मोटर बीमा सम्बन्धी नयाँ निर्देशिका आयो, कसले कति क्षतिपूर्ति पाउने ?
बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका,२०७३ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा तेस्रो पक्ष दुर्घटना बीमा र यात्रुको बीमा रकम बराबर हुने व्यवस्था गरेपछि बीमा समितिले नयाँ निर्देशिका जारी गरेको हो । यो निर्देशिका आगामी साउने १ गतेदेखि लागू हुने बीमा समितिले जनाएको छ । त्यस्तै, बीमित पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने छ । एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छ । अन्य कुनै अंग भंग भएमा, शारीरिक क्षतिको समानुपातिक हुने गरी बीमाङ्कको प्रतिशत सवारी साधन दुर्घटनाको प्रत्यक्ष तथा एक मात्र परिणाम स्वरुप भएको औषधोपचार खर्च तीन लाख रुपौयाँको हदमा नबढ्ने क्षतिपूर्ति हुनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पंैतालीस दिन सम्मको कुरुवा खर्च औषधोपचार खर्च बीमा कम्पनीले दिनुपर्नेछ । दुर्घटनास्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बीलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा कृया खर्च वापत प्रति मृतक पचास हजार रुपैयाँ (बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही) बीमकले तत्काल भुक्तानी दिनेछ । आफैले जानाजान लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासबाट वा मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरुप भएको हानि–नोक्सानी वापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन ।
लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाफियामा उपसमितिलाई विश्वास गर्दा धोका भयो, अव सच्याउछौंः सभापति ज्वाला
काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको भनाइ छ । ‘समितिले विश्वास गरेर उपसमिति बनाइसकेपछि उसका सवै विषय बस्तु (कन्टेन्ट) सच्याउने भन्ने पनि भएन, केही संसोधन भएपनि फेरि विवाद देखियो, सरकारले पनि फिर्ता गर्नुपर्ने आवश्यकता देखेर फिर्ता भएपछि हामी पूर्ण समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सभापति ज्वालाले भने । बाफिया सम्बन्धमा बजेट अधिवेशन सकिएपछि मात्रै छलफल गर्ने सभापति ज्वालाले जानकारी दिए । सो विद्ययेक पुन समितिमै फिर्ता गर्नुको औचित्य सरकारले पुष्टी गरेपछि मात्रै संसोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘किन फिर्ता भयो भनेर सरकारले प्रष्ट पार्नुपर्यो, यसपछि मात्रै थप छलफल अगाडि बढ्छ,’ ज्वालाले भने ।