क्रिकेटलाई ‘क्यास’ गर्ने समय

कुनै समय विद्यालयको खेल मैदान र सहरका गल्लीहरुमा रमाइलोका लागि खेलिने क्रिकेट आज राष्ट्रिय गौरव र सम्भावनाको प्रतिक बनेको छ । मनोरञ्जनको सीमित दायराबाट उठ्दै यो खेल अहिले नेपालको पहिचान, युवा ऊर्जा र आर्थिक गतिशीलताको माध्यम बन्ने दिशामा अगाडि बढिरहेको छ । एक दशक अघिसम्म केवल समाचारको कुनामा सीमित रहने क्रिकेट आज देशको राष्ट्रिय विमर्शको केन्द्रमा छ । कुनै बेला पत्रपत्रिकाको अन्तिम पृष्ठमा सीमित स्पेस पाउने क्रिकेट आज सञ्चार माध्यमको मुख्य समाचार बनिरहेको छ ।  शुक्रबार सम्पन्न आईसीसी विश्वकप टी-२० छनोट प्रतियोगितामा नेपालले अपराजित यात्रा गर्दै ट्रफी हातमात्रै हात पारेन, सहजै विश्व कपको यात्रा पनि तय गर्यो । यो ट्रफीसँगै तेस्रो पटक विश्वकपमा प्रवेश गर्न सफल भएको यस ऐतिहासिक उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट मानचित्रमा थप मजबुत बनाएको छ । यो केवल खेलाडीको जित होइन, यो सम्पूर्ण राष्ट्रको जित हो, जसले देखाएको छ कि सीमित स्रोतसाधन र संरचनामाझ पनि दृढ इच्छाशक्ति र सामूहिक भावना भए असम्भव केही हुँदैन । यो जितसँगै देशभर क्रिकेटप्रतिको क्रेज अभूतपूर्व रूपमा बढेको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल  यस्तै, पछिल्ला वर्षमा सुरु भएका विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरू, एभरेष्ट प्रिमियर लिग, नेपाल प्रिमियर लिग र धनगढी प्रिमियर लिग लगायतले खेलकुद क्षेत्रमा नयाँ आयाम थपेका छन् । यी प्रतियोगिताले खेलाडीलाई मात्र होइन, व्यवसायी, विज्ञापनदाता, मिडिया र स्थानीय पर्यटनलाई पनि थप बल पुर्याएको छ । यसले क्रिकेटलाई अब मनोरञ्जनभन्दा बढी अर्थतन्त्रको हिस्सा बनाउने सम्भावना उजागर गरेको छ । अब नेपालमा क्रिकेटलाई व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न आवश्यक भइसकेको छ । यसका लागि व्यवसायी, लगानीकर्ता र निजी क्षेत्रले पनि खेल पूर्वाधारमा लगानी गर्नुपर्छ । देशभर अन्तर्राष्ट्रिय मापदण्डअनुसारका क्रिकेट मैदान, अभ्यास केन्द्र र एकेडेमीहरु निर्माण गर्न जरुरी छ । आज क्रिकेटको लोकप्रियताले दर्शक, विज्ञापन र प्रसारणको बजार विस्तार गरिरहेको छ, यसले स्पष्ट सन्देश दिन्छ कि क्रिकेट अब राम्रो प्रतिफल पाउने क्षेत्रका रूपमा विकसित हुन सक्छ । व्यवसायीहरूले यस क्षेत्रको सम्भावना बुझेर दीर्घकालीन लगानी गर्नुपर्छ, जसबाट उनीहरूलाई पनि आर्थिक लाभ मिल्नेछ र देशको खेलकुद अर्थतन्त्र सुदृढ हुनेछ । सरकारको भूमिका पनि यहाँ निर्णायक हुन्छ । खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकताको सूचीमा राख्दै खेलकुद पूर्वाधारमा बजेट विनियोजन बढाउनुपर्छ । रोकिएका खेलकुदका पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र स्थानीय तहबीच सहकार्यको संयन्त्र विकास गर्न सकिए मात्र दीर्घकालीन परिणाम सम्भव हुन्छ । सार्वजनिक–निजी साझेदारीमार्फत खेल स्टेडियम, क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्रहरू निर्माण गर्न सकिन्छ । साथै, विद्यालय र विश्वविद्यालय तहमा क्रिकेटलाई पाठ्यक्रमसँग जोडेर प्रतिभा विकासको सुनिश्चितता गर्नुपर्छ ।  क्रिकेटले अब नेपालमा राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाएको छ । प्रत्येक जितमा सर्वसाधारणको आँसु र हर्ष मिश्रित प्रतिक्रिया देखिन्छ । यो केवल खेलमात्र होइन, राष्ट्रिय गर्व र साझा भावनाको प्रतिक हो । यही भावनालाई उत्पादनमुखी दिशामा मोड्न सकियो भने क्रिकेटले हजारौं युवालाई रोजगारी दिने, खेल पर्यटन प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने माध्यम बन्न सक्छ । यो उत्साहलाई दीर्घकालीन योजनामा रूपान्तरण गर्न ढिला गर्नु हुँदैन । सरकारले खेलकुदलाई दीगो नीति अन्तर्गत राखेर दीर्घकालीन योजना बनाउनुपर्छ । निजी क्षेत्रले लगानी बढाउनुपर्छ । मिडियाले पारदर्शिता र उत्तरदायित्वमा जोड दिनुपर्छ । अनि मात्रै क्रिकेट नेपालको आर्थिक इन्जिनका रूपमा अघि बढ्न सक्छ । नेपालले अहिले ऐतिहासिक मोडमा उभिएको छ, जहाँ क्रिकेटले केवल खेल होइन, भविष्यको सम्भावना पनि बोकेको छ । यसलाई क्यास गर्न सक्ने हो भने क्रिकेटले राष्ट्रिय अर्थतन्त्रमा नयाँ उचाइ ल्याउनेछ । भावनात्मक उत्साहका साथ अब योजनाबद्ध लगानी, पूर्वाधार र व्यवस्थापन गर्ने समय हो ।  

पुराना नेताहरूलाई पदत्याग गर्न दबाब

नेपालको राजनीतिमा एक ऐतिहासिक मोड आएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेको भोलिपल्ट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कार्यसमिति भंगगरी विशेष महाधिवेशनमा जाने निर्णय गरेका छन् । पार्टी अध्यक्षबाट उनी महाधिवेशन आयोजक समितिको संयोजकमा सीमित भएका छन् । लामो समयदेखि नेपाली राजनीतिमा निर्णायक प्रभाव जमाएका यी दुई नेताले पदत्याग गर्नु केवल व्यक्तिगत निर्णय मात्र होइन, नयाँ पुस्ताको दबाब र देशमा बढ्दै गएको राजनीतिक असन्तोषको परिणाम पनि हो । हालैको जेनजी आन्दोलनले देखाएको ऊर्जा, संघर्ष र दृढताले पुरानो पुस्ताका नेताहरूलाई आफ्नो ठाउँबारे पुनर्विचार गर्न बाध्य बनाएको छ। युवाहरूले सडकमा उत्रिएर पुरानो नेतृत्वको असफलता औंल्याए—रोजगारी सिर्जना हुन सकेन, शिक्षा सुधार भएन, भ्रष्टाचार नियन्त्रण भएन, अनि नेतृत्व निरन्तर उही अनुहारमा मात्र सीमित रह्यो । यसरी बढ्दो असन्तोषको दबाबले पुराना नेताहरूले अब आफ्नो भूमिकालाई आत्मसमीक्षा गर्नुपर्ने अवस्था आयो । डा. भट्टराई र प्रचण्ड दुवैलाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण अध्यायका पात्र मानिन्छ । भट्टराईले शैक्षिक एवं वैचारिक धरातलमा नयाँ सोच प्रस्तुत गरे भने प्रचण्डले विद्रोहमार्फत पुरानो सत्ता संरचनामा चुनौती पेश गरे । तर, समयक्रममा दुवै नेताले प्रत्यक्ष शासन सञ्चालनमा देखाएको कमजोरी र निरन्तर दोहोरिएका असफलताले जनतामा गहिरो असन्तोष पैदा गर्‍यो । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको माग त्यसैको प्रतिफल हो । युवापुस्ताले उठाएको मुख्य प्रश्न भनेको नेतृत्वको घुम्ती नै हो—किन दशकौंसम्म उही अनुहारले मात्र देश चलाउनु पर्छ ? जब मुलुकमा ६० प्रतिशतभन्दा बढी युवा छन्, उनीहरूलाई नीति निर्माणमा सहभागी गराउने, नेतृत्व हस्तान्तरण गर्ने र तिनको ऊर्जा प्रयोग गर्ने कुरा किन सम्भव हुन सकेन ? यही कारणले जेनजी आन्दोलनले देशको राजनीतिको बाटो मोड्ने निर्णायक प्रभाव पारेको छ । अहिले पुराना नेताहरूले पदत्याग गर्नु सकारात्मक सुरुवात हो । यसलाई पुस्तान्तरणको अवसरका रूपमा लिन सकिन्छ । तर प्रश्न यत्रतत्र छ—के केवल अध्यक्ष पद छाडेर पुराना नेताहरू वास्तवमै पन्छिन्छन् ? वा उनीहरू पछाडिबाटै शक्ति नियन्त्रण गर्न खोज्छन् ? यदि नेतृत्वको वास्तविक शक्ति फेरि पुरानै हातमा रह्यो भने यो पुस्ता परिवर्तनको नाटक मात्र हुनेछ । त्यसैले युवा पुस्ताले सतर्कतापूर्वक निगरानी राख्नुपर्ने छ । डा. भट्टराई र प्रचण्डले देखाएको बाटो नयाँ युगको सुरुवातको संकेत हो । तर यो यात्रा सजिलो छैन । पुरानो मानसिकता, दलगत स्वार्थ र सत्ता मोह अझै प्रबल छन् । युवापुस्ताले आफ्नो आवाजलाई केवल आन्दोलनमै सीमित नगरी नीति निर्माण र शासनमा सक्रिय भाग लिन सके मात्र यो परिवर्तन स्थायी हुनेछ । नेपालको भविष्य अब नयाँ पुस्ताको काँधमा सरेको छ—अव यो पुस्ताले इतिहास बदल्ने अवसर गुमाउनु हुँदैन । अब पदत्यागको दवावको ठूलो लहर नेपाली कांग्रेस र नेकपा एमालेतिर मोडिएको छ । यी दुवै दलमा दशकमौसम्म उही नेतृत्वले पार्टी चलाएको, नयाँ पुस्तालाई अवसर नदिएको र नीतिगत नवीनता ल्याउन नसकेको गुनासो तीव्र रूपमा बढ्दो छ । कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वलाई लिएर असन्तोष रहँदै आएको छ भने एमालेमा केपी शर्मा ओलीको दीर्घ नेतृत्वसम्बन्धी प्रश्न उठ्ने गरेको छ । जब भट्टराई र प्रचण्ड जस्ता नेताले पदत्याग गरे, तब कांग्रेस र एमालेभित्र पनि नेतृत्व हस्तान्तरणको माग अझ बलियो हुने निश्चित छ। युवापुस्ताले अहिलेको राजनीतिक परिदृश्यमा आफ्नो प्रभाव जमाउँदै गइरहेका छन् । उनीहरूको ऊर्जा र दबाबले कांग्रेस र एमालेलाई पनि पुस्तान्तरणतर्फ सोच्न बाध्य बनाउने छ । यदि यी दलहरूले पुरानै अनुहारलाई पुनः टिकाउने प्रयास गरे भने उनीहरू अझ बढी आक्रोश र असन्तोषको निशानामा पर्नेछन् । त्यसैले अब कांग्रेस र एमाले दुवैले संगठनात्मक सुधार, युवा नेतृत्वको उत्थान र पार्टीलाई नयाँ युगको दिशामा अघि बढाउने पहल नगरे सम्म राजनीतिक भविष्य सुरक्षित हुने देखिँदैन । युवाहरूले अब केवल आन्दोलनको ऊर्जा होइन, नीति र योजनाको ठोस विकल्प पनि प्रस्तुत गर्नुपर्छ । पुराना नेताको आलोचना गर्नु सजिलो हो, तर नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्दा दक्षता, क्षमता र दूरदृष्टि देखाउनुपर्ने हुन्छ । देशलाई रोजगारी, आर्थिक समृद्धि, सुशासन र समान अवसर चाहिएको छ । नयाँ पुस्ताले यी क्षेत्रमा ठोस कार्यक्रम ल्याउन सके मात्र उनीहरूको विश्वासनीयता बढ्नेछ । यथार्थ के हो भने, पुराना नेताहरूले बिस्तारै औपचारिक रूपमा पद त्याग्दै गए पनि उनीहरूको अनुभव र योगदानलाई नकार्न सकिँदैन । तर, त्यो अनुभव अब सल्लाहकार भूमिकामा सीमित हुनु जरुरी छ । सक्रिय सत्ता र नेतृत्व भने नयाँ पुस्ताले लिनुपर्छ । यसरी मात्र नेपालको राजनीतिको बाटो नयाँ दिशा तिर मोडिन सक्छ ।

शिक्षा र संस्कार, घरघरबाटै सुधार

पदभार ग्रहणपछि पहिलो सम्बोधनमा प्रधानमन्त्रीको सुशीला कार्कीले भनिन्‌, ‘जेनजी आन्दोलनका क्रममा हाम्रा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड र आगलागी भएको छ । निजी घर र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट र आगजनी भएको छ । यी कहालीलाग्दा घटनाले देशलाई नोक्सान मात्र भएको छैन, लाजमर्दो भएको छ ।’ यहाँ लाजमर्दो विषयले हामी नेपालीको चेतनास्तर कस्तो छ ? हामीले स्कूल र कलेजमा के सिक्यौं, घरमा के संस्कार सिक्यौं ? भन्ने विषयलाई संकेत गर्दछ ।  भदौ २३ र २४ गते देशभरि भएका घटनाले सम्पूर्ण नेपाली समाजलाई गम्भीर प्रश्नको अगाडि उभ्याइदिएको छ । राजधानीका महत्त्वपूर्ण सार्वजनिक स्थल- संसद, सिंहदरबार, अदालतदेखि निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूका घर र अफिससम्म जले, नेताहरूका आवासहरू क्षतिग्रस्त भए । जेनजी प्रदर्शनीका नाममा सुरु भएको यो आन्दोलन युवाहरूको हातबाट हिंसात्मक उन्मादमा परिणत हुनुले हाम्रो सामाजिक संरचना र संस्कारबारे गहिरो आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । यस्ता घटनाको मूल कारण के हो भन्ने प्रश्न सबैको मुखमा छ । राजनीतिक असन्तोष, सामाजिक असमानता, वा नेतृत्वप्रतिको असन्तुष्टि यी कारणहरूलाई पूरै नकार्न सकिँदैन । तर गहिरिएर हेर्दा यसको जड हाम्रो शिक्षा प्रणाली, नैतिक मूल्यहरूको क्षय र घर–परिवारबाटै सुरु हुने संस्कारको कमजोरीमा भेटिन्छ । आजको पुस्ता आधुनिक प्रविधि, भौतिक चकाचौंध र तत्कालीन सुखमा त आकर्षित छ तर सहनशीलता, जिम्मेवारी र समाजप्रतिको दायित्व सिक्न भने असफल हुँदै गएको छ । शिक्षाले केवल रोजगारका लागि दक्षता मात्र दिनु हुँदैन, जीवनको आधारभूत मूल्यहरू पनि गढ्नुपर्छ । तर हाम्रो शिक्षण पद्धति नैतिक शिक्षा, चरित्र निर्माण र सामाजिक उत्तरदायित्वमा कमजोर हुँदै गएको छ । पुस्तकमुखी अध्ययन, परीक्षामुखी प्रतिस्पर्धा र अंक-केन्द्रित मूल्याङ्कनले विद्यार्थीहरूलाई केवल आत्मकेन्द्रित र व्यक्तिगत लाभ खोज्ने बनाएको छ । जब शिक्षा नै मानवता र सहअस्तित्वको पाठ दिन असफल हुन्छ, त्यस्तो समाजमा हिंसा, विनाश र अराजकता प्राकृतिक परिणामका रूपमा देखा पर्छ । यसैगरी, पारिवारिक संस्कारको क्षय अर्को मूल समस्या हो । घर नै जीवनको पहिलो विद्यालय हो । तर आधुनिक जीवनशैलीमा परिवारसँगको संवाद, अनुशासन र आपसी सम्बन्ध कमजोर हुँदै गएको छ । अभिभावकहरू व्यस्त जीवनशैलीमा सीमित हुँदा बालबालिकाले मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालबाट मात्र पाठ सिक्छन् । यी माध्यमहरूले मनोरञ्जन र जानकारी दिन्छन्, तर सही-गलत छुट्याउने क्षमता भने दिन सक्दैनन् । यही खालीपनले युवालाई असन्तोष व्यक्त गर्न हिंसात्मक बाटो रोज्न प्रेरित गरेको हो । यसरी जब शिक्षा प्रणाली, पारिवारिक संस्कार र सामाजिक मूल्यहरू तीनवटै पक्ष कमजोर हुन्छन्, तब एउटा पुस्ता दिशाहीन हुन्छ । दिशाहीन युवाले आन्दोलनलाई पनि अवसरको रूपमा प्रयोग गरेर विनाशतिर मोड्न सक्छन् । संसद, अदालत वा सिंहदरबार जलेको घटनामा राजनीतिक नेतृत्व मात्र दोषी होइन, हरेक नेपाली परिवार पनि उत्तिकै जिम्मेवार छ । अब प्रश्न उठ्छ– यस्तो अवस्थाबाट समाजलाई कसरी सुधार्ने ? यसको उत्तर सजिलो छैन, तर स्पष्ट छ कि सुधार घरघरबाट सुरु हुनुपर्छ । अभिभावकहरूले आफ्ना सन्तानलाई अनुशासन, आदर, श्रमप्रतिको सम्मान र समाजप्रतिको दायित्वबारे शिक्षित गर्नुपर्छ । विद्यालयहरूले नैतिक शिक्षा, सामुदायिक सेवा र चरित्र निर्माणलाई पाठ्यक्रमको मुख्य हिस्सा बनाउनुपर्छ । सरकार र नेतृत्वले मात्र होइन, हरेक नागरिकले आ-आफ्नो ठाउँबाट मूल्य-आधारित समाज निर्माणमा योगदान दिनुपर्छ । देशलाई जलाउने होइन, निर्माण गर्ने संस्कार स्थापित गर्न अब ढिलो गर्न मिल्दैन । आज हामीले अनुभव गरेको विनाश हाम्रो आफ्नै कमजोरीको प्रतिफल हो । यदि हामी घर-घरबाटै सुधारको बाटो हिँड्न सक्छौं भने भोलिका दिनमा यस्ता विनाशकारी दृश्य दोहोरिन आवश्यक छैन । युवा पुस्तालाई दोष मात्र दिएर बस्ने होइन, उनीहरूलाई सही बाटो देखाउने जिम्मेवारी हामी सबैको हो । नेपालले धेरै आन्दोलन देखिसकेको छ, तर साँचो आन्दोलन भनेको मन र सोचको आन्दोलन हो । त्यसैले अबको अभियान ‘घरघरबाट सुधार’ हुनुपर्छ । यही बाटोले मात्र हामीलाई हिंसामुक्त, जिम्मेवार र समुन्नत समाजतर्फ डोऱ्याउन सक्छ । परिवर्तन ध्वंस र हिंसाबाट होइन, मत र अभिमतबाट गर्नुपर्छ । यस्तो परिवर्तन मात्र उत्पादनमूलक र दिगो हुन्छ ।