सिनेमा उद्योगमा ठूला व्यवसायीको प्रवेश
कुनै बेला मनोरञ्जनका लागि हेरिने र निर्माण हुने सिनेमाहरु पछिल्लो समय व्यापारिक दृष्टिकोणले हेरिन थालिएको छ । अभिनय गर्न रुचाउने र सिनेमा बनाउन इच्छा भएकाहरूले सानोतिनो रकम जुटाएर चलचित्र निर्माण गर्ने चरणबाट नेपाली सिनेमा क्षेत्र अहिले एउटा उद्योगको रूपमा विकास हुन थालेको हाे । विशेषगरी केही सिनेमा निर्माणकर्ताले राम्रो विषयवस्तु पस्केर स्रोता तथा दर्शकको मन जितेर आकर्षक आम्दानी गरेपछि यो क्षेत्रप्रति धेरैको चासो बढेको हो । विगतमा उद्योगी व्यवसायीहरूको नजरमा नपरेको सिनेमा क्षेत्रमा पछिल्लो समय उनीहरू लगानी गर्न तयार भएका छन् । यसले नेपाली सिनेमा क्षेत्र नयाँ मोडमा प्रवेश गरेको बुझ्न सकिन्छ । सिनेमा उद्योगमा ठूला व्यवसायीहरूको प्रवेशले थप लगानी, प्रविधि र सिर्जना भित्रिन सक्ने सम्भावना देखिएको छ । पूरानो संरचना र प्रणालीलाई विकसित गर्दै सिनेमा क्षेत्रमा नयाँ आयाम थपिन सक्ने संकेत देखिन थालेका छन् । जसरी व्यवसायी नकिम उद्दिनले परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिन सफल भए । जसरी उनले नेपाली सिनेमा इन्ड्रस्ट्रीजको डिजिटलाइजेशन गर्नेदेखि सिनेमा हलको गुणस्तर वृद्धिमा एउटा ट्रेण्ड सेटरको भूमिका खेले । त्यसरी नै नयाँ व्यवसायीले यो क्षेत्रमा प्रवेश गरेर नयाँ आयाम थप्ने संकेत देखिन थालेको छ । शुक्रबारमात्रै नेपालको एक ठूलो व्यावसायिक घराना गोल्छा समूह सिनेमा क्षेत्रमा प्रवेश गरेको छ । गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छा र अर्का व्यवसायी तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यले बाइस्कोप सिनेमा प्रालि नामक कम्पनी नै स्थापना गरेर नयाँ सिनेमा ‘परान’ निर्माण गर्ने घोषणा गरेका छन् । सिनेमा क्षेत्रमा गोल्छा र आचार्यको प्रवेश पक्कै पनि एउटा कोशेढुङ्गा बन्नेमा दुईमत छैन । उनीहरूसँगै अन्य उद्योगी व्यवसायी पनि सिनेमा उद्योगमा प्रवेश गर्नका लागि उनीहरूले भूमिका खेल्नेछन् । परान सिनेमामा पुराना वरिष्ठ कलाकारहरुको अभिनयले पनि यो क्षेत्रमा थप इँटा थप्न मद्दत गर्नेछ । गोल्छा, आचार्य र नकिम उद्दिनहरूले अब सिनेमा निर्माण र लगानीमात्रै गर्ने छैनन्, उनीहरूले सिनेमा उद्योगलाई विश्वस्तरीय प्रविधि र व्यवस्थापकीय शैली पनि सिकाउनेछन् । गुणस्तरीय चलचित्र निर्माणबाट राम्रो कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उपाय सिकाउनेछन् । यस वर्ष मात्रै चलेका चलचित्रहरू छक्का पञ्जा- ५, पूर्ण बहादुरको सारङ्गी र १२ गाउँले पनि त्यो प्रमाणित गरे । विगतका वर्षहरूमा बलिवुड र हलिवुडको दबदबा रहने नेपाली सिनेमा क्षेत्रमा यस वर्ष भारतीय सिनेमाले पानी भन्न पनि पाएनन् । यी तीनवटै सिनेमाले आकर्षक कमाइ मात्रै गरेनन्, हालसम्मकै सिनेमाहरूको कमाइको रेकर्डसमेत ब्रेक गरे । विगतमा सिनेमा निर्माण गर्नैका लागि गर्ने दिनहरू अब सकिनेछन् । ठूला व्यवसायीहरूले सिनेमा उद्योगमा लगानी बढाउँदा उनीहरूले त्यसको वितरण, बजारीकरण तथा प्रचारप्रसारमा पनि उत्तिकै कुशलता देखाउनेछन् । डिजिटल प्लेटफर्महरूको विकाससँगै चलचित्रको ग्लोबल मार्केटिङ र अन्तर्राष्ट्रिय प्रदर्शनमा समेत उनीहरूले भूमिका खेल्नेछन् । ठूला व्यवसायीहरूको प्रवेशले सिनेमा उद्योगमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशी मुद्रा समेत आउने र नेपालबाट विदेश जाने ठूलो परिमाणको विदेशी मुद्रा समेत रोकिन सक्ने आँकलन गर्न सकिन्छ । विगतमा मनोरञ्जनका लागि निर्माण हुने सिनेमा उद्योगमा अब नाफाघाटाको पनि बहस हुनेछ र नेपाली चलचित्रलाई पनि विदेशमा पुर्याउने एउटा प्रस्थान बिन्दु बन्न सक्ने आँकलन गर्न सकिन्छ ।
सरकार पनि घाटामा, देश पनि घाटामा
सरकारको आयाव्यायमा ठूलो खाडल पर्दै गएको छ भने बैदेशिक व्यापारमा पनि ठूलो घाटा छ । यी दुई मुल समस्याका कारण अर्थतन्त्रका हरेक सूचकाङ्कहरु खुम्चिदै गएका छन् । उद्यमी व्यवसायी पनि संकटमा फस्दै गएका छन् । तर समस्या समाधानका लागि सरकारले रुपान्तरणकारी कदम चाल्न सकेको छैन । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाल सरकारको आयव्यव १९२ अर्ब ५७ करोड नोक्सानमा गएको छ । यस अवधिमा सरकारको कुल खर्च रु.५५६ अर्ब १२ करोड रहेको छ । त्यसमा चालु खर्च रु.३६३ अर्ब ५५ करोड, पँुजीगत खर्च रु.४० अर्ब ८० करोड र वित्तीय व्यवस्था खर्च रु.१५१ अर्ब ७७ करोड रहेको छ । यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.३९९ अर्ब ६० करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.३६२ अर्ब ५८ करोड र गैर कर राजस्व रु.३७ अर्ब २ करोड परिचालन भएको छ । मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२१९ अर्ब ८३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९१ अर्ब ७८ करोड रहेको थियो । सरकारको खाता मात्र घाटामा होइन, देशको व्यापार पनि घाटामा नै छ । कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई रु.५८७ अर्ब ८३ करोड पुगेको छ । निर्यात–आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ६६ करोड पुगेको छ । सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई रु.६६१ अर्ब ४९ करोड पुगेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ । बस्तु व्यापारसँगै नेपालले सेवा व्यापारमा पनि नोक्सानी बेहोरेको छ । खुद सेवा आय रु.४० अर्ब ७१ करोडले घाटामा रहेको छ । भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब १९ करोड पुगेको छ । तर भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई रु.८५ अर्ब १ करोड पुगेको छ । त्यस्तै विदेश जाने विद्यार्थीले रु.४७ अर्ब ४१ करोड बराबर विदेशी मुद्रा विदेश लगेका छन् । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । तर गत वर्षको तुलनामा विप्रेषण आय वृद्धि कमजोर बनेको देखिएको छ । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु.२२७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्रा संचितिको अवस्था जति राम्रो छ, त्यसको सदुपयोग गर्ने तर्फ उल्लेख गर्न लायक काम भएको छैन ।
वास्तविक ‘विकास नायक’
देश विकासको विषयमा बहस हुँदा प्रायः सबैको सोच, विचार र अभिव्यक्ति सरकारमा केन्द्रित हुन्छ । धेरैलाई लाग्छ, देश विकासको सबै जिम्मेवारी सरकार वा राजनीतिक नेतृत्वको मात्र हो । सरकारले राम्रो गरेन, नेताहरू असफल भए त्यसैले देश विकास भएन भन्ने सोच अधिकांशमा पाइन्छ । तर, सत्य यति मात्र होइन । देश विकास बहुआयामिक प्रक्रिया हो, जसमा सरकार, निजी क्षेत्र र नागरिक सबैको भूमिका हुन्छ । सरकारको प्रमुख काम नीति निर्माण, सुरक्षा, न्याय, र प्रशासन हो । नेपालजस्तो देशमा सडक, पुल, नहर, रेलमार्ग, सुरुङमार्ग र विमानस्थलजस्ता पूर्वाधार निर्माणमा सरकारको निर्णायक भूमिका रहन्छ । यो भूमिका पनि जनताबाट सङ्कलित करमा आधारित हुन्छ । जलविद्युत्सहितको स्वच्छ ऊर्जा उत्पादन, यातायात, सञ्चार, शहरी विकास र पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ, जसले आधुनिक विकासलाई गति दिएको छ । वस्तु र सेवाको उत्पादन तथा व्यापार आर्थिक विकासको मेरुदण्ड हो । यसमा आम नागरिक सम्लग्न हुन्छन् । निजी क्षेत्रले ठूलो लगानी गरेको छ, जसले रोजगारी सिर्जना गरेको छ, राजस्व वृद्धि गरेको छ र उपभोक्तालाई मूल्य र गुणस्तरमा छनोटको अवसर प्रदान गरेको छ । बैङ्किङ, बीमा, पुँजी बजार, सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता सेवाका क्षेत्रहरूमा निजी क्षेत्रको प्रभाव निर्णायक देखिन्छ । सार्वजनिक यातायातमा सरकारको भूमिका नगन्य छ । तर, निजी सवारी किन्दा नागरिकले अत्यधिक कर तिर्नुपर्ने बाध्यता छ । उद्योग क्षेत्रमा पनि निजी क्षेत्रको योगदान महत्वपूर्ण छ । सिमेन्ट, डण्डी, चाउचाउ, बिस्कुट, चुरोट, रक्सीदेखि औषधि उत्पादनसम्म निजी क्षेत्रले नेतृत्व गरिरहेको छ । कृषि क्षेत्रमा सरकारको थोरै मात्र उपस्थिति छ, रासायनिक मलमा केही अनुदान र सिँचाइमा सामान्य लगानीले । तर, समग्रमा कृषि उत्पादनमा सरकारको भूमिका सीमित छ । संवैधानिक र कानूनी रुपमा हरेक नागरिकको गाँस, बास र कपासका साथै शिक्षा र स्वास्थ्यसम्म सरकारले जिम्मेवारी लिएको छ । तर, आमरुपमा नेपालीको छाक टार्ने काममा सरकारको उपस्थिति छैन । आम मानिसको घर बनाउने काममा सरकारको सहभागिता छैन । र, आम मानिसलाई कपडा उपलब्ध गराउने काममा पनि सरकारको सहभागी छैन । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको उपस्थिति शून्य छ भने निजी सवारी किन्दा नागरिकले सरकारलाई १०० कडा २४० प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता छ । शिक्षा र स्वास्थ्यमा सरकारको उपस्थिति गुणस्तरहीन छ । ११ कक्षादेखि माथिको शिक्षाका लागि र गुणस्तरीय स्वास्थ्य सेवाका लागि नागरिकले चर्को मूल्य तिर्नुपर्छ । सरकारको प्रशासन, न्याय र सुरक्षाजस्ता क्षेत्रमा पनि सामान्य उपभोक्ताले सेवा पाउन मुस्किल छ । घुसबिना सेवा पाउन कठिन छ । सरकारी निकायहरूको वार्षिक प्रतिवेदनले बेथिति, अनियमितता र विभेदलाई ऐनाजस्तो स्पष्ट पार्छ । इतिहासले राजा, नेता वा साहित्यकारलाई मात्र नायक मानेको छ । देश विकासका नायकहरू हरेक क्षेत्रमा छन् । उनीहरूको खोजी र सम्मान निरन्तर गर्नुपर्छ । देश विकासका लागि केवल भौतिक पूर्वाधार र आर्थिक प्रगति पर्याप्त होइन । उद्योगको सङ्ख्यामा वृद्धि हुनु र प्रतिव्यक्ति आय बढ्नु मात्रै विकास होइन । भाषा, सभ्यता, संस्कृति, कला र मनोरञ्जनका क्षेत्रहरूको विकासले मात्र देशको पहिचान मजबुत हुन्छ । स्मार्टफोन र टिभीले मात्रै प्रगतिको सूचक निर्धारण गर्दैन । फिल्म, खेलकुद, साहित्य र कलामा पनि लगानी आवश्यक छ । खेलकुद क्षेत्रको विकासमा पनि सरकारले भन्दा निजी क्षेत्रले नै ठूलो लगानी गरिरहेको छ । देशको विकास सरकारबाट मात्रै सम्भव छैन । यसका लागि कर्मठ नागरिक, उद्यमी र उच्च व्यवस्थापकको भूमिका महत्वपूर्ण छ । उनीहरुलाई विश्वस्त हुने किसिमको वातावरण सिर्जना सरकारले गर्न सक्नुपर्छ । चन्द्रप्रसाद ढकाल, डा. सन्दुक रुइत, कुलमान घिसिङको योगदान प्रधानमन्त्री वा मन्त्रीहरूको तुलनामा कम छैन । इतिहासले राजा, नेता वा साहित्यकारलाई मात्र नायक मानेको छ । तर, विविध क्षेत्रमा सक्रिय पात्रहरूको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । देश विकासका नायकहरू हरेक क्षेत्रमा छन् । उनीहरूको खोजी, सम्मान र योगदानको चर्चा निरन्तर गर्नुपर्छ । त्यो प्रयास हामीले थालेका हौं । तिनै विकास नायकको सम्मानमा देश विकासको यो विशेषाङ्क तयार गरिएको छ । सबैलाई एकै अङ्कमा समेट्न सकिँदैन । यस्ता विकास नायकको खोजी गर्ने र सम्मान गर्ने क्रम निरन्तर रहनेछ । यो शुरुवात हो, अन्तिम होइन ।