राष्ट्र बैंकद्वारा ३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गरेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा जागरण तथा दाबी रकम भुक्तानी

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् । बीमित स्व. दिनेश कुवँरले ४० हजार ०१८ बीमा शुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्गको जीवन बीमा गरेको २३ दिनमै दुर्घटनामा परि मृत्यु भएको हो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिति रहेको थियो ।

सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभामा ९१ लाख नाफा सार्वजनिक

काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन । संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।