लाखौँ खर्च भयो, तर स्ववियु निर्वाचन भएन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन । जसका कारण विद्यार्थीबाट उठाएको लाखौँ खर्च भए पनि उनीहरूले स्ववियु नेतृत्व पाउन सकेनन् । त्रिविले शंकरदेव क्याम्पसका लागि आठ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको थियो । एकपटक १८ फागुन र अर्कोपटक सर्वपक्षीय छलफलबाट २३ फागुनका लागि स्ववियु निर्वाचन गर्ने मिति तोकिएको थियो । तर, निर्वाचन हुन सकेन । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार यसक्रममा निर्वाचन तयारीमै करिब तीन लाख रुपैयाँ खर्च भइसकेको थियो । क्याम्पस प्रमुख आचार्यले भने, ‘न स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आयो, न रकम नै जोगियो ।’ आरआर क्याम्पसमा पनि स्ववियु निर्वाचनका नाममा दुई लाखको हारहारीमा खर्च भएको क्याम्पस प्रमुख डा। निर्मलाकुमारी सुवालले बताइन् । सुवालले भनिन्, ‘निर्वाचन सम्पन्न गर्न ९० प्रतिशत काम भएको थियो, तर अन्तिम समयमा रोकियो, रकम भुक्तानी गरेका छैनौँ, के गर्ने अलमलमा छौँ ।’ निर्वाचनका लागि आवश्यक सामग्री सबै जुटाइसकेकाले खर्च भइसकेको उनले जानकारी दिइन् । आवश्यक सामग्री खरिद गरे पनि आरआर क्याम्पसले भुक्तानी भने गरेको छैन । १८ फागुनमा तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन नसकेपछि आरआर क्याम्पसले २३ फागुनका लागि निर्वाचन तयारी गरेको थियो । तर, अन्तिम समयमा स्थानीय तहको निर्वाचन आचारसंहिताको कारण देखाएर प्रशासनले निर्वाचन रोकेको थियो । सो क्याम्पसमा निर्वाचन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ । तर, अब कहिले निर्वाचन हुन्छ भन्ने तय हुन सकेको छैन । के–केमा भयो खर्च त्रिविले क्याम्पसमा विद्यार्थी संख्याका आधारमा खर्चको सिलिङ तोकेको थियो । क्याम्पसहरूले विद्यार्थी कल्याणकारी कोष वा अन्य शीर्षकबाट खर्च गरेका छन् । क्याम्पसको निर्वाचन कमिटीको बैठक भत्ता, खाना, खाजा, स्टेसनरी, छपाइलगायतमा खर्च गरेका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । तर, अधिकांशले निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न गर्न सकेका छैनन् । त्रिविका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटामा मात्र निर्वाचन सम्पन्न भएको छ । उपत्यकाका शंकरदेव, आरआरसहित विश्वविद्यालय क्याम्पस, त्रिचन्द्र, अमृत साइन्स, महेन्द्ररत्न, सरस्वती, नेपाल ल, विश्वभाषाजस्ता ठूला क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन । ०६५ यता गत फागुनमा त्रिविले स्ववियु निर्वाचनको तालिकाअनुसार आधामा पनि सम्पन्न हुन सकेन । तर, स्ववियुका नाममा लाखौँ खर्च भएको छ । विद्यार्थीअनुसार खर्च सिलिङ त्रिविका विद्याथी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले विद्यार्थीअनुसार खर्चको सिलिङ तोकेको बताए । त्रिविले दिएको सिलिङभन्दा बढी खर्च भए केन्द्रमा जानकारी आउनुपर्ने व्यवस्था गरेको उनले बताए । त्रिविले दुई सयसम्म विद्यार्थी हुने क्याम्पसलाई ७५ हजार, एक हजारसम्म विद्यार्थी भएका क्याम्पसलाई एक लाख ५० हजार, तीन हजारसम्म विद्यार्थी हुनेलाई तीन लाख, ५ हजारसम्म विद्यार्थी हुनेलाई ६ लाख खर्चको सिलिङ तोकेको थियो । ५ हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा ८ लाखसम्म खर्च गर्न पाउने गरी सिलिङ तोकिएको थियो । निर्वाचन सम्पन्न भएका क्याम्पस पक्लीहवा कृषि क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, हेटौँडा वन विज्ञान, डडेल्धुरा शिक्षा क्याम्पस, नर्सिङ क्याम्पस वीरगन्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङ, लमजुङ कृषि क्याम्पस, नर्सिङ क्याम्पस महाराजगन्ज, सानोठिमी शिक्षा क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, डोटी क्याम्पस, सुर्खेत शिक्षा, जनप्रशासन, भक्तपुर क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । त्यसैगरी पश्चिमाञ्चल इन्जिनियरिङ, नर्सिङ क्याम्पस, वन विज्ञान, पूर्वाञ्चल इन्जिनियरिङ धरान, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि, भोजपुर क्याम्पस र मेची क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । नयाँ पत्रिका दैनिकबाट ।
विदेशिने विद्यार्थीको नयाँ रेकर्ड बन्यो, अधिकांशको रोजाई जापान, एक महिनामै ७ हजार विद्यार्थी बाहिरिए
काठमाडौं । विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका हुन् । यीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि जान खोजेका विद्यार्थी हुन् । ‘अहिलेसम्म नआएको संख्या अनपेक्षित रूपमा बढ्यो,’ शाखा प्रमुख डिल्लीश्वर प्रधानले भने, ‘सबैभन्दा बढी जापानका लागि नो अब्जेक्सन लेटर लगेका छन् । किन यति धेरै आकर्षण भयो भन्ने थाहा छैन । तर, जापानले कोटा बढाएको भन्ने सुनिएको छ ।’ उनका अनुसार अघिल्लो वर्ष फागुनमा तीन हजार पा“च सय विद्यार्थीले नो अब्जेक्सन लेटर लगेकोमा यो वर्ष दोब्बरले बढेको हो । अमेरिका जान खोज्ने न्यून अघिल्ला वर्षमा अमेरिका अध्ययनमा जान चाहने विद्यार्थी संख्या धेरै थियो । तर, फागुनमा २१ जनाले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । अमेरिकी राष्ट्रपति डोनान्ड ड्रम्पको आप्रवासी नीति फेरिएका कारण विद्यार्थीले भिसा आवेदन गर्नसमेत छाडेका छन् । नो अब्जेक्सन लेटर लिने संख्याका आधारमा १६औँ स्थानमा अमेरिका छ । ‘अमेरिकामा डोनान्ड ट्रम्प राष्ट्रपति भएपछि पनि विद्यार्थी भिसालाई कडाइ गरिएको छैन,’ डल्फिन एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध–निर्देशक प्रेम पाण्डेले भने, ‘तर, हल्लाका कारण अध्ययनका लागि आवेदन गर्नेको संख्या कम भएको छ ।’ एकेडेमिक प्रतिशत तथा आइइएलटिएस र स्याटमा राम्रो भएमा छात्रवृत्ति पाइने सम्भावना बढी हुने उनी बताउँछन् । कुन महिना कतिले लगे नो अब्जेक्सन लेटर यस वर्ष सबैभन्दा बढी फागुनमा सात हजार दुई सय ९२ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । साउनमा तीन हजार ८३, भदौमा चार हजार चार सय २१, असोजमा दुई हजार ६ सय ६९, कात्तिकमा दुई हजार दुर्य सय ३९, मंसिरमा चार हजार चार सय ३५, पुसमा तीन हजार आठ सय ७९ र माघमा तीन हजार पाँच सय एकजनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयको तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट ।
नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, परीक्षा बिहीबार बिहान ८ बजेदेखि
भक्तपुर। देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ शुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमर्यादित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।