लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना पुष्टि
लुम्बिनी । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराए । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिए । रासस
काेभिड विरामीलाई रेम्डेसिभिर औषधि बेच्न खुला, तर औषधिले काम नगरेकाे डब्लुएचओकाे निष्कर्ष
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले प्रभावकारी नहुने भनेकाे औषधि नेपाल सरकारले औषधि आयात तथा बिक्री वितरण खुला गरेकाे छ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीलाई रिम्डेसिभिर औषधि प्रयाेग गर्न पनि सुझाव दिएकाे छ । सरकारले रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति समेत दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गाैतमले रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरणकाे अनुमति दिएकाे बताए । अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी रहेकाे छन् । गाैतमका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ । प्रवक्ता प्राडा. गाैतमले रेम्डिेसिभिरकाे मूल्य ६ हजार ७०० रूपैयाँ ताेकेकाे पनि बताए । तर सरकारले रेम्डेसिभिरलाई प्रयाेगमा ल्याउन खाेज्दै गर्दा विश्व स्वास्थ्य संगठनकाे अध्यायनले भने यसले मानिसकाे मृत्यु कम गर्ने काम नगरेकाे बताएकाे छ ।संगठनकाे अध्यायनले उक्त औषधिले बिरामीको स्वास्थ्यमा खासै कुनै सुधार ल्याउन नसकेको निष्कर्ष निकालेकाे छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार भनेकाे छ, ‘गम्भीर विरामी भइ अस्पताल भर्ना भएका विरामीलाई रिम्डेसिभिर औषधि दिँदा यसबाट विरामी ज्यान बचेकाे छैन, भ्याडेलेशनमा लैजानु नपरेकाे अवस्था पनि छैन र विरामीकाे अस्पताल बसाइ अवधि छाेटाे भएकाे पनि छैन ।’ राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्ताेलाकाे अनुसार रेम्डेसिभिर एन्टिबायाेटिक ड्रग हाे । यसअघि कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएकाे रेम्डेसिभिर भने विश्व स्वास्थ्य संगठनकाे अध्यनले समेत प्रभावकारी नभएकाे देखिएकाे बास्ताेलाले पनि बताए ।
ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो । त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उनले बताए । यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराए । यसैगरी महानगरपालिकामा सङ्क्रमित सङ्ख्या तीन हजार ४२८ पुगेको छ । तीमध्ये कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार ७३१, सक्रिय सङ्क्रमित एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ । बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताए । “यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छाैँ ”, गुरुङले भने । गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३८२ पुगेको छ । ती मध्ये निको भई घर फर्कनेको सङ्ख्या २१५ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, सङ्क्रमित ३५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए । महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय सङ्क्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।