चौधरी ग्रुपसँग २४ करोड नलिने भन्दै यूनाईटेड इन्स्योरेन्स सर्वोच्चमा, दोहोरो तलबमा इमान्दार बने शेखर बराल
काठमाडौं । उच्च अदालत पाटनको फैसला र बीमा समितिको निर्णय तथा निर्देशन गलत भएको दाबी गर्दै यूनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड सर्वोच्च अदालत गएको छ । कम्पनीको आफ्नै हितविपरित आफै अदालत गएर यूनाईटेड इन्स्योरेन्सले ‘कर्पोरेट वल्ड’मा नयाँ रेकर्ड पनि कायम गरेको छ । बीमा समितिको शुरु निर्णय र उच्च अदालत पाटनका फैसालले कम्पनीलाई हानी नोक्सानी हुने भएकोले सर्वोच्च अदालतमा अपिल दर्ता गरेको कम्पनीको अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए । ‘उच्च अदालतको निर्णयमा चित्त नबुझे अपिल गर्ने अधिकार सबैलाई छ, हामी पनि त्यो अधिकार प्रयोग गरेका छौं’ कम्पनीका अध्यक्ष उपाध्ययले भने । कम्पनीले चैत्र १७ गते सर्वोच्च अदालतमा अपिल दर्ता गरेको छ । अदालतले बीमा समितिकै शुरु निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेको छ । यस आधारमा सीजीसँग युनाईटेड इन्स्योरेन्स कम्पनीले २४ करोड रुपैयाँ फिर्ता लिनुपर्छ । अदालत र बीमा समितिको निर्णय बीमा कम्पनीको पक्षमा भएपनि यूनाईटेड इन्स्योरेन्स कम्पनी २४ करोड रुपैयाँ सीजीसँग लिनुको सट्टा उच्च अदालत फैसला र बीमा समितिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा गएर सबैलाई छक्क पारेको छ । दोहोरो तलबमा इमान्दार चौधरी ग्रुप र युनाईटेड इन्स्योरेन्स कम्पनी दुबैतिरबाट तलब सुविधा लिएर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको शेखर बराल यतिबेला खाईपाई आएको दोहोरो तलव सुविधा माथि न्याय गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । बीमकको संस्थागत सुशासन निर्देशिकाले तलब सीमा तोकेको अवस्थामा यूनाईटेड इन्स्योरेन्सबाट मासिक १ लाख ५० हजार र चौधरी ग्रुपबाट मासिक १ लाख ५० हजार तलब खाने गरी शेखर बराल यूनाईटेड इन्स्योरेन्स छिरेका थिए । निर्देशिका संशोधन पछि भने बरालले युनाईटेडबाट मात्र मासिक ३ लाख रुपैयाँ तलब बुझ्दै आएका छन् । चौधरी ग्रुपबाट खाएको पैसामाथि न्याय गर्दै बराल यतिबेला कम्पनीको विपक्षमा र सीजी इलेक्ट्रोनिक्सको पक्षमा निर्णय गर्दै कम्पनीलाई अदालतमा उभ्याएका छन् । जसको कम्पनीको लाखौ सेयरधनीलाई ठूलो नोक्सान पुगेको पूर्व सञ्चालक तथा एक जना लगानीकर्ता बताए । ‘अदालतको फैसला कम्पनीको विपक्षमा छ, देशको विपक्षमा छ, बीमाको सिद्धान्त र अभ्यासको विपक्षमा छ । त्यसैले यसको विपक्षमा अदालतमा अपिल गर्नुपर्छ’ प्रमुख कार्यकारी अधिकृत बरालले सञ्चालक समितिको बैठकमा बोलेको भनाई उदृत गर्दै एक सञ्चालकले विकासन्युजसँग भने । ‘चौधरी ग्रुपसँग २४ करोड फिर्ता लिँदा त्यो कम्पनीले पाउने होइन, पुर्नबीमा कम्पनीलाई फिर्ता दिनुपर्छ, त्यसको कम्पनीलाई कुनै फाइदा गर्दैन, देशमा भित्रिएको पैसा विदेशमा जाने गरी अदालतले गरेको फैसला कम्पनीको अहितमा छ, देशको अहितमा छ’ बरालले सञ्चालक समिति व्रिफिङ गर्दै भनेका छन् । ती सञ्चालकमा अनुसार सीजी इलेक्ट्रोनिक्ससँग २४ करोड फिर्ता लिँदा कम्पनीलाई करिव २ करोड रुपैयाँ फाइदा हुन्छ । चौधरी ग्रुप र युनाईटेड इन्स्योरेन्स कम्पनी दुबैबाट तलब खाँदै आएका बरालले चौधरी ग्रुपलाई २४ करोड घाटा गराउनु भन्दा युनाईटेड इन्स्योरेन्सलाई २ करोड घाटा गराउँदा उपयुक्त हुने विश्लेषण गरेर अदालत जाने वातावरण बनाउँदै आएका थिए । पाटन अदालतको निर्णयको फैसला विरुद्ध सर्वोच्च अदालत जाँदा कम्पनीलाई शुरुमा करिब २ करोड रुपैयाँ नोक्सान हुनेछ भने मुद्दा मामिला झेल्दा कम्पनीले थप १० औं लाख रुपैयाँ क्षति बेहोर्नु पर्नेछ । शुरु मुद्दा २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजी इलोक्ट्रोनिक्समा आगलागी हुँदा त्यसबाट ८४ करोडको क्षति भएको सीजीको दाबी थियो । युनाइेटडका सर्भेयरले भने ५८ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५८ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिको सर्भेयरले ३४ करोड मात्रै क्षति दिन भनेको थियो । समितिको निर्णय विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो ।
सिद्धार्थ बैंकले इलामको गोर्खे, लक्ष्मीपुर र गोदकमा सुरु गर्यो शाखारहित बैंकिङ सेवा
काठमाडौं । सिद्धार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकसहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको हो । गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राजकुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धनबहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेकबहादुर घिमिरेले गरेको बैंकले जनाएको छ । उक्त शाखारहित सेवाबाट ती क्षेत्रका बासिन्दालाई स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ । उक्त ३ वटा शाखारहित बैंकिङ सेवासहित बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रू ८७ अर्ब ५७ करोड र कर्जा लगानी रू ७९ अर्ब २९ करोड गरेको जानकारी दिएको छ । साथै सोही अवधीमा बैंकले रू १ अर्ब १३ करोड खुद मुनाफा समेत आर्जन गर्न गरेको छ ।
आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक सहकारीबीच बीमा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बलाजुमा रहेको भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जनाभन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहक हरुको रू ५० हजारको औषधोपचार बीमा तथा रू १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको बताए । साथै संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाइ आवश्यक सबै निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने भन्दै ढुक्क भएर सेवा लिन उनको आव्हान थियो ।