बुधबार नेपालभर दुई हजार ५९६ काेराेना संक्रमित थपिए, २६ जनाकाे मृत्‍यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ९१२ पुगेकाे छ । नेपालमा आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६६६ जना निकाे भएसँगैं हालसम्म १ लाख ६२ हजार २४३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ११७४ पुगेकाे छ ।

अब पत्थरीको सम्पूर्ण उपचार सुर्खेतमै हुने

कर्णाली । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् । अस्पतालका निर्देशक डा डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा खरिद गरेको जानकारी दिए। उनका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुङ्गालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइनेछ । “यो सुविधा प्रदेशमै थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं”, डा खड्काले भने, “यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ, हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरुवात गरेका छौं ।” रासस

भक्तपुरकाे आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

भादगाँउ । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् । कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ श्यया छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् । भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० श्ययाको आइसोलेसन केन्द्र छ । त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ । तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन् । त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी श्यया खाली छन् । सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ । शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । “सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने । होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए । उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको जानकारी दिए । उनले भने, “घरमै बसेका सङ्क्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मीमार्फत ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उनीहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ ।” यसैगरी भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली रहेका छन् । जिल्लामा १९ वटा आइसियु श्यया छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन् । जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु श्यया भए पनि यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु श्ययामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ । बाँकी आइसियु श्यया खाली रहेको छ । केएमसी अस्पतालमा सात आइसियु श्यया कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै श्यया खाली रहेको मिजारले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ । यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली रहेको छ । रासस