बुधबार एक हजार ९५४ काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप एक हजार ६३७ र उपत्यकामा ८४३ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३९ हजार ६ सय ४३ पुगेकाे छ । नेपालमा आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २९८१ जना निकाे भएसँगैं हालसम्म १ लाख २१ हजार ८२४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ८८७ पुगेकाे छ ।

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियाे

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए । हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ । नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर छ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा सङ्कलन भएको पौडेलले दाबी गरे । सामाजिक सङ्घसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा सङ्कलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उनको भनाइ छ । सङक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्नसक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ । रासस

नविल बैंकका सीईओ अनिल शाहले जिते कोरोना

काठमाडौं । नविल बैंकका सीईओ अनिल केशरी शाह कोरोनामुक्त भएका छन् । उनले सामाजिक सञ्जालमाफर्त आफु कोरोनामुक्त भएको जानकारी दिएका छन् । शाहलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाहले सामाजिक सञ्जाल मार्फत नै आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । बास्ना गुमेपछि पिसिआर परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उनले बताएका थिए । मंगलबार स्वाव परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको उनले उल्लेख गरेका छन् । यस्तै उनले नियमित रुपमा हात धुने, मास्क प्रयोग गर्ने र सामाजिक दूरी कायम अनिवार्य गर्न सबैलाई सुझाव पनि दिएका छन् ।