कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए । कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ । सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ । रासस

होम आइसोलेसनमा बस्नेहरुले एम्बुलेन्स र अस्पतालको सम्पर्कमा रहिरहौं- डा. बास्तोला

काठमाडौं । कोरोना सुरु भएको अवस्थामा यस नयाँ रोगको बारेमा मानिसहरु अनविज्ञ थिए । जसकारण सबै कोरोना संक्रमितहरु अस्पताल नै भर्ना हुन्थे । सुरुवाती दिनहरुमा संक्रमितहरुको संख्या पनि कम भएकोले सरकारले पनि सबै संक्रमितहरुलाई अस्पतालमै भर्ना हुन सुझाएको थियो । तर विस्तारै संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा अन्य रोगका बिरामीको लागि बेड नपाउने अवस्था देखेपछि सरकारले त्यसलाई मध्यनजर गर्दै लक्षण भएका संक्रमितहरुलाई मात्र अस्पतालमा भर्ना हुन र लक्षण नभएकालाई घरमै अर्थात  होम आइसोलेसनमा बस्नलाई निर्देशन दियो । सरकारले पछि गएर सामान्य लक्षण भएका संक्रमितहरुलाई घरमै बस्न र अन्यलाई मात्र अस्पतालमा भर्ना हुनलाई निर्देशन दियो जसकारण होम आइसोलेसनमा बस्ने मानिसहरुको संख्या निकै बढको छ । बुधबारसम्म देशभर २८ हजार ८ सय ७८ सक्रिय संक्रमितहरु छन् । जसमा धेरै जना होम आइसोलेसनमा रहेका छन् । तर मानिसहरुले होम आइसोलेसनमा बस्दा गर्ने लापरवाहीले गर्दा मानिसहरुले ज्यान गुमाउन परेकाे टेकु अस्पतालका सुरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोला बताउँछन् । बास्तोलाको अनुसार होम आइसोलेसनमा बस्ने मानिसहरु लक्षण देखिएपनि दुइ चार दिनमा ठिक हुन्छ भन्दै रोगलाई खासै वास्ता नगर्ने गरेको कारण पनि यस्तो भएको बताउँछन् । कोरोनाको लक्षण कसैलाई सामान्य भएपनि धेरैको ज्यान लिइसकेको कारण सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् । उनी भन्छन्, ‘१० देखि १५ दिनसम्म आइसोलेसन बस्न पर्छ भनेर पिसिआर परीक्षण नगराउनेको जमात धेरै छन, यस्तो नगरिदिनुहोला, लक्षण देखिने बित्तिकै कोरोना हो कि होइन भनेर परीक्षण गराउन आवश्यक छ ।’ सबै होम आइसोलेसनमा बसिरहेकाहरुलाई श्वासप्रश्वासमा समस्या हुने बित्तिकै तत्काल अस्पताल पुर्याउनकाे लागि एम्बुलेन्स वा अन्य सवारीसाधन जहिले पनि तयारी अवस्थामा राख्न उनले सुझाव दिएका छन् । बिरामीलाई कुन अस्पतालमा लैजाने भन्ने विषयमा पनि जानकार भइरहन उनकाे सुझाव छ । यस्तो तयारी सबै होम आइसोलेसमा बस्ने व्यक्ति र उनको परिवारले गर्नुपर्ने उनले बताए । नेपालमा हालसम्म १६ लाखभन्दा वटा पिसिआर परीक्षण हुँदा २ लाख १२ हजार ९१७ जनामा संक्रमण देखिएको छ । जसमा १ लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् । बुधबार साँझसम्म कोरोनाको कारण १ हजार २ सय ५९ ले ज्यान गुमाइसकेका छन् ।

बुधबार १४४२ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४४२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २८ हजार ८७८ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३५३८ जना निकाे भएसँगैं हालसम्म १ लाख ८२ हजार ७८० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२५९ पुगेकाे छ ।