जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, बीमा शुल्क आर्जनमा भने वृद्धि

विजयराज खनाल/काठमाडौं। ३ फागुन । यस बर्षको पुस अवधिसम्मको वित्तीय विवरण प्रकासित गरेका आठ जीवन बीमा कम्पनीहरुमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अमेरिकन लाइफ इन्स्योरेन्सको भने वित्तीय विवरण प्रकासित भएको छैन । प्राइम लाइफ, एशियन लाइफ, नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र सुर्या लाइफ इन्स्योरेन्सको नाफा घटेको हो । आठ कम्पनीहरुको कुल नाफा पनि छ प्रतिशतले घटेर २९ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको पुसमा कम्पनीहरुको नाफा ३१ करोड ६२ लाख रुपैयाँ रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर १० करोड रुपैयाँमा सिमित भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको नाफा भने सबैभन्दा धेरै ६२.७२ प्रतिशतले बढेर सात करोड ८२ लाख रुपैयाँ पुगेको छ । कतिपय कम्पनीको लगानी, अन्य कर्जाबाट भएको आम्दानी घटेको र खर्च बढेको कारण नाफा घटेको हो । कतिपयले भने यसअघि व्यवस्था रकम फिर्ता गरेकोमा यसपटक यस्तो रकम फिर्ता नल्याएको कारण नाफा घटेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान बाहेक सात कम्पनीहरुको हालसम्मको कुल बीमा शुल्क आम्दानी भने करिब ३७ प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा संस्थानको वित्तीय विवरण अन्य कम्पनीको भन्दा अलग संरचनामा प्रकासित भएकोले केही पक्ष समावेश गरिएको छैन । गत आवको पुससम्ममा ३१ अर्ब रुपैयाँ आम्दानी गरेका सात कम्पनीहरुले यसमा पुससम्ममा आम्दानी बढेर ४३ अर्ब रुपैयाँ पुगेको छ । सुर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन उच्चले बढेको छ । सात कम्पनीहरुको गत आवमा २३ लाख आठ हजार बीमालेख सङ्ख्या रहेकोमा चालु आवमा यो सङ्ख्या बढेर २६ लाख ३३ हजार पुगेको छ । एउटै व्यक्तिले एकभन्दा बढी कम्पनीमा जीवन बीमा गर्न पाउने नियम भएकोले बीमा लेखको सङ्ख्या भन्दा वास्तविक बीमितको सङ्ख्या कम हुनपनि सक्छ । हालसम्म सात कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २५ अर्ब रुपैयाँ पुगेको छ । तर प्रतिशतको आधारमा बीमा शुल्क वृद्धि हुने कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सुर्यालाइफको बीमा शुल्क आर्जन करिब तीन गुणाले बढेको छ । हाल कायम बीमालेखको आधारमा सात कम्पनीमा लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै (२६ प्रतिशतले) बीमालेख वृद्धि भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको भने बीमा लेख सङ्ख्या १० प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा लेख संख्या सबैभन्दा धेरै नौं लाख ८५ हजार छ । कम्पनीहरु (बीमा संस्थान सहित) को सञ्चित तथा जगेडा कोष ४.८९ प्रतिशतले बढेको छ । नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्सको भने यस्तो कोष घटेको छ । आय र व्यवस्थापन खर्चको बाँडफाँडमा अलगअलग तरिका अपनाइने गरेका कारण यी शीर्षकमा नोक्सान देखिने गरेको पनि कम्पनीहरु बताउँछन । कम्पनीहरु (बीमा संस्थान सहित) को जीवन बीमा कोष करिब २० प्रतिशतले बढेर ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बीमा संस्थानको आम्दानीभन्दा खर्च बढि रहेपछि बचत दुई अर्ब ८३ करोडले घटेको छ । यो रकम जीवन बीमा कोषमा सारेकोले कम्पनीको जीवन बीमा कोष समेत २१ प्रतिशतले घटेर ११ अर्ब ६ करोड रुपैयाँमा सिमित भएको छ । यसअघि कम्पनीको जीवन बीमा कोष १४ अर्ब रुपैयाँ रहेको थियो । रकमको आधारमा (बीमा संस्थान सहित) जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम (२० अर्ब ३६ करोड रुपैयाँ) हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेपनि प्रतिशतको आधारमा सूर्या लाइफको धेरै (५७ प्रतिशत) वृद्धि भएको छ । तर बीमा कोषमा सबैभन्दा कम रकम हुनेमा पनि सूर्यालाइफ नै रहेको छ । कम्पनीहरुलाई नियमक निकाय बीमा समितिले जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मुल्यांकन (एक्चुअरी भ्यालुएसन) हरेक बर्ष गर्न निर्देशन दिएको छ । यस आर्थिक बर्षको अन्त्यमा भने यस्तो मुल्यांकन पछि नाफामा थप फरबदल हुन सक्छ । कम्पनीहरु ( बीमा संस्थान बाहेक) को कुल दाबी भुक्तानी सङ्ख्या बढेको छ । गत बर्षको पुसमा २२ हजार दुई सय ३० वटा दाबी भुक्तानी दिएका कम्पनीहरुको यसपटक भुक्तानी संख्या २८ प्रतिशतले बढेर १७ हजार तीन सय ३४ पुगेको छ । यही कारण दावी भुक्तानी रकम पनि २७ प्रतिशत बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले चुक्तापूँजी पाँच अर्ब पुर्याउने, संस्थागत लगानी खोज्दै

२९ माघ । नेपाल पुनर्बीमा कम्पनीले चुक्तापूँजी पाँच अर्ब रुपैयाँ पु¥याउने भएको छ । कम्पनीले संस्थागत लगानीकर्ताहरुसंग पूँजीवृद्धिको लागि लगानी माग गर्ने भएको स्रोतले बताए । बिहीवार डा. रमेश कुमार भट्टराईको संयोजकात्वमा बनेको पूँजी पुनर्संरचना समितिले चुक्तापूँजी बढाउन संस्थागत लगानीकर्तालाई आवहान गर्ने निर्णय गरेको हो । ‘हामीले छिट्टै नै लगानी माग गर्दै सुचना सार्वजनिक गर्ने भएका छौं,’ कम्पनी स्रोतले भने । हाल कम्पनीको चुक्तापूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीमा जीवन बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी , बैंक तथा वित्तीय संस्थाले चाहेमा लगानी गर्न सक्ने ती स्रोतले जानकारी दिए । कम्पनीमा नीजि क्षेत्रका संस्थागत लगानीकर्ताले पनि लगानी गर्न सक्ने छन् । लगानीको लागि सिमा भने तोकिएको छैन । ‘कम्पनीमा हाल १७ निर्जीवन बीमा कम्पनी र सरकारको लगानी रहेको छ , निर्जीवन बीमा कम्पनीले पनि चाँहेमा लगानी बढाउँन सक्छन,’ ती स्रोतले स्पष्ट पारे । हाल कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैयाँ र जारी पूँजी तीन अर्ब रुपैयाँ रहेको छ । नेपालमा पुर्नबीमाको काम गर्ने एक मात्र कम्पनीको रुपमा यस कम्पनी सञ्चालनमा छ । १० करोड रुपैयाँको बीज पूँजीबाट शुरु भएको आकस्मिक बीमा कोषलाई गत कात्तिक २१ गतेबाट कम्पनीको रुपमा सञ्चालनमा ल्याइएको हो । शुरुवाती दिनमा कम्पनीका सरकार र १४ नीर्जीवन बीमा कम्पनीको लगानी रहेको थियो । कम्पनीको उद्घाटन गत पुस सात गते अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । कम्पनीको अध्यक्षता अर्थमन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले गरिरहेका छन । बीमा गरिएका क्षेत्रको जोखिमभार कम्पनीहरुले व्यहोर्न नसक्ने अवस्थामा पुर्नबीमा कम्पनीहरुमा सारिन्छ । हालसम्म नेपालमा सञ्चालीत बीमा कम्पनीहरुले अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीबाट पुनर्बीमाको सुविधा लिदै आएका छन ।

बीमा कम्पनीको प्रमोटर सेयरमा अंकुश, सेयरधितो र खरिदबिक्रीमा नयाँ व्यवस्था

२१ माघ । बीमा समितिले बीमा कम्पनीका प्रवद्र्धक सेयरधनीको अधिकारमा थप अंकुश लगाएको छ । सेयर खरिदबिक्री र सेयर धितो कर्जामा समितिले बिभिन्न अंकुश लगाएको हो । समितिले बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढि संस्थापक सेयर हुनेले अंकित मुल्यको आधारमा आफुसंग भएको सेयरको ५० प्रतिशतभन्दा बढि रकमको सेयर धितो राख्न नपाउने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्दा मुल्यांकन तथा कर्जा लगानी सिमाको कुनै मापदण्ड रहेको थिएन । बैंकहरुले आफ्नो कर्जा नीति अनुसार कर्जा प्रवाह गर्दै आएका थिए । समितिले दिएको निर्देशन अनुसार अब भने यसरी धितो राख्न लगानीकर्ताले बीमा कम्पनीसंग पनि स्वीकृती लिनुपर्ने व्यवस्था गरेको छ । ऋणीले यस्तो कर्जा एक बर्षभन्दा बढि समयको लागि समेत धितो राख्न पाउँदैन भने यसरी लिइएको कर्जाको पुनरसंरचना र नविकरण समेत गराउन पाउँने छैन । यदी संस्थापकले कर्जा नतिरेर कालो सुचीमा परेमा कम्पनीहरुले बीमा समितिलाई १५ दिनभित्र जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण दुवै समूहको एक प्रतिशतभन्दा बढि सेयर बिक्री गर्नु परेमा बीमा समितिको स्वीकृती लिनुपर्ने समेत व्यवस्था गरेको छ । धितोपत्र बोर्डको नियम अनुसार संस्थापक समुहको सेयर बिक्री गर्दा पहिले त्यही समुहको लागि बिक्री गर्न सुचना जारी गर्नुपर्ने व्यवस्था छ । यसरी सुचना गरेपछि पनि सेयर बिक्री नभएको अवस्थामा बोलकबोल मार्फत् सर्वसाधारणमा सेयर बिक्रीको लागि सुचना जारी गर्नुपर्छ । केही कम्पनीहरुले यस्तो अभ्यास नगरेर सेयर बिक्री गर्नथालेपछि बीमा समितिले यसअघि नै पनि आफुसंग स्वीकृती लिनुपर्ने व्यवस्था गरेको थियो । तर सानासाना परिमाणको संस्थापक सेयरको बिक्रीमा समेत समितिको स्वीकृती लिन व्यवहारिक नदेखिएपछि समितिले नयाँ निर्देशन जारी गरेर एक प्रतिशतभन्दा बढिको सेयर बिक्रीमा स्वीकृती लिनुपर्ने व्यवस्था गरेको हो ।