बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौँ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्ने गरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए । उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए । परिषद्ले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा आगामी आइतबार राजधानीमा हुने विशेष छलफलमा निकासी प्रवद्र्धनका निम्ति सरकारले उपलब्ध गराएका सहुलियत, करका प्रावधान, सामाजिक सुरक्षा कोष, भन्सारका जटिलता र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रवद्र्धनात्मक मेलाबारे विचारविमर्श हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेशनल डेभलपमेन्ट को-अपरेटिभको १० प्रतिशत नगद र ५ प्रतिशत बाेनस पारित

काठमाडौं । नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभा सेयरधनीलाई सो मात्रा अर्थात १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीले संस्थाले शेयर पुँजी बढाउँदै लगेको बताए । सहकारीको २०७५ मंसिर मसान्तसम्ममा कुल चुक्ता पुँजी ३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ४ करोड रुपैयाँ नाघ्ने छ । साथै, संस्थाले निक्षेप तर्फ ८८ करोड ३३ लाख रुपैयाँ संकलन गरि ८९ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।

रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित, यस्तो छ नयाँ नेतृत्व

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिव चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहनेछन् । कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।