स्वास्थ्य सेवा विस्तारको तयारी : साउनदेखि अलपत्र अस्पतालहरू सञ्चालनमा ल्याइने
काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
अङ्गुरखेतीले बदल्दैछ गाउँको मुहार, स्वरोजगारमा युवा आकर्षित
तनहुँ । यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । 'पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु', उनले भने । यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, 'पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।' कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए । सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए । धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनले बताए । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ । अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत/वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए । विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए । 'यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ', उनले भने । रासस
ग्राण्डी अस्पतालमा स्कोलियोसिसबारे सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्कोलियोसिसको शल्यक्रिया गराएका बिरामी र तिनका आफन्त, अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो । जुन महिनालाई विश्वभर स्कोलियोसिस जनचेतना महिनाका रूपमा मनाइँदै आएको छ । सोही सन्दर्भमा ग्राण्डीले पनि वार्षिक रूपमा यस्तो कार्यक्रम गर्दै आएको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले स्कोलियोसिस मुख्यतः १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा देखिने र छोरीहरूमा यसको सम्भावना बढी हुने बताए । उनका अनुसार स्कोलियोसिसको लक्षणहरूमा लुगा नमिल्नु, एकातिरको कुम उचो देखिनु, ढाड तिर बाङ्गोपनाको अनुभूति हुनु लगायत रहेका छन् । बेलैमा उपचार नगरे यसले फोक्सो र मुटुमा असर पुर्याउन सक्ने भन्दै डा. विजुक्छेले समयमै निदान र उपचार गर्नुपर्नेमा जोड दिए । नेपालमा स्कोलियोसिसको शल्यक्रिया सन् २००६ बाट सुरु भएको जानकारी पनि दिइयो । कार्यक्रममा सहभागी बिरामी र आफन्तहरूले शारीरिक र मानसिक रूपमा भोगेका अनुभव तथा उपचारपछि जीवनमा आएको सकारात्मक परिवर्तनबारे धारणा राखे ।