गण्डकीमा थप २५२ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना सङ्क्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ । त्यस्तै कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । रासस

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग

सिमकाेट । हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो । हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्न काठमाडौँमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए । विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाहरुले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन् । यस्तै २४० घरधुरी रहेको वडा नं १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नं १ का प्रतिघरलाई एक काल्टिन र एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताए । रासस

दशैंमा कस्तो मासु खाने ? विशेषज्ञ डा. अनिल भट्टराईको सुझाव

काठमाडौं। विशेष गरेर दशैंमा चिल्लो, बोसो युक्त अझै मुख्य गरेर रातो मासु खाने चलन रहेको छ। त्यसबाहेक यो समयमा मानिसहरुले रक्सी जाँडको पनि बढी सेवन गर्ने गर्छन् ।  चाडबाडको समयमा जती बेला हरेक कुरा अत्याधिक खाईन्छ यसैले गर्दा पनि विशेष गरी सबैले आफुलाई स्वस्थ राख्ने भन्ने विषयमा सजक रहन जरुरी छ । मासु दशैंको समयमा अत्याधिक खाइने/मन पराइने परिकार  हो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । भुटेको, तारेको मासु भन्दा पनि ग्रेभीवाला मासु खाँदा राम्रो हुन्छ। त्यसबाहेक लिङ मिट जुन छाला र बोसो रहित हुनेगर्छ त्यसको प्रयोग गर्दा पनि सामान्य मासुभन्दा स्वस्थकर हुने गर्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा अझै राम्रो हुन्छ । मासु खाए पनि सेतो मासु खाँदा धेरै स्वस्थकर हुन्छ। हाम्रो प्रचुर रुपमा मासु खाने जुन चलन छ त्यसलाई सक्दो कम गर्न जरुरी छ । मदिरा र धुम्रपान सकेसम्म कम गर्नुपर्छ । त्यस्तै, चाडबाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ। जुवातास खेल्ने मानिस लामो समय सम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन्। यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, प्रेसर हाई भएर मुटुको नलीहरु पनि फुटिएको देखिन्छ। त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । दशैंको समयमा मुटु रोगीमा अझै जटिलता थपिन्छ दुई दिनमै रोगी बढीहाल्ने भन्दा पनि जसलाई पहिले देखी नै मुटुरोगको समस्या छ, उच्च रक्तचाप छ र पहिले देखी नै औषधी सेवन गरिरहेका छन् उनीहरुलाई चाँही यो समयमा अझै जटिलता थपिन्छ । किनभने मुटुरोगीले त्यसरी बढी चिल्लो रहित मासु, रक्सी खायो, वायम गरेन, रातभर जाग्राम बसेर तास खेल्छ भने पक्कै पनि उसको रक्तचाप बढ्छ वा औषधीको रिक्वायरमेन्ट बढेर जान्छ। त्यस्तै, पहिले नै मुटुको नलीमा केही फरकपन आईसकेको अवस्थामा धेरै लामो समयसम्म चिल्लो भएको मासुजन्य खानेकुरा खाएको अवस्थामा त्यसले चाँही शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाउँछ जसले गर्दा अझै जटिलता थपिने, मुटुको नली साघुँरो हुने र हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढेर जान्छ । कार्बोहाईड्रेट खानामा कम गर्ने हाम्रो दिनहुँको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको भात र आलु हो । तरकारीमा पनि आलु, अचारमा पनि आलु, हुँदाहुँदा दिउँसो खाजाको रुपमा पनि आलु फ्राइ बनाएको पाईन्छ। यसले गर्दा आलु र भातको मात्रा घटाउन जरुरी छ किनभने यसमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । सुगर शरीरमा गईसकेपछी पछी गएर चिल्लोमा परिवर्तन हुने गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी छ। यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाईन्छ र आफ्नो स्वास्थ्य पनि राम्रो रहन्छ । अचानक हार्टअट्याक आएमा अर्थात  डाक्टर नआईपुगेको खण्डमा के गर्ने ? यसमा दुईवटा कुरा छ। घरमा यदि कोही मेडिकल पर्सन छन् भने उसलाई यस बिषयमा थोरै भए पनि जानकारी हुन्छ । तर यदि घरमा त्यस्तो मान्छे छैन भने उसलाई यस बिषयलाई लिएर त्यति ज्ञान नहुनसक्छ। एउटा मुटु बन्द भईसकेको हुन्छ भने अर्को बन्द हुनुभन्दा अगाडिको अवस्था हुनसक्छ । हार्टअट्याक आएको मानिसलाई सामान्य अवस्थामा ल्याउनको लागि अथवा डाक्टर नआईपुगेको खण्डमा छातीको देब्रे पट्टी १ मिनेटमा ६०- ७० चोटि थिच्न जरुरी छ । त्यसमा यदि मानिसले सास लिएको छैन भने प्रत्येक ५ चोटि थिचेपछी नाक बन्द गरेर मुखमा कृतिम श्वासप्रश्वास गर्न सकिन्छ। यसो गर्दा उक्त बेहोस भएको मानिसको फोक्सोमा पनि हावा जान्छ । कसैलाई हार्टअट्याक आएको अवस्थामा यो गर्न सकियो भने धेरै हदसम्म मानिसको ज्यान जोगिन्छ । हृदयघातको लक्षण – कडा रुपमा छातीकोबीच भागमा त्यसमाथि पनि देब्रे भागमा कडा दुखाई महसुस – पसिना चिटचिट आउने – चक्कर लाग्ने – वाकवाक हुने – मुटुको धड्कन तेज रुपमा बढ्ने – बेहोस भएर ढल्ला जस्तो हुने (वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईसँगको कुराकानीमा आधारित )