भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले, बनाउनुपर्ने स्कूलको संख्या ७ हजार ९२३

काठमाडौं २६, भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बेरेर कोठा बारियो। मान्द्रो कुहिएपछि वरिपरि जस्तापाता लगाएर १६ महिनादेखि जेनतेन कक्षा चलिरह्यो। अब ७ देखि १० कक्षासम्म पढाइ हुने टहरा भदौ २९ भित्र हटाइसक्नुपर्ने म्याद जग्गाधनीले दिएका छन्। म्याद विद्यालयले पटक पटक सार्दै आएको समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ। ‘जग्गाधनीले यो अन्तिम म्याद हो, जसरी भए पनि हटाउन भनेका छन्,’ प्रधानाध्यापक कमल रिमालले भने,‘ अब विद्यार्थीलाई कहाँ राखेर पढाउनुरु’ थापाको जग्गामा रहेको टहरा पनि चैत मसान्तसम्म हटाउन समय दिएका छन्। विद्यालय भवन भत्किएको १६ महिनामा जग खन्ने सुरसारसमेत छैन। जग्गाधनीले आफ्नो घर बनाउन नक्सा तयार भइसकेको भन्दै अन्यत्र सार्न आग्रह गरेको जानकारी प्रधानध्यापक रिमालले दिए। यो विद्यालय गत वर्ष शिक्षा मन्त्रालयको मूल्यांकनमा मुलुककै उत्कृष्ट भएको थियो। अर्काको बारीमा टहरा बनाए पनि सबै कक्षा एकै समयमा चल्दैनन्। कक्षा ६ देखि १० सम्म बिहान र तल्लो तहका कक्षा दिउँसो चल्छ। भवन पुनर्निर्माण गरिदिन सरकालाई बारम्बार हार गुहार गर्दा पनि कतैबाट सहयोग जुटेन। विद्यालय आफैंले दाता खोज्यो। तर सरकारले स्वीकृत दिएन।

विद्यार्थीभन्दा प्राध्यापक धेरै, इतिहास विभागमा एक विद्यार्थी १२ प्राध्यापक

काठमाडौं २३, भदौ । त्रिभुवन विश्व विद्यालय (त्रिवि)का केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै रहेका छन् । फाइल तस्बिर त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको समाचार विहिबारको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए। सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ। त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ । त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो।

भिडियोबाट पढाइः विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

काठमाडौं २०, भदौ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरिएको छ । फाइल तस्बिर भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विद्यालयमा भर्चुअल लर्निङ सेस्टर स्थापना गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक गौतमले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । भर्चुअल लर्निङमा कक्षा १० को गणित, विज्ञान र अंग्रेजी विषयलाई केन्द्रत गरेर कक्षा सञ्चालन हुादै छ। भर्चुअल स्टुडियोबाट शिक्षकले एक सय विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष पढाउनेछन् । केन्द्रले विद्यालय सञ्चालन भएको दिन कसरी स्टुडियोबाट पाठ पढाउने भन्ने तालिकासमेत सञ्चालन गर्ने जनाएको छ । सयवटा विद्यालयमा प्रत्यक्ष सिक्नका लागि टेलिभिजन, प्रोजेक्टर, ल्यापटप, प्रिन्टर र सोलार ब्याकअपको व्यवस्था छ । अहिले ९३ वटा विद्यालयमा भर्चुअल सिकाइ कक्षाका लागि उपकरणहरू जडानको काम भइरहेको निर्देशक गौतमले बताए । भर्चुअल कक्षा सञ्चालन भइरहेका वेला आफूले नबुझेका कुराहरू विद्यार्थीले पढाइरहेका शिक्षकलाई सोध्न सक्ने व्यवस्थासमेत गरिएको छ । लाइभ कक्षा सञ्चालन भइरहेका वेला विद्यालयको कक्षा कोठाबाट आइपी फोनमार्फत स्टुडियोमा फोन गरेर शिक्षकलाई प्रश्न गर्न सक्छन् । कसैले लाइभ कक्षामा सहभागी हुन नपाएमा त्यस्ता विद्यार्थीका लागि रेकर्डिङ गरेर हरेक विद्यालयमा पठाउने र यु ट्युबमा समेत राख्ने व्यवस्था गर्दै छ। एउटा कक्षामा ३० देखि ४० विद्यार्थी बसेर कार्यक्रम हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ ।