उमाशंकरनाथ योगी बाल अस्पताललाई अनाथालय बनाउने प्रयास

नारायणपुर । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको अस्पताल अहिले आफैँ बिरामी अवस्थामा थला परेको छ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित नेपाल–भारतमैत्री अस्पतालमा अहिले स्वास्थ्योपचार सेवा उपलब्ध छैन । अस्पतालको भवन निर्माण भएको ११ वर्ष बिते पनि अस्पताल भने चल्न सकेको छैन । अस्पताल सञ्चालन हुन नसक्दा भवन कहिले प्रहरीको आवासस्थल, कहिले असहाय बालबालिका राख्ने केन्द्र त कहिले छाडाचौपायाको आश्रयस्थल बन्न पुगेको छ । अर्थाभावका कारण भवन निर्माणपछि दुई पटक अस्पताल सञ्चालनको प्रयास भए पनि चल्न सकेन । अस्पताल चलाउनका लागि सञ्चालक समितिले समन्वय गर्न नसक्दा भवन निर्माण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयवासीको आरोप छ । स्थानीय दाताले जग्गा दान गरेर भारतीय दूतावासले भवन निर्माण गरिदिए पनि अस्पताल सञ्चालक समितिको बेवास्ताका कारण सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका –१६ का वडा सदस्य जगत् श्रेष्ठले बताउनुभयो । सञ्चालक समितिले आफूले पनि चलाउन नसकेको र र राज्यलाई सञ्चालन गर्न दिन पनि डराएका कारण अस्पताल चल्न नसकेको उनको भनाइ छ । अस्पताल नचल्दा लाखौँ रुपैयाका बहुमूल्य औजार प्रयोगविहीन बन्न पुगेका छन् । महत्वपूर्ण उपकरण र शय्या काम नलाग्ने हुन थालेका छन् । त्यसमा सञ्चालक समितिले ध्यान नदिएको श्रेष्ठले बताउनुभयो । अस्पताल २०६६ सालमा दूतावासको रु ६६ लाख सहयोगमा निर्माण भएको थियो । अस्पताल भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत रु ७७ लाख उपलब्ध भएको थियो । बोलपत्र आह्वान गर्दा रु ६६ लाखमा नै अस्पताल भवन निर्माण भएको थियो । अस्पताल निर्माणपछि २०६६ साल असारदेखि घोराहीमा सञ्चालित बाल अस्पताललाई उक्त भवनमा सारिएको थियो । साउन महिनादेखि उक्त भवनमा प्रहरीसमेत बस्न थाल्यो । अस्थायी प्रहरी चौकी सर्रा २०६६ साल साउनमा एक महिनाका लागि भनेर अस्पतालमा बसेकामा २०७३ सालसम्म रह्यो । त्यही कारण बाल अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदीप योगी बताउँछन् । अस्पताल सञ्चालनका लागि आर्थिक स्रोत नभएकाले बन्द भएको उनले बताए । कम्तीमा दुई वर्ष वार्षिक रु ३० लाख कतैबाट सहयोग भए अस्पताल सञ्चालन गर्न सकिने उनको भनाइ छ । “अहिले अस्पतालसँग एक रुपियाँ छैन, कसरी डाक्टर र कर्मचारी राख्ने, समस्या छ”, योगीले भने । आफूले अस्पताल सञ्चालनका लागि घोराही उपमहानगरपालिका, जिल्लाका राजनीतिक दल, दाङबाट निर्वाचित सांसदसँग बजेट माग गरे पनि कतैबाट सहयोग नभएको उनले गुनासो गरे । “अस्पताल सञ्चालनका लागि राज्यका कुनै तहबाट हामीलाई सहयोग भएन, कतैबाट सहयोग नहुँदा अस्पताल सञ्चालन गर्न सकिएन, जसका कारण अस्पताल सञ्चालन नहँुदै बन्द हुन पुग्यो”, योगीले भने । अस्पतालमा एक्सरे मेसिन, ल्याब मेसिन, १० शय्या, अन्य परीक्षण गर्ने उपकरण भए पनि प्रयोग नहुँदा बिग्रन थालेकोे उनको भनाइ छ । “अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै उपकरणहरु छन्, राज्यले केही महिनाका लागि अस्पतालमा डाक्टर र औषधिको व्यवस्था गरिदिन सके मात्र पनि अस्पताल सञ्चालन गर्न सकिन्छ”, उनले भने । गत वर्ष घोराही उपमहानगरपालिकाले उक्त भवनलाई अनाथालयका रुपमा सञ्चालन गर्न खोजे पनि सफल हुन नसकेको योगीले बताए । “अनाथालय सञ्चालनका लागि आवास, कपडा, खाना पकाउने भाडासँगै अस्पतालको जग्गालाई तरबार गर्ने कामसमेत गरिएको थियो तर स्थानीय सरकारले सञ्चालन गर्न सकेन”, उनले भने । बजेट अभावका र व्यवस्थापनको चुनौतीका कारण सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउँछन् । अस्पताल चलाउनुभन्दा पनि त्यसलाई अनाथ बालबालिका राख्ने बनाउन खोजेका छाैँ, प्रदेश सरकारसँंग समन्वय गरिरहेका छौँ, छिट्टै सञ्चालनमा ल्याउछौँ”, चौधरीले भने ।

‘अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्’

झापा । संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गरेका थिए । त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको बिएन्डसी हस्पिटलको पनि उनले अनुगमन गरे । मेची प्रादेशिक अस्पतालको अनुुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिए । डा ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराए । सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिए । कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पु¥याएको बताए । आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उहाँले केही दिनमा पिसिआर मेसिन राखेर सेवा प्रदान गरिने बताए । राप्रपाका पूर्वमहामन्त्री लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए । कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए । ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए । रासस

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ । गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन् । दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७९२ जनाको आरटी पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता भारत दोस्रो मुलकबाट एक हजार १७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्याङ्क छ । आइसीयू १० बेड मात्रै यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसीयूका १० बेड मात्र रहेका छन् । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ ।त्यसैगरी यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा ४४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसीयू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । रासस