संविधान संशोधनपछि निर्वाचन, सुरूमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सहमति जुटाउन प्रयासरत छन् । उनले नेपाली सेनामार्फत जेनजी समूहका प्रतिनिधिसँग र आफै ठूला दलका शीर्ष नेता, संविधानविद्हरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम मन्त्रिपरिषद्ले नियमित कार्यसम्पादन बाहेक भदौ २३ र २४ गतेका घट्नाको न्यायिक छानबिन गराउने र निर्वाचन गराउने मुख्य जिम्मेवारी पाउनेछ । संविधानको बाधा अड्काउ फुकाउन सक्ने राष्ट्रपतिको अधिकार प्रयोग गरेर उनले संसदबाहिरबाट अन्तरिम सरकार बनाउँदैछन् । अब व्यवस्थापिका के हुने भन्ने प्रश्नमा वहस हुने नै छ । संसद विघटन नगरी यसलाई संविधान संशोधन मात्र गर्न केन्द्रित गराउन सकिन्छ । जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नै गरिनुपर्छ । एउटै व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरिनुपर्छ । यो माग जेनजीको मात्र होइन, आम नेपालीको माग हो । ठूला दलभित्र पनि यस्तो माग छ, शीर्ष नेतृत्वले दबाएको मात्र हो । यही संसदबाट संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नु र त्यसपछि मात्र निर्वाचनको मिति घोषणा गर्नु उत्तम हुन्छ । यस्तै, संविधान संशोधन गरेर सांसदहरूको योग्यतामा ६५ वर्ष ननाघेको र कम्तीमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने व्यवस्था थप्नुपर्छ । तीन पटक सांसद भएको व्यक्ति चौथो पटक उम्मेदवार बन्नलाई रोक्नुपर्छ । यस व्यवस्थाले अनपढ र बुढा पुस्ता राजनीतिबाट पखालिन्छ । त्यस्तै, संविधान संशोधन गरेर संघीय र प्रदेशका सांसद र मन्त्रीहरूको संख्या घटाउन सकिन्छ । लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नक्सा पास गरै झै यी संशोधन वर्तमान संसद्ले छोटो समयमा सर्वसहमतिमा गर्न पनि सक्छ । यो विधि नै लोकतान्त्रिक र वैधानिक हुन्छ । नेपाली र विश्व समुदायले पनि स्वीकार गर्दछ । संविधानमा यस प्रकारका संशोधनपछि निर्वाचन गराउँदा सत्ताबाट बुढापुस्ता बाहिरिन्छ, नयाँ पुस्ता सत्तामा पुग्छ । नयाँ पुस्ताको काँधमा जिम्मेवारी आउँछ । भ्रष्टाचार नियन्त्रण, सुशासन, करको सदुपयोग, रोजगारीको सिर्जना, उच्चदरमा आर्थिक वृद्धि यहीबाट सुरु हुन्छ । जेनजी आन्दोलनको राप र ताप कायमै रहेको अवस्थामा उनीहरुको माग बमोजिम संविधान संशोधन यही संसदबाट सम्भव छ । अहिलेका अधिकांश सांसद संविधान सभाका सदस्य पनि थिए । उनीहरूलाई संविधान बनाउँदाका सबै प्रकारका दवावहरूको अनुभव पनि छ । यो संसद संविधान संशोधन गर्न परिपक्व पनि छ । संविधान संशोधन गरी उल्लेखित काम गर्न सकियो भने नेपालीले ७० वर्ष संघर्ष गरेर बनाएको, हजारौं नेपालीको बलिदान भएको, अर्बौं रुपैयाँ लागत भएको वर्तमान संविधान पनि जोखिन्छ, व्यवस्था पनि जोखिन्छ । नागरिक अधिकारलाई बढाउँदै, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई अगाडि लैजान सकिन्छ । यसबाट जेनजी पुस्ताको पनि जीत हुन्छ, लोकतान्त्रिक गणतन्त्र र संघीयता पक्षधरको पनि जीत हुन्छ । संविधानमा यति संशाेधन नगरी गरिएको चुनावबाट जेनजी पुस्ताले चाहेजस्ताे परिवर्तन हुँदैन । नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक प्रणालीमा अभ्यस्त भइसकेको नेपाली समाजले राजतन्त्र पनि स्वीकार गर्दैन, सैनिक शासन पनि स्वीकार गर्दैन । अराजकतावादीले सिंहदरबार, संसद, अदालतसहित सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्न, लुटपाट गर्न र आगजनी गर्ने मात्र हो । यस्तो भीडले दिएको नेतृत्वबाट लोकतन्त्र, असल शासन प्रणाली, विकास अपेक्षा गर्न सकिन्न । जेनजीहरू पुस्ता हो, आगो बालेर मात्र परिवर्तन हुन्न । विवेक प्रयोग गरौं । रचनात्मक ढंगले सोचौं । विज्ञ र अनुभवीहरुको विचार पनि सुनौं । देश जोगाउने र बनाउने कार्यको पनि विधि र प्रणाली हुन्छ । खेल जित्ने लक्ष्य मात्र लिएर हुँदैन । प्रशिक्षक पनि राम्रो हुनुपर्छ । सहि खेलाडीहरूको छनौट पनि अनिवार्य हुन्छ । खेलका नियमहरूको पालना गर्दै पर्याप्त अभ्यास पनि अनिवार्य हुन्छ । यति भयो भने प्रतिस्पर्धामा खेल जितिन्छ ।
जेनजी आन्दोलनले बैंकिङमा नयाँ अभ्यास, धमाधम क्रिटिकल कमिटी गठन
काठमाडौं । जेनजी आन्दोलनका कारण देश शून्य अवस्थामा झरेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेवालाई निरन्तरता दिन क्रिटिकल कमिटी गठन गर्न थालेका छन् । संकटकालीन अवस्थामा क्रिटिकल कमिटी गठन गरेर बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवालाई नियमित सुचारु गर्न थालेका हुन् । व्यावसायिक निरन्तरता योजना (बीसीपी) अन्तर्गत सीमिति कर्मचारी राखेर सीमित सेवा दिन नेपाल बैंकर्स संघको निर्णय र नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले क्रिटिकल कमिटी (संकटकालीन समिति) गठन गरी शाखा खुला गरेर सेवा दिन थालेको बैंकरहरु बताउँछन् । ‘हरेक बैंकको विजनेश कन्टिन्यूटी प्लान (व्यावसायिक निरन्तरता योजना) हुन्छ । सोही अनुसार बैंकहरुले एउटा कमिटी गठन गरेका हुन्छन् । क्रिटिकल (चुनौतीपूर्ण) समयमा क्रिटिकल कमिटी (समिति) बनेका हुन्छन् । यो सबै बैंकले बनाएका हुन्छन्,’ एक बैंकरले भने, ‘नेपाल बैंकर्स संघको निर्णय र राष्ट्र बैंकको निर्देशन बमोजिम १० बजेदेखि २ बजेसम्म शाखा खुला गरेर सीमित कर्मचारीबाट सीमित सेवा दिइरहेका छन् । त्यो क्रिटिकल कमिटीले परिचालन गरेको हुन्छ ।’ उनका अनुसार बैंकहरुले निकै अप्ठेरो स्थितिमा क्रिटिकल कमिटी बनाउँछन् । त्यो कमिटी संकटको समयमा बैंकिङ सेवा कसरी सूचारु गर्नेमा केन्द्रीत हुने उनले बताए । ‘राज्य र सबै नागरिकको पहिलो प्राथमिकता बैंकिङ सेवा हो । बैंकमा विविध सेवा हुन्छन् । तर, संकटको समयमा नगद सेवाका लागि शाखा, काउण्टर, एटीएम सेवा दिनुपर्छ,’ उनले भने, ‘प्राकृतिक विपत्ति, राजनीतिक घटनाक्रम लगायतको समयमा बैंकिङ सेवालाई निरन्तर सूचारु गर्न बैंकभित्र क्रिटिकल कमिटी गठन गरेर काम हुन्छ । त्यो कमिटी अहिले सक्रिय भएको छ ।’ संकटको समयमा नागरिकलाई चाहेको बेला क्यास (नगद) उपलब्ध गराउने काम सोही कमिटीले गर्ने उनले बताए । कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्याल बैंकले यस्तो टिम खडा गरेर काम भइरहेको बताउँछन् । अहिलेको समयमा छिटोभन्दा छिटो बैंकिङ सेवा उपलब्ध गराउने गरी कमिटी सक्रिय रहेको उनको भनाइ छ । ‘अहिलेको समयमा कसरी काम गर्ने, कर्मचारीको जिउधनदेखि बैंकको सम्पत्ति संरक्षण र सुरक्षित गर्न केन्द्रीयस्तरमा एउटा टिम (सेल) गठन गरिएको छ । सोही कमिटीले काम गरिरहेको छ,’ उनले भने, ‘व्यवस्थापन टिम, शाखा, प्रादेशिक कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । कमिटी मार्फत सूचना सम्प्रेषणको काम भइरहेको छ ।’ नेपाल बैंकका चिफ फाइनान्स अफिस प्रकाश कुमार अधिकारी क्रिटिकल समयमा विजनेश कन्टिन्यूटी प्लान (बीसीपी) अनुसार क्रिटिकल कमिटी गठन गरिने बताउँछन् । नेपाल बैंकमा कोरोनाकालमा यस्तो कमिटी गठन गरेर सेवा सुचारु गरिएको उनको भनाइ छ । ‘सबै जना अफिसमा जान सकिएन, सीईओ, डीसीईओ उपस्थित नहुन सक्ने अवस्था आयो वा सीईओ अफ्ठेरोमा पर्छ भन्ने लागेको अवस्थामा क्रिटिकल कमिटी गठन गरेर काम गर्ने गरिन्छ । कोरोनाकालमा क्वीक रेस्पोन्स कमिटी (क्यूआरसी) गठन गरेका थियो,’ उनले भने, ‘सीईओबाहेक अरुलाई अथोरिटी दिएको हुन्छ । बैंकहरुले कोरोनाकालको क्रिटिकल कमिटी पुन जन्माएको वा नयाँ गठन गरेको हुन सक्छ ।’ राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ । नेपाली सेनाले जारी गरेको निषेधाज्ञा तथा कर्फ्युको समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेर पत्राचार गरेको छ । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा र उपत्यका बाहिर प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको छ । सोही अनुसार आज उपत्यकामा खुलेका बैंकका शाखाहरुमा १५/२० वटा कारोबार भएको बैंकरहरु बताउँछन् । ‘बैंकहरुले न्यूनतम बैंकिङ सेवा दिइरहेका छन् । डिजिटल बैंकिङ, इन्टरनेशनल ट्रेड सपोर्ट, आरटीजीए, आइपीएस, कनेक्ट आईपीएस सेवा दिइरहेका छन्,’ एक बैंकरले भने, ‘सेलेक्टेड गरेर बैंकका शाखा कार्यालय खोलिएका छन् । तर, भीडभाड छैन । खुलेका शाखामा १५/२० वटा मात्रै कारोबार भएका छन् ।’
अर्बौं राजस्व र हजारौंलाई रोजगारी दिने भाटभटेनीमाथि विध्वंस, ‘थाक्ने छैनन् मीनबहादुर’
काठमाडौं । भाटभटेनी दनदनी जलिरहेको छ, दमकलले निरन्तर साइरन बजाइरहेको छ । छेउमै ठूलो सर्वसाधारणको जमात गहभरि आँसु राखेर निराश हुँदै दनदनी जलिरहेको भाटभटेनीलाई नियालिरहेको छ । एक जना महिला नेपाली सेनाले सिठी बजाउँदै ती सर्वसाधारणलाई टाढा जान संकेत गर्दैछिन् । एक हुल युवाको जमात भाटभटेनी वरिपरि रहेको फोहोर उठाउँदैछ । भाटभटेनी निरन्तर जल्दैछ, जलिरहेको आगोबाट धुवाँको बाक्लो मुस्लो फाल्दैछ । बुधबारको नक्सालस्थित भाटभटेनीको मुख्यालयको यो दृश्य अधिकांशका लागि देखिनसक्नु थियो, दर्दनाक थियो । भाटभटेनीका नियमित हजारौं ग्राहकहरू, यही भाटभटेनीमा काम गरेर रोजीरोटी चलाइरहेका सयौं श्रमिकहरू, ती कर्मचारीका लाखौं परिवार र आफ्नो जीवनभरको कमाइ यही भाटभटेनीमा लगाएका यसका मालिक मीनबहादुर गुरुङको मनमा यो दृश्यले कति छोयो होला ? कति पोल्यो होला ? एउटा सामान्य किराना पसलबाट व्यापार सुरु गरेर भाटभटेनीको साम्राज्य देशभर विस्तार गरेका मीनबहादुर तिनै हुन्, जसले आफ्नै पौरखमा एक अर्बपति नेपाली व्यवसायीको परिचय बनाए । विदेशिरहेको देशमा स्वदेशमै केही गर्छु भनेर उद्यम थाले । उनको कर्ममा भाग्यले पनि साथ दियो । परिणामस्वरूप कमाएको पैसा भाटभटेनीमै लगानी गरे । उनले अहिले स्थापित र सफल व्यवसायीको परिचय बनाएका छन् । अहिले उनी आफूमात्रै अर्बपति बनेका छैनन्, हजारौं नेपालीलाई रोजगारी दिएर लाखौंको अनुहारमा मुस्कान फैलाएका छन्, सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीको परिचय भाटभटेनीको बनाएका छन् । उनले राज्यलाई ठूलो राजस्व तिरेर अर्थतन्त्रमै टेवा पुर्याएका मात्रै छैनन्, सर्वसाधारणलाई डिमार्टमेन्टल स्टोरमा किनमेल गर्ने बानीको विकास पनि गराएका छन् । देशमा कुनै प्राकृतिक प्रकोप तथा विपत्ति हुँदा राज्यलाई आर्थिक सहयोग गर्ने व्यवसायीको अग्रभागमा उभिन्छन् मीनबहादुर । त्यो महाभूकम्प होस् वा कोरोना महामारी अथवा बाढी-पहिरोका बेला नै किन नहोस्, देशको ढुकुटीमा पहिलो आर्थिक सहयोग गर्ने हात उनै मीनबहादुरको हुन्छ । तर, विडम्बना । दुई दिन चलेको जेनजीको आन्दोलनमा तिनै मीनबहादुरको भाटभटेनी टार्गेटमा पर्यो । उसो त धेरै उद्योगी व्यवसायीको निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । कतिका निजी निवासहरू तोडफोड भए । कतिका कम्पनीहरूमा आगजनी भयो । कतिपयका सवारीसाधन ध्वस्त भए । तर, सबैभन्दा नगन्य क्षति भने व्यवसायी मीनबहादुरकै भयो । जेनजीका नाममा भदौ २४ गते अराजकवादीले गरेको आगलागीबाट भाटभटेनी सुपरमार्केटका २८ वटा स्टोरमध्ये १२ वटा स्टोर ध्वस्त भए । घण्टौंसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुन: निर्माण गर्नुपर्ने गरी नष्ट भएको भाटभटेनीले जानकारी दिएको छ । देशमा कुनै प्राकृतिक प्रकोप तथा विपत्ति हुँदा राज्यलाई आर्थिक सहयोग गर्ने व्यवसायीको अग्रभागमा उभिन्छन् मीनबहादुर । त्यो महाभूकम्प होस् वा कोरोना महामारी अथवा बाढी पहिरोका बेला नै किन नहोस्, देशको ढुकुटीमा पहिलो आर्थिक सहयोग गर्ने हात उनै मीनबहादुरको हुन्छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको उनको अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए । नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीका पौडेलले जानकारी दिए । त्यसैगरी, कलंकी, थिमि, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरेर अधिकांश सामग्री लुटपाट गरिएको छ । क्षतिको विवरण आउन तीन साता लाग्ने भाटभटेनीले जनाएको छ । नक्सालमा रहेको भाटभटेनीको मुख्यालय पूर्णरूपमा ध्वस्त भएको छ । सो भवन अब काम लाग्ने अवस्थामा छैन । यो भवन फेरि सुरुदेखि निर्माण गर्नुपर्ने स्थितिमा छ । यस्तै, अन्य ठाउँमा पनि ठूलो क्षति भएको छ । अध्यक्ष गुरुङले अहिले कामै नलाग्ने बनेका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन तत्कालका लागि समस्याको रुपमा देखिएको बताएका छन् । उनका अनुसार अब ती कर्मचारीलाई व्यवस्थापन गर्ने काम हुनेछ । उनले पुन: निर्माणमा पनि समय लाग्ने बताए । भाटभटेनी सुपरमार्केट्स नेपालको सबैभन्दा ठूलो रिटेलर हो । जेनजी पुस्ताको सपिङ डेस्टिनेसन बनेको भाटभटेनीमाथि जेनजीकै नाममा अराजकवादीहरूले तोडफोड, लुटपाट र आगजनी गरे । उनीहरूले एउटा भाटभटेनीमा आगजनीमात्रै गरेनन्, देशमै केही गर्छु, देशका लागि गर्छु र नेपालीका लागि गर्छु भनेर समर्पित देशको एउटा सफल उद्यमीको सपना पनि जलाउने काम गरे । प्रत्येक वर्ष वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित हुँदै आएको छ । विभिन्न सामाजिक कार्यमा भाटभटेनी अग्रभागमा देखिन्छ । सरकारलाई राजस्वसँगै राहत तथा दानमा भाटभटेनीका मालिक संकुचित मन बनाउँदैनन् । मीनबहादुर गुरूङ तथापि जेनजीको आन्दोलनमा उनै मीनबहादुरमाथि प्रहार भयो । गत चैत १५ गते भएको तीनकुने घटनामा पनि उनै टार्गेटमा परे । त्यतिबेला पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड हुँदा भाटभटेनीले करोडौंको क्षति व्यहोर्नु पर्यो । तर, उनले त्यतिबेला पनि हार खाएनन् । उनले तोडफोड भएको पछिल्लो दिनमै सो स्टोरको पुन: निमार्णको काम थाले । उनलाई अझै पनि हार खाने छुट छैन । जेनजीको आन्दोलनमा भएको तोडफोडलाई मर्मत गर्दै भाटभटेनीलाई पुरानै लयमा फर्काउन उनी तत्पर हुनेछन् । र, देशको अर्थतन्त्रमा उनले ठूलो योगदान गर्नेछन् । गत आर्थिक वर्षमा भाटभटेनीको वार्षिक कारोबार ३२ अर्ब रुपैयाँ नाघेको छ । अहिले दैनिक ९ करोड रुपैयाँको कारोबार गर्ने गरेको छ । देशभरका उपभोक्तालाई एउटै स्तरको गुणस्तरीय सेवा दिन भाटभटेनी अगाडि बढिरहेको धारणा गुरुङको छ । आगामी १० वर्षमा सबै जिल्लामा भाटभटेनी स्टोर पुर्याउने योजना उनको छ । उनका अनुसार भाटभटेनीमा हाल ४ हजार ५०० स्थायी कर्मचारी कार्यरत छन् । अप्रत्यक्ष रोजगारीसहित कम्पनीले करिब ५० हजार जनालाई रोजगारी दिएको छ । गुरुङका अनुसार कम्पनीको लक्ष्य २४० वटा शाखा खोल्ने हो । पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र देशको सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्य गुरुङको छ । त्यसैले पनि सानो–तिनो ठक्करले मीनबहादुर नथाक्ने र नरोकिने सोचमा छन् ।