मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

काठमाडाैं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन सँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन् । अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताइन् । सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उनी बताउँछिन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लु निको हुने उनले बताइन् । सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफुलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन् ।    

ललितपुरमा कोरोना सङ्क्रमित संख्या ८ हजार नाघ्याे

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।” ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ । कूल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उनले थपे, “जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।” रासस

कोरोना भाइसरदेखी नडराऔं तर ख्यालख्याल पनि नसोचौं: प्राडा. कोजु

काठमाडाैं । धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ एवं काठमाण्डौं विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सेसका डीन प्रा.डा राजेन्द्र कोजुले कोरोना भाइरसदेखी नडराई सामना गर्न आग्रह गरेका छन् । सयपत्री प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष स्वर्गिय कृष्ण कुमार केसीको चौथो पुण्यतिथीको अवसरमा आयोजित सयपत्री–कृष्ण कुमार केसी स्मृति सम्मान तथा पुरस्कार ग्रहण गर्दै प्रा.डा कोजुले कोरोना भाइरसदेखी खासै आतिनु नपर्ने र सामान्य रुपमा पनि लिन नमिल्ने बताए । उनले भने, ‘कसैकसैलाई शंका पनि लाग्छ यो पोजेटिभ भन्ने मात्र हो । यो केही होईन निको भैहाल्छ । यतिसम्म ख्यालख्याल पनि नगर्नु होला । पोजेटिभ भनेको पोजेटिभ नै हो । कोरोना भाइरसको लक्षण ज्वारो आउने, रुघा लाग्ले, डाईरीया हुँदैमा र श्वाब रिपोर्ट पोजेटिम देखिएमा खासै डराउनु नपर्ने र घरमै बसेर पनि कोरोनालाई परास्त गर्न सकिने काेजुले बताए । ‘खोकी लाग्यो र सास फेर्न गाह्रो भो भने अक्सिजन नापेर ९० भन्दा कम भयो भने अस्पताल पुग्नै पर्छ । पहिलो उमेर पुगेका, मधुमेह भएका, दीर्घरोगीको कोरोना लाग्यो भने मृत्यु हुन्छ भनिथ्यो तर अहिले त भर्खर भर्खरका मानिसहरु कुनै रोग नलागेकाहरु मरिरहेका छन । यो अलि डरलाग्दो अवस्था भएकाले सबैले आफुलाई ध्यान दिनु जरुरी छ । भेन्टिलेटरमा लगिएका कोरोनाका बिरामी फर्किने सम्भावना एकदमै कम रहेको छ । यस्ता विरामीहरु ५ जनामा १ जना मात्र अथक संघर्षपछि फर्किएका छन्,’ उनले भने ।