कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

काठमाडौं । वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । ओम अस्पतालमा उपचारका क्रममा मुडभरीको शनिबार निधन भएको हो । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा पूर्व अध्यक्ष रहेका डा मुडभरीकाे आइसियुमा राखेर उपचार भइरहेको थियो । उनी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुन् ।

दमाैली अस्पतालमा पाँच वर्षको अवधिमा ३१ हजार पटक डायलासिस सेवा

दमाैली । तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुधन मञ्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २१६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा २४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको हो । केन्द्रका प्रमुख शैलेश पण्डितले यस अवधिमा तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई पनि डायलासिस सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौवटा उपकरण रहेकामा आठवटा उपकरण सञ्चालनमा रहेको छ । हेल्थ केयर फाउन्डेसन अफ नेपालले अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेकी थिइन् । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । व्यास नगरपालिका–४ अब्दुल गफ्फार मियाँले जिल्लामै डायलासिसका लागि सुविधा भएपछि सहज भएको बताए ।

शनिबार १६७४ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २४ हजार ९ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३२३ जना निकाे भएसँगैं हालसम्म १ लाख ९३ हजार ३२५ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३०५ पुगेकाे छ ।