीले सेयरधनीलाई लाभांश पनि राम्रो दिएको छ । प्रस्तुत छ यस कम्पनीको अवस्था र बीमा बजारको अवस्थाबारे उपाध्यायसँग गरिएको विकास बहस: सुद्युम्न प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, प्रिमियर इन्स्योरेन्स कम्पनी  (नेपाल) लिमिटेड प्रिमियर इन्स्योरेन्स कम्पनीको पछिल्लो अवस्था कस्तो छ ? कम्पनीको अवस्थामा पहिले भन्दा सुधार आएको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष ७७ प्रतिशतले विजनेश बढेको छ । गत वर्षको पहिलो तीन महिनामा १९ करोड रुपैयाँको व्यापार गरेकोमा यो वर्ष ३४ करोड रुपैयाँ भएको छ । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये प्रिमियम आयको हिसाबले पहिलो त्रैमासमा हामी पाँचौ स्थानमा रहेका छौं । बीमा लेखको हिसावले हेर्ने हो भने हामी तेस्रो स्थानमा छौं । ३६ हजार १ सय ३० जारी विमालेख संख्या छ । पहिलो त्रैमासमा नाफा पनि ३३ प्रतिशतले बढेको छ । गत वर्ष यसअवधिमा नाकाबन्दीको असर भोग्नु परेको थियो । यो वर्ष बीमा बजार राम्रो छ । यो वर्षको लक्ष्य चाहिँ कति छ ? यो वर्ष हामीले १ अर्ब प्रिमियम संकलन गरेका थियौं । यो वर्ष २५ प्रतिशतसम्म बढाउनुपर्छ भन्ने हो । प्रारम्भिक चरण राम्रो नै देखाएको छ । गत वर्षको पहिलो त्रैमासमा त्यति राम्रो नभएपनि दोस्रो र तेस्रो त्रैमासका कारण राम्रो भएको हो । अझै तीन वटा त्रैमास बाँकी नै भएकोले यति नै हुन्छ भनेर भन्न त सकिदैन । तर, पनि २५ देखि ३० प्रतिशतसम्मको विजनेश ग्रोथ हुने अपेक्षा गरिएको छ । गत वर्षको नाफबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको निर्णय आईसकेको छ । यो वर्षको नाफा र सेयरधनीलाई दिने प्रतिफल कस्तो होला ? विजनेश ग्रोथ कै हाराहारीमा नाफा वृद्धि गर्नु पर्छ भन्ने हाम्रो मान्यता हुन्छ । बीमाको नाफामा धेरै कुराले असर गरेको हुन्छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने, कर प्रयोजनको लागि अलग्गै नगद लाभांश दिने निर्णय भएको छ । अघिल्लो वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस दिएका थियौं । त्यस भन्दा अगाडि १४ प्रतिशत थियो । हाम्रो कम्पनी सेयर पूँजी बढाउँदै जाने नीतिमा छ । हामीले लाभांस जतिहुन्छ त्यति बोनस सेयरमा दिँदैछौं । सेयरधनीहरुले पनि बोनस सेयरलाई नै रुचाउनुहुन्छ । पुँजी वृद्धिले कम्पनीलाई बलियो बनाउँदै लगेको छ । यसको लाभ सेयरधनी, ग्राहक, कर्मचारी, अर्थतन्त्र सबैलाई हुन्छ । समग्रमा पुँजी वृद्धिले बीमा उद्योग फस्टाउन सहयोग गर्छ । नगद लाभाश वितरण नगर्दा लगानीकर्ताले असहजताको महसुश गर्दैन ? सेयर बजारमा बीमा कम्पनीहरुको सेयर आपूर्ति कम छ । बीमा कम्पनीहरुको सेयर मूल्य अन्य समूहको भन्दा माथि छ । त्यसैले सर्वसाधारण समूहको सेयरधनी बोनस सेयरमा खुशी देखिन्छन् । सेयर ट्रेडर्सहरुले पनि राम्रो उच्च लाभ लिन सकेको देखिन्छ । तर प्रमोटर सेयरधनीहरुको लागि कम्पनीले लामो समयसम्म नगद लाभांश नदिनु पीडादाहि नै हुन्छ । कम्पनीले प्रवद्र्धक लगातीकर्ताको चाहना कत्तिको पूरा गरेको हुन्छ ? विश्वका जुनसुकै देशमा हेर्नु भयो भने पनि बैंक, बीमा लगायत फाइनान्सियल सेक्टरमा क्यास पे आउट भन्दा स्टक डेभिडेन्ट नै बढी हुन्छ । कम्पनीको ग्रो गर्दै जाँदा क्यापिटल बढाउँदै लानुपर्छ जुनसुकै मार्केटमा पनि । फाइनान्सियल मार्केटमा सधै क्यापिटल गेन नै हो । डिभिडन्टको पे आउँछ भनेको जहाँ पनि कम नै हुन्छ । किनकी, निरन्तर क्यापिटल बढाउनुपर्छ । जति बिजनेश बढ्यो संस्थाको नाफा त्यति नै बढ्दै जाँन्छ । सँगसँगै जोखिम पनि बढ्दै जान्छ र त्यो अनुसारको क्यापिटल पनि बढाउँदै जानुपर्छ । कम्पनीको व्यवस्थापनको रुपमा हामीले गर्ने भनेको कम्पनीको नेटवर्थ बढाउने हो । हामीले कम्पनीको नेटवर्थ बढाउनु भनेको लगानीकर्ताको सम्पत्ति बढ्नु हो । नेटवर्थ बढी भएपछि पक्कै पनि त्यसको भ्यालू बढी नै हुन्छ । सरकारको, नियामक निकायको कानुन, नीति नियमलाई गाइडलाईनमा मानेर अगाडि बढ्ने हो । प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई अरुको भन्दा राम्रो, छिटो छरितो सेवा दिनु परिहाल्यो । यतिबेला बीमा कम्पनीहरुको सेयर किन्ने लगानीकर्ताले कत्तिको जोखिम मोलिरहेका छन् ? बीमाको बजार विस्तार हुँदैछ । लगानीको प्रतिफल देखेर नै होला लगानीकर्ता बीमा कम्पनीको सेयरप्रति आकर्षित देखिएका छन् । सेयरमा गरिने लगानी जोखिममा छ वा छैन भनेर हामीले भन्ने विषय होइन । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५०० रुपैयाभन्दा माथि पुगेको थियो । अहिले करिव १७०० रुपैयाँमा झरेको छ । यतिबेला यो कम्पनीको सेयर किन्नेहरुले कमाउँछन् कि गुमाउँछन् ? यो विषय हामीले बोल्ने भन्दा पनि लगानीकर्ताले विश्लेषण गर्ने र निर्णय लिने विषय हो । यो कम्पनीको आफ्नै सम्पत्ति राम्रो छ । नागरिक लगानी कोषको १ लाख कित्ता भन्दा बढी सेयरमा लगानी गरेको छ । ख वर्गको संस्थागत सेयर हो त्यो । प्रतिकित्ता ६० रुपैयाँमा किनेको हो । त्यसको रिर्टन राम्रो छ । कम्पनीको आफ्नै भवन छ । हरेक वर्ष कम्पनीको ग्रोथ राम्रो छ । विजनेश, प्रोफिट ग्रोथ राम्रो छ । बीमा कम्पनीहरुले सेयरबजारमा पनि लगानी गरिरहेको पाइन्छ, तपाईको कम्पनीले सेयरमा कति लगानी गरेको छ ? नागरिक लगानी कोषमा बाहेक अरुमा उल्लेख्य सेयर लगानी छैन । पहिला लगानी थियो । गत असारमा सबै सेयर बेचिसक्यौं । यतिबेला बैंकको व्याजदर बढेको छ, बीमा कम्पनीको नाफामा कत्तिको वृद्धि हुन्छ ? हामीले गएको वर्ष यतिबेला ५ देखि साढे पाँच प्रतिशत व्याजदर पाइरहेका थियौं । अहिले ६ देखि ७ प्रतिशत पाइरहेको अवस्था छ । यसको नाफा वृद्धिमा सहयोग नै गर्छ । अब बीमा सेवा र ग्राहकको विषयमा कुरा गरौं । बीमितलाई कस्तो सेवा दिदै आउनु भएको छ ? आजको दिनमा प्रिमियर इन्सोरेन्सको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै शाखा सञ्चालनमा छ । ३३ वटा शाखाहरु छन् । पहिला हामीले तराई केन्द्रीय सेवा दिएका थियौं भने अहिले पहाडी जिल्लामा सेवा विस्तार गर्दैछौं । चालू आर्थिक वर्षमा कुन कुन स्थानमा शाखा खोल्ने योजना छ ? चालू आवमा शाखा विस्तार गरी ४० वटा पुर्याउने लक्ष्य लिएका छौं । शाखा खोल्ने स्थानको बारेमा अध्ययन पनि गरेका छौ । नयाँ शाखा खोल्न जनशक्तिको अभाव छ । त्यसको लागि हामीले नयाँ जनशक्ति लिएर तालिम दिएर परिचालन गछौं । जनशक्ति कमी रहेको बजारमा कर्मचारीहरु एउटा अफिस छोडेर अर्कोमा जाने समस्या उच्च हुन्छ, यस कम्पनीको अवस्था कस्तो छ ? हामीकोमा स्टाफ टर्नओभर (कर्मचारी छोड्ने, नयाँ आउने प्रवृति) कम छ । त्यसभित्र खास कारण पनि छन् । हामी अरु कम्पनीबाट अनुभवी कर्मचारी तान्न जोड गर्दैनौ । नयाँ कर्मचारी नियुक्त गर्ने, तालिम दिने, क्षमता विकास गर्ने र जिम्मेवारी दिने यस कम्पनीको अभ्यास छ । यस कम्पनीले कर्मचारीको क्षमता विकासको लागि धेरै लगानी गरेको छ । साथै कम्पनीको ब्राण्ड इमेज राम्रो बनाउने, कम्पनीको ग्रोथसँगै स्टाफको पनि ग्रोथमा ध्यान दिएको छ । त्यसैले प्रिमियर कम्पनी छोडेर अरु बीमा कम्पनीमा जाने अवस्था नै हुँदैन । बीमा सेवालाई ग्रामिण क्षेत्रमा पुर्याउन प्रोत्साहित गर्ने सरकारको नीति छ । बीमा कम्पनीहरु विस्तारै जिल्ला सदरमुकामबाट वाहिरका सहर उन्मुख क्षेत्रमा शाखा खोल्दै छन् । ती शाखाहरुको प्रफर्मेन्स कस्तो छ ? गत वर्षसम्म त्यति राम्रो थिएन । अहिले निकै राम्रो भएको छ । ग्रामिण क्षेत्रमा बीमाको सेवा बढेको छ । पहिले बीमा भनेको धनीको लागि मात्रै भन्ने थियो । अहिले मोटरसाईकल र कृषिले गर्दा बढेको छ । अहिले गाउँमा मोटरसाइकल बढेको छ । बीमा गर्नुपर्छ भन्ने संस्कृति पनि बढेको छ । तपाईको कम्पनीका लागि कुनकुन जिल्लामा कृषि बीमा अनिवार्य गरिएको छ ? दोलखा, रामेछाप, सिन्धुली, सर्लाही र रौतहटमा । ती जिल्लामा अरु कम्पनीहरुको स्वेच्छिक सहभागीता कत्तिको छ ? तुलनात्मक रुपमा कम छ । ती क्षेत्रमा व्यवसायिक कृषि कम छ । माथिल्लो लेकतिर जाँदा चौरी र तल्लो भेगमा बाख्रा पालन छ । नभएको होइन तर, कम मात्रामा मात्रै छ । फलफूल पनि सिन्धुलीमा अलिअली हो । फलफूलमा त्यति धेरै छैन । पूर्वी क्षेत्रमा धनकुटा, सुनसरी, मोरङ, इलाममा कृषि बीमा राम्रो छ । पशु तथा बाली बीमा कत्तिको नाफादायी विजनेश हो ? अहिलेको लागि नाफादायी विजनेस होइन । तर, पछिको लागि नाफादायी विजनेस हुन्छ । अहिले भर्खरै सुरु भएको छ । अहिले पनि घाटाको व्यापार छैन । विस्तारै बढ्दै जादाँ नाफा पनि हुन्छ । पाँच वर्षअघि मोटर बीमा घाटाको व्यापार थियो, अहिले नाफाको व्यापार भएको छ । भविष्यमा कृषि बीमाबाट पनि नाफा आर्जन हुन्छ । तीन वर्ष अगाडिको बीमा गराउँदा र अहिलेको अवस्थामा कति फरक छ ? धेरै फरक छ । अहिले हामीले के पाउँछौ, सुविधा के छ भनेर हेर्ने गरिन्छ । पहिले सचेतना नै कम थियो । पहिले बीमा गरेपछि जीवन बीमामा जस्तै रकम फिर्ता पाउने सोच हुन्थ्यो, अहिले छैन । बीमाको नीति कार्यान्वयनमा ल्याएपछि व्यवसायिक खेती तथा पशुपालन बढेको छ ? व्यवसायिक पशुपालन र कृषि बढ्दै गएको छ । हामीले खुला आँखाले देख्न सकिन्छ । तर व्यवसायिक खेती तथा पशुपालनमा गर्दा अध्ययन अनुसन्धानको खाँचो छ । खेती तथा पशुपालन गर्दा माटो, हावापानी र भूवनोट सुहाउँदो हेर्नुपर्छ । प्रिमियर इन्स्योरेन्सको बीमा प्रडक्टमा कुन बढी चलेको छ ? हाम्रो सबैभन्दा राम्रो क्षेत्र भनेको परियोजनाको नै हो । इन्जिनियरिङ क्षेत्रमा हाम्रो उपस्थित राम्रो छ । बजारको लिडरमा नै पर्छौ यसमा । इन्जिनियरिङ क्षेत्रको बीमामा करिब २० प्रतिशतको बजार हाम्रो छ । प्रिमियर इन्स्योरेन्सको हेल्थ इन्स्योरेन्समा पोर्टपोलियो हामी माथि नै छौं । अहिले पनि हाम्रो पाँच देखि प्रतिशत पोर्टपोलियो हेल्थ इन्स्योरेन्सको छ । कर्पोरेट क्षेत्रमा पनि राम्रो छ । अब हामी रिटेलमा पनि जाँदै छौ । परिवारको सुरक्षाका लागि पनि रिटेलमा जानुपर्छ । प्रिमियरको इतिहास नै हेर्ने हो भने पनि १०/१२ वर्षदेखि हामी कर्पोरेट हेल्थमा टप पोर्टफोलियोमा नै छौं । मोटर बीमामा पनि राम्रो छ । एभिएसनमा भने कम छ । पेशागत दायित्वको बीमा, लायविलिटि इन्स्योरेन्सको बीमामा पनि हामी लागि परेका छौ । नेपालमा साइबर क्राइमको बीमा हुँदैन, हो ? साईबर क्राइम सम्बन्धि जोखिमको पनि बीमा गर्न सकिन्छ । तर अहिलेसम्म भएको छैन । इनोभेटिभ प्रडक्ट हो यो । यसको लागि बजारबाट स्पेसिफक माग आउनुपर्छ । बीमा बजार विकासको समस्याहरु चाहिँ के हो ? यसको सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति विकासको हो । बीमा राम्रो अध्ययन गर्नुपर्दा पनि हामीले जनशक्ति खोजिगरिरहेका हुन्छौ । बीमाको भविष्य राम्रो हुँदा हुँदै पनि हामीले आवश्यक जनशक्ति विकास गर्न सकेका छैनौ । पूँजी ठूलो होइन दक्ष जनशक्ति नै सबैभन्दा ठूलो हो । बीमाको लागि पूँजी प्राप्त गर्न तत्काल सकिएला दक्ष जनशक्ति भने तत्काल पाउँन सकिदैन । अन्य चुनौतिमा पूर्वाधारले साथ नदिनु, इन्टरनेटको पहुँच सहज नहुनु पनि हो । सडक विस्तार बरु त्यति ठूलो विषय भएन, तर भरपर्दो इन्टरनेट सेवाको खाँचो छ । लघुबीमाको बजार कसरी विकास भईरहेको छ ? माइक्रो इन्स्योरेन्सको लागि नेपाल इन्स्यारेन्स एसोसिएशन र नेपाल बैंकर्स एसोसिएशनबीच एउटा सम्झौता भएको छ । त्यसमा नेपाल लघुवित्तहरुले आफ्ना ऋणिको बीमा गर्ने व्यवस्था मिलाउँने भन्ने छ । चाडै नै दुई संस्थासँगको सहमति कार्यान्वयन हुन्छ । माइक्रो लोनको बीमा गर्ने भन्ने छ ।

एनबी इन्स्योरेन्सको १८औं र १९ औं साधारणसभा सम्पन्न, १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय

काठमाडौं, १७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको १८औं र १९औं बार्षिक साधारणसभा शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दीर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडि बढेको अध्यक्ष पौडेलले साधारणसभालाई जानकारी दिए । राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडि बढाउने क्रममा कम्पनीले जनकपुर, बर्दिवास, ओखलढुéा र सोलुखुम्बुको सल्लेरीमा शाखा कार्यालय खोलिसकिएको छ भने देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको उनले बताए । सभामा अध्यक्षले कम्पनीले चालु आ.ब.को प्रथम त्रैमाससम्ममा १६ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको, १ करोड २० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउंदै २०७३ मंसिर १६ गतेसम्म कम्पनीले करिब २४ करोड बीमाशुल्क आर्जन गरेको र ३२ करोड विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुको मुद्दतीमा लगानी गरेको पनि जानकारी गराए । साधारण सभामा संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले देशभर १७ वटा शाखा कार्यालय, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको, बन्द रहेका शाखाहरुको पुनःसंचालन गर्दै शाखा सञ्जाल विस्तार तथा आवश्यक जनशक्तीहरुको व्यवस्थापनमा जोड दिई रहेको जानकारी गराए ।

शिखर इन्स्योरेन्सले १० प्रतिशत एफपीओ जारी गर्ने, सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने

काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको सेयर पुँजी ५० करोड ९९ लाख रुपैयाँ छ । त्यसमा सर्वसाधारण समूहको सेयर ३० प्रतिशत र प्रवद्र्धकको सेयर ७० प्रतिशत रहेको छ । बीमा समितिको चाहाना, पुँजी बढाउदै कम्पनीलाई बलियो बनाउने उदेश्य र सर्वसाधारण समूहको सहभागिता बढाउने उदेश्यले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष विकास राणाले विकासन्युजलाई बताए । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नयाँ सेयर निश्काशन गर्दा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुन सक्ने उनले बताए । ‘मूल्य निर्धारण गर्दा ३/४ वटा प्राविधिक पक्ष पनि हेर्नुपर्छ, नेपाल धितोपत्र बोर्डको पनि सहमति लिनु पर्छ । हाम्रो मूल्याङकनमा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुनसक्छ’ राणाले भने । कम्पनीको १२ औ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । बाेनस सेयर जारी गरेपछि एफपीअाे जारी गरिने अध्यक्ष राणाले बताए ।